Successfully Copied

‘महिला सशक्तीकरणका लागि अवसर महत्वपूर्ण’

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता, सूचना अधिकारी, संचार रणनीतिकार तथा प्रेस सहचारी अन्ना रिची–एलेन एक प्रखर र प्रभावशाली महिलामध्येमा पर्छिन् ।

नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्ता, सूचना अधिकारी, संचार रणनीतिकार तथा प्रेस सहचारी अन्ना रिची–एलेन एक प्रखर र प्रभावशाली महिलामध्येमा पर्छिन् । महिलाका विविध विषयमा बोल्न रुचाउने उनी विभिन्न नेपाली मञ्चहरूमा नारी अधिकार, न्याय, नीति र प्रणाली विषयमा आफ्ना धारणाहरू राखिरहेकी हुन्छिन् । उनी अमेरिकाको वासिङ्टन डीसीमा होस् वा विश्वको कुनै पनि भूभागमा रहँदा होस्–नवीनता, संसाधनयुक्त र अग्रगामी सोचका साथ सार्वजनिक कूटनीतिमा सक्रिय रहने गरेको बताउँछिन् । अमेरिकी विदेश नीतिका लक्ष्यहरू पछ्याउन चुनौतीपूर्ण वातावरणमा पनि सकारात्मक परिणामहरू प्राप्त गर्दै आफ्नो सक्षम नेतृत्व प्रमाणित गर्न उनी कुनै कसर बाँकी राख्दिनन् । 

सन् २०११ मा विदेश सेवामा सात महिना अधिकृतका रूपमा काम गरेकी अन्ना दुई वर्षजति ‘भ्वाइस कन्सुल’ भई सेवा गरिन् । सन् २०१३ मा फिलिपिन्समा सहायक सूचना अधिकारी र सन् २०१५ मा वासिङ्टन डीसीस्थित बाल्टिमोर क्षेत्रमा पूर्व एसिया र प्रशान्तब्युरोमा सूचनाअधिकारी भई सेवा गरेको उनको अनुभव छ । 

त्यसैगरी, सन् २०१७ मा अमेरिकाको कोलम्बियास्थित चीन र मंगोलिया मामिला कार्यालयमा डेक्स अधिकारी तथा वासिङ्टन डीसी–बाल्टिमोर क्षेत्रस्थित विदेश सेवा संस्थान (विद्यार्थी) मा विदेश सेवा अधिकारीका रूपमा आफ्नो अनुभव बटुलिन् । त्यहाँ उनको कार्यकाल सन् २०१७ सेप्टेम्बरबाट एक वर्षजति रह्यो । उक्त संस्थानमा उनले महत्वपूर्ण विदेशी भाषा सीप (नेपाली) सिक्दै सार्वजनिक कूटनीति प्रशिक्षणलाई समेत अगाडि बढाइन् । 

सन् २०२० सेप्टेम्बरयता उनी काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत छिन् । उनी जोखिमपूर्ण अवस्थामा पनि गलत सूचनाविरुद्ध लड्न सक्ने विशेषज्ञता राख्छिन् । अन्नाले पाँचसय मिलियन अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानबारे नेपालमा गरिएको गलत सूचनाहरूको खण्डन मात्रै गरिनन्, नेपालको संसद्बाट त्यसलाई अनुमोदन गराउन भुमिका खेलिन । अन्नासँग महिलाको अवस्था, विश्वका महिला र तिनले अधिकार प्राप्तिका लागि गरेका संघर्षका साथै अमेरिकामा रहेका नेपाली महिलाको स्थितिबारे गरिएको कुराकानी :

लै·िक समानता र मानव अधिकारको सन्दर्भमा नेपाली महिलाको अवस्था कस्तो र कहाँनिर पाउनुभयो ?

नेपालमा मात्र नभई संसारभरि महिला र बालबालिकाको जीवनमा सुधार ल्याउन धेरै काम गर्न बाँकी छ । हरेक देशमा परिवार, विद्यालय वा कार्यस्थलमा महिलाको भूमिका सम्बन्धमा गलत कानुन र विचारहरूले उनीहरूलाई सिंगो समुदायमा पूर्ण सहभागिताबाट वञ्चित गर्दै सीमान्तकृत र बहिष्कृत गर्ने गरेको छ । नेपालमा यौन हिंसा र मानव बेचबिखन अन्त्य गर्न, एसिड आक्रमण, छाउपडी र बालविवाह अन्त्य गर्न अमेरिकी सरकारको गहिरो चासो रहँदै आएको छ । मानव अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने यी मुद्दा सम्बोधन र थप सहयोग गर्न नेपाल सरकार र नागरिक समाजसँग साझेदारी गर्नका लागि हामी सक्षम भूमिकामा छौं । सामाजिक परिवर्तनका लागि दीर्घकालीन ठोस प्रयास आवश्यक छ । यो तथ्य र आवश्यकता स्वीकार गर्दै यसका लागि हाम्रो पहल र सहयोग जारी छ । नेपालमा महिलाका पक्षमा बनेका थुप्रै कानुन प्रशंसनीय छन् । ती कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ । त्यसको सही कार्यान्वयन भए नेपाल अन्य देशका लागि उदाहरण बन्न सक्छ । 

