Successfully Copied

बसन्तपुरमा सार्वजनिक कला अनावरणसँगै जोन्टा क्लब काठमाडौंको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ सुरु गरेको छ ।


जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ सुरु गरेको छ । मंगलबार काठमाडौंको बसन्तपुरमा एक सार्वजनिक कला स्थापनाको अनावरण गर्दै अभियानको औपचारिक सुरुवात गरिएको थियो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा अभियानको उद्घाटन गरिएको थियो । उद्घाटन समारोहमा जोन्टा क्लब काठमाडौंका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको उपस्थिति थियो ।
विश्वव्यापी ‘जोन्टा सेज नो’ पहलअन्तर्गत नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अभियानको अवधिभर बसन्तपुरमा स्थापित उक्त कला सर्वसाधारणका लागि खुला रहनेछ ।
वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले उक्त कला तयार पारेका हुन् । ‘उनका धेरै झोला छन्, सबैले देख्छन्, तर सबैभन्दा गह्रौा झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित यस कलाले महिला तथा किशोरीले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चार भित्ताभित्र चुपचाप सहन बाध्य भएका डर, दमन, दोषारोपण तथा भावनात्मक पीडालाई उजागर गरेको छ ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र यस्ता अभियानलाई १६ दिनपछि पनि निरन्तरता दिन महानगरपालिकाले योजना बनाएको बताइन् । समाजमा दिदीबहिनी तथा आमाहरूले भोगिरहेको हिंसा, अपहेलना र लैङ्गिक विभेदको अन्त्य गर्न सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिइन् ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष मृदुला राजभण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनासँगै समाजका सबै तहबाट निरन्तर र सामूहिक प्रयास आवश्यक रहेको बताइन् । यस वर्षको अभियानमार्फत युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्रलाई जोड्दै संवादलाई व्यावहारिक परिवर्तनमा रूपान्तरण गर्ने लक्ष्य राखिएको उनको भनाइ थियो ।

यस्तै, क्लबको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दीप्ती आचार्यले कला पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम भएको उल्लेख गर्दै युवा सिर्जनाकर्मी, स्थानीय सरकार र नागरिकको सामूहिक प्रयासले मौनता तोड्दै जवाफदेहिताको संस्कार विकास गर्न सकिने बताइन् ।
अभियान अवधिभर क्लबले युवाको फ्ल्यास मोब, महिनावारी स्वास्थ्य तथा बालविवाहसम्बन्धी सामुदायिक संवाद र निजी क्षेत्रका श्रमिकका लागि कार्यशाला आयोजना गर्ने जनाएको छ । यसका साथै काठमाडौं र दाङमा सामुदायिक दौडसमेत सञ्चालन गरिनेछ भने डिसेम्बर १० मा समापन सम्मेलन आयोजना गरी अभियान समापन गरिने आयोजकले जनाएको छ ।

 Image