Successfully Copied

‘दक्षिण एसियाली मानिसको विशेषता नै बचत गर्ने बानी हो’

सृष्टि शाह (नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एस क्यापिटल)



सृष्टि शाह नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको एनआईएमबी क्यापिटलको लगानी व्यवस्थापन उपप्रमुख हुन् । फाइनान्समा एमबीए गरेकी सृष्टि वित्तीय शोध व्यवसाय प्रवर्द्धन विभागकी प्रमुख पनि भइन् । हाल पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पीएमएस) विभाग प्रमुख रहेकी उनीसँग गरिएको कुराकानी ।

एनआइएमबी एस क्यापिटलको मुख्य काम के हो ?
यसको मूल काम लगानी व्यवस्थापन हो । मुख्यतः पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस, सामूहिक लगानी कोष व्यवस्थापन, प्राइभेट इक्विडिटी फन्ड व्यवस्थापनलगायतका सेवा पर्छन् । नेपालमा पुँजी बजारको २५ वर्षभन्दा लामो इतिहास छ । हामीले स्थापनाकाल अर्थात् १२ वर्षदेखि लगानी व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेका छौं । चार वर्षदेखि हामी पोर्टफोलियोमा बजारको नं. १ सेवा प्रदायक छौं । १८ सयभन्दा बढी ग्राहकको व्यक्तिगत ६ अर्ब सम्पत्ति व्यवस्थापन गरिरहेका छौं । त्यसैगरी सामूहिक लगानी कोषमा नेपालको पहिलो खुलामुखी योजना ‘एनआइबिएल सहभागिता फन्ड’ ल्याउन सफल संस्थाका रूपमा हामी चिनिन्छौं । चार लाखभन्दा बढी साना लगानीकर्ताको रु. ११ अर्बभन्दा बढी सम्पत्ति व्यवस्थापन गरी ५ वटा म्युचुअल फन्ड योजना व्यवस्थापन गरी बजारको अग्र तथा अब्बल क्यापिटलका रूपमा हामी चिनिन्छौं । नेपालको लगानी बजारमा अहिले प्राइभेट इक्विटीको नाम धेरै चलेको छ । त्यसलाई आत्मसात् गर्दै हामीले १० अर्बको एनआइबिएल इक्विटी पार्टनर नामको प्राइभेट इक्विटी फन्ड ल्याएका छौं । निष्काशन तथा बिक्री प्रबन्धक (आइपिओ), परामर्श सेवा (कर्पोरेट एडभाइजरी), निक्षेपकर्ता (डिपी) तथा सेयर रजिष्ट्रारको पनि सेवा रहेको छ ।
बचत, लगानी गर्ने तथा सोको सेवा लिन नेपाली कत्तिको जागरुक देखिन्छन् ?
दक्षिण एसियाका मानिसको प्रमुख विशेषता नै बचत गर्ने बानी हो । बचत गरेको पैसाले मुख्यतया घरजग्गामा लगानी गर्ने चलन छ । नेपालमा २५ वर्षको पुँजी बजारको इतिहासमा २०१६ सालबाट डिम्याटद्वारा सेयर खरिद–बिक्रीको सुरुवात भएसँगै यसमा मानिसको पहुँच बढ्यो । २०२० को कोभिड नेपालका क्यापिटल मार्केटलाई वरदान साबित भएको छ । १२ लाख डिम्याट खाता बढेर ६० लाख माथि रहेको तथ्याङ्क छ । देशको २० प्रतिशतभन्दा बढी जनसंख्याको डिम्याट खाता छ । जुन हाम्रो छिमेकी राष्ट्र भारतमा जम्मा १० देखि १२ प्रतिशत रहेको छ । यसलाई पुँजी बजारको पहुँचका रूपमा लिन सकिन्छ ।
महिला भएकै कारण लगानी व्यवस्थापन, ग्राहक व्यवस्थापन तथा मानव व्यवस्थापनमा कुनै चुनौती सामना गर्नुभएको छ ?
अहिलेको समाजमा नारी–पुरुष बराबर हुन् । चुनौतीलाई कसरी सामना गर्ने भन्ने व्यक्तिमा भर पर्ने कुरा हो । अब्बल टिम अनि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक जस्तो ३३ वर्षको लामो इतिहास बोकेको संस्थामा आबद्ध हुँदा त्यसको कहिल्यै चुनौती भएन ।
लगानी तथा लगानी व्यवस्थापनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
क्यापिटल मार्केटमा काम गर्ने हुँदा प्राथमिकतामा लगानी तथा सोको व्यवस्थापन भन्नाले आफ्नो पुँजीलाई सेयर बजार तथा बैंक निक्षेपमा लगानी भन्ने बुझिन्छ । तर अहिलेको आधुनिक समयमा लगानी भन्नाले आफूसँग भएको सम्पत्ति तथा आयलाई घरखर्च, भैपरी आउने खर्चको व्यवस्थापन, भविष्यमा बालबच्चा तथा परिवार पालन, अवकाशपछि तथा भावी पुस्ताका लागि लगानी भन्ने बुझिन्छ । एनआईएमबी एस क्यापिटलमा मैले लगानी व्यवस्थापन गरेपछि लगानीको परिभाषा सेयरमा मात्र लगानी गर्ने नभई सम्पत्ति व्यवस्थापन भन्ने प्रचार तथा सोहीअनुरूप कार्य गरिरहेका छौं । साथै हाल क्यापिटल मार्केटमा अरूले पनि हाम्रो सो परिभाषाको पालना गरेको पाइएको छ ।
नेपालमा यसप्रतिको आकर्षण कस्तो छ ?
नेपालमा पुँजी बजारको विस्तार र विकास प्रारम्भिक अवस्थामा रहेका कारण क्यापिटल मार्केट्सप्रतिको आम लगानीकर्ता र सेवा प्रवेश गर्ने नवप्रवेशीको आकर्षण उत्साहजनक देखिन्छ । मानिसले जसले दिनभर कार्यालयमा पूरा समय दिएर १०–४ काम गर्न सक्दैन उसले घरमै बसेर अनलाइन टिएमएस चलाएर घर खर्च चलाउन सक्छ भने कतिपय कर्मचारी साथीहरूले सेवा निवृत्त जीवनमा समेत जीविका चलाउने माध्यम बन्छ । उमेर, स्थानमा कुनै हद नभएको र पछिल्लो समयमा सानो उमेरका तथा अवकाश प्राप्त व्यक्तिहरूको यसमा अझै आकर्षण रहेको छ । मुख्य आकर्षण नै सहज रूपमा खरिद, बिक्री रहेको र मूल्य पारदर्शी रहेको छ ।
लामो समय यहाँ बस्नुभयो, भविष्य कस्तो देख्नुहुन्छ तथा भविष्यमा के–कस्ता योजना छन् ?
नेपालको आधुनिक क्यापिटल मार्केटको सुरुदेखि नै अब्बल भएर कागजदेखि अनलाइन मोबाइलसम्मको यात्राको अनुभव पाएँ । यसको भविष्य भरखर सुरुवात मात्रै भएको छ । बजारको अन्य उपकरण जस्तै डेरिभेटिभ्सको सुरुवात अझै भएको छैन । लिने धेरै कुरा छन्, समय र परिस्थितिले कति लिन सकिन्छ भन्ने हो । वित्तीय क्षेत्रमा रुचि भएकाले मैले मेरो भविष्य यसमै देखेकी छु ।

 Image