Successfully Copied

पशुका उद्धारक

कुकुर बिरामी वा घाइते भए तुलारामलाई फोन आउँछ, उनी हतारहतार उपचार सामग्री लिएर त्यहीँ पुग्छन् ।

आरती पौडेल
मध्यबानेश्वरको मिलनचोकस्थित एक गल्लीमा ‘चिया सेवा’ नामक सानो चिया पसल छ । तुलाराम राजवंशी उक्त पसलबाट हुने आम्दानी आफ्नो लागि मात्रै खर्चंदैनन् । सडकका घाइते कुकुरलगायत अन्य पशुको उद्धार, उपचारका साथै उनीहरूको संरक्षणमा पनि लगानी गर्छन् ।
‘चिया सेवा’ अहिले पशुप्रेमीको रोजाइमा पर्छ । चिया पसलको बाहिरी भागमा एकजनाले चिया पिउँदै गरेको र उसलाई कुकुरले अंकमाल गरेको चित्र देखिन्छ । चिया पसलभित्र ढोका छेउमा ठूलो अर्को चित्र छ । जहाँ मानिस र कुकुरको सम्बन्ध देखाइएको छ । कतै कुकुरको पन्जाको छाप, कतै टायरमाथि फूल, कतै अर्गानिक सामग्रीको सजाबट । चिया पसलको सजाबटले पशुप्रेमीहरूलाई खुसी बनाएको पक्कै छ ।


चिया सेवा पुग्नेबित्तिकै एउटा सेतो कुकुर दौडँदै आउँछ, जसको नाम ह्याप्पी हो ।
ह्याप्पीलाई निकै नाजुक अवस्थामा खोलामा फालिएको अवस्थामा तुलारामले उद्धार गरेका थिए । ह्याप्पीको खुट्टाको पन्जाबाट नै एक वर्षअघि चिया पसलको उद्घाटन गरिएको थियो ।
उनी ९ वर्षदेखि पशुको सेवा गर्दै आएका छन् । काठमाडौंमा भेटनरी पढ्दै गर्दा विभिन्न संस्थामा आबद्ध भएर पशु संरक्षणमा लागेका थिए । काठमाडौंबाहिर जाँदा बिचल्ली अवस्थाका बिरामी पशुको उद्धार गर्न चाहन्थे । ‘संस्था भयो भने हरेक ठाउँमा दु:ख पाएका पशुहरूको उद्धारका साथै संरक्षण गर्छु भन्ने लाग्यो,’ ४ वर्षअघि संस्था स्थापनाको क्षण उनी सम्झन्छन् ।


टीएफसी नेपाल नामक गैरनाफामूलक संस्थाका उनी अध्यक्ष हुन् । संस्थाले सडकका बिरामी कुकुरको उपचार, रेबिज खोप, बन्ध्याकरण जस्ता विभिन्न काम गर्दै आएको छ । कुकुर मात्र नभएर बिरालो, घोडा, गाईका साथै अन्य जनावरको उपचार र उद्धारमा तुलारामको टिम लागेको छ ।
भेटनरीमा डिप्लोमा गरेका तुलाराम ५ वर्षअगाडि पुग्छन् । काम विशेषले उनी झापा पुगेका थिए । काम सकेर काठमाडौं फर्कन लागेका बेला बिर्तामोडको सडकमा पीडाले छटपटाइरहेको कुकुर देखे । उसको पेट फुलेको थियो । उपचार गर्न काठमाडौं ल्याउने निर्णय गरे र दुई जनाको बसको टिकट काट्न खोजे । तर बसमा नमीठो व्यवहार भोग्नुपर्‍यो । कुनै पनि बसले सहयोग नगरेपछि उनी चौतारीमा बसिरहेका थिए । अगाडिसम्म पीडाले रिसाएको कालीले तुलारामको काखमा टाउको राख्यो । त्यो देखेर उनी भावुक भए । हरहालतमा कालीलाई काठमाडौं पुर्‍याएएर उपचार गर्छु भन्ने आँट निकाले र पहिला बसेको होटलमा फर्केर गए ।

धेरै प्रतीक्षापछि भोलिपल्ट मात्रै निकै पुरानो बसले कुकुर पनि लैजान मान्यो । खुसीका साथ उनी कालीलाई लिएर काठमाडौं आए । उपचारबाट तंग्रिएकी काली अहिले काली जावलाखेलमा खुसीका साथ बसिरहेकी छे ।
२०८० को कुरा हो । तुलाराम काठमाडौंमा आफ्नो काममा व्यस्त थिए । जाजरकोटमा गएको भूकम्पका बारेमा समाचार पढे । उनलाई नरमाइलो लाग्यो । भन्छन्, ‘मान्छेको उद्धारका लागि धेरै गएको देखें । तर पशुको उद्धारका लागि जाने कोही देखिन । त्यसैले जाने सोच बनाएँ ।’
त्यहाँ बस्दै गर्दा कुकुरलाई गरिने व्यवहारको बारेमा थाहा पाए । कुकुरले बच्चा पाउनेवित्तिकै पोथी कुकुरलाई राप्ती नदीमा फाल्ने गरेको स्थानीयको कुराले उनलाई निकै छटपटी भयो । त्यसबेलादेखि नै त्यहाँ कुकुर बन्ध्याकरण गर्ने सोच बनाएका थिए ।


सुरुवाती दिनमा त्यहाँका स्थानीय बासिन्दालाई सम्झाउन निकै गाह्रो भएको तुलाराम बताउँछन् । तुलाराम नेपालका विभिन्न स्थानमा पुगेर जनावरको बाँच्न पाउने हकका लागि बोलेर होइन काम गरेर आवाज उठाउँछन् । केही पालिकाले उनको कामलाई सहयोग पनि पुर्‍याइरहेका छन् ।
अहिले कुकुर बिरामी भए वा घाइते भए तुलारामलाई फोन आउँछ । उनी हतारहतार उपचार सामग्री लिएर पुग्छन् । उपचार गर्न मिल्नेलाई त्यहीँ उपचार गर्छन् भने उपचार गर्न नमिल्नेलाई काठमाडौं ल्याएर उपचार गराउँछन् ।


भेटनरी खोलेर पशु सेवा गर्ने सोच बनाएका तुलाराम अहिले सडकका पशुको उद्धारका साथै नयाँ जीवन दिने प्रयासमा छन् ।
२६ वर्षका तुलाराम बर्दियामा जन्मिएका हुन् । उनी सानैदेखि पशुप्रेमी थिए । उनको परिवार सुरुवाती दिनमा छोराको निर्णयले खुसी थिएनन्, अहिले उनको कामप्रति गर्व गर्छन् । अहिलेसम्म ५ हजारभन्दा धेरै पशुको उद्धार गरेको उनले बताए । टीएफस संस्था खोलेको ४ वर्षमा देशका विभिन्न स्थानमा २५ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरेका छन् ।
सरकारले पशु संरक्षणका लागि काम गरोस् भन्ने लाग्छ उनलाई । ‘अबोध पशुलाई पीडा दिने हरकोहीलाई कडा सजाय होस्,’ उनी भन्छन्, ‘सडक पशुको सेवामा सधै समर्पित भइरहन्छु ।’
बढी माया : जनावर
शक्ति: जनावर (उद्धार गरेका कुकुर)
स्नेह: आमा, जनावर
प्रभावशाली महिला : आमा
मन पर्ने लेखक: मनीषा गौचन
भेट्न मन लागेकी महिला : मान्भी राई (राई इन्डियाकी पशु उद्धारकर्ता) 

 Image