Successfully Copied

खुसी बाँड्दै श्रेया

जीवनमा नसोचेका काम पनि आइलाग्छन् । के बन्छु भनेर कुन विषय पढ्यो, काम गर्न मन लाग्छ अर्कै । दुःखले गाँजेका बेला लाग्छ, जीवन त अब यत्तिकै सक्कियो। तर, मन भरेर खुसी हुने दिन पनि आउँछन् ।



जीवनमा नसोचेका काम पनि आइलाग्छन् । के बन्छु भनेर कुन विषय पढ्यो, काम गर्न मन लाग्छ अर्कै । दुःखले गाँजेका बेला लाग्छ, जीवन त अब यत्तिकै सक्कियो। तर, मन भरेर खुसी हुने दिन पनि आउँछन् । यस्तै भयो ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक तथा प्रबन्ध निर्देशक श्रेया गिरीको जीवनमा पनि । उनी फोर्ब्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूची ‘३० अन्डर, ३० एसिया’ मा पर्न सफल भएकी छन् ।
पोखराबाट ४० वर्षअघि काठमाडौं झरेका व्यवसायी नेत्रराज गिरी र वित्तीय संस्थाकी निर्देशक गीता गिरीकी प्रथम सन्तान हुन्–श्रेया । उनका एक भाइ सुशान्त ब्याचलर पढ्दैछन् । जेम्स स्कुलको स्कुलिङले श्रेयालाईआत्मविश्वासी बनाएको थियो । त्यसपछि चेल्सी स्कुलको ए लेभलले उनमा थप साहस भरिदियो । अझ धेरै ठूलो संसार छिचोल्ने आशा राखेर उनी थप अध्ययनका लागि बेलायत पुगिन् । ‘विदेशमा पनि महिनावारी बार्नुपर्ने, कस्ता–कस्ता हृदयविदारक घटनाले म डिप्रेसनमा पुगेँ,’ मन उदास भएका ती दिन सम्झिँदै श्रेया भन्छिन्, ‘म अलि बढी नै संवेदनशील र भावुक स्वभावकी भएकीले होला, अर्काको दुःखले छोइहाल्छ । त्यहाँका कतिपय घटनाले मलाई त्यो अवस्थामा पुर्‍याए । त्यसैले पढाइ सकेपछि तुरुन्तै नेपाल फर्किइहालेँ ।’ नेपाल हुँदा उनी मध्यम स्तरकी विद्यार्थी थिइन् । उताको वातावरण, संगत, बदलिएको सोच र केही गर्नैपर्छ भन्ने प्रतिबद्धताले आफूले कलेज टप गरेको उनको भनाइ छ ।
लन्डनको मिडलसेक्स युनिभर्सिटीबाट ब्याचलर र लन्डन साउथ ब्याङ्कबाट मास्टर्स गरेपछि उनी नेपाल फर्किएकी हुन् । आफूले विदेशमा बिताएका नमीठा, अत्यासलाग्दा र बेसहारा पलहरूले उनलाई सबैका लागि खुसी बाँड्ने माध्यम बन्न प्रेरित गर्‍यो । फलस्वरूप नेपालमा सुरु गरिन्, ‘ह्याप्पी माइन्ड्स’, जसले मानसिक स्वास्थ्यमा काम गरिरहेको छ ।
उनीसँगै भेगन फुड प्रवर्द्धनमा लागिपरेकी काजल सेठिया पनि फोर्ब्स अन्डर–३० क्लास अफ २०२४ मै पर्न सफल भएकी छन् ।
 

