१३ दिने सुत्केरी आमा गुमाउँदा एक अबोध बालिकाको मनस्थिति कस्तो बन्यो होला ? खासमा त्यो कल्पनाभन्दा बाहिरको बज्रपात थियो । तर समय नै सबैभन्दा ठूलो मलम रहेछ । विस्तारै पीडा त कम हुँदै गयो तर त्यसको नदेखिने दाग हट्न सकेको छैन । यस्तै नदेखिने दाग बोकेर अनेक संघर्ष चिर्दै अघि बढिरहेकी छन्, डा. अनिशा विष्ट ।
नौ वर्षकी कलिली बच्चीको काखमा १३ दिने भाइ आइपुग्यो । अर्थात्, उनैले आमाको भूमिका खेल्नुपर्ने बाध्यता आइलाग्यो । ‘सम्पन्न परिवारमा जन्मिए पनि उपचाररत आमालाई यसरी गुमायौं,’ संघर्ष र चुनौतीको पहाड चढ्दै जीवनको सुरुवात गरेकी अनिशा विष्ट भन्छिन्, ‘विराटनगरमा एउटा राम्रो अस्पताल भइदिएको भए आमालाई बचाउन सकिन्थ्यो ।’
आज तिनै अनिशाले विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालको कार्यकारी निर्देशकको कार्यभार सम्हालिरहेकी छिन् । जीवनमा आइपरेका परिघटनाको फलस्वरूप आज आफू यो स्थानसम्म आइपुग्न सफल भएको उनको भनाइ छ । यसमा साथ दिएका छन्, उनका श्रीमान् डा.वीरेन्द्रकुमार विष्टले ।
यी दुईको भेटको रोचक प्रसंग छ । उतिबेला डा. वीरेन्द्र कोशी अञ्चल अस्पतालमा काम गर्थे । अनिशा बिरामी साथीलाई भेट्न सोही अस्पतालको इमर्जेन्सीमा पुगिन् । त्यहीँ यी दुईको साधारण परिचय भयो । क्रमशः मित्रता झाँगिदै गयो र उनीहरूको सम्बन्ध प्रेममा विकसित हुँदै विवाहसम्म पुग्यो ।
करिअरका सुरुवाती दिन निकै संघर्षपूर्ण र पीडादायी नै थिए । ‘मेरो करिअरमा मात्रै होइन जीवनमै अनिशाको ठूलो त्याग र योगदान छ । छोरा जन्मिन ६ दिन बाँकी थियो, दुई वर्षकी छोरी काखी च्यापेर ती गर्भवतीले मलाई लन्डन पढ्न पठाइन् । उनलाई मेरो साथ भन्दा पनि भविष्यको चिन्ता थियो,’ वीरेन्द्र अहिले पनि ती दिन सम्झन्छन्, ‘त्यतिबेला अनिशामा के बित्यो होला अहिले पनि म कल्पना गर्न सक्दिन ।’
अनिशाका लागि भने त्यो कुनै नौलो कष्ट थिएन । किनभने उनले बाल्यकालदेखि नै चुनौतीका चाङ चढेर आएकी थिइन् । छेवैमा बसेर श्रीमान्को कुरा एकटकले सुनिरहेकी अनिशा भन्छिन्, ‘जीवन हो जुध्नुपर्छ, जस्तो आए पनि भोग्नुपर्छ । समस्या हुन्छन् तर समाधान आफैं खोजेर अगाडि बढ्नुपर्छ भन्नेमा म उहिल्यैदेखि अभ्यस्त थिएँ ।’
सन् १९९९ मा लन्डनस्थित इन्स्टिच्युट अफ न्यूरोलोजी तथा हस्पिटल फर न्यूरोलोजी एन्ड न्यूरोसर्जरीबाट न्यूरोलोजीमा डिग्री प्राप्त गरी आफ्नै देशमा केही गर्ने अठोड बोकेका वीरेन्द्रले नेपाल फर्किएपछि कोशी अञ्चल अस्पतालमा काम सुरु गरे । जुन भावना, उत्साह र जाँगर थियो त्यो कोशी अञ्चल अस्पतालमा म्याच हुन नसकेको महसुस गरेपछि उनले जागिर छाडे । आफै केही सुरु गर्ने मनसाय बुझेकी अनिशाले शतप्रतिशत साथ दिइन् । २०५७ भदौ ८ मा उनीहरूले तत्कालीन बेलायती राजदूत रोनाल्ड पी नासबाट न्युरो हस्पिटल एन्ड डाइग्नोस्टिक सेन्टरको उद्घाटन गराए ।
