Successfully Copied

घरैमा प्राप्त गरौं विदेशी ब्रान्ड

रोजगारीका लागि खाडी मुलुक जाने प्राय: सबैले पहिलोपटक घर फर्किंदा अरू केही नल्याए पनि राम्रो ब्रान्डको एउटा टेलिभिजन ल्याएकै हुन्थे । पछिल्ला दिनमा विदेशबाट बढीजसो एसेसरिज, पहिरन, सुन–हीरा तथा ग्याजेट्स भित्रिरहेका छन् ।

 

केही समययता नेपालीहरूको जीवनशैली तीव्र गतिमा परिवर्तन हुँदैछ । लबाइ–खबाइ, खानपान, दैनिक प्रयोगका सामग्री आदिका साथै जीवनशैली पनि अनौठो तरिकाले बदलिइरहेको छ । पहिले सम्भ्रान्त तथा राजपरिवारका मानिसहरू (जो विदेश आवातजावत गर्थे) ले मात्र ब्रान्डेड पहिरन, एसेसरिज तथा खाद्यपदार्थ देख्न र प्रयोग गर्न पाउँथे । यस्ता कुरा आममानिसको पहुँचमा थिएनन् । अहिले भने आमनेपालीले समेत ब्रान्डेड सामग्री प्रयोग गर्न थालेका छन् । यस्तो परिवर्तन देखा परेको धेरै भएको छैन ।

अहिले साधारण नेपाली पनि विदेश आवतआवत गर्न थालेका छन् । सुरुमा विदेश पुगेकाहरू ब्रान्डेड पहिरन, चकलेट–वाइनलगायत ग्याजेट आदिको पर्चेजिङमा बढी रमाए । रोजगारीका लागि खाडी मुलुक जाने प्राय: सबैले पहिलोपटक घर फर्किंदा अरू केही नल्याए पनि राम्रो ब्रान्डको एउटा टेलिभिजन ल्याएकै हुन्थे । पछिल्ला दिनमा विदेशबाट बढीजसो एसेसरिज, पहिरन, सुन–हीरा तथा ग्याजेट्स भित्रिरहेका छन् । यद्यपि अब यस्ता उच्चस्तरीय ब्रान्डका सामग्री उपभोग गर्न शारीरिक रूपमै विदेश पुगिरहनु पर्दैैन । इन्टरनेटको पहुँचका कारण हातमा भएको मोबाइलमा उपलब्ध एपको सहायताले यस्ता सामान घरमै उपलब्ध हुनसक्छन् ।

नेपालमा संचालित विभिन्न अनलाइन पोर्टलहरू (जुन मार्केटिङमा मात्र केन्द्रित छन्)ले अनलाइन सपिङमार्फत ग्राहकहरूको सेवामा विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन् । प्रहरी फोर्समा आबद्ध रस्मिता क्षेत्री भन्छिन्–प्रहरी जवान, एउटी आमा, श्रीमती, बुहारी आदि फरक–फरक भूमिका निर्वाह गर्ने क्रममा मसँग समय निकै कम हुन्छ । समय छैन भनेर आवश्यकता घट्दैन तसर्थ म दैनिक उपभोग्य वस्तुदेखि पहिरन तथा अन्य सामग्री अनलाइनबाटै मगाउँछु । विदेश भ्रमण सिलसिलामा किनेको लोरियल ब्रान्डको क्रिम मेरो छालाका लागि अत्यन्तै सुट भयो । त्यो सकिएपछि यहाँका थुप्रै कस्मेटिक पसल चहारेँ तर पाइन । धेरैपछि अनलाइनमा सोही क्रिम फेला पर्दा मेरो खुसीको सीमा रहेन । को विदेश जाला र ल्याइदेला भनेर कुर्नुपरेन । फोन गरेको भोलिपल्टै आफूले खोजेको सामान हात पर्‍यो ।

विभिन्न कलेजमा अध्यापनमा आवद्ध सिराज बज्राचार्यले आफ्नो अमेरिका बसाइका क्रममा ब्रान्डेड सामग्रीको महत्व उच्च बुझे । उनका अनुसार मूल्य बढी परे पनि यसले प्रदान गर्ने शान र सहजता अतुलनीय हुन्छ । ब्रान्ड भ्यालुज इन समथिङ द्याट, ह्विच मेक्स दिअर पर्सनालिटी भेरी हाई, हु युज ईट–बज्राचार्य भन्छन्–त्यसपछि मलाई ब्रान्डको अर्थ र महत्व थाहा भयो । त्यसयता म ब्रान्ड कन्सियस भएको छु । विदेशी उच्च ब्रान्डका सामग्री खरिद गर्नुपरे म विभिन्न अनलाइन साइट चहार्छु, जसबाट मेरो पैसा र समय दुवै बचत हुन्छ ।

