साहित्यकार नीलम कार्की निहारिका प्रतिष्ठित मदन पुरस्कार प्राप्त लेखक हुन् । उपन्यास ‘योगमाया’ का लागि उनलाई २०७४ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । ऐतिहासिक विषयमा रुचि राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने उनका छ उपन्यास, तीन कथासंग्रह, एउटा लामो कथा र एउटा कविता संग्रह प्रकाशित भइसकेका छन् । अमेरिकामा बसेर पनि साहित्य सिर्जनामा निरन्तर लागिपरेकी उनी लामो खोज–अनुसन्धान गरेर पात्र खोज्न र लेख्न रुचाउँछिन् ।
तपाईंको शैक्षिक यात्रा कस्तो रह्यो ?
आमाले पाल्पाको किसान माविमा पढाउनुहुन्थ्यो । बच्चा हेर्ने कोही नभएकाले दुई महिनादेखि स्कुलकै प्रांगणमा म हुर्केकी थिएँ । ८ कक्षासम्म त्यहाँ पढेपछि जनता मावि तानसेनबाट एसएलसी दिएँ । त्यसपछि नर्सिङ पढ्न नेपालगन्ज गएँ । तीन वर्षपछि शिक्षा क्याम्पस काठमाडौंबाट बिएड गरें । त्रिविबाट एमएड र नेपालीमा एमए गरें । केही समयअघि संस्कृत विश्वविद्यालयबाट योगमायाको वैदिक दर्शनको प्रभावका बारेमा पिएचडी गरेकी छु ।
लेख्ने प्रेरणा कहाँबाट प्राप्त भयो ?
स्कुलमा पढ्दाखेरि कविता उत्कृष्ट भएमा वार्षिक पत्रिका (मुखपत्र) मा छापिन्छ भन्ने लोभ हुन्थ्यो । मेरो पहिलो रचना कक्षा सातमा हुँदा प्रकाशित भयो, त्यसले तेस्रो स्थान हासिल गरेको थियो । नर्सिङ पढ्दा दुई वटा उपन्यास लेखें । अमेरिका जान लाग्दा साहित्यकार ईश्वर बल्लभ दाइले ‘यहाँको आँखाले त्यहाँको कुरा लेख्न सक्दिनौ, त्यहाँ गएपछि त्यहीँकै बारेमा लेख्नू है’ भन्नुभयो । त्यही प्रेरणाले ‘अर्की आइमाई’ कथासंग्रह लेखें । ‘योगमाया’ लेख्नुमा चाहिँ साहित्यकार यज्ञनिधि दाहाल सरको ठूलो प्रभाव र प्रेरणा छ ।
पहिलो उपन्यास प्रकाशित हुँदा कस्तो महसुस भएको थियो ?
नेपालगन्जमा पढ्दा ‘मौन जीवन’ लेखेकी थिएँ । आमाको भनाइअनुसार पाण्डुलिपि हातमा लिएर ‘मेरो यो पुस्तक प्रकाशित गर्ने कोही निस्केको छैन कि क्या हो ?’ भनेकी थिएँ रे । त्यसपछि आमाले सञ्चयकोषको पैसा निकालेर दिनुभयो, त्यसैले प्रकाशन गरें । विजया दिदीले प्रबन्ध मिलाएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कृष्णप्रसाद भट्टराईको हातबाट पहिलो कृति विमोचन भयो ।
विदेशमा बसेर पनि लेखनमा निरन्तरता दिन कसरी सम्भव छ ?
तँ आँट म पुर्याउँछु भन्ने रहेछ । तालिकामा चलेमा सहज हुन्छ । ‘योगमाया’ लेख्दा बच्चाको बिदा थिएन, वर्षायाममा अनुसन्धान गर्न भोजपुर जानुपर्ने थियो । सबै व्यवस्थापन गर्दै लेख्न सफल भएँ । घरपरिवारलाई व्यवस्थापन गरेपछि बचेको समयमा लेख्दै आएकी छु । पिएचडी गर्ने बेलामा बाहेक औसत दुई वर्षको ग्यापमा एउटा पुस्तक निस्केको छ ।
टेलिभिजनमा पनि स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउनुभयो होइन ?
केही वर्ष नेपालगन्जमा अनमीलाई पढाएँ । काठमाडौं आएपछि पनि बिएडका विद्यार्थीलाई नेपाली र हेल्थ एजुकेसन पढाएँ । रेडियो नेपालमा ‘साहित्य संसार’, नेपाल टेभिजिनमा ‘टेली हेल्थ’ कार्यक्रम चलाएँ । समाचारबाहेक यो पहिलो लाइभ कार्यक्रम हो जस्तो लाग्छ । त्यसमा फोन गरेर स्वास्थ्यसम्बन्धी समस्या र जिज्ञासा राख्ने सुविधा पनि थियो ।
लेखनमा कस्ता विषयवस्तु, घटना वा परिस्थितिले प्रेरित गर्छ ?
समाजमा भएकै विषयवस्तु र वरपरका घटनाले गाइड गर्छन् । यो विषय उठान गर्नुपर्छ भन्ने महसुस भएपछि लेखिन्छ । कसैले यो लेख भनेर दिए पनि त्यसले छुँदैन । लेख्नका लागि मुड पनि हुनुपर्छ । मेरा २०/३० कविता लेखेर छाडेको यत्तिकै छन् । फस्र्ट, सेकेन्ड ड्राफ्ट लेख्दा त्यति धेरै डिस्टर्ब हुँदैन तर फाइनल गर्ने बेलामा छिसिक्क पनि हुनुहुँदैन ।
लेखक भएर बाँच्न कत्तिको सहज छ ?
