Successfully Copied

कन्टेन्ट क्रियटर अनुपमा

चार्टड एकाउन्टेन्ट अनुपमा संग्रौला डिजिटल माध्यममार्फत वित्तीयदेखि कानुनी साक्षरता दिइरहेकी छन् ।


चार्टड एकाउन्टेन्ट अनुपमा संग्रौला डिजिटल माध्यममार्फत वित्तीयदेखि कानुनी साक्षरता दिइरहेकी छन् । उनले सेयर मार्केट, करको सूचनादेखि कानुनको ज्ञान सोसल मिडियामा बाँडिरहेकी छन् । उनलाई यो आइडिया भारतीय कन्टेन्ट क्रियटरबाट फुरेको हो । उनले कन्टेन्ट क्रियटरदेखि युट्युबमा थुप्रै भिडियो हेर्थिन् । उनले भनिन्, ‘सामाजिक सञ्जालमार्फत बाँडेको ज्ञान मलाई राम्रो लाग्यो । त्यसैले मैले पनि यो काम सुरु गरें ।’ उनी टिकटकबाट नै उदाइन् । जीवनमा आवश्यक पर्ने कुरा भिडियोमार्फत पोस्ट गर्थिन् । त्यसबाट राम्रो प्रतिक्रिया आउँथ्यो र थप भिडियो पोस्ट गर्न आग्रह गर्थे । उनले भनिन्, ‘विद्यालयदेखि पढ्दै आएका थुप्रै कुरालाई व्यावहारिक रूपमा हामीले उतार्न सकेका छैनौं ।’ अनुपमाको मुख्य उद्देश्य नै सही सूचना प्रदान गर्नु हो । उनी कन्टेन्ट बनाउनुपूर्व थुप्रै पटक अध्ययन गरेकी हुन्छिन् र परिमार्जन भएका कानुनहरूबारे अपडेट भइरहिन्छन् ।

उनका श्रीमान्ले यसमा सहयोग गर्छन् । हप्तामा उनले तीन वटा भिडियो पोस्ट गर्छिन् । विषयवस्तुको छनोटदेखि भिडियो इडिटिङमा श्रीमान्को सहयोग हुन्छ । भ्युअरले कस्तो कन्टेन्ट रुचाउँछन् त ? भन्ने विषयमा उनी भन्छिन्, ‘भ्युअरहरू दुई प्रकारका हुन्छन् । एकथरी मनोरञ्जन रुचाउने हुन्छन् भने अर्काथरी केही नयाँ कुरा सिकौं भन्ने सोचका । उनको भिडियोले धेरैलाई प्रभाव पारेको छ ।’ टिकटक बन्द भएपछि उनी इन्स्टाग्राम र फेसबुकमार्फत जानकारी दिइरहेकी छन् । भ्युअरलाई कन्टेन्ट राम्रो भयो भने त्यसको भ्युज पनि राम्रो जाने उनी बताउँछिन् । उनी अहिले विभिन्न ब्रान्डसँग सहकार्य गरेर अगाडि बढिरहेकी छन् । यसले उनलाई आम्दानी पनि भइरहेको छ । तर पनि उनी आफूलाई हानि हुने कुनै कुराको प्रचार गर्दिनन् । उनी भन्छिन्, ‘जुन कुरा म प्रयोग गर्दिन वा खाँदिन त्यो कुरा अरुलाई प्रयोग गर वा खाऊ भन्न सक्दिन । मेरो उद्देश्य भनेकै सकारात्मक सूचना प्रदान गर्नु हो ।’ कन्टेन्ट क्रियटरका रूपमा आफूलाई अगाडि बढाइरहँदा उनलाई जिम्मेवारी थपिएको महसुस भएको छ । बाहिर निस्कँदा पनि समाजमा पहिचान बनेको छ । उनले भनिन्, ‘अहिले धेरै जनाले चिन्छन् । त्यसैले थप उत्तरदायित्व महसुस भएको छ ।’

तस्बिर : महेशमान प्रधान

 Image