Successfully Copied

पीडित बालिकाहरूकी आमा बनेकी गीता

सानैदेखि सेवाको भाव बोकेर असहाय एवं दु:खीहरूलाई सेवा गर्न रुचाउँथिन् गीता केसी दर्नाल । अहिले बलात्कारबाट पीडित भएका बालिकाहरूलाई संस्था स्थापना गरेर पालनपोषण गरिरहेकी छिन् ।

आरती पौडेल
सानैदेखि सेवाको भाव बोकेर असहाय एवं दु:खीहरूलाई सेवा गर्न रुचाउँथिन् गीता केसी दर्नाल । अहिले बलात्कारबाट पीडित भएका बालिकाहरूलाई संस्था स्थापना गरेर पालनपोषण गरिरहेकी छिन् ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा–१० मा जन्मिएकी गीताको घरायसी अवस्था नाजुक थियो । चार छोरीलाई जन्म दिएकी उनकी आमा कहिले मेलापात गएर त कहिले इट्टा भट्टामा काम गरेर हुर्काइरहेकी थिइन् । गीताका बुवा अर्की श्रीमती विवाह गरेर बसेका थिए । सानै उमेरदेखि अभाव बुझेकी गीता पढाइमा अब्बल थिइन् । २०६१ सालमा काठमाडौं आएर रत्नराज्य क्याम्पसमा पत्रकारिता विषयमा आइए पढिन् । स्नातकसम्म पत्रकारिता लिएर पढेकी उनले ५ वर्ष महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्ने एक संस्थामा आबद्ध भएर समेत काम गरेकी थिइन् । समाज सेवाप्रति उनको लगाव र निरन्तरता कायमै थियो । त्यत्तिकैमा उनले आफ्नो सपना पछ्याउँदै २०६६ सालदेखि विभिन्न मिडियामा आबद्ध भएर पत्रकारिता गरिन् । उनी भन्छिन्,‘विभिन्न मिडियामा पत्रकार भएर काम गर्दा मेरो रोजाइ त समाज सेवामै रहेछ भन्ने महसुस भयो ।’
त्यसै समय ६ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको गीता सुनाउँछिन् । ‘मेरो अन्तरजातीय विवाह भएको थियो । श्रीमान् र म हाम्रो निर्णयले खुसी हुनुका साथै समाजबाट पनि राम्रो प्रतिक्रिया पायौं,’ उनले भनिन् । विवाहपछि भने गीता पत्रकारिता छोडेर पूर्णरूपमा समाजसेवामा आबद्ध भइन् । उनी कठ्यांग्रिदो जाडोमा विपन्न बालबालिकालाई न्यानो कपडा लिएर कहिले मधेश जान्थिन् त कहिले किताब, कलम जस्ता बिभिन्न सामग्री लिएर देशका विभिन्न ठाउँमा सहयोग गर्न पुग्थिन् । उनी भन्छिन्,‘आफूसँग भएको पैसा सकिएपछि फेसबुकमा क्याम्पियन गरेर पैसा उठाई सहयोग गर्थें । ’
देशका विभिन्न स्थानमा सेवाका लागि पुग्दा जुन बालिका पीडित छन् उनीहरू नै समाजबाट बहिष्कारमा परेका देख्थिन् । त्यही कुराले उनको मनमा नराम्रोसँग चोट पुर्‍याउँथ्यो । उनी भन्छिन्,‘जो निर्दोष छन् उनीहरूलाई नै समाज, घरपरिवारबाट हेला भएको सुन्दा, देख्दा मलाई सधै पीडा हुन्थ्यो । उनीहरूका लागि केही गर्छु भन्ने सोचेकी थिइन् । त्यसै समय उनी आमा बनिन् । केही समयमा नेपालमा भूकम्पको महामारी चर्कियो । उनी भन्छिन्, ‘२०७२ को भूकम्पपछि बाबुलाई बोकेर देशका विभिन्न ठाउँमा सेवाका लागि पुगेकी थिएँ ।’ गीता त्यसपछि कुनै पनि संस्थामा आबद्ध नभई आफूसँग भएको रकमका साथै फेसबुकबाट उठेको पैसाले विकट क्षेत्रमा गई सहयोग गरेको बताउँछिन् ।