नेपालमै भएको भए सहज हँुदैनथ्यो कि ? नेपालमा हुँदा पनि कलेज पढाउँथें, रेडियो नेपालमा जागिर खान्थें । मेरा कुनै पुस्तक तीन हजारप्रति प्रकाशित भएका छन् भने ‘योगमाया’ ३०–३५ हजार कपी बिक्री भइसक्यो । हामीले लेखेको साहित्य शिलालेख जस्तो नहोस् भन्ने लाग्छ । पाठकको रुचिअनुसारको पुस्तक लेखिएमा पढ्छन् । खानेकुरा जस्तै हो, पुस्तक लेखनका विषयवस्तु पनि । नेपाली भाषामा लेखिएका साहित्य अबका पाठकले कत्तिको छिचोल्न सक्छन्, सोचनीय पक्ष हो । त्यसैले मेरा कृति विस्तारै अंग्रेजीमा अनुवाद गर्ने विचारमा छु ।
पुरुषको तुलनामा महिला लेखक कम भएका हुन् ?
हामी महिलाले लेखेका छौं, त्यही ठूलो लाग्छ । महिलाको साक्षरता दर बढेसँगै महिला लेखक पनि बढेका छन् । पहिले साक्षरता नहुँदा महिलाले वनमा, स्वरमा र ढिकीजाँतोमा लेख्नुभयो । किनभने उहाँहरूले अक्षर चिन्नुभएन । अहिले महिलाले जति लेखेका छन्, त्यसलाई एकदम सम्मान गर्नुपर्छ । महिलाले सम्पूर्ण भूमिका निभाएपछि बचेको कम समयमा लेख्ने हो । महिला जति पनि साहित्यमा आएका छन्, त्यही नै ठूलो कुरा हो । जबसम्म चुल्होचौको बराबर हुँदैन, कामको विभाजनमा महिला र पुरुष बराबरी नभएसम्म साहित्य सिर्जनामा बराबरी हुनै सक्दैन ।
साहित्यमा बढीभन्दा बढी महिला आउन के गर्नुपर्ला ?
कामको बाँडफाँट हुनुपर्यो । महिलाको संख्यामा कम भए पनि गुणस्तरमा कम छैन । कविता, आख्यानमा हस्तक्षेपकारी तरिकाले आएका छन् । महिला आउनु जरुरी छ, यसका लागि परिवारले साथ दिनुपर्छ । महिलालाई थाक्न छुट छैन । महिला गहु्रंगो भारीका साथ अगाडि बढेका छन् ।
कथा, कविता र उपन्यास लेख्न कुन सहज ?
उपन्यास लेख्न लामो समय र रिसर्च गर्नुपर्छ । समय र श्रमको हिसाबले । कथा र कविता कम समयमा पूरा गर्न सकिन्छ ।
उत्कृष्ट कृति बनाउन के गर्ने ?
अध्ययन, अनुसन्धान हुनु जरुरी छ । जति धेरै पठन भयो उति कृति राम्रो हुन्छ । साना–साना कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ । आफूले उठान गरेको विषयको गहिराइसम्म बुझ्न जरुरी छ ।
बाल्यकालमा पढेको बिर्सन नसक्ने कुनै पुस्तक ?
मुनामदन । अहिले पनि अडियोमा सुन्छु । तीन घुम्ती, सुम्निमा प्रिय पुस्तक हुन् ।
मनपर्ने महिला र पुरुष लेखक ?
उपन्यासमा पारिजात र बीपी । कविता लेखनमा भूपि शेरचन ।
कुनै संस्थागत पुरस्कार दिँदा पुरुषलाई प्राथमिकता दिइन्छ भन्ने गुनासो पनि सुनिन्छ नि ?
त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन । पद्म श्री, मदन वा अन्य पुरस्कार त्यो वर्षभरि लेखिएका पुस्तकलाई दिने गरिन्छ । २०३५ सालमा लेखिएको वानिरा गिरीको ‘कारागार’ उपन्यसाले किन मदन पुरस्कार पाएन भन्ने सधैं लाग्छ । त्यो वर्ष महिलाका पुस्तकभन्दा पुरुषले लेखेका पुस्तक राम्रा भए कि ?
प्रकाशित हुन लागेको तपाईंको उपन्यास ‘राजमाता’ को विषय के हो ?
पहिले राजधानी भक्तपुर थियो । यक्ष मल्लका छोराको पालामा मात्र टुक्रिएको थियो । राजा र उपराज द्वैध शासन थियो, त्यसबेलाका श्री ५ र श्री ३ । ४० वर्षसम्म महिलाले नेतृत्व गरेको इतिहास छ शिलालेखमा । महिला पात्र अर्थात् आमाहरूले शासन गरेको विषय किन बाहिर नल्याउने भन्ने भएर यो उपन्यास लेखेकी हुँ । इतिहासविद्ले यसबारे दुईचार लाइन समावेश गरेका छन् । यसलाई आख्यानका रूपमा म बाहिर ल्याउँदै छु ।
यसमा १३/१४औं शताब्दीका कुरा छन् । पुरुषले नगरेको कामलाई श्रेय दिने तर महिलाले गरेको कामलाई किन श्रेय नदिने ? लिच्छवी, मल्ल र शाहकालीन समयका महिलाको योगदानबारे मैले आख्यानमार्फत उजागर गरेकी छु ।
तस्बिरहरु: महेश प्रधान