Successfully Copied

कालिङ्गा साहित्य महोत्सवमा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरको संवाद

कार्यक्रमको दोस्रो दिन भदौ २९ गते भारतीय अभिनेता तथा निर्देशक अमोल पालेकर र उनकी पत्नी, लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले विशेष संवाद गर्नेछन् ।


ललितपुरको हिमालय होटलमा भदौ २८ र २९ गते हुने चौथो संस्करणको ‘कालिङ्गा साहित्य महोत्सव’मा देश–विदेशका साहित्यकार, गायक, कलाकार र कूटनीतिज्ञ सहभागी हुने भएका छन् ।


कार्यक्रमको दोस्रो दिन भदौ २९ गते भारतीय अभिनेता तथा निर्देशक अमोल पालेकर र उनकी पत्नी, लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले विशेष संवाद गर्नेछन् । दिउँसो १२ः१० देखि १ बजेसम्म चल्ने ‘लाइफ इन फ्रेम ः अमोल पालेकर’ शीर्षक सत्रमा उनीहरूको जीवनयात्रा, कला र सिर्जनाबारे कुराकानी हुनेछ ।
सादगीपूर्ण अभिनय र निर्देशनका कारण चर्चित पालेकरले ७० र ८० को दशकमा हिट फिल्म दिएका थिए । १९६७ मा नाटकमार्फत अभिनय सुरु गरेका उनले मराठी र हिन्दी फिल्ममा काम गरेका छन् । रजनीगंधा, गोलमाल, छोटी सी बात, भूमिकालगायत फिल्म चर्चित छन् । उनले गोलमाल, अक्रिट र भूमिकाबाट फिल्मफेयर अवार्ड जितेका थिए । निर्देशकका रूपमा पनि पालेकरले अक्रिट, आँखें, दायरा जस्ता फिल्म बनाएका छन् ।


सन्ध्या गोखलेले १९४२ः अ लभ स्टोरी, पहेलीलगायत फिल्म लेखेकी छन् । बुद्धिसागर भने कर्णाली ब्लुज, फिरफिरे, एक्लो जस्ता चर्चित कृतिका लेखक हुन् ।
‘सीमापारिः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ विषयमा आयोजना हुने यो संस्करणमा भारत, नेपाल, भूटान, बंगलादेश र श्रीलङ्कासहित करिब ३ सय लेखक सहभागी हुनेछन् । महोत्सवमा प्यानल छलफल, कविता वाचन, पुस्तक लोकार्पण, अन्तरक्रिया, कार्यशाला र सांस्कृतिक प्रस्तुति हुनेछ ।
आयोजकका अनुसार यसपटक अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२५ विजेता भारतीय लेखिका बानु मुस्ताक, अनुवादक दीपा भास्टी, इतिहासकार डा. विक्रम सम्पत, लेखक तथा कूटनीतिज्ञ विकास स्वरूपलगायत ख्यातिप्राप्त लेखकहरू पनि उपस्थित हुनेछन्।


कालिङ्गाका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाका अनुसार महोत्सवले नेपाल–भारत तथा दक्षिण एशियाली मुलुकबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गर्नेछ ।

 Image