पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागतको सट्टामा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी सिकाइने यो शिक्षण विधिप्रति अभिभावकएवम् बालबालिकाको आकर्षण बढ्दो छ । विद्यालय स्तरको पढाई सुरु हुनुभन्दा अघि बालकालिकालाई सिकाउन अपनाइएको उक्त विधि निकै प्रभावकारी मानिन्छ । जसकारण सहर–बजारमा मन्टेश्वरी विद्यालय खोल्ने क्रम पनि बढेको छ । बालबालिकालाई मन्टेश्वरी विधिबाट सिकाउने ठाउँलाई ‘प्रि–स्कुल’ पनि भनिन्छ ।
मन्टेश्वरी किन्डर वल्र्ड, बेस्ट मन्टेश्वरी, युरो किड्स, अक्षरा स्कुल, बालुवाटार स्कुल, मिल्सबेरी, हाइड एन्ड सिक, एन्जल मन्टेश्वरी, टाइम्स मन्टेश्वरी, बचपन, सेमरक, बचपन, किड्जी आदि स्कुल अहिले नेपालमा चल्तीका प्रि–स्कुल हुन् । भारतमा ख्यातिप्राप्त ब्रान्ड युरो किड्स नेपाल भित्रिएको १३ वर्ष पुगिसकेको छ । टंगालबाट सुरु भएको युरो किड्सको अहिले नेपालका १० वटा सहरमा ३० वटा र संसारभर १० हजार शाखा छन् । गतवर्ष बेस्ट इन्टरनेसनल अवार्ड प्राप्त गरेको युरो किड्स नेपालले प्रारम्भिक शिक्षाका क्षेत्रमा नेपालमा नयाँ आयाम थपेको बताउँदै युरो किड्सकी सञ्चालक शैलजा अधिकारी भन्छिन्–‘युरोकिड्सले सधै आफ्नै नवीन र सिर्जनात्मक शैक्षिक पद्धति अवलम्बन गरेको छ ।’
यसले युनोइया नामक आफ्नै पाठ्यक्रमको विकास गरेको छ । जसले बालबालिकाको बौद्धिक, मानसिक, सामाजिकलगायत चौतर्फी विकासका सहयोग पुर्याएको अधिकारीको भनाई छ । काठमाडौंको टंगाल, बाँसबारी, सामाखुसी र तीनकुने गरी चार वटा शाखा रहेको यो स्कुलले बालबालिकालाई केन्द्रिकृत, लचकता र दयालु बनाउने कुरामा मुख्य जोड दिइरहेको पनि अधिकारीले बताइन् । उनले भनिन्–‘अत्याधुनिक शैक्षिक पद्धतिहरूद्वारा हामी बच्चाको जग बलियो बनाउन दत्तचित्त छौं ।’
समयसँगै संशोधन गरिरहने युरोकिड्सका संसारभर एउटै पाठ्यक्रम पढाइन्छन् । योग, संगीत, फिटनेससहितको सुरक्षित बालमैत्री वातावरणयुक्त यो स्कुलमा ‘माइन्ड, बडी र सोल’ लाई हिलिङ गर्ने क्रियाकलापहरू गराइन्छ । थ्रि पिलर्स अफ युनोइयाअन्तर्गत चेतनामूलक दिमागी ज्ञान, स्पेस लर्निङ, भावनात्मक सिकाइलगायतका कला प्रदान गरिन्छ । युरो किड्सको अर्को विशेषता भनेको विविध खाले सिर्जनात्मक सीप र सिकाइद्वारा दिमाग, शरीर र आत्मालाई नै प्रभाव पार्ने किसिमको शिक्षा प्रदान गर्नु हो ।
करिब नौ वर्षअघि सुरु भएको हाइड एन्ड सिक प्रि–स्कुलले बालबालिकाको सैद्धान्तिक, बौद्धिक र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल कुमुद भट्ट छतकुली बताउँछिन् । ‘मन्टेश्वरी शैक्षिक पद्धतिद्वारा हामीले बालबालिकाको व्यावहारिक ज्ञानलाई बढी प्राथमिकतामा राखेका छौं ।’ स्वयम्भू सानो भर्याङस्थित यो स्कुल फराकिलो क्षेत्रफलमा फैलिएको छ । यहाँ बालबालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्न अर्गानिक फलफूल तथा तरकारी उत्पादन गर्ने गरिएको छ । मन्टेश्वरीलगायत एकीकृत शैक्षिक पद्धतिद्वारा पढाइ हुने हाइड एन्ड सिकमा पारिवारिक वातावरण, स्वच्छ आहार, सफा र सहज खेल मैदान तथा मायालु वातावरणमा बालबालिका रमाएर सिकिरहेका छन् ।
अक्षरा स्कुलकी संस्थापक प्रिन्सिपल अञ्जु भट्टराईका अनुसार भविष्यमा अन्तर्राष्ट्रिय स्पर्धाका लागि युवा तयार गर्न पनि अहिले बालबालिकालाई प्रयोगात्मक तरिकामा सिकाउन जरुरी छ । नेपालमा मन्टेश्वरी शिक्षा भित्र्याउने मन्टेश्वरी किन्डर वल्र्डकी संस्थापक प्रिन्सिपल पवित्र लिम्बू भन्छिन्–‘हामीले मन्टेश्वरी शिक्षा सुरु गरेदेखि शैक्षिक क्षेत्रमा निकै विकास भएको छ ।’
नेपालको शिक्षा प्रणाली नै कमजोर भएका कारण विद्यालय तथा विश्वविद्यालयलाई ‘बेरोजगार उत्पादन गर्ने थलो’को आरोप लागिरहेका बेला यो पद्दतिको सिकाइ प्रभावकारी हुने शिक्षाविद्हरूको तर्क छ ।‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि प्रयोगात्मक शिक्षाको खाँचो छ’, मनोविद् डा. नन्दिता शर्मा भन्छिन्– ‘जसका लागि बालबालिकालाई पढाउने भन्दा पनि सिकाउने शिक्षा प्रणाली अपनाउन आवश्यक छ ।’
मनोचिकित्सक रोजिना मानन्धरका अनुसार बालमस्तिष्क छिट्टै टिप्ने, टुट्ने र जोडिने खालको हुन्छ । बाल्यवस्थामा सिकेका कुराले पछिसम्म गहिरो प्रभाव पार्ने भएकाले दिमागलाई बढी भारी नहुने गरी रमाइलो तथा सहज तरिका सिकाउनुपर्ने उनको मत छ ।
कस्तो हुनुपर्छ मन्टेश्वरी विद्यालय ?
मोना दाहाल -संस्थापक प्रिन्सिपल, मिल्सबेरी स्कुल
बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्याउनुका साथै सामाजिक तथा व्यावहारिक मूल्य–मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशीला खडा गर्नुु मन्टेश्वरी शिक्षाको मूल उद्देश्य हो । विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई प्राथमिक विद्यालयका लागि तयार पार्नु पनि प्रि–प्राइमरी पाठ्यक्रमको उद्देश्य हो । नेपाल सरकारले तयार पारेको पाठ्यक्रममा व्यावहारिक सीप कसरी सिकाउने भन्ने विषयमा भने कतै केही उल्लेख छैन । यद्यपि मन्टेश्वरी शिक्षा प्रणालीबाट ती उद्देश्य पूरा गर्न सकिन्छ ।