Successfully Copied

हिरोयुकीको फोटो यात्रा

इतिहासलाई तस्बिरमा सुरक्षित राख्ने विश्वास बोकेका हिरोयुकी ६६ वर्षको उमेरमा जोस र जाँगरसहित आफ्ना अनुभवमार्फत नेपाली पत्रकारिताको नयाँ पुस्ता तयार पार्ने अभियानमा छन् ।


आरती पौडेल
कीर्तिपुरस्थित बल्खुमा रहेको त्रिभुवन विश्वविद्यालको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग कक्षाकोठाभित्र विभिन्न तहका विद्यार्थीलाई फोटो पत्रकारिताबारे अध्यापन गराइरहेका भेटिन्छन्, वरिष्ठ फोटो पत्रकार हिरोयुकी ताइरा । जापान टोकियोका बासिन्दा उनी चार दशक लामो पत्रकारिता यात्रापछि अहिले नेपालमा भावी पत्रकारलाई ज्ञान छरिरहेका छन् । ‘नेपाल आउनुको मेरो उद्देश्य नेपालका भावी पत्रकारहरूसँग आफ्नो अनुभव बाँड्नु, त्यहाँका विशिष्ट सञ्चार परिवेशबाट आफूले पनि नयाँ कुरा सिक्नु र यहाँ फोटो पत्रकारिता शिक्षाको विकासमा सक्दो योगदान पुर्‍याउनु हो,’ उनले भने ।
हिरोयुकी ताइराको संघर्ष
टोकियोको शिनागावामा सन् १९५९ मा जन्मिएका ताइरा सानैदेखि पढाइमा अब्बल थिए । चित्रकलामा पनि उनको बाल्यकालदेखि रुचि थियो । उनलाई उच्च माध्यमिक तहदेखि अझ धेरै चित्रकला र चलचित्र निर्माणप्रति गहिरो रुचि बढ्न थालेको थियो । त्यसैले ‘टोकियो जोइके विश्वविद्यालय’ बाट डिजाइन तथा ललितकलामा स्नातक अध्ययन गरेका थिए । विश्वविद्यालयमा अध्ययन गरेको चार वर्ष उनले जापानी र अंग्रेजी भाषामा प्रसारण हुने द्विभाषिक समाचार कार्यक्रम उत्पादन गर्ने एक टेलिभिजन संस्थामा आबद्ध भएर काम गरेका थिए ।
कलातर्फ रुचि भएका हिरोयुकीलाई त्यहीबीच पत्रकारितातर्फ मन गयो । ‘कलाकार वा शिक्षक बन्नुभन्दा पत्रकारिताले मलाई बढी आकर्षित गर्‍यो । सबै कुरा बुझ्दै जाँदा मलाई तस्बिरमार्फत कथा सुनाउने रहर जाग्यो र फोटो पत्रकार बन्ने मेरो चाहना बढ्यो,’ उनले भने । उनलाई फोटो पत्रकारिताले निकै प्रभाव पारेको थियो । हिरोयुकी एउटा भनाइ सम्झदै भन्छन्, ‘एउटा तस्बिर हजार शब्द बराबर हुन्छ । तस्बिरले लिखित शब्दभन्दा अझ प्रभावकारी रूपमा भावना र यथार्थलाई अभिव्यक्त गर्न सक्छ भन्ने महसुस भएर नै फोटो पत्रकारितालाई निरन्तरता दिने सोच बनाएँ ।’ भनिन्छ, जसरी सपना देखिन्छ, त्यसरी नै सपनाका लागि मेहनत गरे सोचेको पूरा हुन्छ । हिरोयुकीको जिन्दगीमा पनि त्यस्तै भयो । स्नातकपछि जापानको एक दैनिक पत्रिका ‘योमिउरी शिम्बुन’ मा काम गर्ने अवसर पाएँ ।
