Successfully Copied

ज्योतिषशास्त्रमा अब्बल

नेपालमा ज्योतिषशास्त्र लामो इतिहास बोकेको विधा हो, जहाँ पुरुषहरूको वर्चस्व रहेको मानिन्छ । तर, पछिल्ला वर्ष महिला ज्योतिषीहरूले पनि आफ्नो दक्षता प्रमाणित गर्दै समाजमा छुट्टै पहिचान बनाएका छन् । नेपालमै जन्मिएर ज्योतिषशास्त्र अध्ययन गरी ख्याति कमाएका महिलाले विवाह, करियर, स्वास्थ्य र भविष्यवाणीका क्षेत्रमा उल्लेखनीय योगदान

जिज्ञासाबाट सुरु भएको यात्रा
-सुधा भट्टराई
२०३६ सालमा काठमाडौंमा जन्मिएकी सुधा हेटौंडाको मामाघरमा हुर्किइन् । त्यहीँ उनले आफ्नो स्कुले शिक्षा पूरा गरिन् । उनका परिवारमा कोही पनि ज्योतिषशास्त्रसँग जोडिएका थिएनन् तर बाल्यकालदेखि नै अध्यात्म र ज्योतिषप्रति उनमा विशेष रुचि थियो ।
स्नातकोक्तर तहको अध्ययन सकेर थेसिस गर्ने त्रममा उनी केही साथीहरूबाट प्रेरित भइन्, जो ज्योतिषशास्त्र अध्ययन गरिरहेका थिए । यसले उनलाई झनै जिज्ञासु बनायो । ‘घरमा श्रीमान् र ससुराको पनि अध्यात्मप्रति रुचि थियो, किताबहरू प्रशस्तै थिए,’ उनी सम्झिन्छिन्, ‘मैले पनि पढ्न थालें शुद्ध जिज्ञासाले ।’
डिल्लीबजारस्थित पूर्वीय दर्शन विद्यापीठबाट औपचारिक रूपमा ज्योतिषशास्त्रको अध्ययन सुरु गरिन् । सुरुमा परिवार र साथीहरूको चिना हेरेर परीक्षण गरिन् । ‘व्यक्तिको जीवन पढ्नु सामान्य कुरा होइन जस्तो लाग्थ्यो । तर धेरै कुरा मिल्न थालेपछि आत्मविश्वास बढ्दै गयो,’ उनी सुनाउँछिन् ।
चिनेका मानिसको चिना हेर्दा उनीहरूका बारेमा पहिलेदेखि थाहा भएकाले भविष्यवाणी सजिलो लाग्थ्यो । त्यसैले उनी नचिनेका व्यक्तिको चिना हेर्न थालिन्, जसले वास्तवमै आत्मविश्वास बढेर गयो । उनी भन्छिन्, ‘मैले हेरेको धेरैको जीवनमा राम्रो परिवर्तन आएको छ । अझै पनि उनीहरू मलाई भेट्न आउँछन् । त्यो देख्दा एकदमै खुसी लाग्छ ।’ उनीकहाँ धेरै महिला र किशोर–किशोरी आउँछन् । उनका अनुसार महिलाले आफ्ना समस्या अरू महिलासँग खुलस्त भन्न सहज मान्छन् ।
सुरुमा उनको निर्णय सुनेर धेरैले ‘यो पढेर के हुन्छ ?’ भन्दै खिसी गरे । सरकारी जागिरको सट्टा ज्योतिषशास्त्र पढेकोमा आलोचना पनि भयो । तर उनले हरेस खाइनन् । ‘पहिला ज्योतिषलाई पेसा भनेर हेर्दैनथे,’ उनी भन्छिन्, ‘अहिले सम्मान गर्छन् ।’ उनका अनुसार ज्योतिष भनेको भूत, भविष्य र वर्तमान बुझ्ने विद्या होइन, यो त जीवन जिउने कला हो । ‘ज्योतिषशास्त्र हरेकले पढ्नुपर्छ, सिक्नुपर्छ,’ उनी भन्छिन् ।
