२०६३ सालमा शिक्षा सेवाबाट निजामती क्षेत्रमा प्रवेश गरेकी हुन्, दुरपदा सापकोटा । दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलर र मलेसिया तथा अस्ट्रेलियामा रहेको नेपाली दूतावासमा कार्यवाहक राजदूतका रूपमा पनि उनले काम गरिसकेकी छन् । हाल कन्सुलर विभागमा पहिलो महिला महानिर्देशकका रूपमा कार्यरत उनीसँग गरिएको कुराकानीः
तपाईंको शिक्षा र बाल्यकाल कस्तो रह्यो ?
म पाँच सन्तानमध्ये माइली छोरी हुँ । बुवा शिक्षक हुनुहुन्थ्यो, आमाले घर सम्हाल्नुहुन्थ्यो । मैले गाउँकै स्कुलबाट १० कक्षासम्म अध्ययन गरें । बुवा शिक्षक भएकाले शिक्षण पेसा नै अपनाउने कि भनी आइएदेखि मास्टर्ससम्म शिक्षाशास्त्र पढें । एमएड पढ्दापढ्दै अधिवक्ता हुने इच्छाले ल क्याम्पसबाट एलएलबी पनि पूरा गरेकी छु ।
लोकसेवा प्रवेश कसरी गर्नुभयो अनि परराष्ट्रमा कसरी आउनुभयो ?
बुवा शिक्षक भएकाले एजुकेसन नै पढियो । नर्सिङ पढ्ने कि भन्ने पनि थियो । ताहाचल क्याम्पसमा एमएड पढ्दापढ्दै लोकेसवा तयारी कक्षा स्टाफ कलेजमा खुलेको थियो । त्यतिबेला साथीहरू मिलेर मास्टर्स चलिरहेको बेला प्रिटेस्ट दिन गएका थियौ,ं नाम पनि निस्कियो । दुई वर्ष मान्यता दिन्थ्यो । इन्ट्रान्स पास भएपछि लोकसेवा जाने भन्ने भयो । पहिलो पोस्टिङ पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमा भयो । सरकारी जागिरको सुरुवात शिक्षा सेवामा विषय प्रशिक्षक (शाखा अधिकृत) बाट भयो । त्यहाँ चार वर्ष काम गरें । काम गर्दागर्दै त्यहाँका सहकर्मीले पढाइ राम्रो भएकाले परराष्ट्रमा जान सुझाव दिए । २०६७ सालमा आफ्नो क्षेत्रभन्दा बाहिर जान मन लागेमा समान तह (पद) मा जान पाइन्थ्यो । अहिले त्यो प्रावधान लोकसेवाले खारेज गर्यो । यसरी खुल्ला प्रतिस्पर्धाबाट परराष्ट्रमा आएको हो । त्यो समयमा १४ जना महिला एकैपटक परराष्ट्रमा आएका थिए ।
शिक्षा सेवा र परराष्ट्रमा काम गरेको अनुभव कस्तो रह्यो ?