अमेरिकामा नेपाली महिलाको स्थिति कस्तो पाउनुभएको छ, यसलाई थप सुदृढ गर्न त्यहाँको सरकारले कस्तो पहल गरिरहेको छ ?

अमेरिकामा जातजाति, धर्म–संस्कृति, वर्ण र लिङ्गका आधारमा कसैलाई भेदभाव गरिन्न । यहाँबाट जति पनि नेपाली महिला अमेरिका पुगेका छन्, उनीहरूको सुरक्षा, रोजगार र कामअनुसारको समान ज्यालामा हाम्रो सरकारले कुनै कसर बाँकी राखेको छैन । त्यसैले त्यहाँ नेपाली महिलासँग कुनै विभेद छैन । कामको सम्मान गर्ने परिश्रमीले अमेरिकामा नाम, दाम, इज्जत–प्रतिष्ठा प्राप्त गरिरहेकै छन् । कहीँकतै भनेको सुनिन्छ, अमेरिका जाने नेपालीले भाँडा माझ्छन् तर त्यसो होइन । हरेक अमेरिकीले पनि आफूले खाएको भाँडा आफैं माझ्छन् । उनीहरूले यो कामलाई आफ्नो जिम्मेवारी ठान्छन् । त्यहाँस्थित नेपाली दूतावाससँगको समन्वयमा महिलाका लागि विभिन्न काम भइरहेका छन् । 

निर्णय लिने स्थानमा महिलाको संख्या किन कम भएजस्तो लाग्छ ?

अल्पविकसित मुलुकदेखि धनी राष्ट्रसम्म अधिकांशमा यो समस्या छ । महिलाहरू परिवार र सामाजिक अपेक्षाहरूबाट असमान रूपमा प्रभावित छन् । उनीहरूले तलब नपाइने घरायसी कामहरू जस्तै–वृद्धवृद्धा वा बच्चाहरूको हेरचाह गर्ने, सरसफाइ गर्ने, खाना पकाउने आदिमा जिम्मेवारी लिन्छन् । यसले उनीहरूका पुरुष सहकर्मीहरूले प्राप्त गर्ने अवसरहरूमा सहभागी हुन थप कठिन बनाउँछ । ‘स्टेरियोटाइपिङ’ र पूर्वाग्रहले प्रायः महिलाहरूलाई पदोन्नति हुनबाट रोक्छ । महिलाहरूमा नेतृत्व गुणहरूको अभाव रहेको भन्ने धेरैमा गलत मानसिकता र दृष्टिकोण रहेको पाइन्छ । यो दृष्टिकोण पुरुष मानसिकताबाट विकसित भएको हुनुपर्छ । एउटा तीतो सत्य–‘दृढ वा कमान्डिङ’ गुण पुरुषहरूमा भए सकारात्मक नेतृत्व मानिन्छ तर महिलाहरूको हकमा यसलाई नकारात्मक लिइन्छ । 

महिला निर्णायक तहमा पुगिसकेपछि उनीहरूका लागि के–कस्ता चुनौतीहरू छन् ? तिनको समाधान के हुनसक्छ ?

कुनै पनि व्यक्ति जो अल्पसंख्यक छन् अथवा फरक रंग वा फरक जात–जाति, धर्म–संस्कृति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका किन नहोऊन्, उनीहरू आफ्नो करिअरमा जतिसुकै अगाडि बढे पनि, अझैसम्म तिनले पूर्वाग्रह, अनुचित उपेक्षा, भेदभाव र नजानिँदो तरिकाले विविध समस्याको सामना गर्नुपरेको छ । यो ठूलो चुनौती हो । धेरै मुलुकमा कानुनी भेदभावविरुद्ध पर्याप्त सुरक्षा दिएको देखिँदैन । पूर्वाग्रह गम्भीर वा स्पष्ट नभए पनि, महिला र अल्पसंख्यकहरूले अझै पनि अरूको अचेतन पूर्वाग्रहको सामना गरिरहेकै छन् । राम्रो अर्थ राख्ने सहकर्मी/साथीले उनीहरूमा पूर्वाग्रहहरू छन् भन्ने महसुस नगराउन सक्छन्, तर हामी सबैलाई प्रणालीगत भेदभावको इतिहास भएको संसारमा सामाजीकरण गर्ने बानी परिसकेको छ । 

निर्णायक तहमा महिलाको संख्या बढाउन के आवश्यक छ जस्तो लाग्छ ?