व्यवस्थापनको सम्पूर्ण जिम्मा अनिशाले लिएकी थिइन् । ‘तर व्यवस्थापन सोचेजस्तो सजिलो थिएन । हुन त नेपालमा निजी लगानीमा केही गर्न न हिजो सजिलो थियो न आज छ । अस्पतालको अनुमतिदेखि संचालनसम्म केही न केही बाधा–व्यवधान छन्, खासगरी काठमाडौंबाहिर त अझै गाह्रो छ,’ व्यवसाय सुरुवात गर्दाका दुःख सेयर गर्दै अनिशा भन्छिन्, ‘१० शय्याको न्यूरोलोजी सेवाबाट सुरु भएको न्यूरो अस्पतालमा उत्कृष्ट सेवा र सेवाग्राहीको विश्वासकै कारण दिनप्रतिदिन सेवा विस्तार हुँदै गयो । तर यी सबै कुरा अहिले भनेजस्तो सजिलो थिएन । कुरा काट्ने, खुट्टा तान्नेहरू र हतोत्साहित गर्नेहरू पनि थिए ।’
उतिष्ठत, जाग्रत, प्राप्य, बरान्निबोधत... अर्थात्, उठ्नुस्, जाग्नुस्, र तबसम्म नरोकिनुस् जबसम्म तपाईंको लक्ष्य हासिल हुँदैन भन्ने स्वामी विवेकानन्दको भनाइबाट प्रभावित उनीहरू चुनौती पन्छ्याउँदै अघि बढिरहे ।
यसरी अथक मेहनत र संघर्षकै फल आज १० शय्याको अस्पताल २०० शय्यामा परिणत भएको छ । सक्नु, नसक्नु, प्रयास गर्नु, नगर्नुमा हामीभित्रै हाम्रो कर्मयोगको संसार घुमिरहेको हुन्छ । इच्छा–आकांक्षाको पखेटा लगाएर मात्र व्यवसाय आकाशमा उडाउन सकिँदैन भन्ने अनिशालाई लाग्छ । मानिस तीन कुराले सक्षम र सफल हन्छ भन्नेमा वीरेन्द्रलाई विश्वास छ–इमान्दारी, समझदारी र काँधमा जिम्मेवारी । उनी भन्छन्, ‘हाम्रो लक्ष्य के हो, सुरुमै निर्धारित गर्नुपर्छ । सफलता सोखबाट होइन, आफ्नो इच्छा र आकांक्षाको भोकबाट प्राप्त हुन्छ ।’ अनिशा जस्ती कर्मठ र धैर्य श्रीमती पाएरै आफूले यो सफलता हासिल गर्न सकेकामा उनलाई कुनै द्विविधा छैन ।
अनिशा भन्छिन्, ‘हामी महिला भएर जन्मिएपछि आफ्नै परिचय बनाउनु आवश्यक छ भन्ने मेरो उहिलेदेखिकै अठोट थियो । त्यसैगरी सेवाग्राहीको आवश्यकता हेरी सम्बोधन गर्न सक्नु अर्को कारण हुनसक्छ । त्यसैगरी समुदायलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु पनि अर्को कारक तत्व हो । यिनै कुराले मेरो परिचय बनाउन मद्दत गरे ।’
अनिशाले अस्पताल व्यस्थापनमा एउटा राम्रो टिमको निर्माण गर्न चाहिन् । चिकित्सकीय होस् वा व्यवस्थापकीय टिम, यो दम्पतीले परिवारको सदस्यका रूपमा व्यवहार गर्न थाल्यो । नयाँ प्रविधि भित्र्याए । पूर्वाञ्चलमै पहिलोपटक न्यूरो सर्जरी सेवा, क्याथ ल्याव, अर्थोसर्जरीमार्फत हिप रिप्लेसमेन्ट, घुँडा फेर्ने, सिटी स्क्यान, अत्याधुनिक एमआरआई मेसिन, डेक्सा स्क्यान, आइसियु, सिसियु, एमआइसियु लगायतका सुविधा सम्पन्न सेवा र अत्याधुनिक उपकरणहरू तथा दक्ष र अनुभवी चिकित्सकका कारण बिरामीको मन जित्न सफल भए । तसर्थ अनिशा सफलताको एउटा मात्र कारक भन्नुभन्दा पनि यी सबै कारकको संमिश्रण भन्न रुचाउँछिन् ।