उनले त्यहाँ राजनीति, अपराध, प्राकृतिक विपद्, खेलकुद, मनोरञ्जन तथा वातावरण आद क्षेत्रमा समाचार संकलन तथा फोटो पत्रकारका रूपमा आबद्ध भएर काम गरेका थिए । जापानका वरिष्ठ फोटो पत्रकार हिरोयुकीले विश्वका अनेक ऐतिहासिक घटना क्यामेरामा कैद गरेका छन् । सन् १९८४ मा शिम्बुनमा आबद्ध भएर उनले चार दशकसम्म त्यहीँ पत्रकारिता गरेर सन् २०२४ मा अवकास लिएका थिए ।
फोटो पत्रकारिताले आफ्नो व्यक्तित्व निर्माण गरेको कुरालाई उनी सजिलै स्वीकार गर्छन् । ‘फोटो पत्रकार घटनास्थलमै पुगेर आँखाले देखेको कुरा क्यामेरामा कैद गर्ने र त्यसलाई सञ्चारमाध्यममार्फत पाठकहरुसम्म पुर्‍याउने काम हो,’ उनले भने, ‘फोटो पत्रकारिताले नै मेरो फरक पहिचान बनाएको कुरालाई आत्मसात् गर्छु ।’
उनले शिम्बुनमा फोटोग्राफर, लेखक, विदेशी संवाददाता, प्रमुख फोटोग्राफर, उप–फोटो सम्पादक, वरिष्ठ लेखक आदि विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । सन् १९९२ मा उनी अमेरिकाको वासिङ्टन ब्युरोमा विदेशी संवाददाताका रूपमा कार्यरत भएर समेत काम गरेका थिए । हिरोयुकीले सन् २०१० देखि २०१६ सम्म जापानको तोकाइ विश्वविद्यालयमा आंशिक (पार्ट टाइम) प्राध्यापकका रूपमा समेत अध्यापन गराएका थिए ।
उनीसँग जापानको ग्रेट इस्ट जापान भूकम्प, कुमामोटो भूकम्प, चुएत्सु भूकम्प, पेरुको जापानी दूतावास बन्धक शंकटदेखि लिएर रबिन–अराफातको ऐतिहासिक भेट, अमेरिकी राष्ट्रपतीय निर्वाचन तथा लस एन्जलस दंगाजस्ता विभिन्न विषयमा सक्रिय फोटो पत्रकार भई फोटो संकलन गरेको अनुभव छ । समाचार घटनामा मात्र नभएर, उनले वातावरण र वन्यजन्तुसम्बन्धी परियोजनामा पनि फोटोग्राफरका रूपमा काम गरिसकेका छन् । यसैगरी खेलकुद क्षेत्रमा पनि महत्वपूर्ण फोटोहरू आफ्नो क्यामेरमा कैद गरेका छन् । उनले नागानो शीतकालीन ओलम्पिक, एटलान्टा ग्रीष्मकालीन ओलम्पिक र हिरोसिमा एसियाली खेलकुदका महत्वपूर्ण क्षण पनि आफ्नो क्यामेरामा समेटेका छन् ।
सन् १९९७ मा पेरुको लिमा सहरस्थित जापानी दूतावास बन्धक संकटको तस्बिरका लागि उनले ‘टोकियो प्रेस फोटोग्राफर्स एसोसिएसन’ को प्रतिष्ठित ग्रान्ड प्रिक्स अवार्ड प्राप्त गरेका थिए ।


