Successfully Copied

जागिर जोगियो, सम्बन्ध जोगिएन

हरेक परिवारले आफ्ना मान्छेको नियत बुझौँ । सहीलाई सही, गलतलाई गलत भन्न सिकौँ । सकेसम्म साथ र सहयोग गरौं । सम्बन्ध सद्भावले जोगिन्छ, शंकाले होइन ।

यमुना अर्याल (काफ्ले)
तपाईंले जागिर खानु भएको कति वर्ष भयो म्याम ? सहकर्मीको प्रश्नमा फिस्स हाँसेर जवाफ आयो १४ वर्ष । भर्खर सेवा प्रवेश गरेकाहरूका लागि १४ वर्ष त एक जुगजस्तै हो ।
नव प्रवेशी अविवाहित महिला कर्मचारीले फेरि सोधिन्, अनि श्रीमान् पनि यही फिल्डमा हुनुहुन्छ ?
एकैछिन जवाफ आएन । केही समय रोकिएर जवाफ आयो होइन ।
तपाईं यता पोस्टिङ भएपछि घरपरिवार र बालबच्चाको जिम्मा कसले लिन्छ ? श्रीमान्को घरपायकको जागिर हो म्याम ?
यस पटकको प्रश्नमा मौनता देखियो, जवाफ आएन । प्रश्नकर्ता र उत्तरदाता दुवै अवाक बने । सोध्नेलाई पनि किन सोधेंजस्तै भयो, उत्तरदातादालाई पनि के भनौं के भनौं जस्तो भयो ।
सरी म्याम, हजुरलाई दु:खी बनाउने मेरो प्रयास होइन, भोलि म पनि विवाहित हुन्छु, मेरो पनि अवस्था हजुरको जस्तै होला ? कसरी व्यवस्थापन गर्ने भनेर मात्रै जिज्ञासा राखेकी हुँ–माफ गर्नुहोस् । उत्तरदाता म्याम केही बोलिनन् । ठीकै छ केही फरक पर्दैन । तर तपाईंको हकमा मेरो जस्तै नियति नदोहोरियोस बस् यति मात्रै भन्न चाहन्छु । यो कुरा सुनेपछि प्रश्नकर्ता झस्किइन्, किन यस्तो कुरा गर्नुभएको म्याम ?
यत्रो पदमा हुनुहुन्छ, यति संघर्ष गरेर नाम निकाल्नुभयो, अझै पनि खुसी हुनुहुन्न ?
त्यसपछि कुराको भित्री चुरोको सुरुवात हुन थाल्यो । माथिका पात्र दुवै कुनै सरकारी निकायमा कार्यरत पात्रहरू हुन् । दुवै एउटै शाखामा कार्यरत छन्, एकजना विवाहित एकजना अविवाहित । एकजना अफिसर लेवलकी अर्की नवप्रवेशी सुब्बा लेवलकी ।
विवाहित पात्रले एकदिन कुरा गरिन्, तपाईं त लेख लेख्ने मान्छे । यस्तो भोगाइको बारेमा लेख्ने आँट किन गर्नुहुन्न ? के परिवार जोगाउने दायित्व हामी महिलाहरूको मात्रै हो ? पुरुषले जागिर खाँदा सर्वस्व हुने हामीले जागिर खाँदा पनि मानसिक तनाव र यातनाको पहाड बोक्नुपर्ने कुनै संहितामा लेखिएको छ र ? जागिर जोगाउने कि सम्बन्ध भन्ने अवस्था पनि सिर्जना हुने रहेछ, त्यस्तो अवस्था के रोज्ने ?