शिक्षा सेवामा हुँदा शिक्षकलाई तालिम दिने स्कुल लेबलका पाठ्यक्रम बनाउने गरिन्थ्यो । त्यतिबेला अंग्रेजी विषय प्रशिक्षक थिए । कतिपय अवस्थामा जिल्ला जानुपर्थ्यो । त्यतिबेला जिल्ला शिक्षा अधिकारी भनिन्थ्यो । संघीयतापछि स्ट्रक्चर परिवर्तन भएको छ । शिक्षा सेवामा परराष्ट्र राम्रै होला भनेर ट्राइ गरेको भयो पनि । परराष्ट्रका बारेमा सुरुमा त्यति धेरै जानकार नभए पनि यहाँ आइसकेपछि सुशील लम्साल (हाल इजिप्टका राजदूत) ले राम्रो सल्लाह दिनुभयो । उहाँ आफू पनि अध्ययनशील र यस्ता पुस्तक पढ्नुपर्छ भनेर जानकारी दिनुहुन्थ्यो ।
एक वर्ष पासपोर्ट विभागमा, अन्तर्राष्ट्रिय अर्गनाइजेसन (युएनइन इन्टरनेसनल डिभिजन) मा काम गरें । त्यहाँ हुँदाहुँदै मलेसिया पोस्टिङ भयो । त्यहाँ तीन वर्ष काम गर्दागर्दै उपसचिवमा बढुवा भयो । फर्केर तीन वर्ष नेपालमा सार्क, बिमस्टेकमा काम गरें । त्यसपछि अस्ट्रेलियामा चार वर्ष काम गरें । आधाजस्तो समय राजदूत आउने जाने क्रम भयो । त्यहाँ कार्यवाहक राजदूतका रूपमा पनि काम गरें । फर्केर नेपाल आएर दुई वर्ष काम गरेपछि दिल्ली गएँ । १० महिनामै बढुवा भयो । सहसचिवको पहिलो असाइनमेन्ट कन्सुलर विभागको महानिर्देशक भएको हो ।
कन्सुलर विभागले कसरी काम गरिरहेको छ ?
कन्सुलर सेवा विभाग पब्लिकलाई सेवा दिने अड्डा हो । विभागले विदेशमा रहेका नेपालीहरूको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीहरूलाई प्रदान गरिने सुविधा तथा उन्मुक्तिलगायतका महत्वपूर्ण काम गर्दै आएको छ । त्यसका साथै नेपाल सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीहरूका लागि सम्बन्धित देशको प्रवेशाज्ञाका लागि सिफारिस गर्ने काम समेत यो विभागले गर्दै आएको छ । काठमाडौंमा भएको कूटनीतिक नियोग एम्बेसी, नियोगका एजेन्सी यहाँ हुने बेलामा पाउने सुविधा (कूटनीतिक उन्मुक्ति तथा सुविधा) होस्टका रूपमा काम गर्छ । गाडीको कुरा, नम्बर प्लेट, कूटनीतिक भिसा अन्य भिसा बसाइ सहज बनाउने कुरामा त्यो सुविधा प्रदान गरेको हुन्छ । यीबाहेक कसैको विदेश जान रिकमन्डेसन गरिदिनुपर्ने । विदेश जाने मान्छे यहाँ ठोक्किन्छन् ।
यहाँ महानिर्देशकका रूपमा काम गर्न थालेको दुई महिना भयो । सेवाग्राहीलाई आधा घन्टामा सेवा दिई स्थानीय स्तरमा सहजीकरण गर्ने काम पनि भइरहेको छ । कन्सुलर सेवालाई जिल्ला र स्थानीय निकायसँग समन्वय गरेका छौं । सेवालाई छिटो–छरितो, बाहिरको सूचना स्थानीय स्तरमै हेर्न पाउने व्यवस्था गरेका छौं । दुई सयभन्दा बढीमा नेटवर्कमा काम भइसकेको छ । सबै समस्याको तत्काल समाधान हुँदैन । जस्तो कोही नेपाली विदेशमा जेल पर्यो, तत्काल निकालिहाल्छु भन्ने होइन, यथार्थवादी हुनुपर्छ । लिगल सही सूचना र परिवारमा सान्त्वना प्राप्त हुन्छ । त्यो कुरामा जोड गरेका छौं । यसमा एम्बेसीको रोल धेरै हुन्छ, कोअर्डिनेट गर्ने काम यहाँबाट गरिन्छ ।
तपाईं त दिल्ली दूतावासमा पोलिटिकल काउन्सिलर, मलेसियामा प्रथम सचिव र अस्ट्रेलियामा कार्यवाहक राजदूत भएर काम गरिसक्नुभयो नि ? अनुभव कस्तो रह्यो ?
