Successfully Copied

सेयरमा महिला आकर्षण

थोरै पुँजी लगानी गरेर नाफा कमाउन सकिने भएकाले पनि यो बजार महिलाका लागि राम्रो प्लेटफर्म बन्न पुगेको छ ।

ललितपुर चाँगाथलीकी इन्दिरा सुवेदीले १० वर्षअघि दिनभरि लाइनमा बसी सेयर भर्थिन् । सेयर के हो ? यसले के फाइदा हुन्छ भन्नेबारे उनलाई थाहै थिएन । श्रीमान्ले गरेको र भनेकै भरमा उनी यता ढल्केकी हुन् । उनले हाइड्रो, लद्युवित्त फाइनान्सलगायतका कम्पनीको प्राथमिक बजारमा लगानी गरेकी छन् । पहिलो पटक भरेको ‘रुरु हाइड्रो’ को २० कित्ता सेयरको लगानी हाल १०० कित्ता माथि उक्लेको छ । यो उक्लाइले उनलाई पाँच गुना फाइदा भएको छ । एक गृहिणी मात्र रहेकी इन्दिरा प्राथमिक बजारमा स–साना रकम लगानी गर्दा फाइदा हुने कुरा बुझेपछि उनले छोराछोरीको तर्फबाट समेत लगानी गर्न थालिन् । हाल सेयरमा उनको परिवारका ४ जनाको लगानी छ । पछिल्लो समय उनी अनलाइनमार्फत कारोबार गर्छिन् । यसले उनलाई धेरै सहज बनाइएको छ । सानो रकम लगानी गरी‘आइपीओ’ भर्ने उनी दोस्रो बजारमा भने प्रवेश गरेकी छैनन् ।
सात महिनाअघि नेपाल इन्फ्रास्टक्चर बैंकले सबैभन्दा ठूलो ‘आइपीओ’ निष्काशन गर्‍यो । उक्त बैंकले ‘आइपीओ’ भर्न आह्वान गरेसँगै कीर्तिपुरकी नम्रता शर्मालाई बहिनीले फोन गरिन् । भनिन्, ‘दिदी सेयर भर्नू है, फाइदा हुन्छ रे ।’ बहिनीले आइपीओका लागि भनेपछि उनी एकछिन अलमलिइन् । सेयर के हो ? कहाँ भर्ने ? यसको बजार कस्तो हुन्छ ? उनलाई केही जानकारी थिएन । तर, उनले यसबारे सोधीखोजी गरिन् । तत्काल बैंकमा डिम्याट खाता खोलिन्, अनलाइनमार्फत ‘मेरो सेयर एकाउन्ट’ पनि सँगसँगै खोलिन् । बैंकको ५० किस्ताका लागि सुरुमा उनले पाँच हजार लगानी गरिन् । हाल उनको उक्त लगानी करिब ३० हजार पुगेको छ । बहिनीले भनेजस्तो सेयरमा फाइदा हुने उनले बुझेकी छन् । उनी भन्छिन्, ‘सेयरमा सानो पुँजी लगानी गर्दा फाइदा हुने रहेछ ।’
नेपाल इन्फ्रास्ट्रक्चरले उनलाई सेयर बजारमा प्रवेश गरायो । पछिल्लो समय उनी नियमित रूपमा आइपीओ भरिरहेकी छन् । पेसाले शिक्षिका उनी प्राथमिक बजारमा आइपीओमा भर्ने गरे पनि दोस्रो बजारमा उनी प्रवेश गर्ने तयारीमा छन् । दोस्रो बजारमा अध्ययन गरेर मात्रै प्रवेश गर्ने उनको सोच छ । उनी भन्छिन्, ‘दोस्रो बजारमा लगानी गर्न बुझेर मात्रै प्रवेश गर्ने योजनामा छु ।’
पछिल्लो समय गृहिणीदेखि कामकाजी महिलाहरू सेयर बजारप्रति आकर्षित हुन थालेका छन् । नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीले सेयर बजार महिलाका लागि राम्रो प्लेटफर्म रहेको बताइन् । सानो पुँजी लगानी गर्न सकिने भएकाले पनि गृहिणीदेखि कामकामी महिला पुँजी बजारमा आकर्षित हुँदै गएको उनको भनाइ छ । ‘पुँजी बजारमा अनलाइन कारोबार गर्ने सुविधा भएकाले पनि सेयर बजारमा महिला आकर्षण बढेको हो’ उनले भनिन्, ‘पछिल्लो समय सेयर कारोबार अनलाइनमार्फत सहज हुँदै गएकाले पनि सेयरमा महिलाको लगानी बढ्दै गइरहेको छ ।’ महिलाहरूलाई पुँजी बजारमा सहभागी गराउन बैंकहरूले पनि सहज बनाएको उनको भनाइ छ । उनका अनुसार बैंकहरूले महिलाहरूलाई लक्षित गर्दै खाता सञ्चालनमा ल्याएकाले महिलाहरू बैंकसँगै पुँजी बजारमा प्रवेश गरेका छन् ।
