नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो । प्रत्येक चाडपर्वले समाजलाई एकताको सूत्रमा बाँध्ने, संस्कृतिको संरक्षण गर्ने र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेल्छन् । तीज नेपाली महिलाहरूको विशेष पर्व हो । यो व्रत बस्ने, रातो साडी र सोह्र शृंगारमा सजिने अनि नाचगान गर्ने पर्व मात्र होइन । महिलाको एक–अर्काप्रतिको आत्मीयता, श्रद्धा, परिवारप्रतिको समर्पण, आत्मशुद्धि र सामाजिक सद्भावको प्रतीक पनि हो ।
पछिल्ला वर्ष तीजको स्वरूप केही परिवर्तन हुँदै गएको छ । प्राकृतिक र सरल उत्सव विस्तारै खर्चिलो, प्रतिस्पर्धात्मक र देखावटी बन्दै गएको छ । दर खाने कार्यक्रम, महँगा पहिरन, सुनका गहना, होटलका भोज, सामाजिक सञ्जालमा प्रदर्शन र एक–अर्कालाई उछिन्न खोज्ने प्रवृत्तिले धेरै परिवारमा आर्थिक दबाब सिर्जना गरिरहेको अनुभव गर्न सकिन्छ । चाडपर्वले खुसी दिनुपर्नेमा कतिपयका लागि तनावको कारण बन्न थालेको छ । यही कारणले आज तीजलाई पुन: यसको मौलिक स्वरूपमा फर्काउने, मितव्ययी जीवनशैली अपनाउने र पर्वलाई आर्थिक बोझ होइन, प्राकृतिक उत्सवका रूपमा मनाउने जिम्मेवारी महिलाहरूकै काँधमा छ ।
सांस्कृतिक र आध्यात्मिक महत्व
तीज हिन्दू महिलाहरूको आस्था, संयम, प्रेम र समर्पणसँग जोडिएको पर्व हो । देवी पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न कठोर तपस्या गरेको प्रसङ्गसँग यो पर्व जोडिएको मानिन्छ । त्यसैले तीजले धैर्य, आत्मअनुशासन, समर्पण र आध्यात्मिक साधनाको सन्देश दिन्छ । व्रतको वास्तविक उद्देश्य भोकै अर्थात् निराहार बस्नु र शरीरलाई दु:ख दिनु होइन, बरू मनलाई शुद्ध बनाउनु हो । संयम, सकारात्मक सोच, प्रार्थना, ध्यान, आत्मनिरीक्षण र परिवारप्रतिको शुभकामना नै यसको मूल भावना हो । तीजले महिलालाई आफ्नो मनका भावना व्यक्त गर्ने, गीतमार्फत सामाजिक यथार्थ बोल्ने र एक–अर्काको दु:ख–सुख बाँड्ने अवसर पनि प्रदान गरेको छ । यही विशेषताले तीजलाई केवल धार्मिक पर्व नभई सामाजिक चेतनाको पर्व पनि बनाएको छ ।
मौलिक स्वरूप