मलेसियामा लेबर डेस्टिनेसनमा २०६९ बाट २०७२ सालसम्म काम गरें । त्यतिबेला धेरै नेपाली वैदेशिक रोजगारीमा जान्थे । लेबर अग्रिमेन्ट पनि भएको थिएन । महिलाहरू पनि डोमेस्टिक सेक्टरमा, कम्पनीमै काम गर्ने भनेर जान्थे । कम्पनी भिजिट जाँदा यो परिस्थितिले राम्रो ठाउँमा लैजाँदैन भन्ने महसुस हुन्थ्यो । बेसिक तलब तोकेको थिएन । श्रम सम्झौता पनि भयो । नियम कानुन, नेपालमा भएको इन्स्टिच्युसन पनि बलिया थिएनन् । लेवरको काममा लागेकाले अन्य क्षेत्रमा फोकस गर्न पाइएन मलेसियामा ।
अस्ट्रेलियामा फरक कम्युनिटी भयो । एडभान्स, डेभलपमेन्ट र पार्टनर कन्ट्री भयो । नेपाली ट्रेड पोटेन्सियल, एक्सपोर्ट बढाउन सकिन्छ कि भन्ने भयो । नेपाली विद्यार्थी पनि बढी थिए । त्यसैले नेपाली विद्यार्थीको कलेज बन्द हुने, फि तिर्न नसकेर कलेज छोड्ने, एनजाइटी डिप्रेसन, सुसाइड गर्ने समस्या आउँथे । अस्ट्रेलिया सरकारको नेपालप्रति राम्रो सोच भएकाले काम गर्न सहज भयो । यसैगरी दिल्ली छोटो समय काम गरें । नेपाल भारतको सम्बन्ध सबै क्षेत्रमा संलग्न भएकाले व्यापक छ । १० महिना बस्दा प्रधानमन्त्री, मन्त्रीको भिजिटमा काम गरियो । नेपाल इन्डिया कोअपरेसनमा कस्तो छ, कस्तो सहयोग के च्यालेन्ज छन् आदि कुरा नजिकबाट हेर्न पाएँ ।
परराष्ट्रमा आउने महिलाको संख्या बढिरहेको छ । महिला आकर्षित हुनुका पछाडि जागिर सुरक्षित भएर हो कि अरु नै ?
प्रतिष्ठाको कुरा पनि ठूलो हो । जागिरको सुरक्षा हुन्छ । अन्तर्राष्ट्रिय फोरममा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो । संसार, घुम्न, देख्न पाइने र एक्सपोजर पनि हुन्छ । अहिले परराष्ट्रमा रहेका कर्मचारीमध्ये २५ प्रतिशत जति महिला छन् । पहिले विदेशी पाहुना आउँदा परराष्ट्रमा काम गर्ने महिला देख्दा आश्चर्य मान्थे । महिलाले ‘नोट टेकिङ’ गरेको देख्दा खुसी हुन्थे । विन्देश्वरी शाह, अम्बिका लुइँटेल, मानन्धर, सेवा लम्साल, रीता धिताल राजदूत भइसक्नुभएको छ । जुन सुखद् कुरा हो । अहिले पनि यो क्षेत्रमा वहालवाला ५ जना सहसचिव, उपसचिव र अन्य पोस्टमा पनि छन् ।
परराष्ट्रमा काम गर्दा चार्मसँगै च्यालेन्जिङ पनि छ । करिअर ग्रोथका लागि संघर्ष गर्नुपर्छ । जहाँ पुगे पनि त्यहाँभन्दा माथि पुग्नका लागि थप मेहनत गर्नैपर्छ । पुरुषलाई केही हदसम्म प्रिभिलेज छ । महिलाले गरेका राम्रा कुरा पनि समाजले पत्याउँदैन । महिलाले एक्स्ट्रा एफर्ट, प्रमाणित गर्नुपर्ने हुन्छ । परम्परागत माइन्डसेटको मेजोरिटी अहिले पनि छ ।
कूटनीतिक क्षेत्रमा आउन चाहनेलाई के सुझाव दिनुहुन्छ ?
