Successfully Copied

डेस्टिनेसन वेडिङको ट्रेन्ड

विवाहको स्वरूप समयसँगै बदलिएको छ । विगतमा जस्तो एकै दिनमा विवाह सम्पन्न हुँदैन । अहिले विवाहमा मेहेन्दी लगाउनेदेखि प्रि–वेडिङ र पोस्ट वेडिङ फोटोसुटसम्म गरिन्छ । त्यसमा अझै डेस्टिनेसन वेडिङ पनि थपिएको छ ।



विवाहको स्वरूप समयसँगै बदलिएको छ । विगतमा जस्तो एकै दिनमा विवाह सम्पन्न हुँदैन । अहिले विवाहमा मेहेन्दी लगाउनेदेखि प्रि–वेडिङ र पोस्ट वेडिङ फोटोसुटसम्म गरिन्छ । त्यसमा अझै डेस्टिनेसन वेडिङ पनि थपिएको छ । दुलहा–दुलहीले विवाह आफूलाई मनपर्ने ठाउँमा गर्न चाहन्छन् । आफ्नै घरमा गर्नुपर्ने बाध्यता छैन । यसले विवाहलाई भव्य उत्सव नै बनाइदिएको छ ।


चन्द्रागिरि हिल्सका सेल्स म्यानेजर सुशान्त थापाका अनुसार डेस्टिनेसन वेडिङ गर्ने क्रम हरेक वर्ष बढ्दो छ । उनी भन्छन्, ‘यहाँ वार्षिक ८–१० वटा विवाह हुन्छन् ।’ यहाँ विवाह गर्नेले पहिले बुकिङ गर्नुपर्छ । तीन जना बस्न मिल्ने एउटा कोठाको एक रातको १८ हजार रुपैंयाँ पर्छ । यसमा केबुलकार, बेड र ब्रेकफास्टको सुविधा पाइने उनी बताउँछन् ।
‘नेपालीहरू विदेश गएर विवाह गर्ने ट्रेन्ड एकदमै कम छ ।’ ‘लग्जरी होलिडे नेपाल’ का प्रबन्धक निर्देशक शिशिर वञ्जाडे भन्छन्, ‘बरु विदेशीहरू नेपालमा आएर विवाह गर्ने चलन बढी छ ।’ हेलिकप्टरमा एभरेस्ट बेस क्याम्प गएर विवाह गर्ने पनि धेरै छन् । कतिपयले पशुपति मन्दिर, लेकसाइड, फरेस्ट रिसोर्टमा विवाह गर्छन् । उनीहरूले नेपालमा हिन्दू संस्कारअनुसार नै विवाह गर्ने उनी बताउँछन् ।


डेस्टिनेसन वेडिङ नै किन ?
पछिल्लो समय घरबाट टाढा गएर विवाह गर्ने ट्रेन्ड सुरु भइसकेको छ । देश–विदेशका रमणीय टाउँमा गएर विवाह गरी यो पललाई अविस्मरणीय बनाउन डेस्टिनेसन वेडिङ गरिने थापा बताउँछन् । उनी भन्छन्, ‘अहिले सबै आफ्नो विवाह अलग र युनिक तरिकाले गर्न चाहन्छन् ।’ विवाह एक उत्सव मात्र नभई भ्याकेसनजस्तो पनि होस् भन्ने चाहन्छन् । त्यसैले पनि डेस्टिनेसन वेडिङमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
वञ्जाडेका अनुसार अहिले प्रि–वेडिङ र पोस्ट वेडिङ फोटोसुटको ट्रेन्ड छ । रमणीय स्थानमा जोडीले फोटोसुट गर्नलाई पनि डेस्टिनेसन वेडिङ गराउँछन् । त्यसका साथै लिमिटेड गेस्ट लिस्ट हुने भएकाले गुणस्तरीय खाना सर्भ गर्न सकिन्छ । जीवनमा एकपटक गरिने विवाहलाई हरेक दम्पतीले स्मरणयोग्य बनाउन चाहने भएकाले डेस्टिनेसन वेडिङको चलन बढ्दो छ ।