श्रेयासँग संवाद
फोर्ब्स अन्डर–३० क्लास अफ २०२४ मा पर्दा कस्तो अनुभव भयो ?
असाध्यै उद्वेलित र कृतज्ञताको अनुभव भएको थियो ।
कुनै बेला एकान्तमा रातदिन रोएर बस्ने, डिप्रेसनले गाँजेको व्यक्ति, ह्याप्पी माइन्ड्सको स्थापनापछि अहिले कति खुसी हुनुहुन्छ र आजसम्म कतिलाई खुसी पार्न सफल हुनुभयो ?
ती दिनहरूसँग तुलना गर्दा आज निक्कै खुसी छु र धेरैलाई खुसी हुन मद्दत पनि गरिरहेकी छु । यी त समय, परिघटना र भोगाइले लिएर आउने कुरा हुन् । तर जस्तो परिस्थितिमा पनि खुसी हुन सक्नु जीवनलाई सार्थक बनाउनु हो ।
ह्याप्पी माइन्ड्सको अवधारणा कसरी आयो ?
आफू जटिल अवस्थामा हुँदा सहयोग माग्दा नपाएको ‘इगो हर्ट’ को परिणाम हो, ह्याप्पी माइन्ड्स । म त्यसै पनि भावुक एवं संवेदनशील स्वभावकी मान्छे । अरुलाई पर्दा मलाई आत्मादेखि दुख्छ । आफूलाई जे भयो अरुलाई नहोस् भन्नका लागि ह्याप्पी माइन्ड्स सुरु गरेँ ।
ह्याप्पी माइन्ड्स कस्तो संस्था हो ?
यो एउटा मेन्टल हेल्थ र वेलबिइङ प्लेटफर्म हो । हामीले दिगो विकासका १७ वटा लक्ष्यमध्ये ३, ४ र १७ मा काम गरिरहेका छौं । मानसिक स्वास्थ्यलाई डिजिटलसँग जोडेर अगाडि बढिरहेका छौं । कसैलाई मानसिक सहयोग चाहिएमा डाक्टर र थेरापिस्टसँग कनेक्ट गराइदिन्छौं । विविध ढंगले हामी मानसिक स्वास्थ्य सेवा र उपचारमा फ्रन्टलाइनर बनेर उभिने प्रयत्न गरिरहेका छौं ।

