पाल्पा–बुटबल रानी बगियाकी ४६ वर्षीया डा.मनीषा रावल काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक हुन् । उनले विद्यालय तहको शिक्षा बुटवलकै एक निजी पाठशाला र विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तह बुटवल बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । चिकित्सक बन्ने हुटहुटी र आमाबुवाको चाहनामा उनले बंगलादेशबाट निजी खर्चमा एमबीबीएस गरिन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट एमडी गरिन् । २१ वर्ष चिकित्सा क्षेत्रमा बिताइसकेकी मनीषास“ग उनको कामको अनुभवबारे गरिएको कुराकानी ः
चिकित्सक बन्दाको अनुभव बताइदिनुहोस् न ।
बंगलादेशको एक निजी कलेजबाट एमबीबीएस पूरा गरेपछि सन् २००१ मा नेपाल फर्केर वीर अस्पतालमा इन्टर्नसीप गरें । त्यसपछि डेढ वर्षजति कान्ति बाल अस्पतालमा मेडिकल अफिसरका रूपमा काम गरें । एमडी शिक्षण अस्पताल महाराजगन्जबाट पूरा गरें । ‘जेनेरल प्राक्टिस इन इमरजेन्सी मेडिसिन’ मा एमडी गरेकी हुँ । एमडी पढ्ने बेलामा आठ महिनाकी गर्भवती थिएँ । पढाइका दौरान व्यथा सुरु भयो र शल्यक्रिया गरी शिशु जन्मियो । त्यसपछि म विद्यार्थी, पढ्न सक्छु भनेर परिवारलाई मनाएर काम गरें । ३६–४८ घन्टा लगातार डिउटी पथ्र्यो । त्यो समयमा धेरै दुःख भयो । यसरी संघर्ष गरेरै एमडी पूरा भएपछि २००७ बाट २०१५ सम्म बुटवल, भैरहवा, कपिलवस्तु परासी र केही पूर्वी पहाडी जिल्ला (भोजपुर, ओखलढुंगा) मा निजी क्षेत्रमा ‘कन्सल्टेन्ट डाक्टर’ का रूपमा काम गरें । त्यहाँ काम गर्दा विभिन्न जातजाति,धर्म एवं महिलाको स्वास्थ्यबारे जान्न पाएँ ।
उपत्यकाबाहिर धेरै जिल्लामा काम गर्नुभयो, त्यहाँ महिलाको स्वास्थ्यस्थिति कस्तो पाउनुभयो ?
भाषा एवंजातजाति भिन्न भए पनि खासै फरक पाइन । शिक्षा र जनचेतनाको कमी उत्तिकै छ । स्वास्थ्य शिविरमा सहभागी हु“दा पाठेघर खस्ने समस्या पहाडी भेगमा बढी भएको पाएँ । उमेरभन्दा छिटो विवाह गर्दा यस्तो समस्या उत्पन्न हुन्छ । कतिपय स्वास्थ्य शिविरमा आमा र छोरी सँगै पाठेघरकै समस्या लिएर उपचारका लागि आएका थिए ।
मध्य पश्चिमका केही जिल्लामा ३० देखि ४० प्रतिशत किशोरी आमा बनेको पाएँ, जुन धेरै ठूलो संख्या हो ।
सरकारी क्षेत्रमा कहिले प्रवेश गर्नुभयो ? यसको अनुभव बताइदिनुुहोस् न ।
