Successfully Copied

दीक्षान्त समारोहले आत्मविश्वास बढाउँछ

दीक्षान्त समारोह अहिले महत्वपूर्ण छ । यसले बालबालिकामा आत्मविश्वास बढाउने काम गरेको देखिन्छ । उनीहरूले आफ्नो सिकाइ यात्रालाई औपचारिक रूपमा मान्यता पाउँछन्, जसले नयाँ तहमा प्रवेश गर्दा उत्साह बढाउँछ ।


अन्नपूर्ण गाउँपालिका–५ कास्की नयाँपुलमा ७ वर्षदेखि सञ्चालनमा रहेको न्यू ब्रिज इन्क्लुसिभ मोन्टेश्वरीकी सञ्चालक शान्ति केसीसँग मोन्टेश्वरीका बारेमा गरिएको संवाद:
अहिले प्राय: मोन्टेश्वरीहरूमा दीक्षान्त समारोह गरिन्छ किन होला ?
दीक्षान्त समारोह अहिले महत्वपूर्ण छ । यसले बालबालिकामा आत्मविश्वास बढाउने काम गरेको देखिन्छ । उनीहरूले आफ्नो सिकाइ यात्रालाई औपचारिक रूपमा मान्यता पाउँछन्, जसले नयाँ तहमा प्रवेश गर्दा उत्साह बढाउँछ ।
अभिभावकले आफ्ना बालबालिकाको प्रगति भएको देख्न पाउँछन् र विद्यालयप्रति विश्वास बलियो हुन्छ । आफ्ना सन्तानको उपलब्धिलाई सँगै मनाउन पाउँछन् । साथै, विद्यालय र अभिभावकबीच सम्बन्ध सुदृढ हुन्छ र बालबालिकामा अनुशासन, प्रस्तुति क्षमता एवं सामाजिक घुलमिल गर्ने सीप विकास हुन्छ । विद्यालयप्रति सकारात्मक धारणा बलियो हुन्छ ।
बालबालिकाका लागि दीक्षान्त समारोह किन आवश्यक छ ?
दीक्षान्त समारोह बालबालिकाका लागि नयाँ यात्राको सुरुवातको प्रतीक हो । यसले उनीहरूलाई आफूले सिकेको कुराप्रति गर्व गर्न सिकाउँछ साथै अर्को शैक्षिक चरणमा जान आत्मविश्वास बढाउँछ । यसबाट उनीहरूलाई भविष्यमा बालापनको खुसीको क्षणको स्थान पाएको अनुभूति हुन्छ ।
बालबालिकामा यस्ता समारोहले के परिवर्तन हुने रहेछ ?
दीक्षान्त समारोहपछि उनीहरूमा हौसला, उत्साह बढेको हामीले देखेका छांै । उनीहरूलाई आफूले सानै उमेरमा उपलब्धि हासिल गरेको अनुभूति हुन्छ र अर्को कक्षामा जान अझ उत्साह देखाउँछन् ।
साना बालबालिकाहरू सुरुमा किन मोन्टेश्वरी जान नमानी रुन्छन् ?
मोन्टेश्वरी आउने बालबालिका साना उमेरका हुन्छन् । उनीहरू आफ्नो परिवार भन्दा फरक स्थानमा जाँदा नौलो लागेर रुने, आत्तिने गर्छन् । मोन्टेश्वरीमा घरको वातावरणजस्तै माया गरेर, खेल खेलाएर र विस्तारै वातावरणसँग घुलमिल गराएर सहज बनाउनुपर्छ । शिक्षकको व्यवहार धेरै मायालु हुनुपर्छ ।
बालबालिकाको मनोविज्ञान कसरी बुझ्ने ?
बालबालिकालाई नजिकबाट अवलोकन गरेर, उनीहरूसँग समय बिताएर र उनीहरूको रुचि तथा व्यवहारलाई ध्यान दिएर बालमनोविज्ञान बुझ्न सकिन्छ ।
अनुशासन र मायाबीच सन्तुलन कसरी राख्ने ?
मायालु वातावरणमा नै राम्रो अनुशासन सिकाउनुपर्छ । डर देखाएर होइन, सम्झाएर र उदाहरण दिएर अनुशासन सिकाउनुपर्छ ।
बालबालिका कस्ता हुन्छन् ?
हरेक बालबालिकामा विशेष, फरक क्षमता र रुचि भएका हुन्छन् । हामीले उनीहरूको रुचिलाई विस्तारै नजिकबाट बुझ्ने प्रयास गर्नुपर्छ । बालबालिकालाई अभिभावक र शिक्षकले सही वातावरण र हौसला दिनु आवश्यक छ । यसले उनीहरूको सहज बालापनका साथै भविष्य पनि सहज बन्न मद्दत गर्छ ।
बालबालिका खुसी बनाउन के गर्नुपर्छ ?
उनीहरूको रुचिअनुसार खुसी राख्ने प्रयास गर्नुपर्छ । खेलमुखी सिकाइ, गीत, नृत्य, कथा र विभिन्न गतिविधिमार्फत उनीहरूलाई खुसी राख्ने प्रयास गर्न सकिन्छ ।
घर र मोन्टेश्वरीमा कस्तो वातावरण भए बालबालिकाको विकासमा मद्दत गर्छ ?
घर र विद्यालय दुवै ठाउँमा मायालु, सहयोगी र सकारात्मक वातावरण भएमा बालबालिकाको राम्रो साथै छिटो सकारात्मक तरिकाले विकास हुन्छ ।
भविष्यको योजना ?
मैले एमफिल इन अर्ली चाइल्डहुल्ड एजुकेसन गरिसकेकीले पीएचडी पनि गर्ने सोचमा छु । साथै मेरो मोन्टेश्वरीलाई प्रविधिमैत्री नमूना समावेशी शैक्षिक संस्था बनाउने लक्ष्य राखेकी छु । 

 Image