Successfully Copied

हिन्दू नारीका लागि साउन

हिन्दू संस्कृतिमा साउनमा विशेष गरी शिवजीको पूजा–आराधना गरी व्रत बस्ने प्रचलन छ । त्यसमा पनि साउने सोमबारलाई त विशेष दिनका रूपमा लिइन्छ ।


सरस्वती ढुंगाना

हिन्दू संस्कृतिमा साउनमा विशेष गरी शिवजीको पूजा–आराधना गरी व्रत बस्ने प्रचलन छ । त्यसमा पनि साउने सोमबारलाई त विशेष दिनका रूपमा लिइन्छ । कोही साउनभर बोलबमका रूपमा त कोही सोमबार मात्र व्रत बस्ने गर्छन् । त्यसो त शिवजीको प्रिय दिनका रूपमा सोमबारलाई लिइन्छ । यस दिन भगवान्लाई शुद्ध जल चढाएर विधिपूर्वक पूजा गरिन्छ । साउन महिनाभरि शिवजीको पूजा गर्दा पुण्य, सौभाग्य एवं सुस्वास्थ्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
शिवपुराणमा वर्णन भएअनुसार शिव नै स्वयं जल हुन् । श्रवण नक्षत्रमा पर्ने महिना साउन हो । यसैगरी श्रवण नक्षत्रका स्वामी चन्द्रमा हुन् । चन्द्रमा शिवजीको शिरमा विराजमान छन् । चन्द्रमा शीतलताका प्रतीक हुन् । जब सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्, तब साउन महिना सुरु हुन्छ । जब सूर्य कर्कट राशिमा आउँछन्, तब वर्षायाम सुरु हुन्छ, अनि प्रशस्त वर्षा हुन्छ । त्यसले महादेवलाई मात्र नभएर सारा ब्र≈माण्डलाई नै शीतलता प्रदान गर्छ । यस महिनालाई लोकमा धार्मिक कृत्य आयोजना गर्न नहुने महिना भनेर लिने गरे पनि विशेष रूपमा शिवको आराधना हुने महिना हो । अन्य महिनामा भन्दा यस महिनामा व्रत बस्दा र दान गर्दा धेरै गुणा पुण्य हुने लोकविश्वास पनि छ ।
साउने सोमबारको व्रतको पूजाविधि अन्य व्रतको जस्तै छ । यो व्रत सूर्योदय भएपछि सुरु हुन्छ र तेस्रो प्रहरसम्म शिवजीको उपवास बसिन्छ । यस अवसरमा शिवपुराण वा शिवकथा श्रवण गरिन्छ । त्यसपछि शिवजीको पूजापाठ एवं आराधना गरिन्छ । तेस्रो प्रहरमा शिवजीको पूजा गरेपछि सात्विक भोजन गर्ने चलन छ ।


खासगरी यस महिनामा नारीहरूले हरियो, पहेंलो र रातो पहिरनलाई प्राथमिकता दिन्छन् । यतिबेला उनीहरू तीनै रंगका शृंगारमा सजिएर मठमन्दिर पुगेको देख्दा आकर्षक देखिन्छ । नारीहरूले साउन महिनामा हरियो, पहेंलो र रातो रङका चुरा, पोते, सारी, चोलो वा पहिरन लगाउनका पछाडि कुनै विशेष कारण छैन । कलर थेरापीअनुसार रातो, हरियो र पहेंलो रङको पनि विशेष महत्व छ । रातो रङलाई सौभाग्यका रूपमा लिइन्छ भने प्रेम, शक्ति र साहसका रूपमा समेत लिइन्छ । हरियो रङलाई आत्मीयता र प्रकृतिको उच्च सम्मान वा सहनशीलता र पहेंलोलाई बौद्धिकताका रूपमा लिइन्छ । साउनको प्रकृतिसँग सामीप्यता कायम गर्ने रङका रूपमा हरियो रङलाई लिइन्छ । प्रकृतिलाई स्त्रीशक्ति वा नारीस्वरूपमा लिइने भएकाले नारीहरूले यो महिनामा आफ्नो शृंगारमा हरियो रङलाई विशेष प्राथमिकता दिइएको हो भन्न सकिन्छ ।
जीवन र जगत्का संहारकर्ता, अधिपति देवादिदेव महादेवको पूजा–अर्चना गरी यो पर्व मनाउनुमा सत्यम्, शिवम् र सुन्दरम्को भाव अन्तर्निहित पाइन्छ । बाहिरी आवरणमात्र होइन भित्री मन–विचार पनि शुद्ध वा सुन्दर हुनुपर्छ । यो संसारकै अधिष्ठात्री नारी मनमा सत्यम्, शिवम् र सुन्दरम्को भावना जागृत हुनु पक्कै उत्तम हो । त्यसैले घरभित्रमात्र नभएर घरबाहिर पनि सुन्दर व्यवहार प्रदर्शन गरी अगाडि बढ्न यो पर्वले सम्पूर्ण नारीलाई थप प्रेरणा प्रदान गरेको छ ।
यो पर्वले नारी शक्तिलाई कम र तुच्छ ठान्न नहुने भन्छ । उनीहरूको हरेक व्यवहारमा सत्यता र सुन्दरताले भरिएको हुनाले सबै नारीलाई आफ्नो मूल्य, मान्यता र संस्कारभित्र रहन पनि पर्वले मार्गनिर्देश गरेको छ । धार्मिक एवं वैज्ञानिक दृष्टिमा पनि व्रत बस्दा फाइदा हुने कुरामा दुईमत छैन । त्यसैले यस महिनामा व्रत बस्दा मनमा आनन्द प्राप्त हुनेमात्र होइन मनोकांक्षा पनि पूरा हुने मान्यता विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।
हिजोआज भगवान् शिवजीको पूजा–अर्चना गरी बोलबम एवं काँवरिया जाने चलन पनि छ । कुनै जलाशयबाट जल लिएर शिवालयमा गई जल चढाउने प्रचलन नै बोलबम परम्पराको मुख्य आकर्षण हो । प्रत्येक वर्ष आयोजना गरिने बोलबममा समावेश युवायुवतीको समूहले यो पर्वलाई अझm बृहत् बनाएका छन् ।

 Image