Successfully Copied

मुक्तकसंग्रह ‘मणिराम’ लोकार्पण

प्रीति आत्रेय ज्ञवालीको मुक्तकसंग्रह ‘मणिराम’ बुटवलमा लोकार्पण भएको छ ।

प्रीति आत्रेय ज्ञवालीको मुक्तकसंग्रह ‘मणिराम’ बुटवलमा लोकार्पण भएको छ । आफ्ना ससुराबुबा मणिराम ज्ञवालीको जन्मदिनका अवसरमा उनले संग्र्रह विमोचन गराएकी हुन् । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार बुँद रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सुरुमा वटुकहरुले स्वस्तिवाचन गरेका थिए ।
अध्यक्ष पाण्डेले प्रतिष्ठान सदैव भाषा, कला, संस्कृतिको संरक्षणका क्षेत्रमा अघि बढिरहेको चर्चा गर्दै लेखकलाई बधाई दिए । यस्तै, रानाले संग्रहमार्फत ज्ञवाली पितृभक्ति र सामाजिक सद्भावको अभियन्ता बनेको विचार राखे ।
समीक्षक मुरारी पराजुलीले मुक्तकको परिचय प्रस्तुत गर्दै ऋग्वेदको मुक्तकीय आयाम, भर्तृहरि, अग्निपुराण आदिमा चर्चा गरिएको मुक्तकको प्रसंग र यसको गुणवत्ताबारे प्रस्ट पारेका थिए । मुक्तकार ज्ञवालीको अंग्रेजी र संस्कृत भाषामा राम्रो दख्खल भएको र पूर्वीय चिन्तन मुक्तकमा प्रशस्त रहेको उनको भनाइ थियो । ‘कृतिकार नीति प्रवचकका रुपमा देखिनुभएको छ,’ उनले भने, ‘मुक्तकले समाजमा व्याप्त बेथिति, भ्रष्टाचार, कुशासन, राजनीतिक स्खलनविरुद्ध आवाज उठाएका छन् ।’


मुक्तककार रुद्र ज्ञवालीले संग्रहमा काव्यिक चेत, आध्यात्मिक चेत, रुवाइशैली, पाश्चात्य सभ्यताको अन्धानुकरणको विरोध गरिएको बताए । विष्णुराज आत्रेय प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विष्णुराज आत्रेय (लाटोसाथी) को शालिक स्थापना गर्ने योजना रहेको जानकारी दिए ।
लेखक ज्ञवालीले रचनागर्भ सुनाउँदै ससुराबुबाको जन्मोत्सवमा उहाँको आशिर्वाद लिन र पितृऋण चुक्ता गर्न उहाँकै नाममा संग्रह निकालेको बताइन् । उनी राशिफल लेखकसमेत हुन् ।

 Image