१२–१३ वर्ष निजी क्षेत्रका विभिन्न अस्पतालमा काम गरें । कामका दौरान प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सरकारी निकायसँग आबद्ध भई सहकार्य गरें । यसरी काम गर्दा सरकारी क्षेत्रमा गएमा अहिलेसम्म काम गरेका अनुभव, शिक्षा, जति पनि सीप छ त्यसलाई अझ फराकिलो तहमा कार्यान्वयन गर्न सक्छु भन्ने लाग्यो । अहिलेसम्म केही बिरामी हेरेर सन्चो पारेकी छु, कार्यक्रममा आबद्ध भएमा अझ स्वास्थ्य क्षेत्रमा फराकिलो रूपमा सहयोग र सेवा पु¥याउन सक्छु भन्ने महसुस भयो र ०७२ मा नेपाल सरकारको जागिरमा प्रवेश गरें । लोकसेवा आयोगको नवौं तहमा खुल्ला प्रतिस्पर्धाबाट प्रवेश गरें । सरकारी जागिरको पहिलो पोस्टिङ सल्यान जिल्ला स्वास्थ्य प्रमुख तथा अस्पतालको ‘मेडिकल सुपरिटेन्डेड (मेसु)’ भएर सुरु गरें । अस्पतालको मेसु हु“दा ओटी, ओपिडी, इमरजेन्सीलगायतका काम गर्नुपथ्र्यो । जिल्लामा तीन वर्ष काम गरेपछि प्रथम श्रेणीका लागि परीक्षा दिँदा उत्तीर्ण भएँ । त्यसपछि ०७४ सालमा टेकु अस्पतालमै निर्देशक भएर साढे आठ महिना काम गरें । स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक सेवा महाशाखामा फाउन्डर निर्देशकका रूपमा सरुवा भएपछि त्यहाँ एक वर्ष सेवा गरें । हाल पुनः टेकुमा निर्देशकका रूपमा कार्यरत छु ।
कामका दौरान असहयोग वा अप्ठ्यारोको सामना गर्नुप¥यो ?
काम गर्दा कहिल्यै महिला भन्ने भावना हावी हुँदैन तर काम गर्ने बेलामा विभिन्न क्रियाकलापमा महसुस गराउँछन् । पितृसत्तात्मक समाज भएकाले अहिले पनि महिला एवं पुरुषलाई गरिने व्यवहार फरक छ । हरेक कुरा दुई पक्ष हुन्छ, आफ्नो कुरा कसरी प्रस्तुत गर्ने त्यसमा भर पर्छ ।
महिला भएकैले कुनै अप्ठ्यारो स्थितिको सामना गर्नुप¥यो ?
अप्ठ्यारो स्टेप–स्टेपमा हुन्छ । त्यसलाई मैले अवसरका रूपमा लिएकी छु । काम गर्ने, अगाडि बढ्नेलाई त अप्ठ्यारो पर्छ । यसलाई ट्याकल गरेमा अँध्यारो र उज्यालो हुन्छ । हरेक अप्ठ्याराले नयाँ पाठ पढाउँछन् । अर्को अप्ठ्यारो पर्दा पहिले नै अलर्ट हुन सकिन्छ ।
काम गर्दाका बिर्सन नसक्ने घटना छन् ?
त्यस्ता धेरै छन् । एकपटक भोजपुर जिल्ला अस्पतालमा पोस्टिङ हुँदा दसैं–तिहारमा घर आउन पाइन । दसैंपछि एउटी महिला ल्याइएको थियो, टाउकोमा लुछेर कपाल थिएन । महिलाका आँखा, ओठ सबै सुन्निएका थिए र भित्र पनि नीलडाम थियो । घरेलु हिंसाको केस थियो । श्रीमान्ले नै महिलालाई अचेत अवस्थामा उपचारका लागि ल्याएका थिए । बिस्तारै होश आयो । श्रीमान्ले पिङ खेल्दा लडेको भनेर फुर्ती देखाउँथे । घरेलु हिंसाको पराकाष्ठा नै थियो तर महिलाले कम्प्लेन गरिनन् । महिलाले कम्प्लेन नगरेसम्म पुलिस बोलाउने कुरा भएन । त्यो घटना यतिका वर्ष हुँदा पनि बिर्सन सकेकी छैन ।
महिलाका के–कस्ता स्वास्थ्य समस्या छन् ?