नेपाल इन्भेस्टमेन्ट फोरमकी महासचिव दुर्गा तिवारी १५ वर्षअघि सेयर बजारमा प्रवेश गर्दा सीमित संख्यामा मात्र महिलाहरू भेटिन्थे । त्यसमा पनि नियमित कारोबार नगर्ने भएकाले महिलाहरू बजारमा देखिने/हराउने क्रम चलिरहन्थ्यो । उनले भनिन्, ‘बजार बुल मार्केटबाट बियर मार्केटमा पुग्दा निष्क्रिय लगानीकर्ताहरूमा महिला नै बढी हुने क्रम चल्छ ।’ परिवर्तित समयसँगै आर्थिक रूपमा महिलाहरू सबल हुने क्रम बढ्दै जाँदा पुँजी बजारमा महिलाको संख्या बढ्दै गएको दुर्गाले बताइन् । पुँजी बजारलाई नै आधार बनाएर महिलाहरू पूरा समय दिई आम्दानी गरिरहेका छन् । उनका अनुसार महिलाले यो क्षेत्रलाई रोजगारीको क्षेत्र बनाउन सक्ने आधार रहेको छ । आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, म आफै पनि पूरा समय यही क्षेत्रमा लागेकी छु, यसबाट राम्रो आम्दानी गरेकी छु ।’
पछिल्लो समय डिम्याट खाता खोल्ने महिलाको संख्या १७ लाखभन्दा बढी पुगेको छ । पुरुषको तुलनामा महिलाहरूको संख्या केही कम नै छ । ‘सिडिएस एन्ड क्लियरिङ’का अनुसार हालसम्म डिम्याट खाता खोल्ने पुरुषको संख्या २३ लाख ८६ हजार ४ सय ७३ छ । महिलाहरूको संख्या १७ लाख ३९ हजार ८ सय १३ रहेको छ । सबैभन्दा बढी काठमाडौंमा ४ लाख ५३ हजार र सबैभन्दा कम मुगुका महिला रहेका छन् । मुगुमा खाता खोल्ने महिलाको संख्या ४ सय ३१ रहेको छ । डिम्याट खाता खोल्ने महिलाको संख्या काठमाडौंसँगै ललितपुर, भक्तपुर, नवलपरासी एवं चितवन अग्रपंक्तिमा छन् । संख्याको आधारमा मुगुसँगै डोल्पा, मनाङ एवं मुस्ताङ कम रहेका छन् । त्यस्तै, नेप्सेका अनुसार दोस्रो बजारमा कारोबार गर्ने महिलाहरूको संख्या ३ लाख ६७ हजार ४ सय ४४ रहेको छ ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पुँजी बजारमा महिलाहरूलाई अग्रसर गराउने र जनचेतना वृद्धि गर्ने कार्यमा अग्रसर छिन् । उनी संस्थामार्फत विभिन्न स्थानमा पुगी महिलाहरूलाई जनचेतना फैलाउँछिन् । महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन सके परिवारदेखि देशको आर्थिक अवस्थामा पनि सुधार आउन सक्ने उनको भनाइ छ । ‘साथै महिलाहरूलाई पुँजी बजारमा प्रवेश गराउँदा करको छुटको व्यवस्थासहित प्रोत्साहन गर्नुपर्छ’ उनले भनिन् ।
पुँजी बजारमा सानो रकम लगानी गर्न महिलाहरूका लागि सहज भए पनि यो बजारमा जोखिम पनि उत्तिकै रहेको सेयर रिपोर्टर सुवास निरौलाको भनाइ छ । उनका अनुसार धेरैको धारणा सेयरबाट सजिलै पैसा कमाउन सकिने भन्ने छ तर पुँजी बजारमा लगानी गर्दा धेरै विषयमा जानकार हुनुपर्छ । ‘सेयरमा लगानी गर्नुअघि कम्पनीबारे सचेत हुनुपर्छ’ उनले भने, ‘लगानी गर्दा कुन कम्पनीमा लगानी गर्दैछु र कति समय राख्ने त्यसबारे जानकारी राख्नुपर्छ । लगानी लामो समयका लागि राख्ने हो भने कम्पनीको ब्यालेन्ससिट हेर्न पनि आवश्यक पर्छ । त्यससँगै मार्केट ट्रेन्डलाई पनि विचार गर्नुपर्छ ।’ सेयर लगानी गर्न हल्लाको पछाडि नलाग्न उनी सुझाव दिन्छन् । उनले भने, ‘सेयरमा हल्लाको पछाडि लाग्नुभन्दा पनि आफैले अध्ययन र अनुसन्धान गर्नुपर्छ ।’

