Successfully Copied

‘ऋण तिर्न नसक्नुमा ऋणको सहि सदुपयोग नहुनु हो ।’

नबिल बैंकले महिला उद्यमीहरूलाई लक्षित ‘नबिल नारी कर्जा’ प्रवाह गरेको छ । यो कर्जा लिनका लागि महिलाहरूको आफ्नो नाममा व्यवसाय दर्ता भएको हुनुपर्छ । यदि प्राइभेट कम्पनी भए ५१ प्रतिशत सेयर होल्डर महिलाको हुनुपर्छ ।

चाँदनी श्रेष्ठ, प्रमुख, रिटेल लेन्डिङ युनिट
नबिल बैंक

महिला उद्यमीहरूले ऋण लिने प्रक्रिया के छ ?

नबिल बैंकले महिला उद्यमीहरूलाई लक्षित ‘नबिल नारी कर्जा’ प्रवाह गरेको छ । यो कर्जा लिनका लागि महिलाहरूको आफ्नो नाममा व्यवसाय दर्ता भएको हुनुपर्छ । यदि प्राइभेट कम्पनी भए ५१ प्रतिशत सेयर होल्डर महिलाको हुनुपर्छ । यो कर्जा १८ वर्षदेखि ७० वर्षका महिलाहरूले लिन सक्नेछन् ।

कति समय र रकमको ऋण लिन सकिन्छ ?
नबिल नारी कर्जा दुईवटा मोडलमा प्रवाह हुन्छ । एउटा वार्षिक रूपमा लिन सकिन्छ। दैनिक सञ्चालनमा आउने खर्चहरूका लागि यो ऋण उपयुक्त छ । यसलाई ‘वर्किङ क्यापिटल रिक्वाएरमेन्ट’भनिन्छ । यो एक वर्षमा थप गर्दै ऋण लिन सकिन्छ । अर्को मोडल अर्को टर्म लोन हो जुन ७ देखि १० वर्षसम्मको समय हुन्छ । यो ऋण २० लाखदेखि १० करोडसम्म लिन सकिन्छ । अहिलेको कुरा गर्दा नबिल बैंकको बेस रेट ८.३६ रहेको छ त्यसमा दुई प्रतिशत प्रिमियम जोडिएको हुन्छ अहिले १०.३६ बेस रेट रहेको छ ।

ऋणका लागि धितो राख्ने व्यवस्था के छ ?
धितोका आधारमा ऋण प्रवाह गरिन्छ । ऋणीहरूको सम्पत्तिका आधारमै ऋण दिने गरिन्छ । बैंकहरूले ऋण प्रवाह गर्दा मार्केट मूल्यभन्दा कम ऋण प्रवाह हुन्छ । तर यहाँ सम्पत्तिको जति मार्केट मूल्य छ त्यति नै रकम महिला उद्यमीहरूलाई दिने गरेका छौं । सम्पत्तिको १०० रुपैयाँको मूल्यांकन छ भने ऋण पनि १०० रुपैयाँ लिन सकिने व्यवस्था छ ।

ऋण तिर्न नसके यसका प्रक्रियाहरू के–कस्ता छन् ? छूटको व्यवस्था छ कि छैन ?
बैंकले ऋण प्रवाह गरेपछि प्रत्येक तीन महिनामा अनुगमन गर्ने गरेको छ । ऋणको सही सदुपयोग होस् भनेर ऋणीहरूलाई उचित सल्लाह–सुझाव पनि दिन्छौं । तर कहिलेकाहीँ ऋणीले ऋण तिर्न नसक्ने अवस्था पनि आउँछ । यस्तो अवस्थामा नेपाल राष्ट्रको नियमानुसार ऋणलाई पुनतालिकीकरण र पुनः संरचना गर्न सकिन्छ । ऋणलाई अर्को चरणमा पनि लगेर जान सकिन्छ । ऋणीलाई १० प्रतिशतसम्म तिरेर बाँकी ९० प्रतिशतलाई पुनतालिकीकरण पनि गर्न सकिने व्यवस्था छ ।

ऋण तिर्न नसक्ने अवस्था कसरी आउँछ ?
ऋण तिर्न नसक्नुमा ऋणको सहि सदुपयोग नहुनु हो  । एउटा शीर्षकमा ऋण लिएर त्यो ऋण अर्को प्रयोजनमा खर्च भएका अवस्था पनि थुप्रै छन् । यसले उद्यमीले आफ्नो योजनानुसार काम गर्न सक्दैन र ऋणको समस्या बढ्दै जान्छ । जसले गर्दा तिर्न नसक्ने अवस्था आउँछ । ` 

महिलाहरूलाई उद्यमी बनाउन बैंकका के–कस्ता कार्यक्रमहरू छन् ?
पछिल्लो समय महिला उद्यमीहरूको संख्या बढ्दै गएको छ । महिला उद्यमीहरू उत्पादन क्षेत्रमा भन्दा पनि सामान आयात गर्ने र बिक्री गर्नेहरूको संख्या बढी छ । महिलाहरूलाई पनि उत्पादन क्षेत्रमा अग्रसर बनाउने उद्देश्य बैंकको छ । नयाँ आइडियाका साथ काम गर्ने सोच र उत्साह महिलाहरूमा देखिन्छ । उहाँहरूको सोचलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भनेर बैंकले आवश्यक जानकारी प्रदान गर्ने गरेको छ । महिला उद्यमीहरूलाई कागजहरू बनाउनेदेखि बैंकले व्यवसायका लागि बैंकिङ फिगरदेखि आइडियालाई पेपरमा प्रस्तुत गर्न सहयोग गर्ने गरेको छ । यसले गर्दा उद्यमीहरूलाई अन्योल हटाउन सहयोग गरिरहेको छ ।

 Image