Successfully Copied

‘७५ प्रतिशत महिलामा प्रिमेन्स्ट्रुअल सिन्ड्रोम’

महिलाहरूमा हर्मोनल परिवर्तनहरू भइरहन्छन् । त्यसले महिनावारी हुनुअघि मुड स्विङ हुनसक्छ । कतिपयले कति रिसाएको वा झगडा गरेको भनिरहेका हुन्छन्, यस्तो समयमा परिवारले पनि बुझ्नुपर्छ । यो स्थिति के हो भन्ने बुझ्नुपर्छ । त्यस्तो समयमा महिलालाई पर्याप्त डाइटको पनि आवश्यक पर्छ ।


महिनावारी सुरु हुनुभन्दा केही दिनअघि धेरै महिलाले शारीरिक, मानसिक र भावनात्मक परिवर्तनको अनुभव गर्छन् । यस्ता लक्षणले दैनिक जीवनमा धेरै असर पार्छन् । यसलाई ‘प्रिमेन्स्ट्रुअल सिन्ड्रोम’ अर्थात् ‘पीएमएस’ भनिन्छ । पीएमएसका बारेमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर मीरा थापासँग प्रविना पौडेलले गरेको कुराकानी :


पीएमएस र यसका कारणबारे बताइदिनुस् न ?
महिनावारी हुनुभन्दा ५ देखि ७ दिनअघि महिलाहरूमा देखिने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरूको लक्षण पीएमएस अर्थात् प्रिमेन्स्ट्रुअल सिन्ड्रोम हो । झन्डै ७५ प्रतिशतमा सामान्य खालका पीएमएसका लक्षण हुन्छन् । ५ प्रतिशत महिलामा भने गम्भीर प्रकृतिका पीएमएसका लक्षणहरू देखिन्छन् जसलाई ‘पीएमडीडी’ अर्थात् ‘प्रिमेन्स्ट्रुअल डिस्फोरिक डिसर्डर’ पनि भनिन्छ । जुन मेडिकल्ली नै उपचार गर्नुपर्ने प्रकृतिको हुन्छ ।
महिनावारी सुरु हुनुभन्दा ५–७ दिनअघि यसका लक्षणहरू देखिन्छन् । पीएमएस हुनुको प्रमुख कारण हाम्रो शरीरमा आउने हर्मोनल परिवर्तन हो । पीएमएस अन्य धेरै कारणले पनि हुन्छ । हाम्रो जीवनशैलीले पनि यसलाई असर गर्छ । धूम्रपान गर्ने महिलामा पीएमएस धेरै हुन्छ । त्यस्तै मादकपदार्थ सेवन गर्ने, क्याफिन धेरै खाने, धेरै नुनिलो खानेकुराहरू खानेहरूलाई धेरै गम्भीर खालको पीएमएस हुन्छ ।
पीएमएसका लक्षणहरू के–के हुन् ?
महिनावारी हुनुभन्दा केही दिनअघि टाउको दुख्ने, दुःखी महसुस हुने, ‘एन्जाइटी’ हुने, चिड्चिडाहट हुने, स्तन दुख्ने, पेट फुल्ने, हात खुट्टा सुन्निने, अनावश्यक मिठाईं, चिप्स वा फास्ट फुड खान मन लाग्ने, अनुहारमा धेरै खालका समस्या देखिने, छिट्टै रिस उठ्ने जस्ता लक्षण नै पीएमएसका लक्षण हुन् । पीएमएसको समयमा हामीले अपनाउने जीवनशैलीले थप अन्य लक्षण निम्त्याउन सक्छ । जस्तैः कतिपयलाई पीएमएसको समयमा जंक खानेकुरा खान मन लाग्छ । जंकफुडले हाम्रो छालामा समस्या ल्याउन सक्छ । छालामा पिम्पल आउन सक्छ । खानेकुराकै कारण हाम्रो महिनावारी चक्रमा हेरफेर पनि हुन सक्छ । यसर्थ हाम्रा हरेक बानी, व्यवहार र जीवनशैली एक–अर्कामा सम्बन्धित छन् ।
