Successfully Copied

आँटले बनेकी अञ्जना

एक पटक त सबै छाडिदिऊँ कि क्या हो भन्ने नलागेको होइन । तर धैर्य र आफैप्रतिको विश्वासले उनलाई डगमगाउन दिएन ।



सुजन चापागाईंको म्युजिक भिडियो ‘घुमी–घुमी’ मा अभिनेता विपिन कार्कीसँग स्क्रिन सेयर गरेकी थिइन्, अञ्जना बराइलीले । धेरैले रुचाएको यो भिडियोबारे ‘जात्रैजात्रा’ फिल्मको टिमबीच पनि कुरा चल्यो । त्यही भिडियोका आधारमा फिल्म ‘महापुरुष’ का लागि अञ्जनालाई अफर आयो ।
उनले अडिसन दिइन् । सबैको नजरमा परेपछि अनुबन्ध भइन्, ‘महापुरुष’ मा । उनका लागि डेब्यु फिल्म थियो यो । ‘पहिलो फिल्म नै ठूलो ब्यानरको थियो, जसमा मदनकृष्ण, हरिवंश र गौरी मल्ल आदि बरिष्ठ कलाकार हुनुहुन्थ्यो । त्यसपछि त मलाई कसैले सानोतिनो फिल्ममा अफर नै गरेनन्,’ अञ्जना सुनाउँछिन् ।
डेब्यु नै ठूलो ब्यानरमा, त्यही पनि परिचित कलाकारसँग । उनका लागि स्क्रिप्टको चाङ नै लाग्न थाल्यो तर उनलाई कत्ति पनि चित्त बुझ्ने खालका थिएनन् । त्यसबीच उनलाई यो सबै छोडिदिऊँ कि क्या हो भन्ने नलागेको होइन । तर धैर्य, आँट र आफैप्रतिको विश्वासले उनलाई डगमगाउन दिएन । कसरी–कसरी पुजार सार्कीमा उनी पुन: अनुबन्धित हुन पुगिन् । यही फिल्मको पात्र मैयाले त उनलाई सुपरहिट नै बनायो ।
‘महापुरुष’, ‘चित्रा’ (केमियो भूमिकामा), ‘पुजार सार्की’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘डोरी’, ‘महाभोज’, ‘परान’ गरी उनका ७ वटा फिल्म रिलिज भए । जुन सुपरहिटकै सूचीमा छन् । यसै महिना रिलिज भएको ‘परिवर्तन’ ले सिने बजार तताइरहेको छ । त्यसबाहेक उनले करिब दुई दर्जन म्युजिक भिडियो, दर्जन र्‍याम्प शो, केही विज्ञापनमा आफ्नो जादुयी कला पस्किसकेकी छिन् ।
आफू फिल्म खेल्नकै लागि जन्मिएझैं लाग्ने अञ्जना आफूले जानेको सीप नै यही हो भन्ने अवस्थामा पुगेकी छन् । यसैले उनलाई सन्तुष्टि पनि दिएको छ ।
सुरुमा उनका बुवालाई छोरी यो क्षेत्रमा आएको त्यति मन परेको थिएन । ‘पुजार सार्की’ को सफलतापछि भने बुवाको सोच र मन पनि बदलिएको छ । अहिले उनलाई परिवारबाट पूर्ण साथ–सहयोग मिलेको छ ।
धादिङमा जन्मिए पनि उनको बाल्यकाल पर्वतको कुश्मामा बित्यो, रमाइलो र सक्रिय बाल्यकाल बिताएकी उनी विद्यालयबीच हुने प्रतिस्पर्धामा नाच्थिन् । जुन उनका बुवालाई खासै मनपर्दैनथ्यो । बरु छोरीको स्वर राम्रो भएकाले गायिका बने हुन्थ्यो भन्ठान्थे । कमल–जुना दम्पतीका तीन सन्तानमध्ये अञ्जना जेठी हुन्, उनका दुई भाइ छन् । कुश्मामै प्राथमिक शिक्षा पूरा गरेकी उनले ब्रिटिस कलेजबाट ब्याचलर्स तथा मास्टर्स डिग्री हासिल गरेकी हुन् ।
सन् २०१७ को मिस मेमिनिस्टा ब्युटी प्याजेन्टकी विजेता अञ्जनाले रनवे शो, ब्रान्ड फोटोसुट, म्युजिक भिडियोमा काम गर्दै थिइन् ।
वास्तविकतामै पनि सुन्दरताको उदाहरण बनेकी अञ्जना ठूलो ब्यानरबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी हुन् । विगतको तुलनामा नेपाली मनोरञ्जन क्षेत्र फराकिलो र प्रविधियुक्त बन्दै गएको अञ्जनाको बुझाइ छ । ‘फिल्म बनिरहेकै छन्, हामी कलाकारले काम पाइरहेका छौं । दर्शकले पनि फेरि एक पटक नेपाली चलचित्रलाई माया गरिदिनुभएको छ,’ उनी भन्छिन्, ‘अहिले त चित्तबुझ्दो टिम र क्यारेक्टर पाइरहेकी छु । ठूलो ब्यानरबाट आएकी हुनाले मलाई कथावस्तु फिल्टर गरेर मात्रै अफर गर्ने गरेको अनुभव गरेकी छु ।’

