Successfully Copied

शान्तिप्रति समर्पित

सन्ध्याकालीन वातावरणमा भिक्षुको शान्ति पाठले गजबको शान्तिको अनुभूति र धपक्क बलेको देखिन्छ–विश्व शान्तिको मुहान लुम्बिनी ।


मनोज पौडेल

जता हेर्‍यो उतै चिबर पहिरिएका पहेंला वस्त्रधारी । ‘बुद्धम्, शरणम् गच्छामि’ को गुञ्जायमान धुनले शान्तिप्रति समर्पित उल्लासमय वातावरण । सन्ध्याकालीन वातावरणमा भिक्षुको शान्ति पाठले गजबको शान्तिको अनुभूति र धपक्क बलेको देखिन्छ–विश्व शान्तिको मुहान लुम्बिनी । अहिले बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको छ ।
मुलुकका ३० जिल्लाका दुई सय ५१ जनाले सामूहिक रूपमा प्रवज्या लिएर अल्पकालीन भिक्षु श्रामनेर बनेका थिए । २३ दिनसम्म १० वटा शिल, ध्यान, साधना र धम्म शिक्षा लिएर उनीहरू फर्किएका छन् । पूर्ण भिक्षु बन्नका लागि भने २२७ नियम पालना गर्नुपर्ने व्यवस्था छ ।
उनीहरू भिक्षु जीवन प्रवेशको पहिलो खुटकिलो श्रामनेर बनेका हुन् । थेरबादी परम्परामा श्रामनेर बन्नु भिक्षु जीवनको शुभारम्भ गर्नु हो । भिक्षु जीवनमा प्रवेशसँगै उनीहरूले कपाल काटेर बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु जीवन धारण गरे । उनीहरूलाई पारिवारिक सुख–सुविधाबाट अगल बनाएर राखिएको थियो । भगवान् गौतम बुद्धको अनुयायी बन्न पनि कठिन परिश्रम र संघर्षबाट मात्र सकिन्छ भन्ने अनुभूति दिलाउन यसो गरिएको हो ।
नव प्रवेशी श्रामनेरलाई ७५ सेखिया, विनय शिक्षापद र १० शिल अनुसरण गर्न सिकाइएको थियो । तच पञ्चक ध्यान सिकाइएको थियो । बुद्ध जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्ब र बुद्धले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट–पीडाबारे जानकारी दिइएको थियो । भिक्षु जीवन, करुणा, मैत्री सद्भाव र भाइचारालगायतका विषयमा ज्ञान दिइएको थियो ।
भिक्षु बन्न इच्छुक श्रामनेरलाई दुई/चार महिनामै भिक्षु महासंघले पूर्ण भिक्षु बनाउन सक्ने अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए ।
उनीहरूलाई धम्म यात्रा गराउँदै लुम्बिनी, भैरहवा, देवदह र रामग्राम लगिएको थियो । त्यहाँ उनीहरूलाई ध्यानभावना, भिक्षाटन र परित्रान पाठ गर्न सिकाइएको छ ।
गौतम बुद्धले बुद्धत्व प्राप्तिपछि राजगिरबाट २० हजार भिक्षुसहित शाक्यवंशीय राजधानी कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राको स्मरणमा धम्मयात्रा आयोजना गरिएको हो । उक्त पदयात्रालाई विश्वकै पहिलो आन्तरिक शान्ति पदयात्राका रूपमा समेत लिने गरिन्छ । फागुन २६ गते सुरु भएको कार्यक्रम चैत्र १७ गते सकिएको थियो । 

 Image