सूचना प्रविधिको क्षेत्रमा विकास भएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र बिस्तारले सञ्चार क्षेत्रलाई पनि निकै प्रभावित पारेको छ । यसै सन्दर्भलाई मध्यनजर गर्दै नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि मार्गनिर्देशन तय गर्ने उद्देश्यले यही असार ५ गते प्रेस काउन्सिल सभाहलमा कार्यशाला सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपाल र फ्रिडम फोरमको संयुक्त आयोजनामा ‘नेपाली पत्रकारितामा एआईको नैतिक र जिम्मेवार प्रयोगका लागि इथिकल फ्रेमवर्क’ विषयक सम्पादकहरूसँगको कार्यशालामा पत्रकार तथा मिडिया विज्ञ तारानाथ दाहालले ‘पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र विश्वसनीय प्रयोग’ र पत्रकार जीवन भण्डारीले ‘नेपाली मिडियामा एआईको प्रयोग र आचारसंहिता’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वभर पत्रकारितामा एआईको प्रयोग कसरी भइरहेको छ र नेपालको परिवेशमा यसका कस्ता चुनौतीहरू छन् भन्ने विषयमा कार्यपत्र प्रस्तुत थियो ।
कार्यक्रममा काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रसारण विभागका महानिर्देशक छबिन्द्र पराजुलीले एआईको प्रयोगसम्बन्धी ज्ञान पत्रकार, अनुगमनकर्ता र आम नागरिकलाई आवश्यक भइसकेको धारणा राख्दै काउन्सिलले यससम्बन्धमा ध्यान दिँदै कार्यक्रम बनाइने बताए । महानिर्देशक पराजुलीले राज्यका नीति नियम र प्रविधि विकासको गतिलाई सँगै लैजानुपर्ने भन्दै सञ्चार माध्यमहरू आफैंले पनि एआई प्रयोगसम्बन्धी आन्तरिक निर्देशिका बनाउनुपर्ने सुझाव समेत दिए ।
काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले एआई प्रविधि पत्रकारिताका लागि सहयोगी साधन भए पनि यसले मानव चेत र पत्रकारिताको मूल मर्मलाई विस्थापित गर्न नसक्ने बताए । साथै नयाँ प्रविधिलाई अङ्गीकार गर्दा पत्रकारिताको विश्वसनीयता, तथ्यपरकता र जवाफदेहितामा सम्झौता हुन नहुनेमा जोड दिए । काउन्सिलले पत्रकारितामा एआईको प्रयोगलाई नियमनभन्दा पनि व्यवस्थित र नैतिक बनाउन एउटा ठोस ‘इथिकल फ्रेमवर्क’ आवश्यकता महसुस गरेर नै यो बहसको थालनी गरेको बताए ।
कार्यक्रमको सहजीकरण प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले गरेका थिए । उनले एआईको वैज्ञानिक अवधारणा सन् १९४० को दशकमा सुरु भई ५० को दशकमा यसले मान्यता पाएको विचार राखेका थिए ।
फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यशालाको निष्कर्ष स्वरूप नेपाली पत्रकारिताका लागि एआई प्रयोगसम्बन्धी एक राष्ट्रिय ‘नैतिक र जिम्मेवार प्रयोग सम्बन्धी फ्रेमवर्क’ निर्माणका लागि सुझावहरूलाई समेटेर मस्यौदा तयार पार्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलका क्रममा एआईले समाचार लेखन, अनुवाद र तथ्यांक विश्लेषणलाई सजिलो बनाएतापनि यसको नाममा फैलाइन सक्ने ‘डीपफेक’ र ‘डिसइन्फर्मेसन’बाट नेपाली पत्रकारितालाई जोगाउनु पर्ने, यसका लागि एउटा बलियो नैतिक खाका आवश्यक रहेको, एआईको प्रयोगमा पारदर्शिता हुनुपर्ने, प्रतिलिपि अधिकारको रक्षा गर्नुपर्ने, पाठकको विश्वसनीयता कायम राख्नुपर्ने, यसका लागि सबैले प्रेस काउन्सिललाई साथ दिनुपर्नेलगायत सुझाव राखिएको थियो ।
खुला छलफल सत्रमा सम्पादकहरूले आफ्ना दैनिक कार्यकक्ष (न्यूजरुम)मा एआई उपकरणहरू प्रयोग गर्दाका अनुभव, सहजता र जटिलताका सम्बन्धमा आ–आफ्ना अनुभव सहभागिले राखेका थिए । अहिले नेपाली न्युजरुमहरूमा अनुवाद, भाषा परिमार्जन, शीर्षक छनोट, र सामाजिक सञ्जालका लागि सामग्री तयार पार्न एआईको प्रयोग दिनप्रतिदिन बढिरहेको बताउादै एआईले नेपाली भाषाको मर्म सधैं सही रूपमा समात्न नसक्ने, तथ्यगत गल्तीहरू गर्ने र संवेदनशीलता नबुझ्ने भएकाले ‘ह्युमन इन द लुप’ अर्थात् मानिस (सम्पादक)को अन्तिम सम्पादन र प्रमाणीकरण विना एआईको भरपर्नु घातक हुने धारणा अधिकांश वक्ताहरूले राखेका थिए । कार्यशालामा दीपक ज्ञवाली, राजेश घिमिरे, जुनारबाबु बस्नेत, डिल्ली आचार्य, रामप्रसाद हुमागाई, भरतराज पोखरेल, अनुजराज ढुंगेल, कुवेर चालिसे, उर्वसी बस्नेत, कृष्णा पौडेल, उपासना घिमिरे, नवराज चालिसे, शिव सत्याल लगायतले अनुभव राखेका थिए ।