Successfully Copied

प्रेमको धुन

संगीत सिक्ने क्रममा उनीहरू साथी बने । दुर्गालाई कफी मन पर्ने, अर्जुन चियाका पारखी । खासमा चिया पसल उनीहरूका लागि ‘डेटिङ स्पट’ थियो ।


उनीहरूले पुतलीसडकका चोक र गल्लीसँगै नापेका छन् । त्यहीँकै चिया पसलले त यी दुईलाई नजिक बनाएको हो । त्यसैले यो जोडीका लागि आज पनि पुतलीसडकमा लम्पसार परेर तेर्सिएको सडक उत्तिकै प्यारो छ । जहाँ उनीहरूले प्रेमिल दिनहरूमा लामो यात्रा गरेका छन् ।
गायिका दुर्गा खरेल र संगीतकार तथा गायक अर्जुन पोखरेलका रमाइला–घमाइला दिन पुतलीसडक आसपास नै बिते । झापाको भद्रपुरमा जन्मिएकी दुर्गा र चितवनको पिठुवामा जन्मिएका अर्जुनको पहिलो भेट पुतलीसडकको अनुराग संगीत विद्यालयमा भयो । तीन वर्षदेखि सोही विद्यालयमा संगीत सिकिरहेका अर्जुनलाई देख्नेबित्तिकै निकै आकर्षक, साधारण, अत्यन्तै मेहनती र असल लागेको थियो दुर्गालाई । ‘राम्रो लाग्थ्यो तर त्यो किसिमको कुनै फिलिङ्स थिएन । संगीत सिक्ने क्रममा साथी भइयो,’ उनी भन्छिन् ।
उनी कफी, अर्जुन चियाका पारखी । खासमा चिया पसल उनीहरूका लागि ‘डेटिङ स्पट’ थियो । दुवैजना पछि अनुराग संगीत विद्यालयकै कर्मचारीका रूपमा काम गर्न थाले । चार वर्षभित्रको उचारचढाव अनि एक–अर्कालाई गहिरो गरी चिनेपछि विवाहको प्रस्तावसम्म पुगेको अर्जुन सुनाउँछन् । ‘उनी अत्यन्तै सरल, धेरै महत्वाकांक्षा नभएको लागेर विवाहको प्रस्ताव राखें । उनले २० दिनको समय मागिन् । त्यो २० दिन कटाउन मलाई २० वर्ष जस्तो लाग्यो,’ विवाहबारे अर्जुन भन्छन्, ‘पछि हुन्छ भन्ने स्वीकारोक्ति पाएपछि दुवैले आ–आफ्नै खर्चले विवाह गर्‍यौं । दुवैतिर घरपरिवारलाई भार थुपारेनौं । कोरोनामा विवाह गरेकाले धेरै मानिस जम्मा गरिएन ।’
पाँच वर्षअघि विवाह गरेको यो जोडीको दाम्पत्य जीवन अत्यन्तै उत्साहजनक र रमाइलो छ । आज पनि आफूहरू श्रीमान्–श्रीमती नभएर विवाहअघिकै साथी जस्तो लाग्ने दुवैले बताए । ‘आफ्नै क्षेत्रको जीवनसाथी पाइयो भने बढी बुझिदिन्छन् भन्ने उहाँलाई लागेर नै विवाह भएको हो । आज पनि हामीबीच अत्यन्तै गहिरो विश्वास र समझदारी छ । मलाई विवाहपछि कुनै पनि किसिमको बोझ हुन दिनुभएन,’ दुर्गा भन्छिन्, ‘सासू–ससुरालगायत सबै परिवार असाध्यै बुझ्ने भएकाले मलाई कुनै असहज छैन ।’
अर्जुनले २५ सय हाराहारी गीतमा संगीत दिइसकेका छन् । २०६१ सालदेखि नै संगीतमा लागेका उनले लोक विधातर्फ कालिका एफएम अवार्ड पनि हात पारेका थिए । संगीतका पुजारी उनी संगीत बुझ्ने र यसलाई माया गर्ने मान्छे आफ्नो जीवनमा आओस् भन्ने कल्पना गर्थे, भयो पनि त्यस्तै । दुई सयभन्दा बढी आधुनिक तथा चलचित्र गीत गाइसकेकी दुर्गाले उनको भावना राम्ररी बुझिदिएकी छिन् ।