नेपालका महिलामा कस्ता खालका मानसिक समस्या रहेछन् ?
गर्भावस्था, विवाहेत्तर सम्बन्ध, समस्याग्रस्त वैवाहिक, मेनोपज, सम्बन्ध विच्छेदलगायतका कारण मानसिक समस्या भएका महिला बढी देखिएका छन् ।
तपाईंले विभिन्न अन्तर्वार्तामा पहिला पढ्न मनै नलाग्ने र लन्डन गएपछि टपर विद्यार्थीका रूपमा आफू उदाएको बताउनुभएको छ । त्यो दिक्कलाग्दो चरण पार गरेर कसरी अब्बल भइने रहेछ त जीवनमा ?
ट्रान्सफरमेसनका लागि सही र परिवर्तनशील वातावरणले पनि फरक पार्दोरहेछ । शिक्षक, साथी–सर्कल, ठाउँ, वातावरण परिवर्तन हुँदा पनि ठूलो प्रभाव पर्दोरहेछ । आफूमा आफैंले इन्भेस्ट गर्ने हो भन्ने सोचलाई बलियो बनाउन पर्दोरहेछ । कुन पहिरन लगाउँदा सुहाउँछ भने ट्रायल गरेजस्तै पढाइमा पनि ट्रायल र ट्राई गर्दै जानु पर्दोरहेछ ।
कसरी खुसी हुन सकिन्छ ?
हेर्नुस्, खुसी व्यक्तिमा भर पर्ने कुरा हो जस्तो लाग्छ । जस्तो कि मलाई पैसाभन्दा पनि बढी आफूले चाहेको र आँटेको काम स्वतन्त्र भएर खुल्ला रूपले गर्न पाउँदा खुसी मिल्छ । कसैलाई पद, प्रतिष्ठा, सम्मानले खुसी मिल्ला । खुसी भन्ने कुरा माइन्ड सेट र प्रस्पेक्टिभमा भर पर्छ ।
ह्याप्पी माइन्ड्सले नेपाल र नेपालीका लागि के–कस्तो सेवा र योगदान दिन सक्ला ?
तीन वर्षको दौरानमा अहिले संस्थाले पब्लिकका लागि ‘द प्रोजेक्ट ह्याप्पिनेस’ सुरु गरेको छ । यसभित्र माइन्डफुल पेरेन्टिङ, इमोसनल म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, साइबर बुलिङलगायतका विषय पर्छन् । अर्को कुरा माइग्रेन्ट वर्कर (वैदेशिक रोजगारमा गएकाहरू) का लागि मेन्टल हेल्थ केयर सपोर्टमा काम अगाडि बढाइरहेका छौं ।
नेपालमा मानसिक स्वास्थ्यका लागि गर्नुपर्ने के–कति र कस्ता काम बाँकी छन् ? यसमा कसले पहल गर्नुपर्ने हो ?
हामीकहाँ अझैसम्म पनि मानसिक स्वास्थ्यलाई सरल र सहज तरिकाले लिइएकै छैन । मनोविद्, मनोपरामर्शदातालाई नै यथेष्ट सहयोग छैन, जो यसका फ्रन्टलाइनर्स हुन् । उनीहरूलाई नै थेरापी चाहिन्छ । अर्को कुरा मानसिक स्वास्थ्य भन्नेबित्तिकै जेन्डर बायस्ड भइयो कि जस्तो पनि लग्छ । पुरुष पनि उत्तिकै प्रभावित छन् । सेक्सुअल हेल्थ र मेन्टल हेल्थ इन्टररिलेटेड हुनुपर्नेमा यहाँ त्यो छैन । महिला बढी भावुक हुने हुनाले व्यक्तित्व विकास र सम्बन्ध व्यवस्थापन कला सिकायो भने वैवाहिक सम्बन्ध टुट्ने क्रम घटेर जान्छ जस्तो लाग्छ समाजमा ।
तपाईंका नयाँ योजना भए सुनाइदिनुस् न ।
ह्याप्पी माइन्ड्सलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने ताकि संसारको जुनसुकै कुनाबाट पनि सेवा प्रदान गरेर सबैलाई खुसी राख्न सकियोस् । अर्को कुरा मानसिक स्वास्थ्यमा महिलाको भूमिकालाई स्वीकार गर्न सकियो भने दयाभावले पूर्ण समाज निर्माण हुने कुरा पनि जानकारी दिन चाहन्छु ।

श्रेयाबारे आमा गीता गिरी
श्रेया बाल्यावस्थादेखि नै अत्यन्त ज्ञानी हो । टिनएजमा हर्मोनल परिवर्तनका कारण उसको पढाइ कम हुन थाल्यो । जेम्समा पढ्दा ठीकै थियो, ए लेभल गएपछि अलि खस्कियो तर लन्डन गएपछि कलेज टपर भई, अब त छोरीले केही गर्छे भन्ने लागेको थियो । म त उही बेलादेखि छोरीलाई राम्रो पढाएर संयुक्त राष्ट्रसंघमा काम गरेको हेर्न चाहन्थेँ, नभन्दै ऊ अहिले यूएनसँग पनि काम गरिरहेकी छे । उसको आत्मविश्वास र कामप्रतिको प्रतिबद्धताले फोर्ब्सको अन्डर ३० मा पर्न सफल भएको हो भन्ने लाग्छ । विदेश पढेर पनि आफ्नै देश फर्किएर आफ्नै माटोमा सपना फैलाएको देख्दा गर्व लाग्छ । अब अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउँदै ख्याति कमाएको हेर्ने मन छ । छोरीले आफ्नो जन्मभूमिमा मानसिक समस्या पनि साधारण रुघाखोकी जस्तै हो, उपचार गर्नुपर्छ भन्ने सहज वातावरण बनाउन सकोस् भन्ने शुभकामना छ ।
पहिरन: एम्ब्यासडर डिजाइन्स, झम्सिखेल ।
मेकअप तथा हेयर: मञ्जु कार्की पाण्डे ।
लोकेसन: फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पा साँगा, भक्तपुर ।
तस्बिरहरू: महेशमान प्रधान ।

 Image