धेरैको चाहना हुन्छ सफल हुने । तर सफलता केलाई मान्ने ? कतिलाई लाग्छ, धेरै पैसा, मह“गा गाडी, बंगला, दह्रो बैंक ब्यालेन्स सफलताका मानक हुन् । तर संसारमा कतिपय यस्ता मान्छे पनि छन्, जसलाई अरुको दुःखमा बन्न सक्ने सहारा, अरुलाई भलाइ गर्दा आउने आत्मिक शान्ति नै सफलता लाग्छ ।
यस्तैमध्ये अन्तर्राष्ट्रिय योग प्रशिक्षक तथा समाजसेवी झरना केसी एक हुन्, जसको कथा रोचक मात्रै नभएर धेरैका लागि प्रेरणादायी छ ।
भारतीय सेनामा कार्यरत बुवा कृष्णप्रसाद र शान्तीदेवी क“ुवरका छ सन्तानमध्येकी जेठी झरना भारतमा जन्मिएर पर्वत जिल्लामा हुर्किइन् । उनका चार बहिनी र एक भाइ छन् । कक्षा १२ सम्म स्वास्थ्य शिक्षा र अनमी पढेकी झरना विवाहपछि श्रीमान्, सासू र दुई छोराको हेरविचारमा धेरै समय बिताइन् । केही समय शिक्षण पेसामा आबद्ध उनी पछि अन्तर्राष्ट्रिय योगगुरु श्री राजन आचार्यसग योग–ध्यान र अध्यात्मको दीक्षा प्राप्त गरिन् । त्यसो त उनको बाल्यकाल पनि यस्तै वातावरणमा बितेको थियो, उनका हजुरबुवा गृहस्थी त्यागेर संन्यासी भई देवघाटमा बस्न थाले । उनीकहा हुने सत्संग, प्रवचन, ठूला–ठूला गुरु र साधकहरूको बाक्लो उपस्थितिले झरनालाई उही संस्कारको बाछिटाले छोइसकेको थियो । ‘ममा विस्तारै त्यो उर्जा उत्पन्न हु“दै गयो । दैनिक पूजापाठ, भजन प्रवचन, साधुसन्तको आगमनले सेवाभावतर्फ मेरो रुचि बढ्दै गयो,‘ झरना भन्छिन्, ‘क्रमशः ती कुराले आत्मिक आनन्द त यही“ नै रैछ भन्ने लाग्नथाल्यो । जबदेखि मेरो आत्मा त्यहा“ जोडियो तब मेरो जन्म भयो ।‘
झरनालाई लाग्न थाल्यो, आफूले मात्रै आनन्द लिएर भएन, अरुलाई पनि आनन्दको स्वाद चखाउनु नै धर्म हो । तब उनले निःशुल्क योग–ध्यान, प्राणायम शिविर सञ्चालन गर्न थालिन् । आज उनी राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा निःशुल्क रूपमा योग–ध्यान, प्राणायम सिकाउने गुरु बनेकी छिन् । उनका अनुसार मृत्युको मुखसम्म पुगेका, हिंसामा परेका, डिप्रेसनमा गएका, एन्जाइटीले थलिएका, जीवनदेखि हार मानेर थन्किएर बसेका कतिपय मानिसले उनको कर्मद्वारा पुनर्जीवन पाएका छन् । सुरुमा त झरनालाई योग, ध्यान, सत्संगमा मानिसहरूलाई जोड्न कठिन भयो, बुझाउनै समय लाग्ने, बुझे पनि समय निकाल्न नसक्ने तर क्रमशः यसको महत्व थाहा पाएपछि धेरै मानिस उनीस“ग जोडि“दै जान थाले । उनी भन्छिन्, ‘कयौं दिदीबहिनीको आ“सु पुछेर, ओठमा हासो ल्याउन सकेकोमा सन्तुष्टि मिलेको छ । मैले आजसम्म कसैस“ग एक पैसा लिएकी छैन । बरु उल्टै मेरै खर्च भइरहेको हुन्छ । पैसा लिएर सिकाउनु भनेको त व्यापार हो म सेवालाई व्यवसाय बनाउन चाहन्न ।‘