‘महिलाका लागि राम्रो प्लेटफर्म’


संरक्षणा चौधरी
अध्यक्ष, नेपाल पुँजीबजार संघ
पछिल्लो समय पुँजी बजारमा महिलाहरूको उपस्थिति राम्रो छ । कामकाजी महिला, गृहिणीदेखि युवा एवं विद्यार्थी सबैको सेयरमा आकर्षण बढ्दै गएको छ । थोरै पुँजी लगानी गरेर नाफा कमाउन सकिने भएकाले पनि यो बजार महिलाका लागि राम्रो प्लेटफर्म बन्न पुगेको छ । महिलाले सानो पुँजी कसैसँग माग्न नपरी आफ्नै बचतबाट लगानी गर्न सक्ने सुविधा यो पुँजी बजारमा छ । पछिल्लो समय प्रविधिको विकासले घरमै बसेर अनलाइनमार्फत सेयर कारोबार गर्ने सुविधा छ । थोरै लगानी र फुर्सदको समयमा महिलाहरू पुँजी बजारमा कारोबार गर्न सक्ने भएका छन् । यसले गृहिणीदेखि अन्य महिलाहरू आर्थिक रूपमा सक्षम हुन थालेका छन् । पुँजी बजारमा लगानी गरी नाफा कमाउन सोचेजस्तै सजिलो पक्कै हुदैन । प्राथमिक बजारमा सानो पुँजी लगानी गरेर नाफा कमाउन सहज भए पनि दोस्रो बजारमा लगानी गर्दा जोखिम रहन्छ । दोस्रो बजारमा प्रवेश गर्ने क्रममा भने लगानीकर्ता स्वयंले अध्ययन र अनुसन्धान गर्न आवश्यक हुन्छ ।

करमा छुट दिनुपर्छ

राधा पोखरेल
अध्यक्ष, नेपाल पुँजी बजार लगानीकर्ता संघ
पुँजी बजारमा महिलाको संख्या बढ्दै जानु राम्रो कुरा हो । यसले बजारमा महिलाको लगानी चासो बढ्दै गएको बुझिन्छ । संख्याकै आधारमा मात्रै महिलालार्इं सेयरप्रति जानकार छन् भन्न सकिने अवस्था भने छैन । उनीहरूमा सेयरसम्बन्धी जनचेतना अझै आवश्यक छ । सहरदेखि गाउँसम्म हामीले जनचेतना फैलाउँदै आएका छौं । यस क्रममा महिलामा धेरै जिज्ञासा रहेको पाइयो । महिलामा जनचेतना फैलाउन र सेयर बजारमा प्रोत्साहन गर्न करमा छुट दिनुपर्छ । जसरी घरजग्गा, कर्जालगायतका क्षेत्रमा महिलाका लागि छुट हुँदै आएको छ । त्यसैगरी सेयर कारोबार गर्दा पनि करमा छुट दिनुपर्छ । यसले गर्दा महिलालाई सेयर कारोबारमा अझ बढी प्रोत्साहन र हौसला मिल्नेछ । यसका लागि नियामक संस्था नै अग्रसर हुनुपर्छ ।

 Image