यसरी जन्मियो संस्था
२०७६ पुस ६ गते महोत्तरीको बर्दिबासमा एक महिला फेन्सी पसल गरेर बस्थिन् । उनकी दुई वर्षीया छोरीलाई एक छिमेकी पसलमा आएर खेलाउने गर्थे । एकदिन बालिकाकी आमा पसलमा सामान किन्न आएका ग्राहकलाई सामान दिदै हुन्छिन् । त्यत्तिकैमा उक्त छिमेकी आएर थाहा नै नदिई बालिका लिएर जान्छन् । तर बालिकाकी आमाले थाहा पाउँदिनन् र खोज्दा पनि कतै भेटिदिनन् । भोलिपल्ट दिउँसोको समयमा प्रहरीले घर नजिकैको झाडीमा मृत अवस्थामा बालिका भेट्छन् । उक्त घटनाको सामाजिक सञ्जालमा भेटिएका समाचार र भिडियोले गीतालाई निकै असह्य हुन्छ । बालिकाकी आमाले मृत छोरी अंगालेर रोएको भिडियोले गीतालाई निकै पिरोल्छ र आफ्नो छोरालाई हेर्दै उक्त बालिकालाई सम्झेर रुन्छिन् । उनी भन्छिन्,‘म पनि सन्तानकी आमा हुँ । मेरो छोरो समानकी त्यति सानी नानीलाई त्यस्तो देख्दा धेरै दिन गाह्रो भयो ।’
०००
२०७६ साल माघको कुरा हो । रुपन्देही तिलोत्तमाकी पाँच वर्षीाय बालिका पनि त्यसरी नै बलात्कार भइन् । आफ्नै बुवासँग काम गर्ने व्यक्तिले फकाएर बलात्कार गरेपछि उनी बेहोस भएकी थिइन् । त्यसैबेला पीडक उक्त बालिकालाई खनेर पुर्ने नियत राखेर कोदालो खोज्न लागे । आफ्नी छोरी खोजिरहेको परिवारले त्यसैबीच छोरी अचेत अवस्थामा भेटे र अस्पताल लगे । बालिकालाई काठमाडौंको टिचिङ हस्पिटल ल्याएको थाहा पाएपछि गीता हस्पिटल पुगिन् । बालिकाको अवस्था गम्भीर भएको कारण उनले भेट्न पाइनन् । अर्को पटक जाँदा उनले बालिकालाई भेटिन् । बालिका पिसाब फेर्दा पीडाले चिच्याउँथिन् । पीडित बालिकाको पाठेघर बिग्रिएर फालिएको थियो । बालिकाको अवस्था देखेर गीता हस्पिटलमै भक्कानिएर रोइन् । निम्न वर्गीय परिवारकी बालिकाको परिवारलाई उपचारका लागि कतैबाट सहयोग आएको थिएन । गीताले आफूले चिनेका मान्छेहरूलाई भनेर केही रकम जोहो गरी उपचारका लागि दिइन् ।
गीता दुई घटनाले निकै नै पीडा भएपछि आफुले संस्था खोल्ने निर्णय गरेको बताउछिन् । संस्था खोल्ने सोच्दैगर्दा कोभिड १९ को माहामारी र लकडाउनको सुरु भयो ।
त्यसपछि आफ्नै घरमा पीडित हुने बालिकाको संख्या बढ्यो । आफ्ना घरमा पीडित भएका बालिका कता जाने ? उनको मनमा यस्ता कुराले पोल्न थाले ।