ताइराले सन् २०१३ देखि दोस्रो विश्वयुद्धपछिको जापानका विषयमा सम्पादकीय समेत लेखे । ‘पत्रकारिताबारे अझ गहिरो अध्ययन गर्ने उद्देश्यले कम्पनीको छात्रवृत्ति प्राप्त गरी बेलायतको युनिभर्सिटी अफ द आट्र्स लन्डनअन्तर्गत लन्डन कलेज अफ कम्युनिकेसनमा फोटो पत्रकारिता तथा डकुमेन्ट्री फोटोग्राफी विषयमा स्नातकोत्तर अध्ययन गर्ने अवसर प्राप्त गरेको थिएँ,’ उनले भने ।
बेलायतमा अध्ययनका क्रममा धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको सुनाउँछन् । ‘त्यहाँ कुनै पनि रिसर्च गर्दा अन्तिम नतिजाभन्दा पनि अनुसन्धान प्रक्रियालाई बढी महत्व दिइन्थ्यो र कुनै पनि विषयलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न विद्यार्थीलाई प्रोत्साहित गरिन्थ्यो,’ उनले भने । आफूले अध्ययन गर्ने क्रममा दुई प्रमुख डकुमेन्ट्री परियोजना तयार पारेको समेत बताए ।
बेलायतमा अध्ययन सम्पन्न गरेपछि उनले अन्तर्राष्ट्रिय अनुभवलाई शिक्षामार्फत नयाँ पुस्तासम्म पुर्‍याउने इच्छा अझ बलियो बनाउँदै लगे । यही सोचले उनले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका) को स्वयंसेवक कार्यक्रममा आवेदन दिएका थिए । ‘मैले दुई कारणले आवेदन भरेको थिएँ । पहिलो, जापानमा अध्यापन गर्दा नेपाललगायत एसियाली मुलुकका विद्यार्थीहरूको उत्साह र जिज्ञासाले मलाई प्रेरित गरेको थियो,’ उनले भने, ‘अर्को भनेको लन्डनमा पढ्ने क्रममा ‘हेल्प रिफ्युजिज’ नाम गरेको गैरसरकारी संस्थामा स्वयंसेवकका रूपमा काम गरेको थिएँ । त्यहाँ भएका मानिसलाई नजिकबाट नियालें । उनीहरूको कुरा बुझ्ने मौका पाएँ । यी अनुभवहरूले शिक्षा र अन्तर्राष्ट्रिय स्वयंसेवामा मेरो रुचि अझ बलियो बनाएको थियो ।’
जाइकाले दिएको विभिन्न जिम्मेवारीमध्ये त्रिभुवन विश्वविद्यालयमा वरिष्ठ स्वयंसेवक भएर आउनु आफूलाई सबैभन्दा राम्रो लागेको उनी सुनाउँछन् । ‘पत्रकारिता केन्द्रीय विभागको अनुरोधमा जाइकाले दुई वर्षका लागि उनलाई विश्वविद्यालयमा ल्याएको हो । म सन् २०२७ को अप्रिलसम्म त्यहाँ हुन्छु,’ उनले भने ।
गत वर्षको जूनदेखि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा विभिन्न कक्षालाई अध्यापन गराइरहेका उनी आफूलाई खुसी लागेको सुनाउँछन् । ‘पत्रकारिता विभागका सबै शिक्षक सहयोगी हुनुहुन्छ । उहाँहरूबाट नेपाली पत्रकारितादेखि लिएर नेपालको हरेक विषयका बारेमा जान्ने मौका पाएको छु,’ उनले भने, ‘जापानको पत्रकारिताबारे पनि मैले मेरो अनुभव साझा गर्ने गरेको छु । निकै खुसी लागेको छ ।’ विद्यार्थीहरूलाई अध्यापन गराउँदा, उनीहरूका कुरा सुन्दा सन्तुष्टि मिलेको उनी सुनाउँछन् । ‘फोटो पत्रकारितादेखि डकुमेन्ट्री बनाउने कुरासम्म निकै रोचकपूर्ण तरिकाले सिकेर त्यसलाई दैनिक जीवनमा लागू गरेको देख्दा खुसी लाग्छ,’ उनले भने, ‘नेपालका भविष्यका ठूला पत्रकारहरूलाई मैले केही कुरा सिकाउन पाउँदा सन्तुष्टि मिलेको छ ।’
नेपालमा काम गर्ने क्रममा आफूले पत्रकारिता क्षेत्रमा जापानभन्दा फरक अनुभव गरेको समेत उनी सुनाउँछन् । ‘जापान र नेपालमा पत्रकारिताबीच तीनवटा प्रमुख भिन्नता अनुभव गरेको छु । पहिलो, नेपालमा सरकारी स्वामित्वका सञ्चारमाध्यमको प्रभाव अहिले पनि उल्लेखनीय छ, जबकि जापानमा सबै प्रमुख पत्रपत्रिका निजी क्षेत्रद्वारा सञ्चालित छन् । सार्वजनिक प्रसारण संस्थाका रूपमा एनएचके मात्र रहेको छ,’ उनले भने, ‘जापानी पत्रपत्रिकासँग समाचार संकलनका लागि अत्यन्तै व्यापक स्रोत–साधन उपलब्ध छन् ।


