Successfully Copied

‘जनताको विश्वास टुट्न दिनेछैन’

वासना थापा, सांसद, कांग्रेस


आरती पौडेल
२०३७ जेठ १५ मा काठमाडौंमा जन्मिएकी वासना दैलेख क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सांसद निर्वाचित भइन् । सानै उमेरदेखि राजनीतिमा चासो राख्ने वासनाले भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । राजनीतिसँगै उनी होटल व्यवसायी पनि हुन् । उनी समाजमा सहयोगको भावनाले सामाजिक संस्थाहरूमा पनि आबद्ध रहेर काम गरिरहेकी छिन् ।
उनी २०५७ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेकी हुन् । २०६१ सालमा दैलेखमा कांग्रेसको क्रियाशील सदस्य बनेकी वासनासँग पार्टीका विभिन्न जिम्मेदवारीमा रहेर काम गरेको अनुभव छ । उनी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखको नारायण नगरपालिका उपप्रमुखमा उम्मेदवार समेत बनेकी थिइन् । तर जित हात पार्न सकिनन् ।
महिलाहरूको नेतृत्व निर्माण र नीति निर्माणमा सक्रिय हुनुपर्नेमा उनको जोड छ । आफूले निर्वाचन जितेको क्षेत्रमा महिलाका विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । ‘दैलेखका महिलाहरूको आर्थिक उन्नति र सीपमूलक कार्यक्रमलाई मैले पहिलो प्राथमिकतामा राखेकी छु । नारी शक्ति नै समाजको परिवर्तन र विकासको आधार हो,’ उनी भन्छिन् ।

जित अगाडिसम्म वासनालाई कर्णाली प्रदेशमा महिलाले प्रत्यक्षतर्फ निर्वाचन जित्न निकै कठिन छ भनेर आश्वासन दिनेहरू धेरै थिए । ‘महिलाका लागि समानुपातिक, पुरुषलाई प्रत्यक्ष’ भन्ने भाष्यले उनको मनमा नराम्रो छाप छोडेको थियो । उनी राजनीतिमा होमिँदा धेरै अबरोध आए तर पनि डगमगाइनन् ।


‘चुलोचौकोबाट निस्केर समाज सेवामा लाग्दा अनि निर्वाचनको समयमा विपक्षी दलका नेताले लगाएको झूटा लाञ्छना सहँदै अगाडि बढेकी थिएँ,’ भन्छिन्, ‘सत्यको सधै जित हुन्छ भन्ने कुरामा विश्वास राखेरै सबै अवरोधलाई किनारा लगाएर जित हासिल गर्न सकें ।’
सदनमा पुगेपछि महिलाका लागि आवाज उठाउने उनी बताउँछिन् । ‘महिलाका मुद्दा र आवाजलाई प्राथमिकताका साथ उठाउने छु । सत्यका लागि बोल्न कहिल्यै पछि पर्ने छैन,’ उनले भनिन्, ‘जनताको भरोसा र विश्वासलाई कहिल्यै टुट्न दिने छैन ।’ 

 Image