Successfully Copied

प्रयासना गुरुङ बनिन् मिस युनिभर्स नेपाल, बिनिता ओलीलाई मिस अर्थ नेपालको ताज

यासना गुरुङले पोर्तो रिकोमा हुने मिस युनिभर्स र बिनिता ओलीले फिलिपिन्सको मनिलामा हुने मिस अर्थ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।


मिस युनिभर्स नेपाल–२०२६ को ताज प्रयासना गुरुङले जितेकी छन् । काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा २४ वर्षीया गुरुङ विजेता घोषित भएकी हुन् ।
सोही प्रतियोगिताबाट झापाकी २७ वर्षीया बिनिता ओलीले ‘मिस अर्थ नेपाल–२०२६’ को उपाधि हात पारेकी छन् । देशभरबाट सहभागी ११० प्रतिस्पर्धीमध्ये अन्तिम १४ जना फिनालेमा पुगेका थिए।
बेलायत बस्दै आएकी प्रयासना महिला सशक्तिकरणका क्षेत्रमा पनि सक्रिय छन् । उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलताजस्ता विषयमा नि:शुल्क अनलाइन कार्यशाला सञ्चालन गर्दै आएकी छन् ।

त्यस्तै, बिनिता ओलीले केही वर्ष कुवेत एयरवेजमा अन्तर्राष्ट्रिय क्याबिन क्रुका रूपमा काम गरेपछि नेपाल फर्किएकी हुन् । उनी हाल मनोविज्ञान विषयमा अध्ययनरत छिन् र भविष्यमा थेरापिस्ट तथा सामाजिक अभियन्ता बन्ने लक्ष्य राखेकी छन् ।
प्रतियोगितामा बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलीना जेटली र मोडल मनिका विश्वकर्मालगायत निर्णायक रहेका थिए। अब प्रयासना गुरुङले पोर्तो रिकोमा हुने मिस युनिभर्स र बिनिता ओलीले फिलिपिन्सको मनिलामा हुने मिस अर्थ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

 Image