पहिला तीज गाउँघरमा अत्यन्त सरल तर आत्मीय रूपमा मनाइन्थ्यो । महिलाहरू माइती जान्थे, परिवारसँग भेटघाट गर्थे, सामूहिक रूपमा गीत गाउँथे, नाच्थे र आफ्ना अनुभूति साटासाट गर्थे । दर पनि घरमै बनाइएका परिकारहरू हुन्थे । स्थानीय उत्पादन, मौसमी फलफूल, दही, दूध, घिउ, अन्न र तरकारीले भरिएको साधारण भोजन नै पर्याप्त मानिन्थ्यो । ऋतुअनुसार आफ्नै बारीमा फलेका तरकारी घिरौंला, फर्सी र तामा तरकारी हुन्थ्यो । कर्कलो, करेला र काँक्राको अचार बन्थ्यो । आमाले अनदी र झिनुवाको चामलको चाम्रे बनाउनुहुन्थ्यो अनि घिउ, दही र दूध पनि त्यसअनुसार जगेडा गरेर राख्नुहुन्थ्यो । वरपरका सबै दिदीबहिनी माइतीको आँगनमा जम्मा हुँदा प्रेम साटासाट हुन्थ्यो । कसको साडी महँगो छ, कसको गहना ठूला छन् वा कसले कुन होटलमा दर खायो भन्ने प्रतिस्पर्धा थिएन । सम्बन्धको मूल्य वस्तुभन्दा माथि थियो ।
बदलिएको तीज
आधुनिकता, सहरीकरण र सामाजिक सञ्जालको प्रभावसँगै तीज मनाउने शैलीमा उल्लेखनीय परिवर्तन आएको छ । आजकल महिनौंअघि नै महँगा दर पार्टीको योजना बन्ने, डिजाइनअनुसारका साडी र कुर्ता किन्ने, नयाँ गहना बनाउने, फोटोसुट गर्ने र सामाजिक सञ्जालमा प्रदर्शन गर्ने प्रवृत्ति बढ्दै गएको छ । कतिपय महिलाले आफ्नो इच्छाले यस्तो गर्छन् भने कतिपयले सामाजिक दबाबका कारण, अरूले गरे, मैले पनि गर्नुपर्छ भन्ने मनोविज्ञानले अनावश्यक खर्च बढाइरहेको छ । पहिले–पहिले हजुरआमाका पालामा आर्थिक मितव्ययिताको लागि हात र मिटरमा कपडा किनेर सिलाउँदा महँगो पर्छ भनेर थानका कपडा किनी सबै दिदीबहिनी र दाजुभाइलाई एउटै रङ र एउटै थानको कपडाबाट लुगा सिलाउने चलन थियो । अहिले दिदीबहिनीको सेट र साथीभाइको सेटमा उस्तै रङ र डिजाइनका कपडा किनेर लगाउने फेसन बनेको छ । हरेक पर्व र उत्सवमा यो चलन प्रतिस्पर्धा हुँदैछ । चाडपर्वको मूल उद्देश्य सम्बन्ध जोड्नु थियो, तर अहिले कतिपय अवस्थामा प्रतिस्पर्धाले सम्बन्धभन्दा प्रदर्शनलाई प्राथमिकता दिन थालेको देखिन्छ ।
जब पर्व आर्थिक बोझ बन्छ
चाडपर्वले कसैलाई ऋणमा डुबाउनु हुँदैन । तर अहिले केही परिवारले तीजका लागि ऋण लिने, जोगाएर राखेको बचत पैसा पनि सक्ने वा बढी खर्च गर्ने अवस्था पनि देखिन्छ । महँगा होटलमा दर, महँगा कपडा, गहना, मेकअप, फोटोसुट, उपहार आदिमा हुने खर्चले मध्यम र न्यून आय भएका परिवारलाई मानसिक दबाबमा पार्न सक्छ । यस्तो खर्चले केही समयको प्रदर्शन त दिन सक्छ, तर दीर्घकालीन आर्थिक असन्तुलन पनि निम्त्याउन सक्छ । यदि चाड मनाउँदा मनमा आनन्दभन्दा बढी चिन्ता हुन्छ भने त्यो पर्वको मूल उद्देश्य पूरा भएको मान्न सकिँदैन । यसमा महिला दिदीबहिनीले धेरै सजगता अपनाउनु जरूरी देखिन्छ ।
मितव्ययी जीवनशैली किन आवश्यक ?
