Successfully Copied

महिला क्रिकेट विश्वकपको नालीबेली

दक्षिण अफ्रिका र भारतबीचको फाइनल खेल पनि रोमाञ्चक रह्यो । ५२ रनले हराई भारत ५२ वर्षपछि पहिलो पटक विश्व विजेता बन्न सफल भयो ।


सुमनराज ताम्राकार

पुरुष विश्वकप क्रिकेटभन्दा अगाडि सन् १९७३ मै इंग्ल्यान्डबाट सुरुवात भएको महिला क्रिकेट विश्वकप सुरुदेखि नै नियमित आयोजना हुन सकेन । यस पटकको महिला विश्वकप क्रिकेट प्रतियोगिताको १३ औं संस्करण भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना गरियो । यसअघि भारतले १९७८, १९९७ र २०१३ मा आयोजना गरिसकेको भए पनि श्रीलंकाले भने पहिलो पटक आयोजना गर्दै थियो । पछिल्लो समय भारत र पाकिस्तानबीचको तनाव यस प्रतियोगितमा पनि देखियो । ३० सेप्टेम्बर देखि २ नोभेम्बरसम्म संचालित यस विश्वकपमा अन्तिम पटक ८ टोली सहभागी थिए (किनकि २०२९ विश्वकपदेखि १० टोली सहभागी हुनेछन्) । कुल ३१ खेलमध्ये भारतको मुम्बई, गुवाहाटी, विशाखापत्नम र इन्डोरमा २० खेल तथा श्रीलंकाको कोलम्बोमा ११ खेल खेलाइएको थियो । हालसम्म सर्वाधिक ७ पटक उपाधि जितेका अस्ट्रेलिया साबिक विजेताका रूपमा सहभागी थियो । आयोजकको हैसियतमा भारत सहित २०२२–२०२५ महिला च्याम्पियनसीपका ५ वटा टोली (अस्ट्रेलिया, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका) एवं विश्वकप छनोट २०२५ बाट (बंगलादेश र पाकिस्तान) गरी ८ टोली सहभागी थिए । भारत, इंग्ल्यान्ड (१९७३, १९९३, २०१७), अस्ट्रेलिया (१९८८) र न्यूजिल्यान्ड (२०००) पछि आयोजक नै तथा विश्वकप पहिलो पटक जित्ने चौथो राष्ट्र बन्यो ।

समूह चरण
समूह चरणको पहिलो खेलका भारतका दीप्ति शर्मा र अमानजोत कौरको बलियो साझेदारीले २६९ रनको सम्मानजनक स्कोर बनाएपछि बंगलादेशलाई ५९ रनले पराजित गर्‍यो । अस्ट्रेलिया र न्यूजिल्यान्डबीचको खेलमा दुवै टोलीका क्रमशः एस्ले गार्डनर (८३ बलमा ११५ रन) र सोफी डिभाइनले शतक बनाएको खेलमा अस्ट्रेलिया ८९ रनले विजयी भयो । बंगलादेशले लो स्कोरिङ म्याचमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्‍यो । प्रतियोगिताकै सर्वाधिक लो स्कोरिङ म्याचमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई केवल ६९ रनमा समेट्यो । जवाफीमा विना कुनै विकेट गुमाई इंग्ल्यान्ड विजयी भयो । चिर प्रतिद्वन्द्वीबीचको खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गर्‍यो । ६ विकेटले न्यूजिल्यान्डलाई पराजित गरेको खेलमा दक्षिण अफ्रिकाका तजमिन ब्रिट्सले ८९ बलमा १०१ रन बनाएकी थिइन् । यसै खेलबाट न्यूजिल्यान्डका सुजी बेट्स ३५० औं अन्तर्राष्ट्रिय खेल खेल्ने प्रथम महिला क्रिकेटर बनिन् । इंग्ल्यान्डले बंगलादेशलाई १७८ मा समेटेपछि हिथर नाइटको ७९ रनको मद्दतमा इंग्ल्यान्ड ४ विकेटले विजयी भयो । अस्ट्रेलिया र पाकिस्तानबीचको खेलमा पहिलो इनिङमा पाकिस्तानले कसिलो बलिङ गरी ७६/७ को स्थितिमा पुर्‍याएको भए पनि बेथ मोनीले निकै जिम्मेवारी तवरमा ब्याटिङ गरी २२१ को स्कोरमा पुर्‍याइन् । बेथ मोनी र एलाना किङबीचको १०६ रनको नवौं विकेट पार्टनरसीप महिला एकदिवसीय खेलमा कीर्तिमान नै भयो । जवाफीमा टिकेर खेलिरहेकी सिद्रा अमिन आउट भएपछि पाकिस्तान पनि ७८/७ मा पुग्यो । त्यहाँबाट कसैले उकास्नै सकेन र ठूलो अन्तर (१०७ रन) ले पराजित भयो । भारत र दक्षिण अफ्रिकाबीचको खेलमा जवाफीमा आठौं नम्बरमा ब्याटिङ गर्न आएकी सर्वोत्कृष्ट खेलाडी नदिन डी क्लार्कले ५४ बलमा अविजित ८४ रन बनाएपछि भारत ३ विकेटले पराजित भयो । न्यूजिल्यान्ड र बंगलादेशबीचको खेलमा ३८/३ को स्थितिबाट ब्रुक ह्याल्लिडे र सोफी डिभाइनको जोडीले १७९/५ मा पुर्‍याएपछि न्यूजिल्यान्डले २२७ को स्कोर खडा गर्‍यो । जवाफीमा बंगलादेश १२७ मै अलआउट भयो । ११७ रन (११७ बल) बनाउनुका साथै ५ ओभरमा २ विकेट लिएकी नाट सिभर ब्रुन्टको मद्दतमा इंग्ल्यान्डले श्रीलंकालाई ८९ रनले पराजित गर्‍यो । महिला एकदिवसीयमा विश्व कीर्तिमान नै बन्ने गरी सर्वाधिक रन (३३० रन) पछ्याई अस्ट्रेलिया विजयी बन्ने क्रममा भारतलाई ३ विकेटले पराजित गर्‍यो । अर्को खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ३ विकेटले पराजित गर्‍यो ।


