Successfully Copied

प्रियंकाको खरायो बेक्स

यहाँको बजारको ठूलो हिस्सा विदेशी उत्पादनले ओगटेको छ । आगामी योजना भनेको आफ्नै उत्पादनलाई गुणस्तरीय बनाउनु हो । यसलाई सामाजिक सञ्जालले पनि सघाइरहेको छ । सोसल मिडियाकै प्रभावका कारण यस्ता उत्पादनको बजार बढिरहेको छ ।


कोरोनाले निम्त्याएको लकडाउनमा संसार सुस्ताएको थियो । हरेक मानिस घरभित्रै बन्द थिए । कलकारखाना, कार्यालय, उद्यम–व्यवसाय ठप्प थिए । कर्पोरेट जागिरे प्रियंका प्रधान घरको कोठाभित्रको एउटा कुनामा बसेर सोच्दै थिइन्–‘जागिर खाएर आफैंलाई मात्रै भयो, अरुलाई पनि काम लाग्ने कुनै काम गर्न पाए हुन्थ्यो, जुन दीर्घकालीन होस् ।’ त्यतिबेला उनका अस्ट्रेलिया बस्ने देवर सयुज श्रेष्ठ पनि नेपाल फर्किएका थिए, जो पहिले किरिङलगायत सोपिस ज्वेलरीको व्यापार गर्थे । प्रियंकालाई सानैदेखि बेकिङ (पकाउन) मा रुचि थियो । घरमा परपाहुना आउँदा होस् वा बर्थडे, एनिभर्सरी, मदर वा फादर्स डे यस्ता जमघट र शुभअवसरमा प्रियंका केक, चकलेट, मफिन आदि नयाँ परिकार बनाउन तम्सिहाल्थिन् । त्यतिमात्रै नभएर उनी कार्यरत अफिसमा पनि सहकर्मीको बर्थडे वा अफिस एनिभर्सरी आदि अवसरमा केक बनाएर सबैलाई चखाउँथिन् । ‘सबैतिर लकडाउन भयो । अफिस जान परेन, सर्वत्र मन्दी छायो । अनि घरमा प्रस्ताव राखें ।’ खरायो बेक्स जन्मिएको क्षण स्मरण गर्दै प्रियंका भन्छिन्–‘घरका सबैले मेरो प्रस्तावमाथि थप हौसला र प्रेरणा जगाइदिनुभयो । अनि त घरको भान्सामै जन्मियो, खरायो बेक्स । सुरुवाती दिनमा सम्पूर्ण परिवार मिलेर घरको सानो भान्सामै विभिन्न किसिमबाट उत्पादनमाथि परीक्षण थालियो । अनि क्रमशः यी उत्पादन अनलाइनमार्फत हरेकको घर–घरमा पुग्न थाले । सबैले रुचाए पनि ।’


यसरी सुरु भएको खरायो बेक्समा अहिले प्रियंका र उनै सयुज बिजनेस पार्टनर छन् । सानो भान्साबाट सुरु भएको यसका उत्पादन अहिले स्थापित ब्रान्डका रूपमा धेरैको घरको रोजाइ बनेका छन् । सुरुवाती दिनमा मूलतः ब्राउनीमा केन्द्रित भएको प्रियंका बताउँछिन् किनभने बजारमा देखिने अन्य केक वा मफिनमा बढी चिनी, क्रिम आदि केमिकल बढी मात्रामा देखिएकाले उनी कुनै स्वस्थ खाद्य उत्पादन गर्न चाहन्छिन् जुन दैनिक रूपमा खाजा वा डेजर्टका रूपमा खाँदा स्वास्थ्यमा हानि नपुगोस् । नभन्दै खरायो बेक्सको ब्राउनी छोटो समयमै निकै लोकप्रिय बन्यो । बिस्तारै सयुजको समेत नयाँ आइडियामा अन्य उत्पादन पनि थपिँदै गए । त्यसपछि खरायो बेक्सले चीज केक, ब्राउनी, एनर्जीबार, ब्राउनी ट्रफल्स उत्पादनमा समेत हात हाल्यो । भर्खरै नयाँ उत्पादन हुन थालेको कुकिज पनि ग्राहकले अत्यन्तै मन पराइरहेको प्रधान बताउँछिन् । उनका उत्पादन कम चिनीयुक्त छन् । चिनीको साटो सख्खर प्रयोग गरिएको एनर्जीबार खरायो बेक्सको धेरैले मन पराउने उत्पादन हो । सुरुवाती दिनमा अनलाइनमार्फत निःशुल्क होम डेलिभरीको सुविधासहित बिक्री–वितरण भइरहेका खरायो बेक्सका परिकारहरू मख्खनस्थित आउटलेटबाट खरिद गर्न सकिन्छ । उनी भन्छिन्–‘अनलाइन व्यवसाय यथावत् छँदैछ । खरायो बेक्सको छुट्टै पसल चाहियो भन्ने ग्राहकको सुझावलाई मध्यनजर गर्दै हामीले आउटलेट पनि सञ्चालनमा लिएर आएका हौं । जसका कारण ग्राहकहरूले यहीँ आएर आफ्नै छनोटमा सामान खरिद गर्न सक्नेछन् ।’

