पूजा खड्का
नेपालमा पछिल्लो समय ‘मोन्टेश्वरी’ नाममा सञ्चालन हुने पूर्व–प्राथमिक विद्यालयको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । तर प्रश्न उठ्ने गरेको छ–के यी सबै विद्यालय वास्तवमै मोन्टेश्वरी सिद्धान्तअनुसार सञ्चालन भइरहेका छन् ?
मोन्टेश्वरी शिक्षण विधि पहिलो पटक सन् १९०९ मा इटालियन चिकित्सक मारिया मन्टेश्वरीले विकास गरेकी थिइन् । बालबालिकाको स्वाभाविक विकासलाई केन्द्रमा राखेर तयार गरिएको यो शिक्षण विधि आज विश्वभर मोन्टेश्वरी शिक्षा प्रणालीका रूपमा परिचित छ ।
मोन्टेश्वरी विधि बालकेन्द्रित शैक्षिक दृष्टिकोण हो । यसमा बालबालिकालाई आत्म–निर्देशित र आत्म–प्रेरित गतिविधिमार्फत सिकाइ गराइन्छ । खेल, अनुभव र प्रत्यक्ष गतिविधिका माध्यमबाट बालबालिकाको संज्ञानात्मक, सामाजिक–भावनात्मक, भाषिक तथा शारीरिक विकासलाई प्रोत्साहन गरिन्छ ।
यो शिक्षण पद्धतिको मुख्य उद्देश्य बालबालिकामा यस्तो बलियो आधार निर्माण गर्नु हो, जसले उनीहरूलाई स्वतन्त्र, जिज्ञासु र आजीवन सिक्ने क्षमता भएका व्यक्तिका रूपमा विकास गर्न सहयोग पुर्याओस् ।
मोन्टेश्वरी शिक्षाको सुरुवात
डा. मारिया मोन्टेश्वरी आफ्नो समयकी असाधारण महिला थिइन् । उन्नाइसौं शताब्दीको अन्त्यतिर महिलाका लागि सीमित पेसा उपलब्ध भए पनि उनले त्यसलाई चुनौती दिँदै इटालीमा मेडिकल डाक्टर बन्न सफल भइन् ।
मनोचिकित्सक तथा बालविशेषज्ञका रूपमा काम गर्ने क्रममा उनले विकासमा ढिलाइ भएका बालबालिकासँग काम गरिन् । त्यही अनुभवबाट उनले महत्वपूर्ण निष्कर्ष निकालिन्–यी बालबालिकालाई चिकित्सा उपचारभन्दा उपयुक्त शिक्षण विधि आवश्यक छ ।
सन् १९०० मा उनी रोमस्थित अर्थोफ्रेनिक स्कुल (विकास ढिलाइ भएका बालबालिकाका लागि विद्यालय) की निर्देशक नियुक्त भइन् । त्यहाँ अध्ययनरत बालबालिकाले पछि सामान्य विद्यालयका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गरी राम्रो नतिजा ल्याए । तर यस उपलब्धिको श्रेय आफैं लिनुभन्दा उनले इटालीको शिक्षा प्रणालीप्रति प्रश्न उठाइन्–यदि अपाङ्गता भएका बालबालिका सफल हुन सक्छन् भने सामान्य बालबालिका किन असफल भइरहेका छन् ?
सन् १९०७ मा उनले रोमको एक झुपडीमा तीन–सात वर्षका बालबालिकाका लागि पहिलो ‘कासा देई बाम्बिनी’ (बालगृह) स्थापना गरिन् । यही प्रयोगात्मक अभ्यास र वैज्ञानिक अवलोकनका आधारमा उनले मोन्टेश्वरी शिक्षण विधि विकास गरिन् ।
उनले बालबालिकाको विकासमा ‘संवेदनशील अवधि’ हुने तर्क प्रस्तुत गरिन् । यस्ता चरणहरूमा बालबालिकाले उपयुक्त वातावरण पाए तीव्र रूपमा सिक्न सक्छन् । त्यसैले बालबालिकालाई स्वतन्त्र गतिविधि गर्न सक्ने ‘तयार वातावरण’ अत्यन्त महत्वपूर्ण मानिन्छ ।
आज विश्वभर ३–६ वर्षका बालबालिकाका लागि हजारौं मोन्टेश्वरी विद्यालय सञ्चालनमा छन् ।
मोन्टेश्वरी शिक्षाका मुख्य सिद्धान्त
खेल नै काम हो
मोन्टेश्वरी दृष्टिकोणमा खेललाई सामान्य गतिविधि मानिँदैन । खेलमार्फत बालबालिकाले सिक्ने, समस्या समाधान गर्ने र जीवनका आधारभूत सीपहरू विकास गर्ने अवसर पाउँछन् ।
तयार वातावरण
बालकेन्द्रित, सुरक्षित र व्यवस्थित वातावरण तयार गरिन्छ जहाँ बालबालिकाले स्वतन्त्र रूपमा सिक्न सक्छन् । यसमा गति र छनोटको स्वतन्त्रता, सुन्दरता, सरलता र पर्याप्त सिकाइ सामग्री उपलब्ध गराइन्छ ।
