धादिङको सामान्य परिवारमा जन्मिएकी सन्तोषी श्रेष्ठ नेपाली एथलेटिक्समा चम्किएको नाम हो । उनले १३ औं दक्षिण एसियाली खेलकुदमा महिलातर्फ १० हजार दौडमा स्वर्ण पदक जितेर नेपाली एथलेटिक्सको इतिहासमा नयाँ रेकर्ड दर्ता गरिसकेकी छिन् । केही समयअघि नेपाल रन युकेकी ब्रान्ड एम्बेसडर बनेकी सन्तोषीसँग बाल्यकाल, शिक्षा, खेलकुदलगायतका विषयमा गरिएको कुराकानी :
तपाईंको बाल्यकाल र शिक्षा कस्तो रह्यो ?
म ३१ वर्षअघि धादिङमा जन्मिएँ । मेरा एक दाइ र भाइ छन् । शिक्षाको सुरुवात धादिङमै बोर्डिङ स्कुलबाट भयो । ८ वर्षको उमेरदेखि दाइसँग बसेर काठमाडौंको बिजेश्वरीस्थित गीतामाता स्कुलमा पढ्न थालें । एसएलसी त्यहीँबाट पूरा गरें । प्लस टु छाउनीस्थित काठमाडौं भ्यालीबाट र मीनभवनस्थित लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्सबाट पब्लिक हेल्थमा ब्याचलर पूरा गरें । त्यो समयमा मास्टर्सका लागि जागिरको अनुभव चाहिने भएकाले ट्रान्सक्राइब गर्ने, डाटा इन्ट्री गर्ने काम सुरु गरें । प्रोजेक्ट अफिसर, रिसर्च अफिसर भएर पनि काम गरेको अनुभव छ । त्रिवि केन्द्रीय विभागबाट पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर्स गरें भने डाइट एन्ड न्युट्रिसनमा पोस्ट ग्रयाजुएट गरेकी छु ।
पब्लिक हेल्थ र एडमिनिस्ट्रेसन पढेको मान्छे एथलेटिक्समा कसरी रुचि भयो ?
१२ वर्षको उमेरमा पहिलो पटक दौडेकोमा प्रथम भएँ । दाइले फाराम भरिदिनुहुन्थ्यो, म कुँदिहाल्थें । कुनैकुनै स्थान हात पार्दा हौसला प्राप्त हुन्थ्यो । पब्लिक हेल्थमा ब्याचलर पढ्दा शारीरिक अभ्यास खै त भन्ने महसुस भयो । त्यसो त दौड ‘एडिक्सन’ जस्तो भएको थियो । स्वास्थ्यका लागि आवश्यक ठानेपछि निरन्तरता दिएँ । तिमीमा प्राकृतिक शक्ति छ भन्थे कतिपयले । रंगशालामा तालिम गर, पढाइ छोड भन्नेहरू पनि थिए । त्यतिबेला कन्फ्युज हुन्थें । दुवै हातमा लड्डु असम्भव हो तर म प्रयास गर्छु भन्थें । सन्तुलन मिलाएरै अघि बढिरहें, अहिले सन्तुष्ट छु । आयुर्वेद वा हेल्थ फिल्डमै लाग्छु भन्ने थियो । तर पब्लिक हेल्थका बारेमा सुनेपछि यसैप्रति मोहित भएँ । अहिले म जे छु, पब्लिक हेल्थकै पढाइका कारण हो । पढाइ, खेलकुद, जागिर एकैपटक अघि बढाउने हिम्मत राखें । यसले गर्दा अहिलेको समय खेलकुदमा लाग्ने हो भन्ने महसुस भएपछि यसलाई प्राथमिकता दिएँ । कुनै समय पिएचडी गर्छु, युएनको टप पोस्टमा पुग्छु भन्ने लाग्थ्यो । सबै सपनालाई ‘होल्ड’ गरेर यो फर्केर नआउने सपनालाई पूरा गर्नुपर्छ भन्ने भयो । र, अहिले खेलकुदमा छु ।
तपाईंलाई ‘गोल्डेन गर्ल’ किन भनिएको ?
१३ औं दक्षिण एसियाली खेलकुदमा जित हासिल गरेको गोल्ड मेडल नेपाली महिला एथलेटिक्समा पहिलो थियो । अर्को १० हजार मिटर दौडमा महिला पुरुष दुवैमा इतिहासमै साउथ एसियन गेमको त्यसमा पहिलो गोल्ड मेडल हात पारें । ट्रयाकको पनि पहिलो गोल्ड मेडल जितें । त्यो भन्दा पहिले तीनवटा इतिहास रचेकी हुनाले साउथ एसियन म्यागेजिनमा ‘द गोल्डेन गर्ल’ टाइटल राखेर कभरमै प्रकाशित भयो । त्यतिबेलादेखि ‘गोल्डेन गर्ल’ ट्याग भएको छ । त्यसपछि देशभित्र रनिङमा कहिले पनि दोस्रो भएकी छैन ।
यहाँसम्म पुग्नका लागि गरेको संघर्ष कस्तो रह्यो ?