एउटा परिवारको पहलमा, सानो भान्साबाट सुरु भएको खरायो बेक्सले अहिले डेढ दर्जनभन्दा बढीलाई रोजगारी दिइरहेको छ । साथै नेपाली उत्पादनलाई बढावा दिइरहेको छ । विदेशमा बस्ने नेपालीहरूले आफ्ना अभिभावक वा आफन्तको बर्थडे, एनिभर्सरी, विवाह, पास्नी आदि सेरेमोनीमा उतैबाट अनलाइन अर्डर गरेर यहाँ होम डेलिभरीको आग्रह गर्छन् । यसले खरायो बेक्सलाई विदेशसम्म परिचित हुन मद्दत पुगेको छ । प्रियंकाका अनुसार आमा–बुवाको मुख हेर्ने दिन, भ्यालेन्टाइन डे, भाइटीका, नयाँ वर्ष उनको उत्पादनको पिक सिजन हो । यतिबेला निकै चटारो हुने उनले बताइन् । १ सय २० रुपैंयादेखि २४ सय रुपैंयाँसम्मका उत्पादन खरायो बेक्समा छन् । आकर्षक प्याकेजिङका कारण अझै लोकप्रिय बन्दै गएको यो ब्रान्डका प्याकेजिङमा तलेजु, गाःबाहाल, स्वयम्भू, वसन्तपुर एवं भक्तपुर दरबार स्क्वायरका मनमोहक चित्र कलात्मक ढंगले प्रस्तुत गरिएको छ । हिजोभन्दा आज यो ब्रान्डले गति लिन सफल भएको छ ।


‘म आफैं भान्सामा बसेर बेक गर्ने हुँदा कुन उत्पादनमा कुन सामग्री कति मात्रामा हाल्ने भन्ने कुरामा सतर्क हुन्छु । मुख्यतः म उपभोक्ताको स्वादलाई भन्दा पनि स्वास्थ्यलाई ध्यान दिन्छु । स्वस्थ खाद्यान्नमा स्वाद भर्न सक्नु एउटा असल बेकरको क्षमता र बुद्धिमत्ता हो । यी कुरामा सदा सजग र सचेत छु ।’ आफ्ना खाद्यान्न स्वाद र स्वास्थ्य दुवैका हिसाबले सन्तुलित र गुणस्तरीय भएको बताउँदै प्रियंकाले भनिन्–‘गुणस्तरमा कुनै सम्झौता नगर्ने हाम्रो मूल मन्त्र नै छ । हामीलाई प्रतिस्पर्धात्मक बजारमा आज आएर भोलि हराउनु छैन । दीर्घकालीन रूपमा अगाडि बढ्ने हाम्रो मुख्य उद्देश्य हो । अर्को कुरा धेरै नेपालीलाई नेपालमै रोजगार सिर्जना गर्ने लक्ष्य पनि हो । नेपाली उत्पादनलाई स्थापित गराउन हामी लागिपरेका छौं । यहाँको बजारको ठूलो हिस्सा विदेशी उत्पादनले ओगटेको छ । आगामी योजना भनेको आफ्नै उत्पादनलाई गुणस्तरीय बनाउनु हो । यसलाई सामाजिक सञ्जालले पनि सघाइरहेको छ । सोसल मिडियाकै प्रभावका कारण यस्ता उत्पादनको बजार बढिरहेको छ ।’

 Image