आज उनी अनलाइन माध्यमबाट पनि धेरैलाई शिक्षा दिइरहेकी छन्, निःशुल्क । ‘जो जिज्ञासु छन्, म सिकाउँछु । मलाई लाग्छ, यो शास्त्र सबैले पढ्नुपर्छ,’ उनी भन्छिन्, ‘यो मार्गदर्शन हो–जीवनलाई सकारात्मक दिशातर्फ मोड्ने साधन ।’
सुधाका अनुसार, ज्योतिष केवल भविष्यवाणी गर्ने साधन होइन । यो पारिवारिक अवस्था, जीवनशैली र योग्य क्षेत्रको पहिचान गर्ने माध्यम पनि हो । ‘शास्त्रमा सबै कुरा लेखिएको छ–समस्या छ भने उपाय पनि छ । तर धैर्य, संयम र निष्ठा चाहिन्छ । कर्म राम्रो गर्नुपर्छ, मन, बचन र कर्मले ।’ उनी ज्योतिषलाई वेदको चौथो आँखाका रूपमा लिन्छिन् । भन्छिन्, ‘ज्योतिष भनेको ‘ज्योति’ हो, प्रकाश, दिशा देखाउने ज्ञान ।’

ज्योतिष र साहित्यको संगम
-प्रीति आत्रेय ज्ञवाली
ज्योतिष फलादेश र साहित्य सिर्जनामार्फत समाजसेवामा सक्रिय प्रीति आत्रेय ज्ञवाली नेपाली र अंग्रेजी दुवै भाषामा राशिफल लेख्छिन् । संस्कृत भाषामा कुराकानी हुने घरमा हुर्किएकी उनको प्रारम्भिक शिक्षा पिताको मार्गदर्शनमा घरमै भयो । गोरखपुरमा माध्यमिक शिक्षा, डिल्लीबजारको पद्मकन्या विद्याश्रमबाट एस.एल.सी. र काठमाडौंको वाल्मीकि विद्यापीठबाट अंग्रेजी साहित्य र फलित ज्योतिषमा स्नातक तथा स्नातकोत्तर डिग्री हासिल गरिन् ।
प्रीतिको ज्योतिषप्रतिको रुचि स्नातक अध्ययनका क्रममा सुरु भयो, जुन उनको पिताको प्रेरणाले थप गहिरियो । कोलकाताको एक ज्योतिष सम्मेलनमा सटिक फलादेश गरेपछि उनको आत्मविश्वास बढ्यो । यो अनुभवले ज्योतिषलाई जीवनको मार्गदर्शन गर्ने माध्यम बनाउने उनको अठोटलाई बलियो बनायो । उनी विशेषगरी चिना र हात हेर्न तथा फलादेश गरी राशिफल लेखनमा संलग्न छिन् । उनीसँग आउने अधिकांश महिलाले पढाइ, विवाह, सन्तान, करियरजस्ता विषयमा परामर्श लिन्छन् भने पुरुषहरू प्रवास, रोजगारी, आयस्रोत र पारिवारिक जिम्मेवारीबारे जिज्ञासा राख्छन् ।
आफूले गरेको अधिकांश फलादेश सटिक भएको र सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएको उनी बताउँछिन् । ‘तपाईंले भनेको कुरा मिल्यो, तपाईंले दिनुभएको सुझावले काम गर्‍यो’ भन्दा उनलाई खुसी लाग्छ ।
ज्योतिष क्षेत्रमा महिला ज्योतिषीका रूपमा काम गर्दा प्रीतिले थुप्रै चुनौतीको सामना गर्नुपरेको छ । कतिपयले ज्योतिषलाई हाँसोको विषय बनाए पनि निष्पक्ष र निःस्वार्थ रूपमा सेवा प्रदान गर्दै आएको उनले बताइन् । भन्छिन्, ‘महिलाले महिलाको मनोभाव बुझ्न सक्छन् । त्यसैले ज्योतिषमार्फत महिलाको समस्या समाधानमा जोड दिन्छु ।’ ज्योतिष क्षेत्रमा महिलाको उपस्थिति सजिलो नभएको बताउँदै उनले अध्ययनका क्रममा आफूले भोगेका कटाक्ष र चुनौतीहरू पनि स्मरण गर्छिन् ।