म उनको कुरामा सहमत भएँ । बालबच्चा, घरपरिवार र आफन्तसँग चार महिनासम्म टाढा बसेको अनुभूतिले भित्रभित्रै पोलिरहेको छ । सुरुमा जागिर खाँदा म तीन महिनाकी गर्भवती एक्लै बाहिर बसें, त्यतिबेला आफ्नो र गर्भमा हुर्किएको बच्चाको ख्याल गरेमात्रै पुग्थ्यो अहिले भूमिका फेरिएको छ । घरबाट बाहिर जाने बेलामा नजानू न मम्मी भन्दै छोरी रोएको आवाज कानमा हरेक पल गुञ्जिन्छ, कार्यालयमा पुग्न नपाउँदै अब कहिले आउनुहुन्छ मम्मी भन्दै फोन गर्ने छोरीको बालसुलभताले मन भतभती पोल्छ । राष्ट्रसेवक कर्मचारी भइसकेपछि सधैं आफ्नो अनुकूलता मात्रै खोजेर हुँदैन भन्ने पनि लाग्छ तर मन मान्दैन । तन कार्यालयमा भए पनि मन साना बालबच्चामै हुन्छ, सायद यो हरेक आमालाई हुन्छ । एकदिनमा पन्ध्र–बीस पटक फोनमा कुराकानी हुन्छ तर पनि मनले मान्दैन ।
साथीले गुनासोको पोयो फुकाउन थालिन् ।
म र मेरो एकजना साथी हामी दुवै जनासँगै कलेज पढ्यौं, सँगै लोकसेवाको तयारी गर्‍यौं, सँगै नाम निकाल्यौं, सँगसँगै जस्तो पोस्टिङ भयौं । हाम्रो विवाह पनि एक–दुई महिना अघिपछि भयो । साथीका श्रीमान्–श्रीमती एउटै कार्यालयमा थिए, मेरा श्रीमान् स्थायी शिक्षक थिए । शिक्षकको जागिर हत्तपत्त सरुवा हुँदैन थियो तर मेरो २/२ वर्षमा सरुवा हुन्थ्यो । दुई–चार वर्ष यसैगरी बित्यो । मेरा जुम्ल्याहा छोरी जन्मिए । प्रसूति बिदा सकिएपछि खटाइएको कार्यालयमा एकजना सहयोगी दिदी राखेर अफिस आउजाउ गर्न थालें । घरबाट आउन नमिल्ने त थिएन सायद छोरी जन्मिएका कारण खासै चासो गरेनन् जस्तो ठानें । माइतीमा आमा मात्रै हुनुहुन्थ्यो । भर्खर भाउजू सुत्केरी भएका कारण आमालाई कर गर्न सकिन ।
श्रीमान् बेलाबेलामा छोरी भेट्न आउँथे, सबै कुरा सामान्य हुँदै थियो । छोरीहरू हुकर्न थाले, विस्तारै विद्यालय जाने भए, मैले श्रीमान्लाई बिन्ती गरें मिल्छ मेरो कार्यालयतिरकै विद्यालयमा सरुवा मिलाउनुहोस्, छोरीको ख्याल गर्न सहज हुन्थ्यो । केही समयपछि श्रीमान्ले आफ्नो सरुवा नमिल्ने, बरु छोरीहरूलाई आफ्नै स्कुलमा पढाउने कुरा गरे । मैले सहज रूपमा लिएँ, बाबासँगै पढ्ने भएपछि मलाई ढुक्क भयो । अर्को शैक्षिक सत्रपछि छोरीहरू बाबाकै विद्यालयमा भर्ना भए । जन्माएर, हुर्काएर पाँच कक्षासम्म पढ्ने बनाएका छोरीहरू बाबासँग दुई–चार महिना पनि राम्रोसँग बस्न सकेनन् ।
विद्यालयबाट आएपछि दुवै छोरी रुँदै फोन गर्न थाले, यो भएन त्यो भएन भन्दै । अफिसमा जिम्मा लिएपछि हरेक समय परिवारको गुनासो सुन्न सकिँदैन । कुनैबेला हाकिमको कोठामा हुन्छु, कुनै बेला केही मिटिङमा हुन्छु । मोबाइल उठाउन नपाउने अवस्थामा हुन्छु । श्रीमान्ले हरेक क्षण भिडियो कल गर्थे, मैले बाध्यता सुनाउँथें ।
पछि म आफै कल गर्थें, श्रीमान् रिसले चुर हुन्थे, कस्तो जागिर हो ? आफ्ना बूढासँग कुरा गर्न नमिल्ने ? यस्तो जागिर दुनियाँले खाएको छ ।
छोरीहरूलाई मेरो रिसले कहिले चाउचाउ खुवाएर सुताउने, कहिले बिस्कुटका भरमा सुताउने गर्न थालेछन् । जुम्ल्याहा छोरीहरू हुर्काएर पाँच कक्षासम्म पढाउने म आमाले कुनै दिन गुनासो गर्ने ठाउँ राखिन । अहिले छोरीहरू हुर्किए, आफै विद्यालय आउजाउ गर्ने भए, यो खाने त्यो नखाने भन्ने भए, अब बाबालाई गाह्रो भयो ? आमा र बाबाको फरक सायद यही होला भन्ने लाग्यो ।