दुर्गममा काम गर्दा धेरै पाठेघर खस्ने समस्या पाएँ । टिनएजमा मैले पढ्नुपर्छ, पढाइ पूरा भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सोच्दैनन् । कम उमेरमै शिशुको स्याहार गर्न नसक्दा स्वास्थ्यका साथै आर्थिक समस्या पनि पर्छ । कम उमरेमै आमा बन्दा आमाएवं शिशुको स्वास्थ्यमा पनि प्रभाव पर्छ । पोस्टपार्टम डिप्रेसन, फिस्टुलाको समस्या हुनसक्छ । हरेक स्कुलको शिक्षामा प्रजनन शिक्षा भएपनि के गलत के सही भन्ने छैन । सेफ सेक्स, परिवार नियोजनको शिक्षा दिनु जरुरी छ ।
निर्देशक भएपछि यहाँले गर्नुभएको काम, अहिले गर्नुपर्ने काम के–के हुन् ?
निर्देशक हुँदा कोभिडको ओमिक्रोन भेरियन्ट भित्रिएको थियो, कोभिड डेडिकेटेड संक्रमितहरू यहीँ आउँथे । नयाँ भेरियन्ट एकदमै संक्रामक छ र छिटो फैलन्छ भन्ने चुनौती थियो । निर्देशकको जिम्मेवारी सँगै कोभिडका कर्मचारी उपकरण तयारी अवस्थामा राख्ने बिरामी व्यवस्थापन, उपकरण तयारी अवस्थामा राख्ने, अक्सिजनको व्यवस्थापन गर्नुपथ्र्यो । प्रभावकारी रूपमा कार्यान्वयन गर्न सफल भयौं । फेरि गत असारमा चार वर्षपछि उपत्यकामा हैजाको प्रकोप देखियो । यहाँ कोभिड, महामारी, सरुवा रोगको उपचारका साथै बहुलाहा कुकुरले टोकेको सुई लगाउने सबैभन्दा ठूलो सेन्टर, कालाज्वर, डेंगीलगायत, देशभरका सर्पदंशका जतिपनि केस हुन्छन् रिफरल सेन्टर यही हो । डायरिया, कुनै पनि कारणले ज्वरो आउने, स्क्रब टाइफस, टिबीका बिरामी पनि उपचारका लागि आउँछन् । देशकै सबभन्दा ठूलो एआरटी सेन्टर (एन्टीरेटो भाइरल) एचआइभी संक्रमितले अँैषधि पाउने ठाउँ, देशको पहिलो र ठूलो अस्पताल हो । हामीकहाँ रजिस्टर्ड संक्रमित २२ सय जना छन् ।यसका साथै प्रशासनिक र आर्थिक जिम्मेवारी पनि हेर्नुपर्छ ।
सफलता कसरी हात पार्ने ?
निरन्तर संघर्ष र मेहनत गरिराख्नुपर्छ । अप्ठ्यारो, असफलता र जीवनका अँध्यारा क्षणलाई चिर्दै अघि बढ्नुपर्छ । एकपटक असफल हुँदैमा हरेश खानुहुँदैन । कालो रातपछि सुनौलो बिहानी आउँछ । कर्म पनि राम्रो गर्नुपर्छ । मैले गरेका कुरा अरुले अनुसरण गर्न लायक हुनुपर्छ ।
प्रत्येक महिला कसरी स्वस्थ हुने ?
फिजिकल एक्टिभिटी गर्नुप¥यो । स्वस्थ खानेकुरा खानुप¥यो । ४० वर्षको उमेर पुगेपछि रक्तचाप, मधुमेह जाँच गराउनुपर्छ । ४० वर्ष उमेर पुगेका महिलाले स्तन र पाठेघरको क्यान्सर पनि जाँच गराउनुपर्छ ।
भावी योजना ?
जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु । एचआइभी संक्रमितहरूका लागि काम गर्ने इच्छा छ । सरकारी अस्पतालमा राम्रा उपकरण ल्याएर कम शुल्कमा धेरै भन्दा धेरै उपचार र सुविधा पाऊन् भन्ने मेरो इच्छा छ । केन्द्रमा मात्र नभई प्रदेशमा पनि यो सुविधा होस् । पोलिसी लेवलमा सरकारी अस्पतालको उत्थान र प्रवद्र्धनका लागि काम गर्ने योजना छ ।