आधुनिक समाजमा ज्योतिषप्रति दुईथरी धारणा रहेको उनी बताउँछिन् । ‘कतिले ज्योतिषलाई ढोङ मान्छन् भने कोही यसलाई जीवनको मार्गदर्शनका रूपमा लिन्छन्,’ उनी भन्छिन्, ‘ज्योतिषले रातारात कायापलट गर्दैन, कर्म गर्नुपर्छ । हाम्रो कर्म, संगतको प्रभाव, परिस्थिति, व्यक्तिमा विश्वास, आस्था, आस्तिक भाव र सदाचार इत्यादि कुरा हुनु पनि उत्तिकै जरूरी छ ।’ सकारात्मक दृष्टिकोण, आस्था र सदाचारले ज्योतिषको प्रभावकारिता बढ्ने उनको विश्वास छ ।
प्रीतिका अनुसार, तन र मन स्वस्थ भए जीवन सहज हुन्छ । व्यक्तिले आफ्नो कमजोरी बुझेर समाधानको उपाय अवलम्बन गर्नुपर्छ । ग्रह शान्ति, पूजा–प्रार्थना वा चिकित्सकीय सुझावले पनि समस्याको समाधान गर्न सकिन्छ ।

ज्योतिषमा महिलाको सशक्त आवाज
-स्मारिका आचार्य
भारतको मणिपुरमा जन्मिएर झापामा हुर्केकी स्मारिका आचार्यको जीवन यात्रा प्रेरणादायी छ । झापाबाटै एसएलसी सकेपछि उनी उच्च शिक्षाका लागि काठमाडौंको कीर्तिपुर पुगिन् । त्यहीँ उनले ज्योतिषको संसारमा प्रवेश गरिन् । विशेषगरी महिलाहरूको समस्या समाधानमा जोड दिँदै उनको ज्योतिषप्रतिको लगाव र समाजमा सकारात्मक परिवर्तन ल्याउने चाहनाले उनलाई यो क्षेत्रमा स्थापित बनाएको छ ।
स्मारिकाको ज्योतिष यात्रा बाल्यकालको एउटा घटनाबाट सुरु भयो । घरमा पूजा गर्न आउने ज्योतिषीले उनको चिना हेर्दै उनको भविष्य नराम्रो भएको टिप्पणी गरे । उनी सम्झिन्छिन्, ‘एक दिन चिना हेर्ने क्रममा उहाँले यो केटीको त भाग्य नै छैन, भविष्य छैन यो जन्मिएपछि राम्रो भएको छैन भन्दै चिना नै भुइँमा फ्याँकिदिनुभयो ।’ यो कुराले उनको मनमा गहिरो छाप छोड्यो र यसबारे बुझ्न मन लाग्यो । पछि उनी पढाइको सिलसिलामा कीर्तिपुरमा बस्ने क्रममा उनको कोठा नजिकै ज्योतिषी बस्थे । त्यहाँ महिलाहरूलाई ज्योतिषीले दिएको सल्लाह र समाधानमा देखिएको गलत अभ्यासले उनलाई झनै सोच्न बाध्य बनायो । ‘महिलाहरूले आफ्नो समस्या खुलेर भन्न सकून् र सही समाधान पाउन सकून् भन्ने लाग्यो,’ स्मारिका भन्छिन् । यही चाहनाले उनलाई ज्योतिषको अध्ययनतर्फ डोर्‍यायो ।
स्मारिकाले ६ महिना निजी प्रशिक्षणबाट ज्योतिष सिकिन् । त्यसपछि वाल्मीकि क्याम्पसमा औपचारिक अध्ययन गरिन् । उनको सिकाइको यात्रा भारतको बनारससम्म पुग्यो । ‘ज्योतिषमा शास्त्रको ज्ञान मात्र होइन, मन्त्र जप, योग, ध्यान र तान्त्रिक साधनाको पनि उत्तिकै महत्व छ,’ उनी भन्छिन् । उनी गणित, खगोलशास्त्र र मनोविज्ञानको संयोजनलाई ज्योतिषको आधार मान्छिन् । ‘यो तर्कसंगत र विधिपूर्वक प्रयोग गरियो भने विज्ञानकै एक रूप हो,’ उनको भनाइ छ ।