धेरै महिला यो क्षेत्रमा आऊन् भन्ने लाग्छ । यसका लागि म प्रोत्साहन पनि गर्छु । धेरै जना राजदूत होऊन् भन्ने पनि लाग्छ । जति बढी आयो त्यति समावेशी र नयाँ धारणा आउँछ । एउटा अध्ययनले देखाएको छ–महिला काममा सिन्सियर, वार्ता छलफलमा पनि पूर्ण हुन्छन् । महिलामा धैर्य र प्यासन हुन्छ । धेरै चुनौतीका बाबजुद पनि सबै कुरा मिलाएर अघि बढिरहेका हुन्छन् ।
दक्ष र प्रोफेसनल कसरी हुने ?
शिक्षा आवश्यक छ । सशक्तीकरणको कुरा गर्दा पनि शिक्षा पहिले आउँछ । निश्चित लेवलको शिक्षा भने पूरा गर्नैपर्छ । आफू जान चाहेको क्षेत्रको निरन्तर अध्ययन गर्नैपर्छ । पोस्टमा पुगेर मात्र दक्ष भइँदैन, अध्ययन र नयाँ कुराको खोजी गरिरहनुपर्छ । निरन्तर अध्ययन, डेडिकेसन र कडा मेहनत हुनैपर्छ ।
नेतृत्व तहमा महिला कसरी पुग्ने होला ?
महिलाले अवसर आफैं खोज्नुपर्छ । करिअर पर्सनल र प्रोफेसनल डेभलपमेन्ट पनि हेर्नुपर्यो । आफूलाई पनि दक्ष बनाउँदै लैजानुपर्छ । रोल, अवसर आउँदा विना हिच्किचाहट लिनुपर्छ । अहिलेको रोलले अर्को रोललाई सपोर्ट गर्छ । व्यक्तिगत विकास गरेमा नेतृत्व तहमा पुग्न सहज हुन्छ । नेतृत्वमा पुगेकाले अरुलाई प्रोत्साहन र उत्प्रेरित पनि गर्न सक्नुपर्छ । एक–अर्काको सपोर्ट आवश्यक हुन्छ ।
कामकाजी महिलाका समस्या र चुनौती के हुन् ?
वर्क लाइफ ब्यालेन्स गर्ने कुरा मुख्य चुनौती हो । परिवारलाई मिलाउने र समय व्यवस्थापन गर्न सक्नुपर्छ । कुशलतापूर्वक यी सबै कुरा मिलाउन सकेमा सफल भइन्छ । खुसी भइएन भने काममा राम्रो गर्न सकिँदैन । महिलाले गर्न सक्दैनन् भन्ने जेन्डर स्टेरियोटाइप पनि चिर्नुपर्छ । पुरातन सोचसँग लड्दै नेतृत्वमा पुग्नुपर्ने हुन्छ । मलाई त्यस्तो महसुस नभए पनि कतिपय ठाउँमा मेल इगोका कारण महिलालाई हाकिम मान्न गाह्रै हुन्छ । तर परिवर्तन पनि भइरहेको छ । महिला पनि कामप्रति कटिबद्ध भएर अघि बढेमा अरुले पनि काउन्ट गर्छन् ।
जीवनको लक्ष्य ?
ठूलो लक्ष्य त छैन । अहिले पनि भ्याएको बेला कतिपय क्षेत्रमा बोल्न, पढाउन, तालिम दिन जाने गरेकीले पढाइ–लेखाइ र अनुसन्धानमा रुचि छ । धेरै समय लेवर माइग्रेसनमा काम गरिसकें । एमफील पीएचडी नेपालको परिप्रेक्ष्यमा लेवर माइग्रेसनमा अनुसन्धान गर्ने इच्छा छ ।