Successfully Copied

मोन्टेश्वरी शिक्षा

हामीले बालमनोविज्ञान बुझ्नुपर्छ । सुरक्षित वातावरण, प्रशिक्षित शिक्षक, उपयुक्त शैक्षिक सामग्री र आर्थिक स्थायित्व सुनिश्चित गर्नुपर्छ ।


आरती पौडेल
प्रारम्भिक बाल विकासमा महत्वपूर्ण मानिने मोन्टेश्वरी शिक्षा पद्धति अहिले नेपालमा लोकप्रिय बन्दै गएको छ । खेल्दै सिक्ने वातावरणमार्फत बालबालिकाको आत्मविश्वासमा वृद्धि हुन्छ । सिकाइ क्षमतामा वृद्धि, सिर्जनशीलताको विकासमा ठूलो भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् । त्यसैकारण मोन्टेश्वरी धेरै अभिभावकको रोजाइमा परेको छ । मोन्टेश्वरी खोल्दा ध्यान दिनुपर्ने कुरा, बालबालिकाको बानी, व्यवहार कसरी थाहा पाउने, मोन्टेश्वरीले अपनाएको दीक्षान्त समारोहले उनीहरूको विकासमा कस्तो भूमिका खेलेको छ रु बालबालिका खुसी राख्न के गर्ने ? उनीहरूको खाना साथै खाजामा कस्तो आहार पर्छन्  ? भन्ने विषयमा गरिएको कुराकानी :

सपना केसी

सञ्चालक, ह्याप्पी किड्स मोन्टेश्वरी, लेखनाथ, पोखरा

मोन्टेश्वरी खोल्ने कसरी सोच कसरी आयो ?
मैले अन्य विद्यालयहरूमा पनि पढाएको अनुभव छ । पढाउँदै जाँदा प्रारम्भिक बाल शिक्षाको तालिम लिएपछि साना बालबालिकाको आधारभूत विकासमा लगानी गर्नुपर्छ भन्ने सोचेर आफ्नै गाउँठाउँमा गुणस्तरीय प्रारम्भिक शिक्षा सुरु गर्ने उद्देश्यले मोन्टेश्वरी खोल्ने सोच आयो ।
सुरुमा कस्ता चुनौती आए ?
मोन्टेश्वरी खोलेको अहिले १० वर्ष भयो । सुरुवाती दिनमा विश्वास जित्न कठिन भयो । भौतिक पूर्वाधार व्यवस्थापन, दक्ष शिक्षक खोज्ने, आर्थिक व्यवस्थापन र अभिभावकलाई मोन्टेश्वरी पद्धति बुझाउने चुनौती थियो । तर विस्तारै गर्छु भन्ने आँट र सोच भएकाले होला सबै कुरा सहज हुँदै गयो । अहिले वातावरण सहज भएको छ । हाम्रो मोन्टेश्वरीमा १३ जनाको टिम छ । सबै मिलेर मोन्टेश्वरीलाई बलियो बनाउन लागिपरेका छौं ।
मोन्टेश्वरीको अनुभवबाट के कुरा सिक्ने मौका मिल्यो ?
सबैभन्दा खुसीको क्षण भनेको बालबालिकाको व्यवहार, भाषा र आत्मविश्वासमा आएको परिवर्तन देख्दा सन्तोष मिल्ने रहेछ । मोन्टेश्वरी खोलेर धेरै कुरा सिक्ने अवसर पनि मिलेको छ । बाल मनोविज्ञान बुझ्ने मौका पाएँ । सबै बालबालिका आफ्नै नानी–बाबुजस्तै लाग्छन् । जिम्मेवारी ठूलो भएको अनुभूति हुन्छ ।
मोन्टेश्वरी खोल्न चाहनेले के कुरामा ध्यान दिनुपर्छ ?
हामीले बालमनोविज्ञान बुझ्नुपर्छ । सुरक्षित वातावरण, प्रशिक्षित शिक्षक, उपयुक्त शैक्षिक सामग्री र आर्थिक स्थायित्व सुनिश्चित गर्नुपर्छ ।
मोन्टेश्वरी खोल्न र बालबालिकाको सबै कुरामा ध्यान दिनु भनेको अत्यन्त संवेदनशील र चुनौतीपूर्ण काम हो । यसका लागि करुणा, धैर्य, माया र सतर्कता आवश्यक पर्छ । सानो गल्तीले दीर्घकालीन असर पर्न सक्छ ।

