Successfully Copied

महिलाले रमाएको होइन कमाएको मन पराउने समाज

हाम्रो समाज यस्तो छ कि एउटै कार्यक्रममा महिलाले खाएको, रमाएको देख्दा इज्जत र संस्कारसँग जोड्छ, त्यही कार्यक्रममा मदिराले लठ्ठ पुरुषलाई भने साथीभाइसँग रमाएको, दिमाग फ्रेस गरेको भन्दै वाहीवाही गर्छ ।

यमुना अर्याल (काफ्ले


एउटा अर्धसरकारी कम्पनीको माथिल्लो पदमा कार्यरत महिला कर्मचारीले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘हाम्रो समाज यतिविधि विकसित भएछ कि एउटै अफिसियल कार्यक्रममा महिलाले खाएको, रमाएको देख्दा इज्जत र संस्कारसँग जोडेर बदनाम गराउन खोज्छ । त्यही कार्यक्रममा मदिराले लठ्ठ भएको पुरुषलाई चाहिँ साथीभाइसँग रमाएको, दिमाग फ्रेस गराएको भन्दै वाहीवाही गर्छ ।’
ती महिलाले आफ्नो भोगाइ बताइन् । उनी भन्न थालिन्, ‘समाजले त सकेसम्म महिला अघि बढेकै देख्न चाहँदैनथ्यो । त्यसमाथि म जस्ता माथिल्लै जिम्मेवारी पाएका, भनेको समयमा घर पुग्न नसक्ने, कार्यालयको जिम्मेवारीले घरको काममा त्यति ध्यान दिन नसक्ने महिलाको हालत के होला ? शत्रुबाट म आफै बच्न सक्छु तर आफन्तबाट बच्न नसकिने रहेछ भन्ने अनूभूति भइरहेको छ । मेरा छिमेकीको मुखबाट कतिपटक सुनेकी छु, कसैको अफिस यस बेलासम्म चल्छ ? कुनै महिला यसबेलासम्म अफिस के काम गरेर बस्छन् ? बूढो सोझो हुनेका यस्तै बढी पर्छन् भाग्यमा... ।’
यस्तो भनाइले उनी कति पिरोलिन्छिन् होला ? हरेक ठाउँ स्पष्टीकरण दिँदै हिँड्नुपर्ने ? उनका श्रीमान्लाई त उनको पेसा, जिम्मेवारीका बारेमा थाहा छ, समस्या भएन । तर, समाज ?
उनी अगाडि भन्दै गइन्, ‘कार्यालयको कामको सिलसिलामा विभिन्न जिल्लामा गइरहनुपर्छ । कहिलेकाहीँ विदेश पनि जानुपर्छ । त्यतिबेला मप्रति कसले के सोच्छन् भन्ने कुरा दिमागमा राख्दिन तर मेरा बच्चाको कुरा सुन्छु, मन भक्कानिएर आउँछ । छिमेकीहरू सुनाउँदा रहेछन्–मम्मी यसरी सधैं घुमिरहँदा तिमीहरूलाई माया लाग्दैन ? हामीलाई छाडेर नजानुस् भन्दैनौ ? तिमीहरूका बाबाले पनि केही भन्दैनन् ? यसैगरी हिँडिरहँदा अर्कैले उडाइदेला नि...’
ओहो बच्चाहरूका अगाडि यतिसम्म भन्ने कस्ता छिमेकी हुन् ? जुन सन्तानको भविष्यका लागि उनी रातदिन मेहनत गरिरहेकी छिन्, जुन घरका लागि हड्डी खियाइरहेकी छन्, उनीमाथि नै यस्तो टिप्पणी कसरी गर्न सकेका होलान् ?
‘मेरो सामु त कोही केही भन्न सक्दैनन् तर मैलाई टार्गेट गरिएका स्टाटस देख्छु,’ उनी फेरि भन्न थालिन्, ‘सोच्छु, म पनि आम महिलाजस्तै घरमै बसेको भए, रातदिन सासू, नन्द, आमाजूको कुरा काट्ने बानी परेको भए, श्रीमान्को कमाइमा रमाउन जानेको भए सायद समाजले असल नजरले हेर्थ्यो होला । तर म यसको विपरीत भएँ, अनि समाजले पचाउँदैन । त्यही भएर भन्न मन लाग्छ, महिलालाई सही नजरले हेर्नका लागि अझै कति समय लाग्छ ?’
