Successfully Copied

हात्ती सँगसँगै

बाल्यकालदेखि हात्तीसँगै हुर्किएकी एक युवतीको यात्रा, जसले व्यवसायभन्दा माथि हात्तीको स्वतन्त्रता रोजिन् ।



चितवनको जंगलमा बिहानको चहलपहल सुरु हुँदैछ । त्यहाँ एउटा हात्ती निर्धक्कसाथ बसिरहेको छ । एक युवती हात्ती नजिक पुग्छिन् । कोही आएको संकेत पाएर हात्तीले आफ्नो सुँड सुस्तरी चलाउँछ । युवतीले हात्तीको निधार सुमसुम्याउँछिन् । यस्तो लाग्छ, उनीहरूबीच गहिरो भावनात्मक सम्बन्ध छ ।
हुन पनि दीक्षा रिजाल र यो हात्तीबीच घृणा र डरको कुनै पर्खाल छैन । उनीहरूलाई प्रेम र विश्वासले जोडेको छ । उनी त ती दुर्लभ व्यक्तिमध्ये एक हुन्, जसले हात्तीको भाषा शब्दले होइन, व्यवहार र भावना बुझ्न सक्छिन् । उसको भावनात्मक स्थितिलाई सजिलै पहिचान गर्न सक्छिन् ।
दीक्षा त्यही परिवारकी सदस्य हुन्, जहाँ पुस्तांैदेखि हात्ती पाल्ने र पर्यटकलाई हात्ती चढाएर जंगल घुमाउने व्यवसाय चल्दै आएको थियो । बाल्यकालदेखि हात्तीको ढाडमै खेल्दै हुर्किएकी उनी पनि एक समय यही व्यवसायलाई स्वाभाविक मान्थिन् । हात्तीलाई चेनले बाँध्ने, दिनभर पर्यटक बोकाउने र त्यसैलाई जीविकोपार्जनको माध्यम बनाउने संस्कारमै उनी हुर्किन् ।
‘सानो हुँदा मलाई यो सबै सामान्य लाग्थ्यो,’ उनी सम्झिन्छिन्, ‘हात्ती पाल्नु, चढाउनु, पर्यटक घुमाउनु, यही नै हाम्रो दिनचर्या थियो ।’
तर समयसँगै उनको सोच बदलिन थाल्यो ।
हात्ती दिनभर एउटै ठाउँमा उभिएर खुट्टा हल्लाइरहन्थ्यो । सुरुमा उनले त्यसलाई सामान्य व्यवहार ठानिन् । पछि इन्टरनेटमा खोज्दै जाँदा थाहा भयो, त्यो नाचिरहेको होइन, चरम तनावको संकेत रहेछ । चेनले बाँधिएका हात्तीमा देखिने मानसिक पीडाको अभिव्यक्ति रहेछ त्यो । त्यही क्षणबाट उनीभित्र प्रश्नहरू जन्मिन थाले । ‘हामीले माया गरेको भनेर भन्ने यही हात्ती वास्तवमै खुसी छ त ?’
पहिलो परिवर्तन आफ्नै घरबाट सुरु भयो । परिवारले पालेको हात्तीलाई चेनमुक्त राख्ने प्रयास गरियो । इलेक्ट्रिक फेन्सिङको व्यवस्था गरियो ताकि हात्तीलाई बाँध्न नपरोस् । तर त्यो परिवर्तन सजिलो थिएन । वर्षौं चेनमा बाँधिएर बसेको हात्तीलाई स्वतन्त्र जीवनमा अभ्यस्त हुन तीन–चार वर्ष लाग्यो । ‘अहिलेसम्म पनि कहिलेकाहीँ बाहिर निस्किन्छ,’ उनी भन्छिन् ।