त्यस्तै यी लक्षणहरू महिनावारी अन्त्य भएसँगै अन्त्य हुनुपर्छ । तीन वटा महिनावारीसम्म यस्तो लक्षण देखियो भने यसलाई पीएमएस भन्नुपर्छ । कहिलेकाहीँ अन्य कारणले पनि यस्तो लक्षण देखिन सक्छ । महिनावारी सुरु हुनुअघि लक्षण देखिने र महिनावारी भएपछि लक्षण पनि अन्त्य हुनुपर्छ ।
पीएमएसकै गम्भीर रूप पीएमडीडी र सामान्य पीएमएसको भिन्नता कसरी छुट्याउने ?
पीएमएसका लक्षणहरूले दैनिक जीवनलाई नै असर गर्‍यो भन्ने कुरा गम्भीर भएर बुझ्नुपर्छ । दैनिक कामै गर्न सकिएन, डिप्रेसन, एन्जाइटी भयो भने गम्भीर रूपमा लिन आवश्यक छ । अलिअलि समस्या छ, साधारण औषधि खाएर ठीक भइरहेको छ, भिटामिन सप्लिमेन्ट, डाइटमा कन्ट्रोल गरेर कम भइरहेको छ भने त्यो सामान्य हो ।
पीएमएसको लक्षण कम गर्न कस्तो जीवनशैली अपनाउने ?
सबैभन्दा महत्वपूर्ण हामीले सन्तुलित खाना खानुपर्छ । हाम्रो खानामा ‘कार्बोहाइड्रेट’, ‘प्रोटिन’, ‘भिटामिन ’, ‘आइरन’ सबै पर्याप्त हुनुपर्छ । आजभोलिको युवाले डाइटमा ब्यालेन्स पुर्‍याउँदैनन् । फलस्वरूप पीएमएस हुने सम्भावना रहन्छ ।
अर्को कुरा पर्याप्त व्यायाम र ध्यान पनि गर्नुपर्छ । तनाव व्यवस्थापन गर्नुपर्छ । पर्याप्त निद्रा पुर्‍याउनुपर्छ । धूम्रपान र मादकपदार्थ सेवन नगर्ने । भिटामिन बी र सीको सप्लिमेन्ट पनि दिइन्छ, जसले हर्मोन ब्यालेन्स गर्न सहयोग गर्छ ।
गम्भीर लक्षण भएको समयमा हर्मोन पिल पनि प्रयोग गर्नुपर्छ । कोही निकै डिप्रेसनमा छ भने ‘एन्टिडिप्रेसेन्ट’ पनि प्रयोग गर्नुपर्ने हुनसक्छ ।
महिनावारी सुरु हुनुभन्दा कति समयअघि पीएमएस हुनु सामान्य हो ?
तीनवटा महिनावारीको चक्रमा महिनावारी हुनुभन्दा पाँच दिन अगाडिदेखि पीएमएसको लक्षण देखियो र महिनावारी भएपछि लक्षण अन्त्य भयो भने त्यो सामान्य हो । कहिले एक हप्ताअघि पनि त्यस्ता लक्षण देखिन्छन् त्यो पनि सामान्य नै मानिन्छ ।
मानसिक अवस्थाले पनि पीएमएसलाई असर गर्छ ?
हाम्रो दैनिकी तनावपूर्ण छ भने यसले पीएमएसलाई असर गर्छ । तनाव धेरै भयो भने पीएमएस पनि धेरै हुनसक्छ । यस्तो हुँदा मुडमा धेरै परिवर्तन हुने जसलाई हामी मुड स्विङ पनि भन्छौ । त्यो धेरै हुन्छ । डिप्रेसनका लक्षण पनि धेरै देखिन सक्छन् ।
पीएमएसको बारेमा सबैले बुझ्नुपर्ने कुरा के हो ?
पहिलो कुरा त महिलाहरूमा हर्मोनल परिवर्तनहरू भइरहन्छन् । त्यसले महिनावारी हुनुअघि मुड स्विङ हुनसक्छ । कतिपयले कति रिसाएको वा झगडा गरेको भनिरहेका हुन्छन्, यस्तो समयमा परिवारले पनि बुझ्नुपर्छ । यो स्थिति के हो भन्ने बुझ्नुपर्छ । परिवार सहयोगी हुनुपर्छ । त्यस्तो समयमा महिलालाई पर्याप्त डाइटको पनि आवश्यक पर्छ ।
कुन बेला डाक्टरलाई भेट्नुपर्छ ?
माथि उल्लेख गरेजस्तै लक्षणहरू देखिएर स्थिति गम्भीर हुन थाल्यो भने प्रसूति तथा स्त्रीरोग विशेषज्ञलाई देखाउनुपर्छ । व्यक्तिगत, प्रोफेसनल, सामाजिक जीवनमा हानि हुन थालेमा चिकित्सकलाई भेट्नुपर्छ ।

 Image