अस्ट्रेलियाले बंगलादेशलाई १९८ मा समेटेपछि जवाफीमा ओपनर जोडी एलिसा हिली र फोबी लिचफिल्डले नै विजय दिलाई सेमीफाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो । वर्षाले प्रभावित भएपछि २० ओभरमा घटाएको खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले १० विकेटले पराजित गर्‍यो । हिथर नाइटले ९१ बलमा १०९ रन बनाएपछि इंग्ल्यान्डले २८८ को स्कोर बनायो, जुन भारतलाई ४ रनको झिनो अन्तरले पराजित गर्न काफी भयो । अन्तिम ओभरमा निकै नाटकीय भएको बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंका ७ रनको अन्तरले विजयी भयो । वर्षाका कारण ४० ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकाले ३१२ को विशाल स्कोर बनायो । फेरि वर्षाले गिजोलेपछि २० ओभरमा २३४ बनाउनुपर्ने लक्ष्य पछ्याउने क्रममा पाकिस्तान १५० रनले पराजित भयो । अस्ट्रेलियाका अन्नाबेल सुथरल्यान्ड र एश्लेई गार्डनरको पाँचौं विकेटको सशक्त साझेदारीमा चीर प्रतिद्वन्द्वी इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्‍यो । यस खेलमा सुथरल्यान्डले चाहेको भए शतक बनाउन सक्थिन् तर व्यक्तिगत स्वार्थ देखाइनन् ।

दुवै टोलीका लागि फाइनल सरहको खेलमा भारतका ओपनरद्वयले शतक ठोकेपछि विशाल स्कोर (३४० रन) खडा गर्‍यो । वर्षाले खेल अवरुद्ध होला कि जस्तो भएको खेलमा न्यूजिल्यान्डले निर्धारित नयाँ लक्ष्य ३२५ भेट्टाउन सकेन र सेमीफाइनलबाट बाहिरियो । दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले पराजित गर्ने क्रममा सर्वोत्कृष्ट खेलाडी एलाना किङले कीर्तिमान नै खडा गरिन् । तिनले ७ ओभरको बलिङ केवल १८ रन दिई ७ विकेट चट्काइन् । यसअघि १९८२ महिला क्रिकेट विश्वकपमा न्यूजिल्यान्डकी ज्याकलिन लर्डले १० रन दिई ६ विकेट लिएकी थिइन् । इंग्ल्यान्डले ८ विकेटले न्यूजिल्यान्डलाई पराजित गरेको खेलमा एमी जोन्सले ९२ बलमा अविजित ८६ रन बनाइन् । यसरी समूह चरणकै सर्वाधिक लो स्कोरिङ म्याच (चौथो खेल) खेलेका दक्षिण अफ्रिका र इंग्ल्यान्ड एवं हाई स्कोरिङ म्याच (१३ औं खेल) खेलेका भारत र अस्ट्रेलियाबीच सेमी फाइनल खेल्ने भयो । समूह चरणका २८ खेलमध्ये भारतमा भएका ३ खेल र श्रीलंकामा भएका ७ खेल (५ खेल त नतिजाविहीन एवं रद्द) मा वर्षाले प्रभावित भए । यो हिसाबले श्रीलंकामा खेल आयोजना गर्नु सही देखिएन र वर्षाकै कारणले कुनै टोलीलाई घाटा भयो भने त्यो श्रीलंकालाई नै भयो । किनकि श्रीलंकाले सम्भवतः न्यूजिल्यान्ड र पाकिस्तानलाई पराजित गर्न सक्थ्यो ।