उनी भन्छिन्,‘पीडित निर्दोष बालिका हुन्छन् । जसले हजार सपना बोकेर आफ्नो बाल्यकालमा रमाइरहेका हुन्छन्,’ भनिन्,‘बिभिन्न उमेर समुहका पुरुषले बालिकाको फाइदा उठाउाछन् । अनि पीडित पनि बालिका, समाज बाट बहिष्कार हुने पनि बालिका । बालिकाको लागि सुरक्षीत ठाउा नै छैन ।’
गीताले समाजको संरचना र असुरक्षित पीडित बालिकाको सुरक्षा दिने सोचि जस्तोसुकै परिस्थिति सिर्जना भएपनि संस्था खोल्ने निर्णय गरिन् । ‘हिंसाको सिकार भएका महिलाको लागि सरक्षण केन्द्र त थिए । धेरै ठाउामा खोजे तर पीडित बालिकाको लागि छुट्टै संरक्षण स्थल कतै भेटिन,’ भनले भनिन्,‘धेरै नै खोज, अनुसन्धानपछि संस्था नै खोल्छु भनेर लागे ।’
२०७८ पुस ६ गते उनले साझा सहायात्री नेपाल नामक संस्था दर्ता गराइन् । प्रक्रिया सबै मिलेपछि गीताले २०७९ बैशाख राख्न सुरु गरिन् । आफ्नो गहना बेचेर, अरुसाग ऋिण खोजेर संस्था सञ्चालनमा ल्याइन् । उनी भन्छिन्,‘संस्था खोलेर बिभिन्न स्थानका पीडित ९ जना बालीकाहरु जो घर, समाजबाट हेलामा परेका थिए,’उनले भनिन्,‘उनीहरुलाई राखेर सुरु गरेकी थिए ।’पीडत बालिकालाई सुरक्षा साथै उनीहरुका सबै इच्छा पुरा गर्न लागिन् ।
सुरुवाती दिनमा उनलाई धेरै कुराले मन दुखाए । जो आफुलाई के भएको थियो भन्न सक्ने थिए । ती अवोध बालिकाहरुले आफुमा घटेका घटना सुनाउथे । उनी त्यस बखत बालिकाहरु भन्दा पहिल्यै रुन्थिन् । कोहि बालिका निकै साना थिए । हिंसाबाट प्रसब पीडामा छन् तर आफुलाई के भएको भन्ने बताउन सक्दैनथ्थे उनीहरुलाई पनि यो समाजले छोडेन भन्ने सोचेर रुन्थिन् । मनोचिकित्सकहरुको सहयोगले बालिकाहरुलाई परामर्श दिन्थ्थे । उनी भन्छिन्,‘यस्ता धेरै पीडाले भरिएका रात कटाएकी छु । सुरुबाती दिनमा त उनीहरुको कुरा सुनेर निदाउनै सकिन ।’

बालिकाहरूको पीडाले मात्र पीडा भएन उनलाई बाहिरीका मनगणन्ते कुरा सुनेर पनि मन दुखेको थियो । उनी भन्छिन्, ‘आफ्नै गरगहना बेचेर, ऋण खोजी संस्था सुरु गरेकी थिएँ । तर भन्नेले विदेशी डलरमा चलेको संस्था पनि भने । आफूले स्वच्छ मनले सेवा गर्दा अरूले लगाएका गलत आरोपले मन दुख्दो रहेछ,’ उनले भनिन्, ‘अहिले भने उनीहरूले नै राम्रो भनेको सुन्दा अचम्म लाग्छ । तर अहिले बलियो पनि भएकी छु ।’
गीताले अहिले उक्त संस्थामा १७ जना विभिन्न उमेर समूहका पीडित बालिकालाई सुरक्षा दिएर पढ्नका लागि आफैं खर्चको जोहो गर्दै आइरहेकी छिन् ।