भाषण र नारामा महिला अधिकार र समानताका निकै ठूला कुरा गर्ने हाम्रो समाजले महिला रमाएको, महिला स्वतन्त्र भएको, महिलाले पुरुषसरह पद–प्रतिष्ठा कमाएको पचाउन सकेको छैन ।
यस्तै अर्को घटना पनि छ । काठमाडौंमा व्यवसाय गर्दै आएकी एक महिला आफ्नै गाउँले, स्कुले, सबैभन्दा पहिले बनेका साथीभाइसँग सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा एकरात बस्ने गरी जाने निधो गरिछन् । उनले यो कुरा श्रीमान्लाई भनिछन् । श्रीमान्बाट धेरै केरकार, संशोधनपछि मात्रै उनको प्रस्ताव लगभग पास भएछ ।
घरमा सासू–ससुरा पनि छन्, उनीहरूको पनि इज्जत राख्नुपर्‍यो । एकपटक सोध्न गइछन् । ससुराले कोको जाने भनेर जिज्ञासा राखेछन् । उनले वास्तविकता बताइछन् । बच्चादेखिका साथीभाइ जमघट हुने भनेका छन्, बीस जना छौं भनिछन् ।
यसैबीच सासूआमाको थप जिज्ञासा आयो, ‘अनि केटामान्छे कति जना छन्, केटी कति जना छौ, कतिबेला आउने हौ ?’
उनले भनिछन्, ‘हामी एकरात उतै बस्न जान लागेको हो । वर्षौंपछि साथीभाइसँग भेट हुँदैछ, एकदिन त बस्नुपर्‍यो नि ।’
त्यसपछि सासूआमाले जिब्रो टोकिछन्, ‘रातै बस्नेगरी पो जान लागेका ? आईमाई मान्छे त्यसरी हिँड्न हुँदैन । यतै नजिकै जाने भए जानू, रातै बस्ने गरी जान हुँदैन । आजकालका मान्छे हामीले भनेको कहाँ टेर्छन् र ? जेसुकै गर...’
हुन्छ वा हुँदैन केही जवाफ आएन । श्रीमान्ले हुन्छ भने, ससुराले लगभग सहमति जनाएका थिए, सासूआमाबाट प्रस्तावले पूर्णता पाउन सकेन ।
साँझ फेरि श्रीमान्लाई सोधिछन्, ‘सबै साथीभाइ जाने भएछन्, आमालाई तपार्इं मनाउनुहोस् न एकदिन त हो । बच्चा साना छैनन्, फेरि यो जमघट कहाँ हुन्छ र ? तीनजना साथी विदेशबाट आएका छन्, अर्को साता गइहाल्छन् ।’
श्रीमान्ले पूरै कुरा नसुनी जवाफ फर्काएछन्, ‘के–के खान मन छ, यहीँ ल्याइदिउँला, आमाले हुन्न भन्दाभन्दै किन जानुपर्‍यो ? आमाले पनि त्यत्तिकै रोक्नुभएको त होइन होला नि ? सत्तरी वर्षको उमेर यत्तिकै परिपक्व त हुँदैन होला । मान राख्ने भए राख, नत्र जेसुकै गर...’
एकछिन चुपचाप बसेपछि उनले मसँग भनिन्, ‘मेरो ठाउँमा श्रीमान्ले यही प्रस्ताव गरेको भए के जवाफ आउँथ्यो होला ? कहीँ कसैको रोकटोक हुन्थ्यो होला र ? सबैको इज्जत गर्दा, मान राख्दा पनि सकारात्मक जवाफ पाउन नसक्ने कस्तो नियति हो ? म खान नपाएर जान लागेकी पनि होइन, के खान मन छ ल्याइदिउँला भन्छन् श्रीमान् । अल्लारे केटाकेटी जस्तो बरालिन जान लागेकी पनि थिइनँ, दुईवटा बच्चाकी आमा, बच्चा नै प्लस टु पढ्ने भइसके, कतिपय साथीको अनुहार पनि सम्झना छैन होला उनीहरूसँग भेटघाट गर्ने अवसर पनि त हो । सबैको चित्त दुखाएर मलाई जान मन लागेन । साथीहरूलाई पारिवारिक कारणले आउन नसक्ने बताएँ । बाथरुममा गएर धेरै बेर रोएँ ।’
