‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेको छ । भाइरस संक्रमणबाट बँच्न नेपाल सरकारले लकडाउन गरेसँगै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ । विद्यालय, कलेज बन्द छन् । एसईईदेखि विश्वविद्यालयस्तरका सबै परीक्षा स्थगित भएका छन् । विद्यार्थी घरभित्रै बस्न बाध्य छन् । यो स्थितिमा विद्यार्थीलाई कसरी सिर्जनशील बनाउन बनाउन सकिन्छ ? भन्नेबारे शिक्षाविद् डा. विद्यानाथ कोइरालासँग प्रकृति दाहालले गरेको संक्षिप्त कुराकानीः
कोराना भाइरसका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भएको छ । यसलाई कसरी हेर्नु भएको छ ?
अहिले शैक्षिक क्षेत्रसँगै विश्व नै अस्तव्यस्त जस्तो देखिन्छ । तर नेपालमा शैक्षिक सत्र परिवर्तनको बेला भएकाले तुलनात्मक रुपमा कम असर परेको भन्न सकिन्छ । तै पनि विद्यार्थी एवम् अभिभावकमा स्वभाविक मनोवैज्ञानिक त्रास बढेको छ । कतिपय परीक्षा स्थगित भएका छन् । परीक्षा स्थगित भएका विद्यार्थीका लागि यो पढ्ने र तयारी गर्ने समय हो । तर उनीहरुले राम्रोसित पढ्न सकिरहेका छैनन् । यसप्रति सरकार र अभिभावक पनि जिम्मेवार देखिदैनन् । घरमै पढ्ने, सिक्ने र परीक्षाको तयारी गर्ने वातावरण बनाउने मामलामा सरकार चुकेको छ ।
यो स्थितिमा विद्यार्थीका लागि सरकार र अभिभावकले के गर्नु पथ्र्यो त ?
अहिले विद्यार्थीलाई चार समूह बनाएर घरमै पढाउन सकिन्थ्यो । पढाउनका लागि शिक्षक अगाडि नै उभिनु पर्छ भन्ने होइन । अहिले प्रविधिको युग हो । प्रविधिको माध्यमबाट विद्यार्थीलाई नियमित पढाउन वा सिकाउन सकिन्थ्यो । रेडियो, टेलिभिजनसँगै ईन्टरनेटको माध्यमबाट पढाईलाई निरन्तरता दिन सकिन्थ्यो । तर त्यो हुन सकेन । त्यस्तै, घरसँग सम्बन्धित व्यवहारिक ज्ञान सिकाउनका लागि पनि यो उपयुक्त समय हो । यसप्रति अभिभावकहरु जिम्मेवार देखिएनन् ।
पढाउन त अफ्ठेरो भयो होला । घरमै सिर्जनशील बनाउने उपाय चाहिँ के हुन सक्छ ?
हो, सिर्जनशील बनाउनका लागि पढाईका विकल्प पनि छन् । उनीहरुलाई भान्छाको काम सिकाउन सकिन्छ । जस्तै, खाना पकाउन, मःम, अचार जस्ता परिकार बनाउन र खानपान कस्तो हुनुपर्छ ? भनेर सिकाउन सकिन्छ । त्यस्तै सरसफाई, गार्डनिङलगायत थुप्रै काम सिकाउन सकिन्छ । जसले विद्यार्थीलाई व्यवहारिक र सिर्जनशील बनाउन सहयोग पुग्दछ ।