आफ्ना छोरी आफै लैजानु भन्नेसम्मको कुरा आयो, मैले छोरीहरू आफैसँग ल्याएँ । घरमा भएको बेलामा अफिसबाट फोन आउँदा पनि शंका हुन थाल्यो, जिम्मेवारी लिएपछि मेरो घर, मेरा आफन्त भन्न कहाँ पाइन्छ र ? जवाफदेही हुनुपर्दैन र ? मैले त्यति भूमिका निर्वाह गरेको हो । मैले कार्यालयमा कुरा गरें, मेरो यो समस्या भयो, परिवारमै संकट उब्जाएर कसरी जागिर खाने ? दुई महिनापछि मेरो सरुवा भयो । मेरो सरुवा भएको केही समयपछि फेरि श्रीमान्को सरुवा भयो । अब फेरि मेरो सरुवा गर्न सम्भव थिएन, महिना–महिनामा यस्तो उस्तो समस्या भन्ने नैतिकता बाँकी थिएन मसँग । फेरि श्रीमान् रिसाउन थाले, मसँग बस्ने मन छैन अनि कहाँबाट सरुवा मिल्छ त ? पोहोर–परार त सजिलै सरुवा हुन्थ्यो... यही विषयबाट आगोको ज्वालो निस्कन सुरु गर्‍यो ।
परिवारको जिम्मेवारी महिलाले मात्रै जोगाउनुपर्ने कहिलेसम्म हो ? यत्रो वर्ष मेरो श्रीमान् एक्लै बसे कुनै दिन मैले शंका गरिन, जागिर त्यस्तै हो, शिक्षकको जागिर भनेको बेलामा सरुवा गर्न मिल्दैन भन्दै चित्त बुझाएँ । अहिले छोरीहरूको जिम्मेवारी लिने बेलामा नानाभाती निहुँ खोज्न थाले । म गलत नियतकी हुन्थें भने त छोरीहरू नजन्माउँदै उमेरमै अर्कैसँग जान्थें होला । मैले मेरो परिवार, आफन्त, श्रीमान्, छोरीहरू भन्दै एकोहोरो सम्बन्ध जोगाउन सारा समय सक्ने, उता श्रीमान् नानाथरी शंका गर्ने ।
घरपरिवार पनि पूरै एक्लिइसकेका रहेछन् । खै अहिले त हामीसँग पनि कुरा गर्दिन । जागिर खाएपछि त हामी किन चाहियो र ? पैसा त रहेछ नि सबथोक... यस्ता कुरा बेलाबेलामा कानमा परिरहन्थे ।
छोरा एकातिर, बुहारी अर्कातिर दुईवटा बच्चा हुर्काएर जागिर कसरी खाएकी छ, केही सहयोग गर्नुपर्ने हो कि भन्ने कुरा कहिल्यै आएन दिमागमा । दिनभर अफिसमा व्यस्त, घर फर्किएपछि छोरीको ख्याल गर्नुपर्‍यो, उनीहरूसँग कराउँदा, होमवर्क गराउँदा, भान्साको काम गर्दा कतिबेला ओछ्यानमा लडौं जस्तो हुन्छ । बिहान भएपछि उही चटारो सुरु हुन्छ । बिदाको दिन, समय भएको दिन सबैजनासँग भिडियो कल गर्छु, नानीहरूलाई पनि कुरा गराउँछु । चौबीसै घण्टा उनीहरूसँग बोल्न त सबै त्यागेर बस्नुपर्‍यो नि होइन र ? कहिलेकाहीँ नानीहरूको के छ, बुहारीको खबर के छ भनेर सोध्न हुँदैन ?
यिनै कुराले भुसको आगो फैलियो, श्रीमान् मसँग बस्न नसक्ने भए । म छोरीहरूका लागि भए पनि सम्बन्ध जोगाउने पक्षमा थिएँ । सँगै बस्ने हो भने जागिर छोड भने श्रीमान्ले । भर्खर प्रमोसन भएकी थिएँ, भोलि छोरीको भविष्य सम्झिएँ । यही जागिरका लागि हजारौं सपना मरेका छन्, म जागिर छाड्न सक्दिन भनें ।
यदि म शिक्षक हुन्थें र मेरा श्रीमान् मजस्तै कर्मचारी हुन्थे भने सबैकुरा मिल्थ्यो । मैले श्रीमान् व्यस्त भएको, मिटिङमा भएको, कुनै गोष्ठी–सेमिनारमा भएको बेलामा भिडियो कल उठाउन नपाएको सबै कुरा पत्याउनुपर्ने थियो । किनभने म श्रीमती हुँ, श्रीमान्को कुरा पत्याउनुपर्छ तर श्रीमतीको हकमा यो लागू हुँदैन ।
अहिले जागिर छ, दुई छोरी छन् । कम्तीमा मानसिक टर्चर छैन । जिन्दगी राम्रैसँग चलेको छ । छोरीहरूले पनि हामीले पनि जागिर खाएर तपाईंलाई खुसी बनाउँछौ भन्छन् । मेरो जागिर जोगियो तर परिवार जोगिएन ।
उनको यो भोगाइपछि धेरैजना साथी सम्झें । उनीहरू मलाई प्रश्न गर्थे, तपाईंलाई कत्तिको सहज छ भनेर । म उनीहरूलाई जवाफ दिन्थें, म आफूले सत्कर्म गर्छु, कुभलो चाहन्न ।
हरेक परिवारले आफ्ना मान्छेको नियत बुझांै । सहीलाई सही, गलतलाई गलत भन्न सिकांै । सकेसम्म साथ र सहयोग गरौं । सम्बन्ध सद्भावले जोगिन्छ, शंकाले होइन । महिला र पुरुष एकरथका दुई पाङ्ग्रा हुन्, एक्लै यात्रा गर्न नखोजांै । जागिर समृद्धि र सन्तुष्टिका लागि खाने हो, यातना र शंकाका लागि खाने होइन । जागिर हामीले खाने हो, हामीलाई जागिरले खायो भने त्यसको परिणाम सुखद् हुँदैन ।

 Image