अवलोकन
मोन्टेश्वरी शिक्षामा शिक्षकको मुख्य भूमिका बालबालिकाको व्यवहार, रुचि र विकास प्रक्रियाको वैज्ञानिक अवलोकन गर्नु हो । यस आधारमा शिक्षकले सिकाइ प्रक्रिया सहज बनाउँछन् ।
सीमाभित्रको स्वतन्त्रता
बालबालिकालाई स्वतन्त्र रूपमा गतिविधि छनोट गर्ने अवसर दिइन्छ, तर वातावरण र अन्य व्यक्तिप्रति सम्मान कायम राख्ने स्पष्ट सीमासहित ।
सम्मानको संस्कृति
मोन्टेश्वरी शिक्षामा बालबालिकाको व्यक्तित्व, रुचि र भिन्नतालाई सम्मान गरिन्छ । यसले आत्मविश्वास र सकारात्मक सामाजिक व्यवहार विकास गर्न मद्दत गर्छ ।
व्यावहारिक र सक्रिय सिकाइ
बालबालिकाले प्रत्यक्ष रूपमा सामग्री छुन, प्रयोग गर्न र अन्वेषण गर्न पाउने वातावरण हुन्छ । यसले अवधारणा बुझ्न सजिलो बनाउँछ ।
स्वतन्त्रता र आत्मनिर्भरता
मोन्टेश्वरी शिक्षाले बालबालिकामा आत्मनिर्भरता, आत्मअनुशासन र जिम्मेवारीबोध विकास गर्न जोड दिन्छ । शिक्षक मार्गदर्शकको भूमिकामा हुन्छन् ।
मोन्टेश्वरी कक्षाकोठा कस्तो हुन्छ ?
मोन्टेश्वरी कक्षाकोठा सामान्य कक्षाकोठाभन्दा फरक हुन्छ । यहाँ बालकेन्द्रित डिजाइन, खुला र व्यवस्थित स्थान तथा प्राकृतिक प्रकाशलाई महत्व दिइन्छ ।
कक्षाकोठामा प्राय: यी क्षेत्रहरू हुन्छन्
कार्य क्षेत्र–भुइँमा म्याट वा सानो टेबल जहाँ बालबालिकाले व्यक्तिगत वा सानो समूहमा काम गर्न सक्छन् ।
खुला दराज–विषयानुसार व्यवस्थित सिकाइ सामग्री सजिलै देखिने गरी राखिएको हुन्छ ।
व्यावहारिक जीवन क्षेत्र–झाडु, ट्रे, भाँडाकुँडा आदि सामग्री प्रयोग गरेर दैनिक जीवनको सीप सिकाइन्छ ।
पढ्ने कुना–शान्त र आरामदायी स्थान जहाँ बालबालिकाले किताब पढ्न सक्छन् ।
प्रकृति कुना–बिरुवा वा प्रकृतिसम्बन्धी सामग्री जसले बालबालिकालाई प्रकृतिसँग जोड्छ ।
कला क्षेत्र–चित्र, माटो वा अन्य सिर्जनात्मक सामग्री प्रयोग गर्ने स्थान ।
नेपालमा मोन्टेश्वरी दृष्टिकोण
नेपालमा प्रारम्भिक बाल्यावस्था शिक्षाको सुरुवात सन् १९५० को दशकदेखि सरकारी पहलमा भएको मानिन्छ । त्यसपछि राजधानी काठमाडौंमा पहिलो मोन्टेश्वरी विद्यालय स्थापना भयो, जसले प्रारम्भिक बाल्यकाल शिक्षा र पोषण कार्यक्रमलाई अगाडि बढायो ।
पछिल्ला दशकहरूमा पूर्व–प्राथमिक शिक्षा विस्तार गर्ने उद्देश्यले विभिन्न जिल्लामा बाल विकास केन्द्रहरू र विद्यालय स्थापना हुँदै गए । तर आज ‘मोन्टेश्वरी’ नाम प्रयोग गर्ने सबै विद्यालयले वास्तविक मोन्टेश्वरी सिद्धान्त अपनाएका छन् भन्ने निश्चित छैन ।
शिक्षाविद्हरूका अनुसार विद्यालयले मोन्टेश्वरी नाम राख्नु मात्र पर्याप्त हुँदैन ।
वास्तविक मोन्टेश्वरी विद्यालय हुनका लागि प्रशिक्षित शिक्षक, बालकेन्द्रित वातावरण, स्वतन्त्र र खेलआधारित सिकाइ, उपयुक्त शिक्षण सामग्री, मिश्रित उमेर समूह, वैज्ञानिक अवलोकनमा आधारित शिक्षण जस्ता आधारभूत मापदण्ड पूरा हुन आवश्यक हुन्छ ।
त्यसैले नेपालमा मोन्टेश्वरी शिक्षाको नाममा सञ्चालन भइरहेका पूर्व–प्राथमिक विद्यालयलाई वास्तविक मोन्टेश्वरी विद्यालय भन्नका लागि यी मापदण्ड पूरा भएको हुनुपर्छ भन्ने शिक्षाविद्हरूको धारणा छ ।
(लेखक गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही–६, दाङमा कार्यरत शिक्षिका हुन्।)