रमेशकुमार पौडेल
नेपालमा गोहीका दुई प्रजाति छन्–घडियाल र मगर । सफा बगेको पानीमा बस्ने, माछा मात्रै खाने घडियाल गोही भने संकटमा छ । प्राकृतिक बासस्थलमा बाँच्ने दर निकै कम चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा २०३५ सालमा घडियाल गोही प्रजनन् केन्द्र खुल्यो । ४६ वर्ष पुरानो केन्द्रकी प्रमुख छिन्, २८ वर्षकी सुजिता श्रेष्ठ । निकुञ्जमा हाल दुईजना महिला संरक्षण अधिकृत कार्यरत छन् । त्यसमध्ये एक हुन्, सुजिता । लोकसेवा परीक्षा उत्तीर्ण भएपछि २०७८ माघ १८ मा उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षण अधिकृतको जिम्मेवारी प्राप्त भयो । त्यसपछि उनी कार्यक्षेत्र डोल्पा गइन्, सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृत भएर । दुई वर्ष बिताएपछि उनको सरुवा चितवन निकुञ्जमा भयो । २०८० कात्तिक १९ देखि उनी घडियाल प्रजनन् केन्द्रको जिम्मेवारी सम्हालिरहेकी छन् ।२०६८ सालमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण भएकी सुजिताले कक्षा ११ र १२ मा विज्ञान लिएर पढिन् । एसएलसीमा राम्रो अंक ल्याएर विज्ञान पढेका विद्यार्थीको रोजाइ हुन्छ–स्नातकमा नर्सिङ, मेडिसिन वा इन्जिनियरिङ पढ्ने । तर सुजिताको मनमा यी विषय थिएनन् ।
‘कक्षा १२ पास हुँदा पनि मेरो नम्बर ७६ प्रतिशत थियो, यो राम्रो नम्बर हो,’ सुजिताले सुनाइन् । आमा चाहन्थिन्–छोरीले नर्सिङ पढोस् । ‘साइन्स लिएर पढेको, ब्याचलरमा पनि साइन्स नै पढ्छु भन्ने थियो । घरबाट नजिकै रामपुरमा एएफयू (कृषि तथा वन विज्ञान विश्वविद्यालय) थियो । त्यहीँ एजी (कृषि), भेटेरीनरी (पशुविज्ञान) या फरेस्ट्री (वन) पढ्छु भन्ने सोच मैले बनाएकी थिएँ, पछि फरेस्ट्रीमा नाम निस्कियो,’ सुजिताले भनिन् । त्यसपछि उनी क्याम्पस पढ्न हेटौंडा गइन् । २०७६ मा स्नातक (बिएससी, फरेस्ट्री) र २०७९ मा स्नातकोत्तर तह (एमएससी, फरेस्ट्री) पूरा गरिन् ।
स्नातक सकेलगत्तै रेञ्जर भएर कालिकोटको डिभिजन वन कार्यालय पुगिन् । कर्णाली प्रदेश सरकारले करार सेवामा कर्मचारी मागेको थियो, जसका कारण सुजितालाई यो अवसर प्राप्त भयो । कालिकोटमै बसेर उनले लोकसेवाको पनि तयारी सुरु गरिन् । परीक्षामा सफल भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षण अधिकृत बनेर डोल्पा पुग्दा सुरुसुरुमा उनलाई देखेर मान्छेहरू छक्क पर्थे । ‘मैले त्यहाँ मध्यवर्ती हेर्थें । स्थानीयहरू आएर मध्यवर्तीको सर खोई भन्थे । म नै हो भन्दा अनौठो पनि मान्थे,’ सुजिताले भनिन् ।डोल्पामा पनि फिल्डमा जानुपर्थ्यो । पैदलबाहेक अरु केही साधन थिएन । हिमाली जिल्ला डोल्पाको सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको सेफोक्सुन्डो तालका लागि प्रख्यात छ । सुजिता जब यो तालको नजिक पुग्थिन् आफू संसारको अनुपम ठाउँमा आए झैं मान्थिन् ।