तनावमुक्त विवाह
विवाह समारोहको स्वरूप बदलिएसँगै आफैं जिम्मेवारी लिएर विवाह गर्नुपर्ने झन्झट पनि फेरिएको छ । विवाहको सम्पूर्ण व्यवस्थापन गर्ने विभिन्न कम्पनी खुलेका छन् । वेलकम वेडिङ इभेन्टकी प्रबन्ध निर्देशक नीता पौडेल भन्छिन्,‘विवाहको सम्पूर्ण जिम्मेवारी हामीले लिन्छौं । यसअन्तर्गत इंगेजमेन्ट, मेहेन्दी, संगीत पार्टीदेखि कार्ड छाप्ने, बाँड््ने, किनमेल गरिदिने, सजावटको काम, गाडीको व्यवस्था, खानपान, अतिथि सत्कारदेखि लत्ताकपडा, गरगहनाको जोरजाम सबै पर्छन् । ग्राहकको इच्छा र आवश्यकतानुसार मेकअप, पहिरन, बाजादेखि हनिमुन प्याकेजसम्मको व्यवस्था हुन्छ । पछिल्लो समय डेस्टिनेसन वेडिङ, प्रि– फोटोसुट, पोस्ट फोटोसुटको ट्रेन्ड पनि चलेको छ ।’
नीताका अनुसार आफैंले विवाह गर्दा विभिन्न सरसामग्री जुटाउन सकिँदैन । धेरैलाई आफ्नो बजेटअनुसार विवाहको व्यवस्थापन गर्न पनि कठिन हुन्छ ।आफूले जिम्मेवारी लिएर विवाह गराउनुपरेमा धेरै तनाव हुन्छ । आफन्त र साथीभाइ लगेर विवाहको तयारी गर्दा पनि केही न केही अपुग हुन्छ । विभिन्न समस्या आइलाग्छन् । विवाह गराउने इभेन्ट कम्पनीहरूबाट विवाह गराउँदा कुनै समस्या हुँदैन । विवाहको सम्पूर्ण बोझ अरुले नै बोकिदिने भएकाले परिवारका सदस्यहरू तनावमुक्त भएर विवाहमा रमाइलो गर्न सक्छन् । यस्ता कम्पनीहरूले बजेटअनुरुप विवाह गरिदिन्छन् ।


विवाहको बदलिँदो ट्रेन्ड
समयसँगै विवाह गर्ने शैली पनि बदलिएको छ । विवाहमा दुलही बोक्ने डोली, दुलहा सवारीका लागि बग्गी, बाजागाजा बजाउने पुरानो परम्परा अहिले चलेको छ । कुनै बेला दुलहीलाई डोलीमा चढाइन्थ्यो भने समयसँगै यो प्रचलन हराउँदै गएको थियो । डोली छोटो दूरीका लागि मात्र प्रयोग गरिन्छ । त्यसैगरी ब्याचलर्स पार्टी, मेहेन्दी समारोह, संगीत, रिसेप्सन सबै भव्यताका साथ मनाइन्छ ।
विवाहका लागि सबैभन्दा महत्वपूर्ण मण्डप सजावटको शैली फेरिएको छ । पछिल्लो समय मण्डपलाई आकर्षक ढंगले कपडा र फूलले सजाउन थालिएको छ । सजावट कुनै एक थिममा रहेर गरिन्छ । मण्डप सजाउँदा रंगको संयोजन भने मिलाउनुपर्छ । मेहेन्दीका लागि अलग्गै मण्डप सजाइन्छ । पहेंलो रंगले सजाइने मण्डप विशेष देखिन्छ ।
त्यसैगरी विवाहको यो विशेष अवसरलाई जीवनभर ताजा राख्न क्यामेरामा कैद गरिन्छ । पछिल्लो समय विवाहका हरेक समारोहलाई फोटो र भिडियो बनाएर सुरक्षित राखिन्छ । फोटो र भिडियो खिच्ने तौरतरिकामा पनि नयाँपन देख्न सकिन्छ । फोटोग्राफी वा भिडियोग्राफीका लागि पनि छुट्टै समय निकालिन्छ । मानिसहरू प्रि–वेडिङ, पोस्ट वेडिङ, फोटोग्राफी–भिडियोग्राफीका लागि सुन्दर ठाउँमा जान्छन् । ‘कतिपयले त वेस क्याम्पमा गएर वेडिङ फोटोसुट गराउँछन् ।’ नीता भन्छिन्, ‘हेलिकप्टरमा दुलहा, दुलही र फोटोग्राफर गएर फोटोसुट गरी फर्किन्छन् । गोसाईंकुण्ड, अन्नपूर्ण, लाङटाङमा फोटोसुट गराउनेहरू धेरै छन् ।’


पहिले सवारी साधन उपलब्ध नहुँदा दुलहा–दुलहीलाई डोलीमा बोकिन्थ्यो । पछिल्लो समय डोली विवाहकै एक हिस्सा बनेको छ । पहिले दुलहा घोडामा चढेर दुलही लिन जान्थे । तर पछि कार, हेलिकप्टरको समेत प्रयोग हुन थाल्यो । पछिल्लो समय सहरी क्षेत्रमा बग्गीको प्रचलन बढेको छ । केही समयका लागि भएपनि दुलहा–दुलहीलाई बग्गीमा सवारी गराइन्छ । राजपरिवार एवं संभ्रान्त परिवारले मात्र प्रयोग गर्ने बग्गीमा अहिले दुलहा चढ्न थालेका छन् ।
खर्च कति ?
वेडिङ प्लानर नीताका अनुसार तीन दिनको १० लाखदेखि पाँच करोड रुपैंयाँसम्म पर्छ । यसमा ग्राहकको बजेट, इच्छा र आवश्यकतानुसार पैसा थपघट हुन सक्ने उनी बताउँछिन् ।

तस्बिर–वेलकम वेडिङ  इभेन्ट

 Image