चलचित्र क्षेत्रमा परिवर्तन चाहने हो भने २०२६ को चलचित्र ऐन संशोधन हुनुपर्ने पक्षमा छिन् उनी । पुरानो ऐनमा रहेका कमीकमजोरी हटाएर नयाँ र विषय हाल्न सकियो भने आफूहरू जस्ता युवा यो क्षेत्रमा टिकिरहने वातावरण बन्न सक्ने उनको तर्क छ ।
कुनै पनि काममा मेहनत, लगनशीलता, धैर्य र निरन्तरता जरुरी ठान्छिन् उनी । ‘कुनै बिन्दुमा पुगिसकेपछि यो कामका लागि म हो वा होइन अथवा यो काम मेरा लागि हो कि होइन भन्ने छुट्याउनुपर्छ । सोहीअनुरूप अघि बढ्नुपर्छ,’ युवाका लागि उनको सुझाव पनि हो यो ।
अभिभावकमा निर्भर नहुने कल्चर निर्माण हुनुपर्ने तथा महिलाका लागि समाज शिक्षा र रोजगारीमा पहल गरिनुपर्छ भन्ने लाग्छ उनलाई ।
जेन–जी आन्दोलनपछिको परिस्थितबारे उनी भन्छिन्, ‘अबको नेतृत्व पारदर्शी र स्थिर हुनुपर्छ । अनुभवीलाई साथमा लिएर नेतृत्वका लागि युवा तयार रहनुपर्छ ।’ हरेक क्षेत्र, तह र तप्कालाई समानुभूति दिलाउने सरकार र नेतृत्व निर्माण हुनसके मात्रै मुलुक समृद्धितर्फ अगाडि बढ्ने उनी बताउँछिन् । ‘महिलाको विकास र सशक्तीकरणका लागि भने आत्मनिर्भरता नै पहिलो कसी हो,’ उनी भन्छिन् ।
अञ्जनालाई अबको हाम्रो समाज र नेपाल देश पारदर्शी, स्थिर सुशासन, विभेदमुक्त र शान्तिपूर्ण देख्ने रहर छ । चलचित्र क्षेत्रमै सक्रिय रहने योजना सुनाउँदै उनले भनिन्, ‘स्थिर सरकार भयो भने हाम्रो क्षेत्रमा पनि नवीन र सिर्जनशील काम गर्न सहज हुन्छ ।
आफूजस्ता युवाको सीप, कला, मेहनत र क्षमतालाई स्वदेशमै लगानी गराइरहन सरकार पनि जिम्मेवार हुने उनी बताउँछिन् । सफलता र खुसी जीवनका लागि उनको सन्देश छ, ‘आफूमा विश्वास गरौं । आत्मबल र आत्मविश्वास भन्दा ठूलो कुरा अर्को छैन ।’


अञ्जनाको रोजाइ
मनपर्ने खाना : दाल, भात र मासु
मनपर्ने ठाउँ : पोखरा
मनपर्ने पहिरन : सहज खालका
मनपरेको पात्र : पुजार सार्कीकी मैंया
मनपर्ने खाना : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी
मनपर्ने अभिनेता : अक्षय खन्ना
हाइहिल्स कि स्लिपर : दुवै
पहिरन : लक्की सुनुवार, स्टाइलक्स बुटिक लाजिम्पाट
हेयर तथा मेकअप : रोशना माहाजु तथा माएरा प्रधान, बोल्ड ब्युटी बाई माएरा हात्तीगौंडा
लोकेसन : द बीच हाउस गैरीधारा
तस्बिरहरू : महेशमान प्रधान 

 Image