स्कुले जीवनदेखि नै घरव्यवहारमा सहयोग गर्दै पढेकी हुँ । स्कुलको कक्षामा ध्यान दिएकै भरमा पनि जहिले टप टेनमा पर्थें । ब्याचलर पढ्दा रनिङ पनि गर्नुपर्छ भनेपछि मंगलबार बिदा हुन्थ्यो, त्यो दिन बिजेश्वरीबाट भीम ढुंगासम्म १–२ घन्टा कुद्थें । त्यहाँ केही न केही चिनो बनाएर छोडेर आउँथें ताकि अर्कोपटक त्यहाँसम्म कुँद्न सकियोस् । मेरा बारेमा थाहा पाएर रघु वन्त गुरुले तालिम गर राम्रो हुन्छ भन्नुहुन्थ्यो । ब्याचलरपछि जागिर र खेलकुदलाई प्राथमिकता दिएँ ।
आठौं राष्ट्रिय गेममा गोल्ड मेडल ल्याएँ । यसले साउथ एसियनमा छनोट गर्यो । १९ औं साउथ एसियनमा पूर्णरूपमा केन्द्रित भएर गेम पनि जितें । मेरो त्यो सोचभन्दा बढी सफलता थियो ।
नेपालमा खेलकुदको अवस्था कस्तो छ ? यसमा लागेर जीवनयापन गर्न सकिन्छ ?
म यसैमा लागेर जीवन बनाउँछु, पैसा कमाउँछु भनेर लागेकी होइन । पैसा नै कमाउने उद्देश्य थियो भने भइराखेको मासिक तलब आउने जागिर छोडेर खेलमा आउँदैनथें । नेपाली खेलकुदको अवस्था पहिलेको भन्दा धेरै सुधारोन्मुख छ । विश्वमा जो धनी छ, त्यही खेलाडी हो र धनी हुन चाहनेले स्पोर्टसको क्षेत्रमा काम गर्दा हुन्छ भनिन्छ । यो व्यापार वा अन्य क्षेत्रभन्दा फरक विधा हो । म पहिले प्रोफेसनलभन्दा पनि प्यासोनेट एथेलेट्स थिएँ । विस्तारै प्रोफेसन बनाएँ । तर पनि मेरो नियमित रूपमा तलब आउँदैन । इभेन्ट, एम्बेसडरमा केही रकम लिने हो ।
पढाइ र खेलकुदलाई सँगै लैजान सकिँदैन भन्ने भाष्य चिर्दै अघि बढिरहें । यो क्षेत्रमा आउँदा खेलकुदमै भविष्य बनाउँछु र राम्रो गर्छु भन्ने सोच राख्नुपर्छ ।
राम्रो खेलाडी हुनका लागि के गुण आवश्यक पर्छ ?
राम्रोको मापदण्ड केलाई मान्ने ? अनुशासित भएर मेहनत गरिरहेको हुन्छ तर पनि सफल हुँदैन । सफल हुने खेलाडीमा पनि उसको मेहनत नपुगेको हुनसक्छ । शारीरिक साथै मानसिक अनुशासन पनि हुनु एकदमै जरुरी छ । सधै सिक्ने भोक हुनुपर्छ, साथै सकारात्मक सोच राख्नुपर्छ ।
एथलेटिक्सको दौरान स्मरणीय घटना कुनै छन् ?
धेरै छन् । सुरुको रेस जितेको क्षण र सबै रेस उत्तिकै प्रिय लाग्छन् । साना–साना रेसका कारण नै यहाँसम्म पुग्न सकें । साउथ एसियन गेमले मलाई यहाँसम्म पुर्यायो । एथलेक्टिस जितेको क्षण सबैभन्दा महत्वपूर्ण क्षण हो । कतिपय अवस्थामा खुट्टामा फोका उठ्दा, फोका फुटेर घाउ हुँदा पनि रेस जितेकी छु । किनभने तालिममा नै इन्जोए द ट्रेनिङ, इन्जोए द रेस, इन्जोए द रिस्क, पेन भनिएको हुन्छ । जे–जस्तो अवस्थामा पनि रेस पूरा गर्नैपर्छ ।
खेलले देशलाई अन्तर्राष्ट्रिय रूपमा परिचित गराएको छ तर पनि किन यो प्राथमिकतामा नपरेको होला ?
