ललितपुर जिल्ला अदालत परिसर । बाहिर मानिसहरू आ–आफ्नै तनावमा छन् । भित्र मुद्दाको नियमित प्रक्रिया चलिरहेको छ । अधिवक्ता माला मैनाली भीड छिचोल्दै अदालतमा कालो कोट, सेतो सर्ट र कालो झोला बोकेर बहस गर्न पुगेकी छन् । त्यो दिन उनको पहिलो बहस । हातमा फाइल, मुटुमा डर र बहस पूरा गर्ने सपना । अधिवक्ता युवक गौतमले उनलाई भनेका थिए, ‘तिमीले आज बहस गर्नुपर्छ ।’ मालाको मनमा भने छुट्टै उत्सुकता र डर थियो । कसरी बोल्ने होला ? न्यायाधीशको अगाडि उभिन सकिएला ? भन्ने डरले मन भरिएको थियो । तर जब उनको मुद्धाको पालो आयो , उनले साहस जुटाइन् । अदालतको बारमा उभिँदै आत्मविश्वासका साथ आफ्नो परिचय दिइन् र मुद्दाबारे छोटकरीमा तर्क प्रस्तुत गरिन् । मालाको आत्मबल बढ्दै गयो । उनले राम्ररी बहस गरिन् । बहसपछि वकिलले हाँस्दै भने, ‘ओहो, आज तिमीले राम्रो बहस गर्यौ ।’ त्यो सानो क्षण मैनालीका लागि ठूलो खुसी भइदियो । उनले आफूभित्रको आत्मविश्वास एवं साहस बटुलिन् र निरन्तरता दिने अठोट गरिन् । अदालतको बारमा उभिँदा उनी अब डराउँदिनन्, गर्व महसुस गर्छिन् ।
मालाले कानुन पढ्नु, अधिवक्ता बन्नु र वकालतसम्म पुग्नु एउटा संयोग थियो । हुन त उनी व्यवस्थापनकी विद्यार्थी थिइन् । ‘ब्याचलर इन फाइनान्स’ गरेपछि उनी वित्तीय क्षेत्रमा करियर बनाउने योजनामा थिइन् । हरेक मोडले नयाँ दिशा देखाउँछ भनेझैं एकदिन उनको पढाइ कानुन विषयप्रति ढल्कियो । ‘व्यवस्थापन पढाइले अर्थ संसार र करिअर त बनाउला तर न्यायबिनाको समृद्धि कसरी हुन्छ होला भन्ने लाग्यो । त्यसकारण न्याय क्षेत्र रोजेकी हुँ,’ न्याय क्षेत्र प्रवेश गर्नुको पृष्ठभूमि उनले सुनाइन् ।
पीडितहरूको आँसुले न्याय नपाएको देखेर कानुनतिर पाइला बढेको उनी बताउँछिन् । कतिपय महिला कानुनी ज्ञान नहुँदा वा अधिकार नबुझ्दा पीडित भइरहेका थिए, त्यही क्षण उनले महसुस गरिन्–महिलाको वास्तविक सशक्तीकरण शिक्षाबाट मात्र होइन, कानुनी चेतनाबाट सुरु हुन्छ । स्नातकोत्तरको पढाइसँगै उनले कानुनमा स्नातक अध्ययन गरिन् । दुवै विषय एकै साथ अगाडि बढाउँदाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘दुई फरक विषय अध्ययन एकसाथ गर्नु चुनौतीपूर्ण थियो । फाइनान्सले उनलाई विश्लेषण र निर्णयको शक्ति दियो, कानुनले संवेदना र न्यायको भाषा सिकायो ।’
उनका लागि कानुन पढ्ने विषय मात्र थिएन पीडितको पीडा बुझ्ने एउटा मौका पनि थियो । पढ्ने क्रममा उनले बुझिन्– न्याय केवल अदालत र न्यायको कुरा होइन, चेतनाको कुरा हो । अदालतमा आउने मुद्दा कागजका फाइल होइनन्, त्यहाँ धेरैका कथा, व्यथा र पीडा लुकेको उनले देखेकी छन् । फाइलभित्र आँसु, अपमान, अन्याय र कहिलेकाहीँ सानो आशा पनि भेटिन्छ । उनका अनुशार यस पेशामा महिलाहरुको संख्या कम नै छ यही भीडमा छन्, उनी पनि । यो संख्या धेरै कम हो भन्ने उनलाई लागेको छ । उनका अनुसार पेसागत अवसरको कमी र सामाजिक आलोचना नै यो क्षेत्र महिलाका लागि चुनौतीपूर्ण क्षेत्र हो । ‘महिला वकिल भएर अदालतमा समय दिन सजिलो छैन,’ उनी भन्छिन्, ‘घर र पेसाको सन्तुलन राख्नु, पेसागत व्यवहार सहँदै मुस्कान र आत्मबलका साथ अघि बढ्न संघर्ष नै गर्नुपर्छ ।’
मालाले यो परिस्थितिलाई आफैले भोगेकी पनि छन् । धेरै पटक उनलाई ‘नयाँ वकिल’ भनेर दृष्टिकोण बनाउनेहरू पनि थिए । मुद्दा नपाउने र विश्वास नगर्ने अवस्था रहेको उनी बताउँछिन् । ‘यो क्षेत्रमा करिअर बनाउन सुरुवाती दिनमा धेरै संघर्ष हुन्छ, धैर्य भएर लाग्न सके मात्र सफलता पाउन सकिन्छ,’ उनको अनुभव छ ।
उनको दृष्टिमा महिला सशक्तीकरणको मूल आधार शिक्षा र कानुनी चेतना हो । उनले बुझेकी छन्, अधिकार बुझियो भने मात्र आत्मबल र स्वतन्त्रता हासिल गर्न सकिन्छ । त्यसो त उनी कानुनी सचेतना फैलाउने अभियानमा पनि सक्रिय छन् । उनका अनुसार, कानुन बुझ्नेबित्तिकै महिला बोल्न डराउँदैनन् । बोल्न थालेपछि आफ्ना हक अधिकार स्थापित गर्नाले समाज बदलिन थाल्छ ।
उनको सपना छ, नेपालमा प्रत्येक महिलाले आफ्ना अधिकार बुझून्, न्यायालयमा सहज महसुस गरून् र कानुनले सबका लागि समान अवसर दिन सकोस् । ‘म चाहन्छु, कानुनको भाषा सबैका लागि समान होस्, केवल अदालतको होइन सबैको सन्दर्भमा न्याय स्थापित होस् । न्यायमा सहज पहुँच बनोस्,’ उनी भन्छिन् । वित्त र कानुनको संयोजनसँगै माला अहिले सामाजिक चेतनाको जग बसाल्ने यात्रामा छिन् । उनको करिअर आज न्याय र समानताको आवाजमा परिणत भएको छ ।