यी दुईको संघर्षले ल्याएको सफलतास्वरूप हाल न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलका रूपमा २०० शय्याको बहुआयामिक अस्पताल संचालनमा छ । यहाँ न्यूरोलोजी, न्यूरो सर्जरी, कार्डियोलोजी, क्याथल्याब, अर्थोपेडिक, जनरल फिजिसियन, जनरल सर्जरी, गाइनेक्लोजी, पेडियाट्रिक, मानसिक रोग विभाग, ग्यास्टोइन्टेरोलोजी, युरो सर्जर्री, नेफ्रोलोजी, छाला रोग, दन्त रोग, नाक, कान, घाँटी, फिजियोथेरापी, रेडियोलोजी, प्याथोलोजीलगायतका सेवा उपलब्ध छन् । १६ वर्षदेखि न्यूरो हेल्थ कलेजका रूपमा रहेको यो शैक्षिक संस्थामा ३ वर्षे स्टाफ नर्स र ३ वर्षे एच. ए. पढाइ भइरहेको छ जसबाट फ्रत्येक वर्ष दक्ष जनशति तयार भइरहेको छ ।
वीरेन्द्रका आमाबुवाको नाममा स्थापना गरिएको कृष्णा–गंगा लागूपदार्थ दुरुपयोग निवारण केन्द्र पनि २२ वर्षदेखि संचालनमा रहेको छ । जसबाट बाटो बिराएका युवालाई समाज र परिवारमा फर्काउँदै योग्य र असल नागरिक बनाउन पहल गरिन्छ । यी सबै संस्थामा कुल ७०० जनाले रोजगारी पाइरहेका छन् ।
आफूहरूले स्थापना र नेतृत्व गरेको संस्थाबाट सेवाग्राहीले पाएको सन्तुष्टिलाई यो दम्पतीले आफ्नो उपलब्धि ठानेको छ । अर्को उपलब्धि भनेको समाजमा पितापुर्खाको नाम फैलाउँदै पारिवारिक पृष्ठभूमिलाई अझ बलियो बनाउनु र सन्ततिलाई असल संस्कार र नेतृत्वका लागि दक्ष जनशक्ति तयार गर्न सक्नु हो । समाज र देशप्रति गरेको योगदानबारे उनीहरू भन्छन्, ‘हामीले के गर्यौं भन्ने कुराको सही मूल्यांकन अरूले गर्ने हो । तर पनि हाम्रा सेवाग्राही, समाज र हाम्रा सहकर्मीले जे पायौं भनेर अनुभूति गर्नुहुन्छ, त्यही नै हामीले गर्न सकेको योगदान ठानेका छौं ।’
आफ्ना आगामी योजनाबारे यी दुवै दृढ छन् । न्यूरो अस्पतालले रजत जयन्ती मनाउँदैछ । यही अवसरमा मानवीय मूल्य–मान्यतालाई केन्द्रमा राखी सेवा प्रवाह गर्ने यिनीहरूको मूल योजना छ । भविष्यमा कुनै पनि रोगको उपचारका लागि विराटनगरबाहिर जानु नपर्ने गरी सेवा विस्तार गर्ने, अमेरिकामा एमडी अध्ययनरत छोरी डा. रोशनी र उच्च शिक्षा अध्ययनको तयारीमा रहेका छोरा डा. ऋतिकलाई विस्तारै नेतृत्व हस्तान्तरण गर्ने बेला भएको उनीहरूले महसुस गरेका छन् । त्यसबाहेक मधेश प्रदेशका थप तीन ठाउँमा सेवा विस्तार गर्दै ‘चेन अफ हस्पिटल’ का रूपमा सुपरस्पेसियालिटी सेवा प्रदान गर्ने योजना रहेको पनि बताए ।
मनका कुरालाई कागजमा कोर्ने, पुराना तथा नयाँ गीत गुनगुनाउने, धार्मिक स्थल भ्रमण गर्ने रुचि भएकी अनिशा र पुस्तक पढ्न, यात्रा गर्न, मानिस भेटेर अन्तरक्रिया गर्न रुचाउने वीरेन्द्रले एकै स्वरमा भने, ‘र, आगामी ५ वर्षभित्रमा यो सबै गरिसक्ने योजना बनाएका छौं ।’