मितव्ययिता भनेको कञ्जुस्याइँ होइन, आवश्यकताअनुसार खर्च गर्ने, अनावश्यक विलासिताबाट बच्ने र उपलब्ध स्रोतको सदुपयोग गर्ने जीवनशैली हो । मितव्ययी व्यक्तिले आफ्नो आय, बचत, स्वास्थ्य, शिक्षा र भविष्यबीच सन्तुलन कायम गर्छ । आजको महँगी, आर्थिक अनिश्चितता र बदलिँदो सामाजिक परिवेशमा मितव्ययी जीवनशैली अझ आवश्यक बनेको छ । त्यसैले हाम्रो जीवनशैली र चाडपर्वले पनि यही सन्देश दिनुपर्छ–आर्थिक सन्तुलन, सामाजिक समानता र पारिवारिक खुसी ।
प्राकृतिक र सरल तीजको अभ्यास
प्राकृतिक तीज भनेको प्रकृतिसँग जोडिएको, स्थानीय संस्कृतिलाई सम्मान गर्ने र अनावश्यक खर्च नगर्ने तीज हो । यसका लागि घरमै तयार गरिएका स्वस्थ परिकारलाई प्राथमिकता दिई स्थानीय उत्पादन प्रयोग गर्नुपर्छ । कृत्रिम प्रदर्शनभन्दा आत्मीय भेटघाटलाई महत्व दिई प्लास्टिकजन्य वस्तु र फोहोर कम प्रयोग गर्नुपर्छ । बारी र कौसीका फूल, पात, मौसमी सामग्री र प्राकृतिक सजावट प्रयोग गरी भोज र दरको नाममा बढी खानु हुँदैन । तडकभडक देखाई अनावश्यकरूपमा खाद्यान्न खेर फाल्नु हुँदैन । यसले वातावरण पनि जोगाउँछ र खर्च पनि घटाउँछ ।
तीज परिवारसँग मनाऔं
तीजको सबैभन्दा सुन्दर पक्ष परिवारसँग बिताउने समय हो । आमा, दिदीबहिनी, बुहारी, छोरी, हजुरआमा सबै एकै ठाउँमा बसेर गीत गाउने, सुन्ने, पुराना सम्झना साट्ने, सँगै खाना खाने र हाँसो बाँड्ने वातावरण नै तीजको वास्तविक सुन्दरता हो । यसै अवसरमा बालबालिकालाई पनि तीजको इतिहास, संस्कृति र मूल्यबारे सिकाउनुपर्छ । परिवारसँग बिताएको केही घण्टा महँगो होटलको भोजभन्दा धेरै मूल्यवान् हुन सक्छ । त्यसैगरी, साथीभाइसँग आत्मीय उत्सव मनाउने गरौं । साथीहरू भेट्नु राम्रो कुरा हो । तर त्यो भेटघाट प्रतिस्पर्धा होइन, आत्मीयता बढाउने माध्यम बन्नुपर्छ । दर पार्टीको अर्थ महँगो खर्चमा होइन, घरको आँगन, सामुदायिक भवन, पार्क वा कुनै साधारण स्थानमा पनि सबै मिलेर गीत, नृत्य, हाँसो र संवादसहित सुन्दर तीज मनाउन सकिन्छ । विशेष कुरा खर्च होइन, सम्बन्ध हो ।
सामाजिक सञ्जाल र प्रदर्शनको संस्कृति
आज धेरै मानिस चाडभन्दा फोटोका लागि तयारी गरिरहेका हुन्छन् । पर्व मनाउनेभन्दा पर्व देखाउने प्रवृत्ति बढ्दै गएको छ । सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, तर त्यसले अनावश्यक तुलना र प्रतिस्पर्धा बढाउन नहुने हो । अरूको जीवनसँग आफ्नो तुलना गर्दा असन्तुष्टि बढ्न सक्छ । त्यसैले देखासिकी होइन सहज र प्रेमका रूपमा तीज मनाऔं ।
व्रत, श्रद्धा र स्वास्थ्य