कतिले भन्ने गरेका छन्, विवाहपछि जिम्मेवारीको बोझले थिच्यो । तर, अर्जुनलाई त झनै सहज भयो । विवाहपछि सुखदु:ख, जिम्मेवारीलगायत हरेक कुरा बाँडिएकाले आफूलाई झनै हल्का महसुस भएको उनी बताउँछन् ।
उनीहरूकी साढे दुई वर्षकी छोरी छिन् । उनको नाम अदिरा हो । उनको आगमनपछि आफ्नो जीवन धन्य बनाएको दुवैले महसुस गरेका छन् । छोरी जन्मिँदाको प्रसंग सुनाउँदै दुर्गा भन्छिन्, ‘२६ गते विश्व संगीत दिवस थियो । मलाई १९ गते नै गाह्रो भयो । उहाँले २६ गतेको कुरा गर्दा डाक्टरले तपाईंलाई बच्चा चाहिएको कि संगीत दिवस भनेर उल्टै प्रश्न गर्नुभएछ । बच्चा पनि २६ गते नै अपरेसन गरेर निकालियो ।’
कार्डमा अर्जुनले नै छोरीको नाम अदिरा पोखरेल खरेल लेखाएका थिए । पछि थाहा पाउँदा आफू निकै भावुक बनेको दुर्गा सुनाउँछिन् । श्रीमतीको नौ महिने कष्ट, प्रसव पीडा देखेर उनको सम्मानमा सुटुक्क छोरीको नामको पछाडि दुर्गाकै थर जोडिदिएको अर्जुनले बताए ।
आज पनि उनीहरू एक–अर्काको खुट्टा मसाज गरिदिन, भित्री वस्त्र धोइदिन कुनै हिच्किचाहट गर्दैनन् । घरको काम जसले जे भ्यायो, त्यो गरिहाल्छन् । अर्जुनलाई लाग्छ, अब समय त्यो छैन, जतिबेला पकाएर खुवाउन, भाँडा माझ्न, घरव्यवहार धानिदिन वा बच्चा जन्माउनका लागि भनेर मात्रै श्रीमती ल्याइन्थ्यो । अबको समय भनेको समानान्तर रेखामा हिँडेर एक–अर्काको जीवन खुसीसाथ जिउने हो ।
दुर्गा भने श्रीमती अब आमा भइसकी, जे गरे पनि यो कहाँ जान्छे र भनेर पुरुषले सोच्न नहुने बताउँछिन् । ‘नारीलाई बरु सम्पत्ति नभए हुन्छ, माया र केयर चाहिन्छ । आमा भइसकेपछि झनै बढी प्रेम, स्नेह चाहिन्छ । त्यसैले श्रीमान्ले पहिलेको जस्तै माया र हेरविचार गर्नुपर्छ । जुन हामीमा यथावतै छ,’ भन्छिन्, ‘त्यसैले होला, हाम्रो सम्बन्ध अहिले पनि प्रेमी–प्रेमिकाको जस्तै छ ।’
अर्जुनका अनुसार दाम्पत्य सम्बन्धलाई मजबुत बनाउन समय, संवाद र विश्वास अत्यावश्यक हुन्छ । दुर्गालाई भने प्रेम, आपसी समझदारी, सम्मान र भावनाको कदरले सम्बन्धलाई सधैं खुसी बनाइराख्छ । 


दुर्गाको नजरमा अर्जुन
बलियो पक्ष : मलाई बुझ्ने
कमजोरी : समय व्यवस्थापन
आकर्षक पक्ष : व्यक्तित्व
सुधार गर्नुपर्ने : समय व्यवस्थापन
लत : चिया
मनपर्ने गायक–गायिका : अञ्जु पन्त र सुगम पोखरेल
अर्जुन : मेरो प्राण
कस्ता श्रीमान् : परफेक्ट
अर्जुनको नजरमा दुर्गा
बलियो पक्ष : विश्वासयोग्य
कमजोरी : भावुक
आकर्षक पक्ष : सरलपन
सुधार गर्नुपर्ने : संवेदनशील
लत : कफी
मनपर्ने गायक–गायिका : अञ्जु पन्त र सुगम पोखरेल
दुर्गा : जीवन साथी
कस्ती श्रीमती ? : मैले खोजेजस्ती

 Image