विश्वमा स्पोर्टसलाई मान्यता दिइएको छ । अफ्रिकन मुलुकहरू गरिब भए पनि एथलेटिक्सले गर्दा माथि पुगेका छन् । धनी हुने रेट पनि स्पोर्टसले बनाएको छ । युरोप र अमेरिकामा स्पोर्टसलाई महत्व दिएका छन् । नेपालमा कुन क्षेत्रमा उपयुक्त बजेट छ र ? आधारभूत आवश्यकतामै संघर्ष गर्नु परिरहेको छ । अहिले स्पोर्टस चाहिन्छ भनेर ‘सो अप’ को हिसाबमै भए पनि महत्वपूर्ण रहेछ भन्ने भएको छ ।
महिलाका लागि खेलकुद क्षेत्र कत्तिको चुनौती छ ?
महिला पुरुष दुवैका लागि खेलकुद क्षेत्रमा चुनौती छन् । अरु विषय जस्तो यति प्रतिशत आयो भन्ने हुँदैन । यसमा ‘गोल्ड इज गोल्ड, विनर इज विनर’ भन्ने हुन्छ । हो, महिलालाई बायोलोजिकल कारण गाह्रो हुन्छ । महिनावारीको समयमा गेम पर्दा कठिन त भइहाल्छ । मलाई पनि त्यो समस्या परेको छ, र्यासेज आउने गर्छ । तर पनि मानसिक रूपमा बलियो भएर चुनौती स्वीकार गरी अघि बढ्नुपर्छ । मेरो समयमा महिलाले हाफ पाइन्ट लगाएर दौडदा, खेल्दा सामाजिक अवरोध हुन्थ्यो । म पहिले कुर्ता मात्र लगाउँथें । सुरुमा हाफ पाइन्ट लगाउँदा अप्ठ्यारो लागेको थियो । अहिले केही परिवर्तन भएको छ । खेलमा लाग्ने महिलाको पाठेघरमा समस्या हुन्छ, विवाह गरे पनि बच्चा हुँदैनन् भनिन्छ । पढाइ र अनुसन्धानबाट यो कुरा गलत भएको थाहा पाएँ ।
एथलेटिक्समा बढी महिला आउन के गर्नुपर्ला ?
गुणस्तर निकाल्न संख्या बढी चाहिन्छ । नेपालमा संख्यात्मक हिसाबले महिला खेलाडी कम छन् । स्कुल तहबाटै खेलमा भविष्य छ भनेर जागरुक बनाउनुपर्छ । यसमा आइसकेकालाई टिकाउन, सुरक्षित महसुस गराउन सरकारी र निजी क्षेत्रबाट पनि काम हुनुपर्छ । आर्थिक, मानसिक र भावनात्मक सपोर्ट हुनुपर्छ । यसमा आउनेमा इच्छाशक्ति हुनुपर्छ । स्पोर्टसमा शिक्षा अनिवार्य राख्नुपर्छ । ताकि भोलि शारीरिक रूपमा आइपर्ने भवितव्यको पूर्वतयारी हुनुपर्छ । मेन्टल, इमोसनल, फिजिकल हेल्थलाई सँगै शिक्षामा समावेश गर्न पनि जरुरी छ ।
खेल क्षेत्रमा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?
यसको हिसाबकिताब गरेकी छैन । नेम फेम पाएको मात्र थाहा हुने रहेछ । सायद एथलेटिक्समा नलागेको भए अर्को क्षेत्रमा अझै माथि पुग्थें कि भन्ने हो । हुन त नपाउन्जेल त्यो मेरो हो कि होइन भन्ने पनि हुन्छ । तनाव व्यवस्थापन, पीडा सहन सक्ने भएकी छु । मेरो लागि दौड थेरापी, ध्यान र हौसला हो ।
तपाईंको आइडल को होला ?
मध्यम र लामो दूरीकी धावक सिफाना हसन हुन् । किनभने उनी अरुभन्दा भिन्न छिन् ।
जीवनको लक्ष्य के रहेको छ ?
पहिले हेल्थ रिसर्चमा युएनको माथिल्लो पदमा पुग्छु भन्ने सपना थियो । बीचैमा खेलतर्फ मोडिए पनि अफसोच छैन । खेलमा लागेर आशीर्वाद, माया, नाम, इज्जत पाएँ । आफूलाई र केही हदसम्म देशलाई चिनाउन पाएँ । खेलाडीको निश्चित उमेर (४० वर्ष) पछि स्पोर्टस म्यानेजमेन्ट, अफिसर, कोच, हेल्थलाई सँगै लैजाने योजना छ । ताकि भावी पुस्ताले मैले गरेको संघर्ष फेस गर्न नपरोस् । सकेको खण्डमा एकेडेमी खोल्नेछु । यसका लागि त म पहिले बलियो हुनुपर्छ, अनि मात्र खुसी र सन्तुष्ट हुनेछु ।