तीजको व्रत श्रद्धाको विषय हो । तर प्रत्येक महिलाको स्वास्थ्य अवस्था फरक हुन्छ । निराहार नै बस्नुपर्छ भन्ने जरूरी छैन । गर्भवती महिला, स्तनपान गराइरहेका आमा, दीर्घरोगी वा वृद्ध महिलाले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । धर्मले पनि विवेक, करुणा र स्वास्थ्यलाई महत्व दिन्छ । शरीर स्वस्थ भए मात्र आध्यात्मिक साधना पनि प्रभावकारी हुन्छ । धेरै चिल्लो, मसलेदार, बाहिर बनाएका खाना नभई आफ्नै घरमा बनेका परिकार, फलफूल ग्रहण गरेर भक्तिभाव र उत्सवका साथ व्रत गर्नु उपयुक्त हुन्छ ।
सामाजिक उत्तरदायित्व
यदि तीजलाई अझ अर्थपूर्ण बनाउने हो भने समाजसेवासँग पनि जोड्न सकिन्छ । जस्तै–असहाय र आवश्यकता भएका महिलालाई सहयोग गर्न वृद्धाश्रम वा बालगृहमा खाना र फलफूल वितरण गर्न सकिन्छ । रक्तदान र वृक्षारोपणका साथ महिला स्वास्थ्य तथा शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सकिन्छ । ध्यान र आध्यात्मिक चेतनामार्फत शुभकामना आदानप्रदान गरी तीजलाई सामाजिक पर्वका रूपमा मनाउन सकिन्छ ।
नयाँ पुस्तालाई के सिकाउने ?
हाम्रा छोरीहरूले तीजबाट के सिक्ने, हामी कसरी पर्वको महत्व सिकाउछौं त्यो महत्वपूर्ण विषय छ । के तीज भनेको महँगो साडी, कपडा र गहना मात्र प्रदर्शन गर्ने हो ? वा प्रेम, सम्मान, संस्कार, आत्मबल, मितव्ययिता, परिवार र संस्कृतिको मूल्य पनि हो ? यदि हामीले व्यवहारबाट सरलता सिकायौं भने उनीहरूले पनि त्यसैलाई अपनाउनेछन् । चाडको वास्तविक सम्पत्ति संस्कार हो, सम्पत्ति होइन । पारिवारिक मिलन र आपसी प्रेम हो देखावटी होइन । यो व्यवहार हामीले हाम्रा सन्ततिलाई सिकाउनु छ ।
तीजको भविष्य
आज हामीले गर्ने निर्णयले भोलिको तीज निर्धारण गर्नेछ । यदि हामीले प्रतिस्पर्धालाई बढायौं भने आउने पुस्ताले चाडपर्वलाई आर्थिक भारका रूपमा बुझ्नेछ । तर यदि सरलता, आत्मीयता, समानता र मितव्ययितालाई प्राथमिकता दियौं भने तीज सदियौंसम्म संस्कृतिको उज्यालो पर्वका रूपमा रहिरहनेछ । हामीले चाडलाई होइन, चाडले हामीलाई जोड्नुपर्छ । त्यसैले तीज धार्मिक, आध्यात्मिक, पारिवारिक र सामाजिक आयामबाट नै महिलाको शक्ति, श्रद्धा, प्रेम, आत्मसम्मान, सम्बन्ध र संस्कृतिको अनुपम पर्व हो । यसको सुन्दरता महँगा पहिरन, सुनका गहना वा भव्य भोजमा होइन परिवारसँगको आत्मीयता, साथीहरूसँगको हाँसो, माइती–मावलीको माया, गीत–संगीतको मिठास र मनको शुद्धतामा छ । पर्वको वास्तविक अर्थ खर्चमा होइन, अनुभूतिमा हुन्छ । प्रतिस्पर्धाले क्षणिक आकर्षण दिन सक्छ, तर सरलताले दीर्घकालीन सन्तुष्टि दिन्छ । मितव्ययी जीवनशैलीले आर्थिक सुरक्षा, मानसिक शान्ति, पारिवारिक एकता र सामाजिक समानता बढाउँछ । त्यसैले तीजलाई देखावटी कार्यक्रम होइन, आत्मीय सम्बन्धको उत्सव बनाऔं ।