सन् २०२२ मा उनी थाइल्यान्ड पुगिन् । त्यहाँका ‘एलिफेन्ट स्याङ्चुरी’ हरूले उनको सोचलाई अझ गहिरो बनाए । हात्तीको ढाडमा बसेर जंगल घुम्नुभन्दा हात्तीसँगै पैदल हिँड्ने, उसलाई उसको प्राकृतिक व्यवहारमा बाँच्न दिने पर्यटन सम्भव रहेछ भन्ने कुरा उनले आफ्नै आँखाले देखिन् ।
नेपाल फर्किएपछि उनले नयाँ अवधारणा अघि सारिन्, ‘एलिफेन्ट वाक’ ।
उनको तर्क सरल छ, ‘जंगल त उही हो, हात्ती पनि उही हो । यदि हामी हात्तीसँगै हिँड्न सक्छौं भने किन उसको ढाडमा चढ्ने ?’
तर सोच बदल्नु मात्र पर्याप्त थिएन । आर्थिक यथार्थ अझै कठोर थियो । हात्ती पाल्न महिनामा कम्तीमा एक लाख रुपैयाँ खर्च हुन्छ । उपचार, खाना, हेरचाह, सबै अत्यन्त महँगो । त्यसैले उनले परिवारकै एउटा कमजोर अवस्थामा पुगेको हात्तीलाई ‘रेस्क्यु’ होइन, भाडा तिरेर आफ्नो जिम्मामा लिइन् । उनका लागि समस्या केवल हात्तीको पीडा होइन, हात्ती पालेर जीविका चलाउने परिवारहरूको भविष्य पनि हो । ‘हात्तीलाई बचाउने नाममा हात्तीवालाको पेट काट्नु समाधान होइन,’ उनी भन्छिन्, ‘हात्ती पनि बाँच्ने, पर्यटन पनि चल्ने र परिवार पनि बाँच्ने समाधान खोज्नुपर्छ ।’
उनले अहिले नेपालमा भइरहेका हात्तीमाथिका दुव्र्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहँदा त्यसले देशकै छविमा असर गरिरहेको बताउँछिन् । विशेषगरी विदेशी पर्यटक र पशु कल्याणकर्मीहरूले यस्ता दृश्यलाई गम्भीर रूपमा लिने भएकाले नेपालको पर्यटनमा समेत नकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ ।
‘हामी जनावरलाई कस्तो व्यवहार गर्छौं भन्ने कुराले देशको नैतिक स्तर देखाउँछ,’ उनी भन्छिन् । यही सोचका साथ उनले अहिले ‘इथिकल एलिफेन्ट टुरिजम’ अर्थात् हात्तीलाई पीडा नदिई पर्यटनसँग जोड्ने अभियान अघि बढाइरहेकी छिन् । अहिले उनी ‘एलिफेन्ट केयर नेपाल’ मार्फत हात्तीको कल्याण र नैतिक पर्यटन प्रवद्र्धनमा सक्रिय छिन् ।
दीक्षा भन्छिन्, ‘हात्ती नेपालको प्राकृतिक सम्पदा मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान पनि हो । त्यसैले संरक्षण भनेको हात्तीलाई मात्र बचाउनु होइन, त्यससँग जोडिएका मानिस, पर्यटन र देशको प्रतिष्ठालाई समेत जोगाउनु हो ।

हात्तीसँग वर्षौंदेखि बिताएको अनुभवले उनलाई एउटा अर्को सत्य पनि सिकाएको छ, हात्ती अत्यन्त भावुक र सम्बन्ध बुझ्ने जीव हो । ‘उसले आफ्नो मान्छे कहिल्यै बिर्सदैन’ उनी भन्छिन् । वर्षौपछि भेट्दा पनि हात्ती दौडेर स्वागत गर्न आउने, बच्चा जन्मिँदा समूहले सामूहिक रूपमा कराएर खुसी मनाउने र साथी वा बच्चा मर्दा लामो समयसम्म शोक मनाउने दृश्य उनले आफ्नै आँखाले देखेकी छिन् ।
सायद त्यही अनुभवले उनलाई जनावरलाई हेर्ने दृष्टिकोण नै बदलिदियो । उनी भन्छिन्, ‘पहिला मलाई खासै महसुस हुँदैनथ्यो । उनीहरूसँगै हुर्किने क्रममा उनीहरूको भावना बुझ्न थालेँ । त्यसपछि उनीहरूलाई हेर्ने दृष्टि फेरियो । उनीहरू पनि महसुस गर्ने, सम्बन्ध बनाउने र माया खोज्ने जीव रहेछन् भन्ने बल्ल थाहा भयो ।’
यही बुझाइलाई समाजमा फैलाउने उद्देश्यले उनी अहिले सामाजिक सञ्जालमार्फत हात्तीका कथा, व्यवहार र संरक्षणका विषय निरन्तर साझा गरिरहेकी छिन् । उनको विश्वास छ, मानिसले हात्तीलाई चढेर होइन, बुझेर माया गर्न सिक्नुपर्छ ।
उनी स्वीकार गर्छिन्, ‘हामीले धेरै गल्ती गरेका रहेछौँ । तर गल्ती स्वीकार गर्नु नै परिवर्तनको पहिलो पाइला हो ।’
उनका अनुसार हात्तीलाई प्रेम गर्नु भनेको पूजा गर्नु मात्र होइन, उसलाई पीडा नदिने तरिका सिक्नु पनि हो । हात्तीलाई भगवान् गणेशको प्रतीक मान्ने समाजले पर्दा पछाडि उसले भोगिरहेको दु:ख पनि देख्न आवश्यक छ ।
‘हात्तीलाई हात्ती भएर बाँच्न दिनुहोस्,’ उनी भन्छिन्, ‘त्यसैमा उसको पनि खुसी छ, हाम्रो पनि ।’

 Image