नेपालमा प्रचलित अनलाइन सपिङ पोर्टलहरूले आफूले चाहेको र आवश्यक परेको ब्रान्ड रोज्न तथा खोज्न पैसा खर्च गरेर विदेश धाउनुपर्ने बाध्यता कम गरिदिएका छन् । अनलाइन साइटहरूले क्रेतालाई सामान हस्तान्तरण गरिसकेपछि मूल्यको थोरै प्रतिशत डेलिभरी सर्भिस चार्ज लिन्छन् तर सामान क्रेताले भनेकै स्थानमा पुर्‍याइदिन्छन् । दराज डटकमले फोसिल, सामसुङ, फिलिप्स, भिडियोकोन, हुवावे आदि बिग ब्रान्ड डिल गर्छ । यसका जति पनि सामग्री छन् एक कल फोनका भरमा घरमै डेलिभरी हुन्छ । त्यसवापत निश्चित डेलिभरी शुल्क लिने यो साइट छोटो समयमै लोकप्रिय भएको छ । नेपालीहरूले अत्यधिक क्लिक गर्ने साइटमध्ये एक हो–हाम्रो बजार डटकम । यसभित्र संसारै अटाएको छ ।

घर–जग्गादेखि लिएर कार, मोटरसाइकल, मोबाइल, आइप्याड–ट्याबजस्ता आधुनिक जीवनका लागि आवश्यक सम्पूर्ण सामग्री यसभित्र उपलब्ध छन् । मोबाइल तथा एपका साथै पहिरन बिक्री गर्ने सस्तो डिल डटकम युवाहरूमाझ लोकप्रिय छ । यसमा विभिन्न ढाँचा, शैली तथा रंगका ब्रान्डेड मोबाइल उपलब्ध छन् । थ्रेडपेन्ट्स डटकम यस्तो एउटा साइट हो जसले ब्रान्डेड एथलेट्स सुज, लुगाफाटा एवं अन्य एसेसरिज बिक्री गर्छ । ५ सयभन्दा बढीको सपिङमा यो साइटले नि:शुल्क डेलिभरी सेवा प्रदान गर्दै आएको छ । क्यासब्याकको सुविधा नभएको थ्रेडपेन्ट्स काठमाडौं उपत्यकाभित्र नगद कारोबारमा केन्द्रित छ । त्यस्तै सपमाण्डु डटकमले अस्ट्ेरलियन बेस्ड सौन्दर्य प्रसाधन बिक्री गर्छ । यसका साथै यो साइटमा साप्ताहिक रूपमा रनिङ ट्रयाक पनि बिक्रीका लागि राखिन्छ । अस्ट्ेरलियन ब्रान्डका लिपिस्टिक, फाउन्डेसन, मस्कारा, कम्प्याक्ट, लुज पाउडर, आइस्याडोजस्ता सौन्दर्य प्रसाधन सपमाण्डुमा उपलब्ध छन् ।

प्रयोगकर्ताहरूलाई सहज ढंगले सामग्री उपलब्ध गराउन सफल सपमाण्डुका भिजिटरको संख्या लाखौं छ । यसले २ हजार रूपैंयाँभन्दा माथिको सपिङमा १ सय २० रुपंैयाँ डेलिभरी शुल्क लिने गरेको छ ।

फुच्चे डटकममा बालबालिकाका लागि आवश्यक सम्पूर्ण ब्रान्डेड सामग्री उपलब्ध हुन्छन् । बेबी वाकर, बेबी सिटर, बालबालिकाका लागि आवश्यक प्रसाधन, लत्ताकपडा, बेबी सेरेलजस्ता सामग्री उपलब्ध फुच्चेमा सन बेबी–बटरफ्लाई वाकर, मदरर्स च्वाइस सेरेल, न्युवर्न टु टोडलर सेफ्टी सिटर, नाइन मेटरनिटी एंकल लेन्थ, ब्रेस्ट प्याड, बेल्टजस्ता सामग्रीसमेत उपलब्ध छन् । फुच्चे डटकमले बेलाबेलामा आफ्ना कस्टमरलाई कम्लिमेन्ट्री गिफ्टसमेत प्रदान गर्ने गरेको छ । बिग पसल डटकम इलेक्ट्रोनिक्स र फेसनमा केन्द्रित देखिन्छ । क्लच–कम–ब्याग, इथनिक ह्यांगिङ ब्याग, अडियो–भिडियो सामग्री, कम्प्युटर एसेसरिज, स्मार्ट वाचका साथै पावर ब्यांक तथा अन्य डिभाइस बिक्री गर्ने बिग पसल पनि नेपालीहरूले अत्यधिक चहार्ने साइट हो ।