बूढानीलकण्ठ नगरपालिकाको ६ नम्बर वडाका धेरैले उनलाई एक पूर्ण र असल स्वयंसेवीको रूपमा चिन्छन् । त्यतिमात्रै नभएर चितवनलगायत जुममार्फत विदेशमा रहेका मानिसहरूलाई समेत योगमार्फत जीवन जिउने कला सिकँइरहेकी झरना योग, ध्यान, सत्संग, प्राणायममार्फत समाज र राष्ट्रमा शान्ति फैलाउने चाहना व्यक्त गर्छिन् । ‘शान्ति नै हिंसाको ओखती हो । मेरो कामले मानिसमा लोभ, लालच, ईर्ष्या, द्वेष घटाएर आफू शान्त रहने र शान्ति छर्ने काम गर्छ । राति निदाउन नसक्ने, माइग्रेन, डिप्रेसन, घुडा दुख्ने समस्या भएका बिरामी समेत यसमार्फत आनन्द प्राप्त गरेको बताउछन्,‘ योग, ध्यान, प्राणायामको लाभबारे झरना भन्छिन्, ‘यसले एकाग्रता ल्याउछ, मन स्थिर र शरीर हल्का हुन्छ । हाम्रो यो शरीर यस पृथ्वीमा आएको नै साधनामार्फत मोक्ष प्राप्त गर्न हो ।‘
कोक्रोदेखि चिहानसम्म अर्थात् जन्मदेखि मृत्युसम्म मानवले केही न केही सिक्नैपर्ने बताउने झरना अन्ततः मरेर जा“दा लैजाने भनेको ज्ञानमात्रै हो भन्नेमा अडिग छिन् । उनलाई लाग्छ खुसी आफैंभित्र छ, आत्मभाव र आत्मबलले सही परिणाम ल्याउछ, आफूले जीवनमा सिकेको चुरो कुरो पनि यही भएको उनले बताइन् । अरबौं मान्छेको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल झरना श्रीमान् र छोराहरूले दिने र घरभाडाबाट आएको पैसा सेवाभावमा लगाउने र निःशुल्क योग शिविर सञ्चालन गर्छिन् । त्यतिमात्रै होइन, ऊनलाई माटोस“ग खेल्ने ठूलो रुचि छ । माटोसग खेल्दा हाम्रो शरीरको मूलधार चक्र सत्रिय हुन्छ जसले मन–मस्तिष्कमा शान्ति र स्थिरता ल्याउ“छ ।
कोरोनाकालमा भएको लकडाउनमा उनले थुप्रै बोटबिरुवा रोपेकी थिइन् । झरना भन्छिन्, ‘आफूलाई चाहिने बिरुवा राखेर बाकी रहेका बोटबिरुवा अनलाइमार्फत बिक्री गर्छु, त्यो पैसा पनि समाजसेवामै खर्चिन्छु । योग, ध्यान, प्राणायाम शिविर सञ्चालन मात्रै होइन यहा“बाट आएको पैसा क्यँन्सर तथा मृगौला पीडितलाई डोनेसन गर्ने गरेकी छु ।‘
उनी अहिले बूढानीलकण्ठमा रहेको भद्रकाली प्राविको सल्लाहाकारका साथै मन्टेश्वरीदेखि १० कक्षासम्म पढाइ हुने मञ्जरी स्कुलको व्यवस्थापन संयोजक समेत हुन् । त्यसबाहेक उनी विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (जिएसपिएसएस) नेपालकी केन्द्रीय सदस्य तथा छहारी योग केन्द्र बूढानीलकण्ठकी अध्यक्षका रूपमा समेत सक्रिय छिन् । चौतर्फी भूमिकामा अब्बल रहन आफूलाई योगध्यानले सघाएको छ उनको तर्क छ । घरपरिवार र व्यावासायिक जीवनलाई पूर्णरूपमा सन्तुलिन राखेकी झरना सबैलाई योग–ध्यान, प्राणायाममा सरिक भई जीवन र जगत्मा शान्ति ल्याउन आग्रह गर्छिन् ।