रमा भेटुवाल
प्रिन्सिपल, लिटिल पिगासस मोन्टेश्वरी, धापासी
घरमा सहयोगी राख्नुभन्दा मोन्टेश्वरी किन राम्रो भन्ने अभिभावकको धारणा छ ?
घरमा एक जनासँग मात्र बस्दा बालबालिकाले सीमित कुरा सिक्छन् । तर यहाँ उनीहरूले फुडिङ, सामाजिक सीप, पर्सनल हाइजिन, समूहमा घुलमिल हुने बानी सबै सिक्छन् । अहिलेका अभिभावकमा ‘घरमा मान्छे राख्नु भन्दा मोन्टेश्वरीमा राख्नु राम्रो’ भन्ने कन्सेप्ट विकास भइसकेको छ ।
सामान्य विद्यालय र प्रि–स्कुल (मोन्टेश्वरी) बीच मुख्य फरक के हो ?
हाम्रो कक्षामा १०:१ अनुपात हुन्छ । १० जना बालबालिकालाई एकजना शिक्षक र एकजना सहायकले हेरचाह गर्छौं । घरमा अभिभावकले जसरी बालबालिकालाई हेर्नुहुन्छ, त्यस्तै व्यक्तिगत ध्यान दिन्छौं ।
सामान्य विद्यालयमा जस्तो ब्ल्याकबोर्ड/ह्वाइटबोर्डमा दबाब दिएर पढाउने प्रणाली हुँदैन । हामी ‘ह्यान्ड्स–अन एक्टिभिटी’ मार्फत सिकाउाछौं–पहिला कलरिङ, फिङ्गर एक्सरसाइज, क्रेयन प्रयोग, त्यसपछि मात्र लेखाइतर्फ लैजान्छौं ।
कामकाजी अभिभावकका लागि विशेष सुविधा के–के छन् ?
कम विद्यार्थी अनुपात, कम बिदा, एक्सटेन्डेड आवर सुविधा (आवश्यक परे पाँच बजेसम्म हेरचाह), अफिसबाट ढिला छुट्ने अभिभावकका लागि यो ठूलो सहयोग हुन्छ ।
बालबालिकामा सेल्फ–लर्निङ र इन्डिपेन्डेन्स कसरी विकास गराइन्छ ?
सानैदेखि आफ्नै काम आफैं गर्ने बानी बसालिन्छ । आफैं खाना खाने, खेलौना मिलाउने, फोहोर डस्टबिनमा राख्ने, टेबल सफा गर्ने, कपडा लगाउने, यी सबै लाइफ–स्किल गतिविधि कोर्सकै भाग हुन् ।
बालबालिकाहरूले धेरै कुरा शिक्षकभन्दा आफ्नै उमेरका साथीहरूबाट सिक्छन् । जस्तै, दिशा गरेपछि आफै धुने पनि समूहमा सिक्दा सजिलो हुन्छ ।
व्यक्तिगत सरसफाइ (हाइजिन) पनि मोन्टेश्वरीको भाग हो ?
अवश्य । ब्रस गर्ने, केश कोर्ने, नङ काट्ने/सफा राख्ने, लुगा मिलाएर लगाउने, यी सबै अभ्यास सानैदेखि गराइन्छ । यसले उनीहरूलाई पर्सनलाइजिङ र जिम्मेवारी सिकाउँछ ।
मोन्टेश्वरीमा पढेका बालबालिकामा कस्तो परिवर्तन देख्नुहुन्छ ?
सामान्य विद्यालयका बालबालिका एकेडेमिक रूपमा अगाडि हुन सक्छन्, तर लाइफ–स्किलमा मोन्टेश्वरीका बालबालिका फरक देखिन्छन् । अभिवादन गर्ने बानी, खाने शिष्टाचार, प्लेट आफैं मिलाउने, सफाइमा ध्यान दिने जस्ता सीप उनीहरूले राम्ररी सिकेका हुन्छन् ।
यद्यपि, ठूलो विद्यालयमा जाँदा कम विद्यार्थीबाट धेरै विद्यार्थी भएको वातावरणमा समायोजन गर्न केही समय लाग्न सक्छ ।
हेल्दी फुड र जंक फुडको बानीबारे के गरिन्छ ?
अहिलेका अभिभावक व्यस्त हुने भएकाले जंक फुडको चलन बढेको छ । हामीले विद्यालयमा ‘हेल्दी फुड खक जंक फुड’ बारे पाठ्यक्रमकै रूपमा सिकाउाछौं । बालबालिकाहरूलाई व्यावहारिक रूपमा बुझाइन्छ—कुन खाना स्वास्थ्यका लागि राम्रो हो, कुन हानिकारक । सबै अभिभावकले शतप्रतिशत फलो नगरे पनि बालबालिकामा सचेतना विकास हुन्छ ।