सबैभन्दा पहिले त असमानता हटाउन जरुरी छ । असमानताविरुद्ध लड्न सबैको सक्रिय प्रतिबद्धता आवश्यक छ । हामीले लैङ्गिक अवरोधहरू र अल्पसंख्यक तथा बहिष्कृत समुदायका महिलाले सामना गर्ने भेदभावका बहुविधि, बहुआयाम र प्रतिच्छेदनका प्रकारहरू तथा चेतनशील र अचेतन पूर्वाग्रहबारे सचेत हुन आवश्यक छ । यी तत्वहरू नै महिलाहरूको संख्या बढाउने कुञ्जी हुन् । 

विश्वभर महिला सशक्तीकरण कसरी र कुन गतिमा अघि बढिरहेको छ ?

मानव अधिकार र महिला सशक्तीकरण सन्दर्भमा हामी ५० वर्षअघिको भन्दा धेरै राम्रो अवस्थामा छौं । अधिकांश मुलुकमा महिलाहरूले शिक्षा प्राप्त गर्न सकेका छन्, करिअर बनाउन सफल छन् रआफ्नो स्वास्थ्य तथा विवाहका बारे निर्णय गर्ने अधिकार प्रयोग गर्न सक्षम भएका छन् । तर, यतिले मात्रै पुग्दैन । यसलाई त पूर्ण समानताको लामो बाटोको कथाको सुरुवात मात्रै मानिनुपर्छ, चाहे त्यो महिलाको होस् वा फरक रंगका मानिसको होस्, विभिन्न जातजाति, वर्ग, धर्म/वर्ण वा यौनिकताको नै किन नहोस् । यो संसारलाई परिवर्तन गर्न मानिसका रूपमा हामीमा कति क्षमता छ भनेर बुझ्नका लागि बलियो आधार तय हुनुपर्छ ।

महिलाका मुद्दाहरू कूटनीतिक सम्बन्धसँग कसरी जोडिन्छन् ?

समानता र मानव अधिकारको सम्मान कुनै पनि लोकतन्त्रको अभिन्न अंग हो । विश्वव्यापी स्थिरता, उत्पादक अर्थतन्त्र तथा समाजका लागि लोकतन्त्र अत्यावश्यक छ । लैंगिक समानता अमेरिकी विदेश नीतिको आधारशिला हो । नेपालसँगको ७५ वर्षको कूटनीतिक सम्बन्धमा महिला र अल्पसंख्यकका अधिकारको प्रवर्द्धनमा नागरिक समाजका संस्था, कार्यकर्ता र नेपाल सरकारसँग साझेदारी गर्न सकेकोमा हामी आफूलाई भाग्यमानी महसुस गर्छौं । अमेरिकी सरकारको विकास नियोग ‘युएसएआइडी’ ले आमा, नवजात शिशु र बाल स्वास्थ्य सेवा सुधार गर्न मद्दत गरेको लामो समय भएको छ । यसले नेपालको महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयलाई मुख्य नीतिगत कागजातहरू विकास गर्न सहयोग पनि उपलब्ध गराएको छ । 

महिला सशक्तीकरणका लागि सबैभन्दा महत्वपूर्ण विषय के हो–शिक्षा, अवसर वा आत्मविश्वास ?

म अवसर नै भन्न रुचाउँछु । समान शिक्षालगायत चौतर्फी समानताको अवसरले महिला वा कुनै पनि अल्पसंख्यक व्यक्ति सुरक्षित र सम्मानित हुन्छन् भन्ने विषयमा विश्वस्त हुने आधार बन्नुपर्छ । अवसर मौलिक अधिकार हो जसका लागि हामीले लड्नुपर्छ, यसको संरक्षण गर्नुपर्छ । यसमा नेपाल, अमेरिका वा विश्वभरिका जुनसुकै राष्ट्र र त्यसका प्रमुख सबैकोसमर्थन छ, हुनुपर्छ । 

तपाईंका रुचिहरू के–कस्ता छन् ?

नेपालका डाँडाकाँडा, हिमाल र प्राकृतिक मनोरम दृश्यले मलाई निकै लोभ्याएका छन् । फुर्सदमा मलाई हिमाल, पहाड घुम्दा धेरै रमाइलो लाग्छ । त्यस्तै, पुस्तक पढ्नु, फरक–फरक प्रकृतिका व्यक्तिहरूसँग अन्तरक्रिया गरी उनीहरूका विचार बुझ्नु, सकेको सेवा गर्नु मेरो रुचिका विषय हुन् ।

 Image