चितवन सरुवा हुँदा घरपायक भए पनि अफिस छाड्न पाइँदैन । भरतपुरबाट २० किलोमिटर पर छ, उनको कार्यालय । तर घडियालको रेखदेख गर्नेलाई घरभन्दा बढी चिन्ता घडियालकै हुन्छ । चितवन निकुञ्ज मुख्यालय आडमा रहेको प्रजनन् केन्द्र छाडेर पर जाने भनेको पनि उही घडियालकै लागि हो । बेलाबेला घडियालको अनुमगनमा निस्कनुपर्छ । खोलामा बिछ्याइएका माछा मार्नेको जालमा परेका घडियाल भेटिन्छन् । तिनको उद्धार र सम्भव भएसम्म उपचार गर्नुपर्छ । त्यसबाहेक घडियालको संख्या र अवस्था के छ भनेर राप्ती खोला, यसका सहायक खोला र नारायणी नदीमा पनि अनुगमनमा पनि जानुपर्छ । ‘राप्तीमा मकवानपुरदेखि घडियाल अनुगमन सुरु गरेर नारायणीमा त्रिवेणीसम्म पुग्नुपर्छ । राप्तीमा सात दिन र नारायणीमा सात दिनसम्म अनुमगन हुन्छ,’ उनले भनिन् । त्यसपछि घडियालले अण्डा पार्ने समय चैततिर बालुवामा गोहीको गुँड खोज्दै हिँड्नुपर्छ । खोला आडको बालुवामा बनाइएका गुँडका अन्डा ल्याएर प्रजनन् केन्द्रमा बच्चा कोरलेपछि तिनको राम्रो रेखदेख र स्याहार गर्नुपर्छ । त्यहाँका बच्चा १५० सेन्टीमिटरका भएपछि प्राकृतिक बासस्थलमा लगेर छाड्ने गरिन्छ । अण्डाबाट बच्चा निस्केको पाँच वर्षपछि लम्बाइ यत्तिको हुन्छ । यसरी हुर्केका बच्चा नदीमा छाडे पनि घडियाल फस्टाउन सकेका छैनन् । चितवनमा सबैभन्दा धेरै घडियाल गोही राप्ती नदीमा छन् । निकुञ्जबाट प्राप्त विवरणअनुसार राप्तीमा १५२ र नारायणी नदीमा ११३ गरी चितवनका खोला र नदीमा कुल २६५ वटा घडियाल छन् । निकुञ्जबाट प्राप्त विवरणअनुसार राप्ती नदीमा मात्रै प्रजनन् केन्द्रमा हुर्केका एक हजार १६२ घडियाल छाडिएको छ । यति धेरै छाडे पनि जम्मा गोही १५२ छन् । यसबाटै देखिन्छ, घडियाल संरक्षण निकै चुनौतीपूर्ण छ ।
दुर्लभ प्रजाति
घडियाल विश्वमै गोहीको अति दुर्लभ प्रजाति हो । सन् १९४० सम्म यसको संख्या विश्वमा १० हजारजति रहेको थियो । यो खास गरेर पाकिस्तान, भारत, नेपाल, भूटान, बंगलादेश र म्यानमारमा पाइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन बताउँछन् । सन् १९७० मा विश्वमा घडियाल ह्वात्तै घटेर दुई सयको हाराहारीमा पुगेपछि संरक्षण गर्नुपर्छ भनेर प्रजनन् केन्द्रको अवधारणा आएको उनको भनाइ छ । २०३५ सालमा चितवनमा प्रजनन् केन्द्र खुल्दा नेपालमा ५० को हाराहारीमा घडियाल थिए । घडियाल गोही सफा पानीमा मात्रै बस्छन् । नदी र खोलानाला प्रदूषित हुँदा गोहीलाई गाह्रो भएको छ । यसको मुख्य आहारा नै माछा हो । माछामा मान्छेको पनि मन गढेको छ । ‘म रातमा सुत्ने भनेको यही केन्द्र आडकै घरमा हो । ध्रुवे नाम गरेको जंगली हात्ती छ नि, त्यो पनि बेलाबेलामा यतै आइपुग्छ । भालुहरु पनि निक्कै ओहर–दोहोर गर्दछन्,’ सुजिताले जंगलका गतिविधि बारे सुनाइन् । बाघ, भालु, जंगली हात्तीबारे यस्ता कुरा सुन्दा अरु झसङ्ग होलान् तर सुजिताका लागि यी साथीजस्तै भएका छन् । घडियाल संरक्षणसँगै उनले निकुञ्जले गर्ने वन्यजन्तु अपराधका मुद्दामा अनुसन्धान अधिकृत भएर काम पनि गरिसकेकी छन् । संरक्षण अधिकृत चोरी सिकारीविरुद्ध पनि लाग्नुपर्ने हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट प्राप्त विवरणअनुसार विभागअन्तर्गत हाल ६४ जना संरक्षण अधिकृत रहेकामा महिला आठजना छन् । त्यसभन्दा माथिल्लो प्रमुख संरक्षण अधिकृत तह उपसचिवमा २० जनामध्ये एकजना मात्रै महिला छन् । संख्यामा कम भए पनि सक्रियतामा कम नभएकी उदाहरण हुन्, सुजिता ।