Successfully Copied

निडर राइडर

क्रसफायर बाइक लिएर उनले तीन वर्षअघि ‘मोटो भ्लग’ सुरु गरेकी हुन् । काठमाडौं बाहिरको पहिलो यात्रा बन्दीपुरको थियो, जहाँ बाइक लिएर निस्किएकी थिइन् ।




शीतल गिरी
उनको यात्रालाई न घामले छेक्छ, न पानीले ।मोटरसाइकलमा घुम्दै–डुल्दै भिडियो बनाउन थालेको पाँच वर्ष भइसक्यो । उनले यात्राका सुखदुःख अनुभव र दृश्यलाई सोसल मिडियामार्फत देखाइरहेकी छन् । राइडर बन्नु र घुम्नु उनको सोख हो । यही सोख पूरा गर्न दिनरात मेहनत गरिरहेकी छन् ।
उनी हुन्, शीतल गिरी । उनलाई ‘मोटो भ्लगर’ भने पनि हुन्छ । क्रसफायर बाइक लिएर उनले तीन वर्षअघि ‘मोटो भ्लग’ सुरु गरेकी हुन् । काठमाडौं बाहिरको पहिलो यात्रा बन्दीपुरको थियो, जहाँ बाइक लिएर निस्किएकी थिइन् । अहिले उनको यात्रा सुदूरपश्चिमतिर मोडिएको छ । ‘त्यहाँको भौगोलिक सुन्दरता र संस्कृतिले लोभ्याउँछ, त्यही कारण धेरैपटक सुदूरतिर पुग्छु,’ उनी भन्छिन् ।
शीतलले दोलखाको कालिञ्चोक, मकवानपुरको दामन,नुवाकोटको दुप्चेश्वर, मुगुको राराताल, कास्कीको घान्द्रुक, स्याङ्जाको सिरुबारी, मनाङ, मुस्ताङदेखि शे–फोक्सुन्डो, रुकुमकोटसम्म बाइकमा एक्लै यात्रा गरिसकेकी छन् । एकल यात्राको आँट र विश्वास उनी आफैले भरेकी छन् । थुप्रै अप्ठ्यारा र समस्यामा पनि जुध्दै अघि बढ्नु उनलाई रोमाञ्चक लाग्छ । विभिन्न ब्रान्डको सहकार्यबाट उनले घुम्ने खर्च जुटाइरहेकी छन्, जसले यात्रालाई थप बल दिएको छ ।
केटी मान्छेले बाइक कुँदाएको, एक्लै हिँडेकामा उनीमाथि थुप्र्रै प्रश्न आउँछन् । ‘एक्लै हिँडेको ? डर लाग्दैन ? साथी त होला नि ?’ जहाँ पुग्छिन्, यस्ता प्रश्नको सामना गरिरहन्छिन् । महिलालाई एक्लै हिँड्न सक्दैनन् भन्ने समाजको सोचाइ र महिला राइडरहरू थोरै हुनुले पनि यस्ता प्रश्न आउने गरेको उनको बुझाइ छ । ‘महिलाहरूले बाइक चलाएको देख्दा काठमाडौंमा त अचम्म मान्छन्, बाहिर त कसैले विश्वास नै गर्दैनन्,’ उनले सुनाइन् । यही भएर उनले महिलालक्षित ड्राइभिङ पनि सिकाइरहेकी छन् । यसले महिलालाई आत्मविश्वास बढाउने उनको अपेक्षा छ । भन्छिन्, ‘महिलाहरू एक्लै घुम्न–डुल्न थाले भने आत्मविश्वास बढ्छ, समाजले हेर्ने नजर पनि बदलिन्छ ।’



वर्षा बस्नेत
उमेरले १८ वर्ष पुग्दैथिइन्वर्षा बस्नेत । २०१३ मा होन्डा डिभा कप स्कुटर रेसमा भाग लिइन् । स्कुटर रेसबारे उनी न जानकार थिइन्, न त तालिम नै लिएकी थिइन् । चुनौतीपूर्ण फरक काम गर्ने सोच राख्ने उनी अन्ततः ‘स्टन्ट राइडर’ बन्न पुगिन् ।
स्टन्ट राइडिङको १२ वर्षको यात्रामा उनले ‘नेसनल लेडिज राइडर च्यााम्पियन अवार्ड–२०२४’ हासिल गरिन् । यति मात्रै होइन स्टन्ट रेसमा उनले राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाइसकेकी छन् । ‘करिअरको लामो यात्रामा अहिले च्यााम्पियन अवार्ड हासिल गरें,’ उनले खुसी व्यक्त गरिन्, ‘यही नै मेरो सफलता हो ।’ नेपालमा थुप्रै राष्ट्रिय अवार्ड जित्न सफल उनले थाइल्यान्ड र मलेसियामा पनि प्रतिनिधित्व गरिसकेकी छन् । उनलाई विदेशमै गएर करिअर बनाउने रहर नपलाएको होइन । तर यहीँ राम्रो गर्न सके अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा सहज हुन्छ भन्ने लागेको उनले सुनाइन् ।
अवार्ड पाउनुका पछाडि वर्षाका थुप्रै संघर्ष पनि जोडिएका छन् । बाइक, स्कुटरदेखि कति लडिन्,कतिपटक चोट लाग्यो, कुनै हेक्का छैन उनलाई । उनका शरीरमा खत अझै छन् । त्यसो त परिवारका धेरै सदस्य राष्ट्रसेवक सुरक्षाकर्मी जस्तो चुनौतीपूर्ण काममा रहेकाले पनि उनलाई फरक काम गर्ने सोख पलाएको हो । ‘मलाई राइडर बन्नुमा त्यो पनि ठूलो प्रेरणा बन्यो,’ उनले भनिन् ।
उनका अनुसार स्टन्ट राइडर बन्नु त्यति सहज छैन । तर, आर्थिक पक्ष र करिअरअगाडि बढाउन सहयोगी हातले साथ दिएका छन् । डाइट, सेफ्टी केयरदेखि सवारीसाधन मर्मतका लागि खर्च जुटाउन गाह्रो छ । यसका लागि खेलाडीलाई नेपाल अटो मोबाइल्स स्पोर्ट्स एसोसिएसनले सहयोग गरेको छ । उनी भन्छिन्, ‘खानपानदेखि सेफ्टी केयरसम्म सबैको आवश्यकता पर्छ, यसका लागि प्रशस्त बजेटको व्यवस्था यहाँ छैन । विभिन्न संघसंस्थाको सहयोगमा नै अगाडि बढिरहेका छौं ।’
सुरुवाती समयमा कम महिला राइडर थिए, अहिले संख्यात्मक रूपमा बढेको देखेकी छन् । महिलाहरू राइडर बन्दा नै उनलाई ठूलो सफलता लाग्छ । तर लामो समय टिक्ने अवस्था भने नरहेको उनी बताउँछिन् । राइडरलाई अगाडि बढ्न प्रोत्साहन नहुने भएकाले करिअरले निरन्तरता पाउन नसकेको उनको भनाइ छ । उनको अबको रहर भने अन्तर्राष्ट्रिय स्तरमा उपाधि जितेर आफ्नो देशलाई चिनाउनुछ । 

 Image