१९ जना साथीको जमघट भयो, उनी छुटिन् । सुकुटे रिसोर्टमा बसेको, वरिपरि घुमेको, नदीमा रमाएको अनेक फोटा साथीले ट्याग गर्दै लेखेका रहेछन्, ‘तिमी नभएको पल... तिमी भएको भए....।’
विदेशबाट साथी आए तर राजधानीमा भएकी उनी एकदिन पनि साथीभाइसँग रमाउन जना सकिनन् ।
‘मेरी सानी छोरीले रिल्स देखाई–मामु, यो भिडियोमा देखिएको आन्टी हजुरको साथी होइन ? मैले हो भनिदिएँ । ऊ कति रमाइलो ठाउँ रहेछ भन्दै आफूलाई पनि लैजान कर गर्न थाली । छेउमै बसेकी सासूले नातिनीलाई सोधिन्–खै ले त नानी, कहाँको ठाउँ रहेछ ? साह्रै घोरिएर हेरेकी छस् ।
छोरीले हजुरआमालाई मामुका साथीहरू भनेर चिनाई ।
‘तेरी आमा यहीँ जान लागेकी होइन त ?’
छोरीलाई केही पनि थाहा थिएन, उसले अनभिज्ञता जाहेर गरी ।
जिज्ञासा राख्दै छोरीले सोधी, ‘हो र ? कहिले जाने रे हजुरआमा ?’
मतिर इंगित गर्दै सासूले आँखा सन्काउँदै भनिन्, सोध्न न तेरी आमालाई ? बुढेसकालमा हेर त यी आईमाईको चर्तिकला ? बाबा, के साह्रो छिल्लिएका यी आईमाई ?
रमाउने मान्छे जहाँ जसरी पनि रमाएका छन्, त्यसमा कसैको रोकतोक छैन । समाज सप्रिएको पनि छ, बिग्रिएको पनि छ तर इज्जतदार एउटी परिपक्व महिलाले यत्रोविधि विन्ती बिसाउँदा पनि एकदिन खुसी हुन नपाउनु कस्तो विडम्बना ?’
यी दुई महिलाका घटना भए पनि समाजमा यस्ता कैयौं उदाहरण छन् । आजसम्म घरपरिवार, आफन्त भन्दै इज्जत धानिदिने महिला झनै दबाबमा जिउन बाध्य छन् । अफिसको काम भन्दै हप्तौंसम्म घरबाहिर रहने र दुर्गन्धित हर्कत गर्ने कथित सभ्य पात्रहरू यही समाजमा बस्छन्, उनीहरूको हाइहाइ भएकै छ । जो मनलाग्दी गरेर हिँड्छ उसले समाजमा चर्चा पाएकै देखिन्छ, जो सबैतिर सकेसम्म मिलाउने प्रयास गर्छ, दुःख उसैले पाएको छ । भोजभतेर, पार्टीहरूमा पुरुषभन्दा बढी मदिराको तालमा झुमेका महिला पनि देखेका छौं, सायद महिला अधिकारको सदुपयोग उनीहरूले गरेको ठान्दा होलान् । अर्कातिर यी व्यापारी दिदीजस्ता पात्र पनि यही समाजमा छन् । हद पार गर्ने छुट महिला–पुरुष कसैलाई छैन तर भेटघाट, रमाइलोका लागि बन्धनमा राख्नु कत्तिको जायज होला ?
तीजको बेलामा महिलाहरू रमाएको खासै मन पराइँदैन । प्रथा, परम्पराका नाममा आडम्बर फैलिएको छ, त्यो धेरै हदसम्म सत्य हो तर त्यही काम पुरुषहरूबाट हुँदा वाह भन्ने समाज महिलालाई देख्दा किन जिब्रो टोक्छ ?
एकातिर कोही अति स्वतन्त्र छन्, अर्कातिर त्यत्तिकै दमित पनि । सीमा भन्ने कुरा महिला–पुरुष दुवैको हकमा लागू हुन्छ । पुरुषप्रधान समाज भएकाले महिलाका बाध्यता, बन्धन धेरै तोकिएको होला तर समाज दुवैका लागि बराबर हो । मूल्य,–मान्यता सबैका लागि उत्तिकै हुन् । सम्मान सबैको गर्न सिकौं ।

 Image