मोन्टेश्वरी खोल्नुअघि र खोलेपछिको अनुभव कस्तो रह्यो ?
मोन्टेश्वरी खोल्नुअघि मैले शिक्षण तालिम र केही वर्ष अन्य विद्यालयमा अध्यापन गरेकी थिएँ । खोलेपछि व्यवस्थापन, गुणस्तरीयता कायम, अतिरिक्त क्रियाकलाप, अभिभावक समन्वय, प्रशासनिक गतिविधि र नीति निर्माणसम्मको जिम्मेवारी सम्हाल्नुपर्‍यो ।


भिभावकसँग कसरी समन्वय गर्नुहुन्छ ?
अभिभावकसँग समन्वय गर्नुपर्ने हुन्छ । मासिक अभिभावक भेटघाट, चाडपर्वमा विशेष कार्यक्रम आयोजना, होम भिजिट, नियमित प्रगति प्रतिवेदन र डिजिटल अपडेटमार्फत नियमित सम्पर्क राख्ने गरेका छौं । यो हाम्रो मोन्टेश्वरीको बलियो पक्ष हो ।
बालबालिकाले खाने खानामा गुणस्तर कायम राख्न के उपाय अपनाउनु भएको छ ?
बालबालिकाको खानामा धेरै ध्यान दिनुपर्छ । हामीले प्रत्येक दिन फरक–फरक मेनु तयार गर्छौं । डाइटिसियनको परामर्शमा पौष्टिक आहारसँगै सफाइमा विशेष ध्यान दिन्छौं । सामग्रीको नियमित अनुगमन गर्छांै ।
बालबालिका खुसी बनाउन के गर्नुहुन्छ ?
हामीले सिर्जनशील पठन संस्कृति, अतिरिक्त क्रियाकलाप, खेलकुद, कथा–कहानी, चित्रकला, वनभोज, बाहिरी भ्रमणलगायतका गतिविधिमा संलग्न र सिर्जनात्मक गतिविधि गराइन्छ ।
अब के गर्ने सोचमा हुनुहुन्छ ?
अब मोन्टेश्वरीलाई कक्षा विस्तार गरी डिजिटल सिकाइ सामग्रीसहित स्मार्ट कक्षा सञ्चालन गर्ने सोचमा छौं । साथै बालमैत्री खेलमैदान र सुरक्षित पूर्वाधार थप सुदृढ गरी अभिभावकसँग सहकार्य गर्दैछौं । बालविकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी शिक्षकहरूको नियमित तालिम र कार्यसम्पादन–मूल्याङ्कन प्रणाली लागू गर्ने योजना छ ।

अभिभावकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
प्रारम्भिक बालशिक्षा नै व्यक्तित्व निर्माणको आधार हो । अहिलेको शिक्षा पढाउने होइन सिकाउने हो । त्यसैले सिर्जनशील बनाउने खालको व्यावहारिक र मौलिक शिक्षा हुनुपर्छ । अभिभावकले आफ्ना बाबु–नानीका लागि विश्वास योग्य गुणस्तरीय वातावरण भएको उपयुक्त शिक्षालयमा लगानी गर्नुपर्छ । जसका संचालक शिक्षकमा माया, करुणा, समर्पण एवं वात्सल्यता होस् र अभिभावकले त्यो गुणलाई पहिचान गरिदिनुहोस् भन्न चाहन्छु ।
बालबालिकालाई मायाका साथ सम्झाउनुपर्छ । दण्ड होइन सकारात्मक सोचका साथ राम्रो शिक्षा दिएर उदाहरणसहित बुझाउनुपर्छ ।
आगामी योजना के छ ?
आगामी दिनमा मोन्टेश्वरीलाई कक्षा विस्तार गर्ने, डिजिटल सिकाइ सामग्रीसहित स्मार्ट कक्षा सञ्चालन गर्ने कुरालाई अझ सशक्त रूपले लैजाने सोच छ । बालमैत्री खेलमैदान र सुरक्षित पूर्वाधार थप सुदृढ एवं अभिभावकसँग सहकार्य गर्ने योजना छ । साथै बालविकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी शिक्षकहरूको नियमित तालिम र कार्यसम्पादन मूल्यांकन प्रणाली लागू गर्ने योजना छ ।

 Image