उनलाई नेपालमा रेडियो पत्रकारिता जापानको भन्दा बलियो रहेको महसुस हुन्छ । ‘अर्को फरक अनुभूति भनेको नेपालमा रेडियो पत्रकारिताको प्रभाव अझै पनि अत्यन्त बलियो महसुस भयो,’ उनले भने, ‘पहाडी भूगोलका कारण रेडियो सजिलै बोक्न र प्रयोग गर्न सकिने भएकाले यात्रा गर्दा वा काम गरिरहँदा पनि धेरै मानिसले समाचारको मुख्य स्रोतका रूपमा रेडियोलाई नै प्रयोग गर्दा रहेछन् । यो कुराले खुसी लाग्यो ।’ फोटोले धेरै कुरा बोल्छ भन्ने कुरामा विश्वास गर्ने उनी फोटो पत्रकारिताको महत्व, फोटो कसरी कुन एंगलबाट खिच्नेलगायतका तालिम समेत दिने गरेका छन् ।
हिरोयुकी भविष्यमा समाचार सम्प्रेषण गर्ने माध्यम र शैली फेरिए पनि पत्रकारिता भने सधै रहिरहने बताउँछन् । ‘पत्रकारिता कहिल्यै समाप्त हँुदैन । विकाससँगै परिर्वतन हुने भनेको माध्यम हो । भविष्यमा डिजिटल माध्यमको प्रयोग अझ बढ्ने छ, तर टेलिभिजन र पत्रपत्रिका पनि आफ्नै भूमिकामा रहनेछन्,’ उनले भने, ‘सामाजिक सञ्जाल र एआईको विस्तारसँगै मिथ्या र भ्रामक सूचना तीव्र रूपले फैलिइरहेका छन् । यस्तो अवस्थामा तथ्यको खोजी गर्ने, स्रोतको पुष्टि गर्ने र त्यसलाई जनतामाझ पुर्‍याउने भूमिका व्यावसायिक पत्रकारको बढेर जानेछ ।’ प्रविधिले पत्रकारिताका माध्यम परिवर्तन गरे पनि सत्य, विश्वसनीयता र नैतिकतामा आधारित यसको मूल्य कहिल्यै परिर्वतन गर्न नसक्ने उनी सुनाउँछन् ।
उनी ‘मोबाइल जर्नालिजम’ (मोजो) नेपालमा पनि बलियो रहेको अनुभव सुनाउँछन् । ‘केही समयअघि नेपालमा भएको जेन–जी आन्दोलनमा मृत्यु भएका र घाइते देखेर दु:ख लाग्यो । तर त्यहाँ स्मार्टफोनले सामान्य नागरिकलाई पनि समाचारका स्रोतमा रूपान्तरण गरेको स्पष्ट देखियो,’ उनले भने । यही आन्दोलनलाई नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उत्कृष्ट रूपमा दस्तावेजीकरण गरे र वल्र्ड प्रेस फोटो अवार्ड प्राप्त गरेको देख्दा सम्झिएँ, इतिहासलाई अभिलेखीकरण गर्नु फोटो पत्रकारको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये एक हो, जसले लोकतन्त्रलाई अझ सुदृढ बनाउँछ ।’ उनको चार दशकअघि क्यामेरा बोकेर सुरु भएको यात्रा अहिले नेपालका कक्षाकोठामा आइपुगेको छ ।
इतिहासलाई तस्बिरमा सुरक्षित राख्ने विश्वास बोकेका हिरोयुकी ६६ वर्षको उमेरमा जोस र जाँगरसहित अहिले पत्रकारिता विभागको सहयोगमा आफ्ना अनुभवमार्फत नेपाली पत्रकारिताको नयाँ पुस्ता तयार पार्ने अभियानमा छन् । ‘मेरो अनुभव र ज्ञान उनीहरूलाई बाँड्ने विद्यार्थीहरूबाट पनि नयाँ कुरा सिक्ने अवसर पाएको छु,’ उनले भने ।
सबैभन्दा प्रिय : जीवनसाथी
स्नेह : परिवार
मनपर्ने लेखक: भिक्टर इ.फ्रान्कल
भेट्न चाहेकी महिला : हलिउड अभिनेतृ एनी हाथावे ।

हिरोयुकीले खिचेको तस्बिर 

 Image