सुषमा प्रधान

पेसागत रूपमा म व्यवसायी तथा सौन्दर्यकर्मी हुँ । मलाई हरक्षण व्यस्तताले पछ्याइरहन्छ । एकैपटक चौतर्फी कामको जिम्मेवारी हुने हुँदा किनमेलका लागि बजार, शोरुम वा मल धाइरहने फुर्सद हुँदैन तसर्थ म आफूलाई आवश्यक सामग्री अनलाइनबाटै खरिद गर्छु । विशेषत: म ब्रान्डेड सौन्दर्य प्रसाधन नै प्रयोग गर्न रुचाउँछु किनभने यो प्रत्यक्ष रूपमा स्वास्थ्यसँग जोडिएको कुरा हो ।

अनलाइन सपिङ गर्दा केही कुरामा भने सजगता अपनाउनैपर्छ । सुरुवाती दिनमा मैले नजानेर कमसल चीजमा निकै पैसा खर्च गरें तर हिजोआज डेलिभरीपछि सामान राम्रोसँग जाँच गरेपछि मात्र भुक्तानी दिने बानी बसालेकी छु । नेपालमा नपाइने कतिपय सामग्री अनलाइनमा उपलब्ध हुन्छन् । त्यस्ता सामान होसियारीपूर्वक म्यानुअल अध्ययन गरेर मात्र खरिद गर्नुपर्छ । कम्प्युटर वा मोबाइलमा पोस्ट गरिएका तस्बिर जति आकर्षक र लोभलाग्दा हुन्छन् तिनै चीज हातमा परेपछि अपेक्षाअनुरूप नहुन सक्छन् । यो कुरामा आफू मानसिक रूपमा तयार हुनुपर्छ अन्यथा किनिसकेपछि यतिका पैसा खर्च गरियो चित्तबुझ्दो सामान भएन भन्ने लाग्नसक्छ । नगद भुक्तानी गर्दा बिल तथा सम्पर्क नम्बर लिन भुल्नु हुँदैन ताकि पछि सामग्रीमा केही खराबी आएको खण्डमा सम्पर्क गर्न सकियोस् ।

कसरी प्राप्त गर्ने सामग्री ?

-    सर्वप्रथम सपिङ साइटमा गएर आफ्नो इमेल ठेगाना राखी पासवर्ड टाइप गर्ने ।

-    एकाउन्ट क्रिएट भैसकेपछि पासवर्ड राखी आफ्नो साइट खोल्ने ।

-    यति गरिसकेपछि त्यहाँ तस्बिर र मूल्यसहित विभिन्न सामग्रीको डिस्प्ले देख्न सकिन्छ ।

-    आफूले चाहेको वस्तु अथवा आवश्यक सामग्री बुकिङ गर्ने ।

-    डेबिट वा क्रेडिट कार्डमार्फत त्यहीँबाटै बिल भुक्तानी गर्न पनि सकिन्छ तर सामान प्राप्त गरिसकेपछि नगद प्रदान गर्दा आफू सुरक्षित भइन्छ ।

-    घर–ठेगाना, मोबाइल नम्बर वा डेलिभरी दिइने अन्य स्थानका बारेमा जानकारी मागेको खण्डमा सूचना उपलब्ध गराइदिनुपर्छ ।

-    अहिलेको नेपाली अनलाइन सपिङ ट्ेरेन्ड भनेको फोन गर्ने, सामान ल्याइपुर्‍याउनुपर्ने स्थानका बारेमा जानकारी दिने, नाम, टेलिफोन नम्बर तथा ठेगाना टिपाउने छ । यसबाहेक आफूले खरिद गर्नुअघि उक्त सामग्रीका बारेमा ध्यानपूर्वक अध्ययन र मूल्यका बारेमा क्रस चेक गर्नुपर्छ ।

अनलाइन सपिङ गर्दा यस्ता कुरामा ध्यान पुर्‍याऔंब्रान्डेड सामग्री उपलब्ध केही नेपाली साइट

-    मुन्चा डटकम डट एनपी  

-    अलिबाबा डटकम

-    गज्जबको डटकम

-    बिग पसल डटकम

-    फुच्चे डटकम

-    मेट्रो तरकारी डटकम

-    सपमाण्डु डटकम

-    थ्रेडपेन्ट्स डटकम

-    नेपवे डटकम

-    सस्तोडिल डटकम

-    हाम्रो बजार डटकम

-    दराज डटकम डट एनपी

 Image