Successfully Copied

फूलका रङपिच्छे फरक कथा बुन्दै दीक्षा

‘फूलहरू छिट्टै ओइलाउँछन्, तर तिनीसँग जोडिएका भावनाहरू अमर हुन्छन् । यही विचारले नै रेजिनमा आर्टमार्फत क्षणहरूलाई स्थायित्व दिने सपना जन्मिएको हो ।


काठमाडौंको एउटा कोठाभित्र, रेजिनको हल्का गन्ध, रंगीन फूलहरू र साना उपकरणहरूबीच फूलका रङहरूपिच्छे फरक–फरक कथा बुन्दैछिन्–दीक्षा खाती ।
‘फूलहरू छिट्टै ओइलाउँछन्, तर तिनीसँग जोडिएका भावनाहरू अमर हुन्छन् । यही विचारले नै रेजिनमा आर्टमार्फत क्षणहरूलाई स्थायित्व दिने सपना जन्मिएको हो,’ जियाराकी संस्थापक उनले भनिन्, ‘झुम्का, स्टड्स र कस्टम ज्वेलरीहरू बनाउन लागेकी हुँ । फूलहरू ओइलिएर झरेको मन पर्दैनथ्यो । जस्तो अवस्थामा भए पनि संगालेर राख्थें । अहिले फूलहरूकै गहना बनाएर बेच्न पाउँदा खुसी लागेको छ ।’
दीक्षा सानैबाट कलात्मक क्षेत्रमा अब्बल थिइन् । उनी फूलका गहना बनाउन भन्दा पहिलै विभिन्न सामग्री समेत बनाउँथिन् । उनी चार कक्षामा पढ्दा लोडसेडिङको समस्या थियो । त्यही बीचमा मैनबत्ती बनाउने प्रयास गरेकी थिइन् । उनी कलात्मक काममा निकै रुचि लाग्ने गरेको सुनाउँछिन् ।
दीक्षाले आफूले जम्मा गरेर राखेका फूलहरू हेरिरहेकी थिइन् । उनको मनमा ‘फूलको टप बनाउन पाए सधैका लागि हुन्छ’ भन्ने सोच आयो । खाली समयमा सामान किनेर फूलहरूलाई विभिन्न डिजाइनमा परिणत गरिन् । ‘एक–दुईवटा टप आफ्नै लागि बनाएर लगाएकी थिएँ । धेरैले मन पराए । त्यसपछि व्यवसाय गर्ने सोच बनाएकी थिएँ,’ उनले भनिन् ।
उनले फूलका गहनाको व्यवसाय गरेका सुरुवाती दिन भने सहज नभएको सुनाउँछिन् । ‘मैले फूलबाट बनाएका गहना बेच्न सुरु गर्दा कसैले किन गरेको होला भन्थे’ उनले भनिन् । तर दीक्षाले हार खाइनन् । अरुको कुरा नसुनी आफ्नो कामलाई निरन्तरता दिइन् । ‘मैले पहिलो पटक ३० हजार रुपैयाँ लगानी गरेर फूलको टप बनाउने सामान किनेकी थिएँ । अरुले भनेको कुराले डर पनि लागेको थियो,’ उनले भनिन्, ‘मैले राम्रो गर्नुपर्छ भनेर नै अगाडि बढें । नभन्दै दुई महिनामा सोचेभन्दा पनि धेरै नाफा भयो ।’ उक्त क्षणले आफूमा आत्मविश्वास बढेको र आफ्नो कामलाई निरन्तरता दिन हौसला प्रदान गरेको दीक्षा बताउँछिन् ।
आफूले बनाएका सामान धेरै ग्राहकको रोजाइमा परेकाले निकै खुसी लाग्ने गरेको र धेरैले उपहार दिनका लागि गहना अर्डर गर्ने गरेको उनी सुनाउँछिन् । ग्राहकले आफ्नो इच्छानुसार झुम्का मगाउँछन् । कोहीले साथीको विवाहमा उपहार दिन, कसैले प्रेमिकासँग माफी माग्न कसैले पहिलो डेटका लागि भनेर विभिन्न रङका झुम्का अर्डर गर्छन्,’ उनले भनिन्, ‘आफ्ना लागि अर्डर गर्ने पनि धेरै छन् । ‘त्यसैले भनेकी हुँ हरेक झुम्कामा विभिन्न कथा समेटिएका छन् ।’ 


काममा निकै दु:ख हुने गरेको उनी सुनाउँछिन् । ‘सबै कामका आफ्नै दु:ख हुन्छन् । ३/४ घण्टा मेहनत गरेर एउटा टप बन्छ । कहिलेकाहीँ घण्टौं रेजिनसँग काम गर्दा हात काटेर अस्पताल पुग्नुपर्ने अवस्था आउँछ’, उनले भनिन्, ‘धेरै मेहनत गरेपछि मात्रै गहना तयार हुन्छन् । त्यो समय सबै पीडा हराउँछन् ।’
उनी व्यवसाय मात्र गर्दिनन् । पत्रकारिता विषयमा स्नातकोत्तर गर्दैछिन् । उनी कम्युनिकेसन ट्रेनर पनि हुन् । झापा घर भएकी दीक्षा काठमाडौंमा बसेर व्यवसाय, अध्ययनका साथै जागिर पनि गर्दै आएकी छिन् । आफ्नो व्यवसयमा परिवारको साथ र सहयोग रहेको उनी बताउँछिन् । सामाजिक सञ्जालमार्फत धेरै अर्डर आउने गरेको उनी सुनाउँछिन् । ‘साथी सर्कलबाट पनि धेरै अर्डर आउँछ । तर सोसल मिडियाबाट पनि राम्रो अर्डर आउँछ,’ उनले भनिन् । 
सन् २०२२ मा मिस युनिभर्स नेपाल टप १० मा परेकी दीक्षा सुन्दरता र विश्वास केवल बाहिर नभएर उद्देश्यसँग जोडिनुपर्छ भन्ने सोच राख्ने गरेको सुनाउँछिन् । त्यसैले दीक्षाले आफ्नो व्यवसायको केही हिस्सा सामाजिक कार्यका लागि समेत खर्चने गरेकी छिन् । ‘गरिब बालबालिकाका लागि नाफाको केही भाग मैले किताब, कापी र खाद्यान्न सहयोग गर्ने गरेकी छु,’ उनले भनिन् ।
दीक्षा आफ्नो कामलाई सधैं निरन्तरता दिने सोच रहेको सुनाउँछिन् । ‘मेरा लागि, जियारा केवल एउटा व्यवसाय मात्र होइन । यसले मेरो साहस, सिर्जनशीलता, भावना, दृढता र उद्देश्यको प्रतिनिधित्व गर्छ,’ उनले भनिन्,‘यो यात्रामा म अझै सिकिरहेकी छु, अगाडि बढिरहेकी छु, र हरेक कदमहरूमा आफ्ना सम्भावना खोजिरहेकी छु ।’

 Image