Successfully Copied

‘बहिरा समुदायलाई सम्मान गरौं’

मेरा लागि सांकेतिक भाषा बहिरा समुदायसँग जोडिने एउटा माध्यम हो ।


धरानमा जन्मिएर भैरहवामा पढाइ–लेखाइ गरेकी सिलु शर्मा २०५८ सालदेखि सांकेतिक भाषा समाचार प्रस्तोताका रूपमा कार्यरत छिन् । ‘नेपाली सांकेतिक भाषाको उद्भव, विकास र स्वरूप’ नामको शोधपत्र तयार पारी उनले २०६० सालमा पुस्तकका रूपमा प्रकाशित गरिन् । भाषा विज्ञान अध्ययन गर्दा अर्को शोधपत्र ‘नेपाली सांकेतिक भाषाको समास’ लेखिन् । नेपाली सांकेतिक भाषाकी दोभाषे तथा अनुसन्धानकर्ता शर्मासँग नारीले गरेको कुराकानी :
अहिले केमा व्यस्त हुनुहुन्छ ?
सानो परियोजनामा काम गरिरहेकी छु । डिज्यास्टरसम्बन्धी प्रोजेक्ट हो, यसमा सांकेतिक भाषामै काम गरिरहेकी छु ।
सांकेतिक भाषातर्फ कसरी रुचि बढ्यो ?
मेरो माइती घर भैरहवा हो । ब्याचलरको रिजल्टको पर्खाइमा खाली समयको सदुपयोग गरेको मात्रै हो । २०५४ सालमा लुम्बिनी बहिरा संघमा सांकेतिक भाषा सिकेर त्यहीँ दोभाषेका रूपमा काम गरें । यसरी नै सांकेतिक भाषातर्फ झुकाव बढ्यो । एक वर्ष काम गरेर एमए पढ्न काठमाडौं आएँ । काठमाडौं बहिरा संघमा काम पाएँ । त्यसपछि एमएको थेसिस लेखें । नेपाली सांकेतिक भाषा शब्दकोषमा सहलेखनको काम गरें । दुई वर्षअघि नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली सांकेतिक भाषाको स्वरूप पुस्तक प्रकाशित भएको छ ।
सांकेतिक भाषालाई कसरी परिभाषित गर्नुहुन्छ ?
मेरा लागि सांकेतिक भाषा बहिरा समुदायसँग जोडिने एउटा माध्यम हो ।
सांकेतिक भाषामा समाचार पढ्नु कत्तिको चुनौती थियो ?
चुनौती हिजो पनि थिए आज पनि छन् । भाषाको विकास हुँदै गर्दा प्राविधिक शब्दहरू पनि नयाँ–नयाँ आइरहेका हुन्छन् । शब्दकोषमै नभएका शब्द उच्चारण गर्दा र प्रसारणको बेला प्राविधिक चुनौती आएका बेला जटिल हुन्छ, समस्या आउँछन् ।
यसले तपाईंलाई के सिकायो ?
हाम्रो समाजले हेपेको, एक्लै बनाएको समुदायका लागि केही गर्न सकिन्छ भन्ने लागेको छ ।
यसबाहेक अरु कुनै क्षेत्रमा सक्रिय हुनुहुन्छ कि ?
दोभाषेको कामबाहेक लेखन, युएनसँग पनि आबद्ध छु । प्रेरणा भन्ने संस्थामा कन्सल्ट्यान्टका रूपमा कार्यरत छु ।
फुर्सदको समय कसरी बित्छ ?
फुर्सदै हुँदैन । भइहाल्यो भने लेखपढ गर्न, घुम्न वा बोटबिरुवा रोप्न मनपर्छ ।
कुनै एकजना प्रसिद्ध बहिरा व्यक्ति भेट्ने अवसर पाए कसलाई भेटेर के कुरा गर्नुहुन्थ्यो ?
स्व. हेलेन केलर ( डेफ ब्लाइण्ड) संग भेटेर उहांको कामहरु हेर्न र उहांबाट धेरै कुरा सिक्न मन थियो ।
बहिरा समुदायको मुख्य आवश्यकता के हुँदोरहेछ ?
सञ्चारमा पहुँच छैन । विशेषगरी हरेक स्थानीय निकायले दोभाषेको दरबन्दी राखिदिएमा उनीहरूले आफ्ना समस्या सहजै भन्न सक्ने थिए । उनीहरूलाई अलिकति भए पनि सहज हुने थियो ।
पाठकका लागि केही सन्देश छ कि ?
बहिरा समुदायलाई सम्मान गरौं । उनीहरूसँग कुरा गर्न सांकेतिक भाषा सिकौं । यसले आफ्नो पनि सीप र क्षमतामा वृद्धि हुन्छ । 

 Image