गीताको इमाडोलस्थित आफ्नै घरका कोठामा भरिभराउ छन् पीडित बालिकाहरूले । परामर्श, शिक्षा, खाना गरेर एक लाख सम्म महिनाको खर्च हुन्छ ।
कहिलेकाहीँ आउने व्यक्तिगत साथै अन्य सहयोगबाहेक अरु पैसा गीताकै खर्च हुन्छ ।
अहिले कहिलेकाहीँ नेपालका विभिन्न सामाजिक सेवा गर्ने व्यक्तित्व, क्लब साथै विदेशमा बस्ने नेपालीले पनि केही रासन खर्च किनिदिने, सहयोग गर्ने गरेको गीता बताउँछिन् । तर सरकारबाट पनि सहयोग होस् भन्ने उनको आशा छ ।
यस्ता संस्थाका लागि सरकार आफैले कदम चालेर बालिकाहरूको संरक्षण गर्न आवश्यक रहेको गीता बताउँछिन् ।
उनी भन्छिन्, ‘सरकारले बालिका संरक्षण केन्द्र बनाउनुपर्छ । यो सरकारको जिम्मेबारी हो । तर कति पटक सरकारी ढोका ढकढकाउन गएँ कसैले सुनेनन् । नेताहरू संस्थामा आउँदा यही कुरा राख्दा सबैले आश्वासनबाहेक केही दिएनन् ।’
सबै बालिका पढ्नमा मात्र होइन अन्य क्रियाकलापमा पनि निकै अगाडि छन् । संस्थाका भित्ताभरि उनीहरूले बनाएका आकर्षक चित्रहरू झल्किन्छन् । उनी भन्छिन्, ‘पढाइमा सबै एकदमै राम्रा छन् । त्यो कुराले निकै खुसी दिन्छ । अर्को खुसी मलाई त्यस बेला लाग्छ जब उनीहरू आमा भनेर बोलाउँछन्, ’उनले भनिन्, ‘आफ्नो स्कुलका दिनचर्या पालैपालो सुनाउँछन् । मसँग १७ जना छोरी छन् भन्ने सन्तुष्टि हुन्छ ।’
गीताले हिंसाबाट पीडित बालिकालाई विगतका कहालीलाग्दा पीडा भुलेर वर्तमानमा रमाउन सिकाइरहेकी छिन् । उनीहरूलाई भावनात्मक एवं शैक्षिक रूपले बलियो बनाएर भविष्यका लागि सपना बुन्न सिकाइरहेकी छिन् । गीतालाई पीडित बालिकाहरूलाई सक्षम भएर आफ्नो खुट्टामा उभिएको हेर्ने मन छ । विगत भुुलेर, डर र त्रासबिना स्वतन्त्र भएर खुल्ला आकाशमा उडेको पन्छीझै गन्तव्य हासिल गरेको हेर्न मन छ उनलाई ।
पीडित बालिकाको अधिकारका लागि सबै लड्नुपर्ने उनको भनाइ छ । उनी भन्छिन्,‘संविधानको धारामा मात्र उल्लेख भएर/वा कागजको खोस्टोमा मात्र सीमित भएर हुँदैन यसलाई कार्यान्वयन गरेर पीडित बालिकाको सुरक्षा आवश्यक छ,’ उनले भनिन्, ‘सरकार र सम्बन्धित निकाएको ध्यान जान आवश्यक छ ।’
गीता बालिकाहरू सक्षम भएपछि उक्त संस्था उनीहरूले नै चलाऊन् भन्ने सोचमा छिन् ।
३७ वर्षीया गीताले दिनरात बालिकाहरूको सेवामा संघर्ष गरिरहेकी छिन् ।
गीता बालिकाहरूका लागि आवाज मात्र नभएर सहारा बनेकी छिन् । पीडामा मल्हम लगाउने काम गरेकी छिन् । उनीहरूले विगतमा जति पीडा भोगे पनि वर्तमान र भविष्यमा भने उनीहरूको आँखामा दु:ख र पीडा कहिल्यै आउन नदिने संकल्पका साथ अगाडि बढेकी छिन् । 

 Image