Successfully Copied

‘महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्‍यो’

महिलालाई अवसरकै खाँचो हो । हाम्रो आवाजले नेतृत्व, शक्ति, पद डिजर्भ गर्छ । तर यहाँ पद दिए पनि आवाज सुनिँदैन, आवाज सुनिन्छ पद दिइँदैन ।


सेन्ट जेभियर्स हुँदै थेम्स इन्टरनेसनल कलेज र त्यसपछि त्रिविबाट जेन्डर स्टडिज र कन्फ्लिक्ट एन्ड पिसमा स्नातकोत्तर सकेकी निशा थापा नागरिक आवाजकी सिनियर कम्युनिकेसन अफिसर (वरिष्ठ सञ्चार अधिकृत) हुन् । नागरिक आवाजले मूलत: शान्ति स्थापना, महिला तथा युवाका लागि सुरक्षित ठाउँ र वातावरण, मानव सम्बन्धलगायतका मुद्दालाई बलियो बनाउन विविध गतिविधि गर्दै आएको छ ।
अहिलेको अवस्थामा नागरिक आवाजको भूमिका के हो ? यसले कसरी काम गरिरहेको छ ?
हाम्रो एउटा क्याम्पेन नै छ–‘महिला पहिला’ । यो पार्टी, त्यो पार्टी नभनी महिला–महिलाबीच ऐक्यबद्धतामा जोड दिइरहेका छौं । सञ्चारमाध्यबाट महिलालाई सजग र सचेत गराउने, उनीहरूका अधिकारबारे वकातल गर्ने, संसद्मा बढीभन्दा बढी महिला कसरी पुर्‍याउने भन्नेमा क्याम्पेन, टक शो, शोध–अनुसन्धान गरिरहेका छौं ।
जेन–जी आन्दोलनपछि मुलुकका जनतामा बदलिएको सोचलाई सम्बोधन गर्न नागरिक आवाजको काम कत्तिको प्रभावकारी भएको छ ?
शान्ति निर्माणको क्षेत्रमा काम गर्ने व्यक्तिका हैसियतले यो भन्नुपर्छ, जेन–जी आन्दोलनपछि धेरैमा डर–त्रासको अवस्था सिर्जना मात्रै होइन महसुस नै भयो । हामीले अहिले गरिरहेका डायलगले शान्ति निर्माणको धारणा पहिल्यै निर्माण भएको पाइयो । जेन–जी अभियान हाम्रै लागि पनि ठूलो विषय रह्यो । त्यो निराशा, वितृष्णाले हामीलाई काम गर्न पनि जटिल बनाएकै हो । किनभने सोच परिवर्तनमै काम गर्नु थियो र पनि हामीले समय र इफोर्ट लाएर काम गर्‍यौं, सकारात्मक सोच बढ्दै गयो ।


चुनावी वातावरणलाई शान्तिपूर्ण बनाउन तपाईंहरूको भूमिका कस्तो रह्यो ?
महिलाको नेतृत्व पुरुषको भन्दा कसरी फरक छ भन्ने कुरा नै समुदायमा गएर गर्ने गरेका छौं । पार्टीलाई भोट हाल्ने भन्दा पनि महिलाको नेतृत्व अब जरुरी छ भन्ने कुरालाई नै स्थानीय मूल मुद्दा बनाएर काम गरिरहेका छौं ।
देशमा निम्तिएको यो संक्रमणकालीन स्थितिमा कतिपय बेला गलत र भ्रामक सूचना प्रवाहित हुने स्थिति रहन्छ, यसमा कसरी काम गरिरहनुभएको छ ?
एआई आएपछि सामाजिक सञ्जाल अत्यन्तै बलियो अस्त्र बन्यो । सामाजिक सञ्जालबाट प्रवाहित सूचना सबै तथ्यमा आधारित हुँदैन । यो सचेतना अत्यावश्यक भएको छ । यसलाई कसरी ‘सेफ स्पेस’ बनाउने भन्ने चुनौती छ, यसका लागि प्रयास गरिरहेका छौं ।
नागरिक आवाजले महिला मुद्दालाई कसरी समेटेर कदम चालिरहेको छ ? के भएमा महिलाका माग पूरा हुन्छन् ?
महिलालाई अवसरकै खाँचो हो । हाम्रो आवाजले नेतृत्व, शक्ति, पद डिजर्भ गर्छ । तर यहाँ पद दिए पनि आवाज सुनिँदैन, आवाज सुनिन्छ पद दिइँदैन । घर चलाउने महिलाले देश चलाइहाल्छन् । अर्थपूर्ण सहभागिताका साथै सम्मान पनि हुुनुपर्‍यो । यसैका लागि हामी समुदायमै गएर काम गरिरहेका हौं । घर चलाउने कुरामा होस् वा अन्यत्र पनि महिलाको निर्णय मान्य हुनुपर्छ, महिलाको आवाज सुनिनुपर्छ भन्नेमै केन्द्रित छौं । 
तपाईं एक सूचना विज्ञका हैसियतले कस्ता सूचना सही हुन् भन्ने लाग्छ ?
दैनिक घरैमा गरिने संवादमा पनि महिलालाई कसरी होच्याएर बोलिन्छ, महिलाको भूमिकालाई कस्तो संवाद सञ्चारद्वारा प्रमाणित गर्न खोजिन्छ, यसमा पनि परिवर्तन जरुरी छ । सत्य–तथ्यमा आधारित निष्पक्ष सूचना नै सही सूचना हुन्, यसले अरूलाई क्षति पुर्‍याउनु भएन । सूचनाले मिसलिडिङ गर्न भएन । फ्याक्ट चेक, क्रस चेक गरिएका सही सूचनाले नै समाज र मुलुकलाई सही दिशातर्फ डोर्‍याउँछ ।


तपाईंको दृष्टिकोणमा नयाँ र पुरानो नेतृत्व भनेको के हो ? देशको अबको नेतृत्व कस्तो हुनुपर्छ ?
पहिलेको नेतृत्व बढी पुरुषवादी, भ्रष्टाचार उन्मुख भयो कि भन्ने आम मानिसको बुझाइ भएजस्तो लाग्छ । अब सबैलाई असल र सुशासनको आशा छ । अबको नेतृत्व समावेशी, अर्थपूर्ण र सहभागितासहितको हुनुपर्छ ।
देशलाई भ्रष्टाचारमुक्त, शान्ति र समृद्ध बनाउने आवश्यक तीन कुरा के हुन सक्लान् ?
पारदर्शी, समावेशी र महिलाका आवाजलाई सुन्ने परिपाटी विकास हुनुपर्छ ।
तपाईंका रुचिहरू के हुन् ?
खाना बनाउन मन पर्छ । अरुको दु:ख देख्दा अत्यन्तै भावुक हुन्छु । महिलाहरूसँग काम गर्दा अत्यन्तै र परिवारसँग नजिक हुँदा खुसी हुन्छु । अरुलाई दिँदा मन शान्ति हुन्छ ।
केही सन्देश छन् ?
महिलाले आफूलाई माया गर्न बिर्सिनु हँुदैन । आफू भए मात्रै सबैथोक छ । सम्मानपूर्वक बाँच्न पाउनुपर्छ । 

 Image