Successfully Copied

अरूको बच्चामा पनि मातृत्व अनुभव हुन्छ

अटिजम भएका बालबालिकालाई परिवारले बुझ्न जरुरी छ । बालबालिकाको आवश्यकतानुसार उनीहरूसँग व्यवहार गर्न सकियो भने सहज हुन्छ । यसमा बालबालिकाको विशेषता पहिचान गरी काम गर्नुपर्छ । यस्ता बालबालिकामा छुट्टै क्षमता हुन्छ तर उनीहरूले आफ्नो भाव व्यक्त गर्न सक्दैनन् ।


सविता उप्रेती
सामाजिक अभियन्ता एवं शिक्षासेवी

विगत १२ वर्षदेखि अटिजम भएका बालबालिकाको क्षेत्रमा कार्यरत सविता उप्रेतीलाई भारतीय मानव अधिकार परिषद्ले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ प्रदान गरेको छ । उनले गैरसरकारी संस्था ‘एसएसडीआरसी’ मार्फत ६० जना अटिजम भएका बालबालिकाको हेरचाह गरिरहेकी छन् ।
साहसी महिला पुरस्कार प्राप्त गर्दा कस्तो महसुस भयो ?
खुसी लागेकोे छ । यो सँगसँगै जिम्मेवारी बढेको महसुस पनि गरेकी छु ।
यो पुरस्कार पाइएला भनेर सोच्नुभएको थियो ?
आत्मसन्तुष्टिका लागि अटिजम भएका बालबालिकाको सेवामा योगदान दिएकी हुँ । यसरी अवार्ड तथा पहिचान पाइएला भनेर सोचेकी थिइन । मेरा लागि यो अकल्पनीय सफलता भयो ।
सरकारी जागिर छोडेर यो क्षेत्रमा आउनु तपाईंको बाध्यता कि रहर ?
सरकारीमा म अस्थायी अफिसरका रूपमा कार्यरत थिएँ । तर म स्थायीमा नाम त निकाल्थें होला । जागिरको मोहले भन्दा पनि कामको सिलसिलामा फिल्डमा जाँदा बाँधेर राखेको बच्चा देखेपछि मेरो बाटो मोडियो ।
अटिजम भएका बालबालिकालाई परिवार तथा समाजले कस्तो व्यवहार गर्नुपर्छ ?
पहिला त यस्ता बालबालिकालाई परिवारले बुझ्न जरुरी छ । बालबालिकाको आवश्यकतानुसार उनीहरूसँग व्यवहार गर्न सकियो भने सहज हुन्छ । यसमा बालबालिकाको विशेषता पहिचान गरी काम गर्नुपर्छ । तर हामीकहाँ कमजोरी मात्र खोजिन्छ । यस्ता बालबालिकामा छुट्टै क्षमता हुन्छ तर उनीहरूले आफ्नो भाव व्यक्त गर्न सक्दैनन् । सामाजिक रूपमा उनीहरू टाढा हुन्छन् । यसैले उनीहरूको अवस्था बुझेर व्यवहार गर्नुपर्ने हुन्छ । राज्यले पनि यस्ता बालबालिकाको अवस्था हेरेर प्राथमिकता दिनुपर्छ ।


बालबालिकाको रेखदेखमा कत्तिको चुनौती छ ?

कुनै पनि कुरा चुनौती मान्यो भने चुनौती नै हुन्छ । हामीले गरेको योजनाले पनि उनीहरूलाई सहज हँुदैन । यसमा धैर्य भएर काम गर्नुपर्छ ।
आफ्नो काममा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । मलाई यो काम कसैले गर भनेर दबाबमा गरेको नभएकाले अरुको बच्चा हो भन्ने महसुस कहिल्यै हुँदैन । भित्री इच्छाले काम गरेको भएर खुसी छु । अर्को कुरा बालबालिकाको स्वभावले मलाई पनि परिवर्तन गराएको छ । यसमा मलाई कुनै समस्या छैन । अरुका बालबालिकामा पनि मातृत्व अनुभव हुन्छ ।
कार्यकारी पदमा पुग्नुभयो भने तपाईंको प्राथमिकता केमा हुन्छ ?
समाजमा पिछडिएका वर्गको हकहित तथा उत्थानका लागि काम गर्नेछु ।
आफूलाई खुसी बनाउन के गर्नुहुन्छ ?
बालबालिकाहरू रमाएको तथा खुसी भएको देख्दा खुसी हुन्छु । म शान्त ठाउँमा बस्न रुचाउँछु । सकारात्मक व्यक्तिहरूसँग समय बिताउन मन लाग्छ ।

 Image