विश्वकै पहिलो कृषि गेम रियालिटी शो रिभुलुस्नरी एग्रीकल्चर वार (रअ) को पहिलो सिजनको नतिजा घोषणा गरिएको छ ।
किसानतर्फ लक्ष्मण केसी तथा कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता घोषित भएका छन् । राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित भव्य ग्राण्ड फिनालेमार्फत वृक्षारोपणमा आधारित भोटिङ प्रणालीबाट प्राप्त अंकका आधारमा कृषि प्राविधिक सुमन बिमली रअ क्लाइमेट अवार्डका विजेता बने । महानायक राजेश हमाल महाहोस्ट रहेको यस रियालिटी शो करिब सात वर्षको अध्ययन, अनुसन्धान तथा तयारीपछि सञ्चालनमा आएको विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो हो । कृषि, उद्यमशीलता तथा जलवायु परिवर्तनका चुनौतीलाई केन्द्रमा राखेर निर्माण गरिएको यस कार्यक्रमले कृषिलाई सम्मानित पेशा र किसानलाई समाजका अग्रणी व्यक्तित्वका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कार्यक्रममा देशका ७७ वटै जिल्लाबाट करिब १,६०० किसान तथा कृषि प्राविधिकको आवेदन परेको थियो। विभिन्न चरणका प्रतिस्पर्धापछि उत्कृष्ट प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेसम्म पुगेका थिए ।
शैलेश कडेल क्षेत्रीको परिकल्पना तथा निर्देशनमा सञ्चालन भएको रअ ले प्रतियोगितासँगै सामाजिक रूपान्तरणका विभिन्न अभियानसमेत सञ्चालन गरेको जनाएको छ । विद्यालय जागरण अभियानमार्फत विद्यार्थीहरूलाई कृषिको सम्भावना र अवसरबारे प्रेरित गरिएको, नेतृत्व अभियानमार्फत कृषि विषयलाई नीति निर्माण तहसम्म पुर्याउने प्रयास गरिएको तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा २७ भन्दा बढी देशका प्रतिनिधिसमक्ष नेपालको कृषि र किसानको आवाज प्रस्तुत गरिएको कार्यक्रमका क्रममा जानकारी दिइयो ।
त्यसैगरी, प्रतिस्पर्धीमार्फत सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरक्रिया गर्दै कृषि सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको थियो । रअ ले इतिहासमै पहिलो पटक वृक्षारोपणमा आधारित भोटिङ प्रणाली लागू गर्दै मतदानलाई वातावरण संरक्षणसँग जोड्ने नयाँ अभ्यासको सुरुवात गरेको जनाएको छ । यस अभियानअन्तर्गत करिब २ लाख ७० हजारभन्दा बढी बिरुवा रोपिएको आयोजकको दावी छ।
रअ ले कृषि क्षेत्रलाई नयाँ ढंगले प्रस्तुत गर्दै सम्भावित विश्व कीर्तिमानी उपलब्धि हासिल गरेको छ । कार्यक्रमले प्रतिस्पर्धीलाई केवल विजेताका रूपमा नभई कृषि परिवर्तनका अभियन्ताका रूपमा स्थापित गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
विजेता किसान तथा कृषि प्राविधिक दुवैले १३ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । साथै, किसानतर्फका विजेता लक्ष्मण केसी मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका ब्रान्ड एम्बेसडर समेत बन्ने भएका छन् ।
पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएसँगै रअ ले नेपालको कृषि, किसान, उद्यमशीलता तथा जलवायु सचेतनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास व्यक्त गरेको छ ।
रिभुलुस्नरी एग्रीकल्चर वार (रअ) को निर्णायक मण्डलमा डा. नम्रता पाण्डे, उदित प्रकाश सिग्देल, त्रि.वि. का कृषिविज्ञ डा. महेश जैसी, पुर्व कृषि सचिव लगायतका रहेका थिए ।