सेमी र फाइनल
दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो सेमीफाइनल खेलमा सर्वोत्कृष्ट खेलाडी लाउरा वोल्भार्डट्को १६९ रन (४१३ बलमा) मद्दतमा दक्षिण अफ्रिकाले ३१९ रनको विशाल रन बनायो । जवाफीमा इंग्ल्यान्डको सुरुवात राम्रो भएन । दोस्रो ओभरसम्ममा केवल एक रन, ३ विकेट पतनको स्थितिबाट नाट सिभर ब्रुन्ट र एलाइस क्याप्सीको जोडीले बलियो आधार बनाउन खोजे पनि तिनीहरू आउट भएपछि खेल पूरै दक्षिण अफ्रिकातर्फ मोडियो । र, इंग्ल्यान्ड १२५ रनको अन्तरले पराजित भयो । एकदिवसीय प्रतियोगितामा दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुग्यो । यसै खेलमा दक्षिण अफ्रिकाकी मारिजाने कापले महिला विश्वकप प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनी भारतकी भुलन गोस्वामीको कीर्तिमान तोडिन् । दोस्रो सेमीफाइनल निकै प्रतिस्पर्धात्मक र हाइस्कोरिङ रह्यो । अस्ट्रेलियाले पहिले ब्याटिङ गरी फोबे लिचिफिल्डको शतक, इलिसे पेरी (७७ रन) र एश्लेई गार्डनर (६३ रन) को अर्धशतकको मद्दतमा ३३८ रनको विशाल रन खडा गरे पनि भारत महिला विश्वकप क्रिकेटको इतिहासमा फाइनलमा सर्वाधिक लक्ष्य पछ्याई विजय हासिल गर्ने टोली बन्यो । यस क्रममा तेस्रो विकेटका रूपमा आएकी जेमिमाह रोड्रिगेजले अविश्वसनीय प्रदर्शन (१३४ बलमा १२७ रन) गरिन् भने कप्तान हरमनप्रित कौरले ८८ रन बनाई राम्रै साथ दिइन् । र, भारत तेस्रो पटक (२००५ र २०१७ पछि) फाइनल पुग्यो । र, समूह चरणमा भएको हारको बदला पनि लियो ।



दक्षिण अफ्रिका र भारतबीचको फाइनल खेल पनि रोमाञ्चक भयो । वर्षाले गर्दा खेल सुरु हुन २ घण्टा ढिला भएको थियो । यसैकारण टस जितेको दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दा गाह्रो हुनसक्ने ठानी बलिङ रोजे तर यो निर्णय गलत साबित भयो किनकि फाइनल खेलका सर्वोत्कृष्ट खेलाडी शेफाली बर्मासहितको भारतीय ओपनरद्वयले स्कोर १०४ पुर्‍याए, पछि दीप्ति शर्माको अर्धशतकको मद्दतमा भारतले २९८ को विशाल स्कोर खडा गर्‍यो । दक्षिण अफ्रिकाको सबैभन्दा कमजोर पक्ष क्याच छुटाउनुरह्यो । एनेके बोचले ओपनर शेफाली ५६ रनमा छादा डिप मिडविकेटमा क्याच छुटाइन् । पछि तिनकै ब्याटबाट निस्केको रन भारतको जितको आधार बन्यो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ठीकै सुरुवात गरेको थियो । तर दोस्रो इनिङमा शेफालीकै बलिङ नै निर्णायक रह्यो । उनले २१ औं ओभरमा सुन लुस र २३ औं ओभरमा मारिजेन कापलाई आउट गरिन् । भलै कप्तान लाउरा वोल्फभार्डट्ले अर्को साइडमा राम्रै टिकेर खेलिरहेकी भए पनि ४२ औं ओभरमा तिनी शतक बनाए लगत्तै आउट भएपछि भने दक्षिण अफ्रिकाको आशा पूरै हरायो ।
यसरी भारतले ५२ रनले हराई ५२ वर्षपछि पहिलो पटक विश्व विजेता बन्न सफल भयो । प्रतियोगिताभरिका सर्वश्रेष्ठ खेलाडी भारतकी दीप्ति शर्मा भइन् । उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी थिइन् भने दक्षिण अफ्रिकाकी लाउरा वोल्फभर्डट् सर्वाधिक रन (५७१) बनाउने खेलाडी बनिन् ।

 Image