भाषाका गुरुआमा
रोजगारी वा अध्ययनको सिलसिलामा विदेश जाने ट्रेन्ड बढ्दै जाँदा विश्वभाषाको प्रभाव नेपालमा विस्तार भइरहेको छ । यहाँ जापानिज, चाइनिज, जर्मन, फ्रेन्चजस्ता अन्य देशका भाषा पढाउन थाालिएको छ ।
आरती पौडेल
सानै उमेरदेखि पढ्नमा निकै सिपालु थिइन्, बिना गौतम । काठमाडौंको तीनकुने गैरीगाउँमा जन्मिएर त्यहीँ हुर्कीएकी उनी सानैदेखि सबैकी प्यारी थिइन् । स्कुलमा साथीभाइदेखि शिक्षक–शिक्षिकाले उनको पढाइ राम्रो भएका कारण धेरै माया गर्थे । पढाइप्रतिको लगाव र मेहनत देखेर उनका बुवाआमाले उनलाई डाक्टर वा नर्स बनाउने सपना बुनिरहेका थिए । बिना पनि बुवाआमाको सपनालाई आफ्नो सपना देखेर त्यसैलाई निरन्तरता दिने सोचमा थिइन् । काठमाडौंको निकै राम्रो कलेजबाट प्लस टुमा साइन्स लिएर पढेकी उनले उत्कृष्ट नम्बर ल्याई प्लस टु पास गरेकी थिइन् । मेडिकल लाइनतिरै जाने सोचले बागबजारको एक इन्स्टिच्युटमा चिकित्सा तयारी कक्षामा जान्थिन् । ‘परिवारले दिएको हौसलालाई नै महत्वपूर्ण ठानेर मेडिकल सेक्टरमै अगाडि बढ्न प्रवेश परीक्षाको तयारीमा लागेकी थिएँ,’ उनी भन्छिन् ।
तयारी कक्षा सकेर हरेक दिन साथीसँग घर फर्कने क्रममा ‘नेपाल ल क्याम्पस’ लेखेको बोर्डले प्रायः उनको ध्यान तानेको हुन्थ्यो । एकदिन क्याम्पसभित्र के रहेछ भनी जाने निर्णय गरेर साथीसँग त्यहाँ पुगिन् । बिनालाई क्याम्पसभित्रको संरचना देखेर मनमा छुट्टै प्रकारको आफ्नोपन महसुस भयो । कानुनका कुरा गरिरहेका विद्यार्थी देख्दा उनलाई आनन्द लाग्थ्यो । ‘मलाई क्याम्पसभित्रको न्यायको मूर्ति अनि चौरमा बसेर कानुनका कुरा गरिरहेका विद्यार्थी देख्दा अनौठो लाग्थ्यो,’ उनले भनिन्, ‘हरेक दिन कलेज घुम्न जाने क्रममा मेरो रुचि मेडिकल लाइनमा भन्दा पनि कानुनतिर पो बढ्न थालेको महसुस भयो । न्यायका लागि सधैं बोल्न पाए हुने भन्ने लाग्न थाल्यो ।’
कलेज जाने क्रममा बीएएलएलबी प्रवेश परीक्षाका लागि फाराम भरिरहेको देखिन् । समय सकिन दुई दिन बाँकी थियो, मनमा केही नसोची परीक्षाको फाराम भरिन् । यो कुरा घरमा सुनाउँदा उनले गाली खानुपरेको थियो । ‘त्यतिबेला कानुन पढ्ने भनेको केही नजान्नेले हो भन्ने मानसिकता थियो,’ उनी भन्छिन् ।
फाराम भरिसकेकाले मेडिकल तयारी छाडी एउटा किताब किनेर कानुनको तयारी गर्न थालिन् । ७० जनाको कोटामा उनको नम्बर निस्कियो १७ मा । अनि त के चाहियो बिनाले कानुन विषयलाई नै निरन्तरता दिन थालिन् ।
विज्ञान विषय पढेकी उनलाई सबै कुरा अनौठो र गाह्रो लाग्थे । अंग्रेजी माध्यमबाट पढेकी उनलाई त्यतिबेला अंग्रेजी माध्यममा पर्याप्त किताब नभएका कारणले पढाइमा निकै कठिन भयो । पहिलो र दोस्रो वर्ष सोचेअनुरूपको नम्बर ल्याउन सकिनन् । तेस्रो वर्षदेखि अझ मेहनत गर्न थालिन् । कानुनका विभिन्न कार्यक्रममा पनि पुग्न थालिन् । यसरी राम्रो नम्बर ल्याएर ब्याचलर पास गरिन् । अधिवक्ता प्रमाणपत्रको लाइसेन्समा नेपालभरिबाट उत्कृष्ट दशमा परिन् । त्यस समय ठूला ल फर्म, विभिन्न कम्पनीबाट कामका लागि अफर आइरहेको थियो तर एलएलएम (मास्टर्स) भर्ना गरेर पढिरहेकी बिनाले पढाइ सकेर काम गर्ने सोच बनाएकी थिइन् ।
बारम्बार बिनालाई लोकसेवाका लागि तयारी गर्न उनका बुवाले भनिरहन्थे । मास्टर्स चौथो सेमेस्टर पढ्दै गर्दा बुवाले कर गरेपछि न्यायसेवाका लागि तयारी गरिन् । ‘मास्टर्सको अन्तिम वर्षको परीक्षा पनि आउँदै थियो तर दुई महिना मैले कोठा बन्दै गरेर लोकसेवाको तयारी गरें,’ भन्छिन्, ‘परिवारले गरेको विश्वास र सहयोग अनि आफ्नै मेहनतको फल निकै राम्रो निस्क्यो ।’ उनले एकैपटकमा न्याय सेवा महिलातर्फ रा.प. तृतीयमा नाम निकालेर सर्वोच्च अदालतमा इजलास अधिकृतका रूपमा काम थालिन् । ‘मेरो परिवारमा म नै पहिलो हो न्यायसेवामा काम गरेको । मैले गरेको प्रगतिमा परिवार खुसी भएको क्षण मेरा लागि सबैभन्दा ठूलो भयो,’ उनी खुसी साट्छिन् ।
उनले चार वर्षसम्म सर्वोच्च अदालतमा काम गरिन् । दुई वर्षयता श्रम अदालतमा शाखा अधिकृत छिन् । केही वर्षअगाडि वैवाहिक जीवनमा बाँधिएकी उनी दुवै परिवारले आफ्नो कामलाई प्रशंसा गर्ने गरेको बताउँछिन् । उनी भन्छिन् ‘कुनै कानुनी अप्ठ्यारोमा परेको व्यक्ति देखेमा मेरी छोरी, बुहारीले सल्लाह दिन्छिन् । कानुन विषय पढेकी हुन् भनेको सुन्दा निकै खुसी लाग्छ ।’ कानुन पढ्ने मात्रै होइन सरकारी क्षेत्रमा आउने महिलाको संख्या निकै बढेको उनी बताउँछिन् । ‘कानुनका बारेमा जान्नुपर्छ । आफ्ना लागि बोल्नुपर्छ भन्नेमा हरेक महिला सचेत छन् । आफ्नै देशमा आफूले चाहेजस्तो रोजगार पाउने भएर पनि यो क्षेत्रमा महिलाको आकर्षण बढेको छ,’ उनले भनिन् । उनको चाहना छ, न्यायको सर्वोच्च पदसम्म पुगूँ । जसका लागि पढाइलाई पनि उनले निरन्तरता दिइरहेकी छन् ।