विगत तीन वर्षदेखि स्मारिका ‘हाम्रो पात्रो’ मा आबद्ध छिन् । उनले धेरैको जीवनमा सकारात्मक परिवर्तन ल्याएकी छन् । पढाइ, प्रेम, व्यवसाय वा डिप्रेसनजस्ता समस्यामा परेकाहरूलाई उनले आत्मविश्वास र नयाँ जीवनको बाटो देखाएकी छन् । ‘मेरो सल्लाहले कोही सफल भएको सुन्दा मनै रमाउँछ,’ उनी भन्छिन् । उनलाई महिला भएर ज्योतिषको क्षेत्रमा प्रवेश गर्नु सजिलो थिएन । सुरुमा मानिसहरूले उनलाई गम्भीर रूपमा लिँदैनथे । रातको समयमा परामर्श दिन एकदमै गाह्रो थियो । तर, उनको लगनशीलता र शुद्ध सेवाभावले सबैको विश्वास जित्यो । ‘अहिलेको पुस्ता जागरुक र सहिष्णु छ । उनीहरूले महिला ज्योतिषीलाई पनि सम्मान गर्छन्,’ उनी भन्छिन् । यद्यपि, समाजमा अझै सुधारको आवश्यकता रहेको उनको ठम्याइ छ ।
स्मारिकाले ज्योतिषलाई जीवनको मार्गदर्शनको माध्यम बनाएकी छन् । उनले विवाह टुट्न लागेका जोडीलाई मिलाएर सन्तान सुखसम्म पुर्‍याएका धेरै घटना सम्झिन्छिन् । ‘ज्योतिषले मानसिक सन्तुलन र आत्मविश्वास फर्काउन ठूलो भूमिका खेल्छ,’ उनी भन्छिन् । उनका अनुसार ज्योतिषले व्यक्तिको प्रवृत्ति, क्षमता र चुनौती बुझ्न मद्दत गर्छ, जसले आत्म–निरीक्षण र सकारात्मक कर्ममार्फत जीवन सुधार्न सकिन्छ ।

जीवनको आध्यात्मिक यात्रा
-रती जोशी श्रेष्ठ
काठमाडौंको शंखमूलमा २०१६ सालमा जन्मिएकी रती जोशी श्रेष्ठ, बाल्यकालदेखि नै केही फरक गर्ने सोच राख्ने व्यक्ति थिइन् । मंगलबजारस्थित आदर्श कन्या निकेतनबाट विद्यालय शिक्षा पूरा गरेकी रतीले, पाटन कलेजबाट स्नातकसम्म अध्ययन गरिन् । पढाइसँगै, उनले राष्ट्रिय वाणिज्य बैंकमा रोजगारी पनि सुरु गरिन् । जागिर र पढाइलाई सँगै अघि बढाउँदै लगिन् ।
उनको सोच सधैं स्पष्ट रह्यो–विवाहभन्दा पहिले पढाइ पूरा गर्नैपर्छ । विवाहपछि उनी दुई छोराकी आमा बनिन् । बच्चाहरू हुर्किएपछि, आमाको भूमिकासँगै शिक्षा र अनुशासनको पनि जिम्मा थपियो । छोराहरूलाई सधैं ‘पढ्नू’ भन्दा एकदिन छोराले प्रश्न गरे, ‘हामीलाई पढ्न भने पनि आमा त आफैं पढ्न छाड्नुभएको छ ।’ त्यो वाक्यले रतीलाई गहिरोसँग झकझक्यायो । ‘अब मैले देखाएर पढ्नुपर्छ’ उनले ठानिन् । तर पढ्ने के ? सबै औपचारिक शिक्षा त पूरा भइसकेको थियो । त्यतिबेलै उनले ज्योतिषशास्त्र पढ्ने सोच बनाइन् ।
उनी जोशी परिवारमा जन्मिएकी हुन् । नेवार समुदायमा ‘जोशी’ ले ज्योतिषीको काम गर्छन् । उनलाई बाल्यकालदेखि नै ज्योतिषशास्त्रप्रति चासो थियो । उनकी आमाले दाजु मानेका मंगलराज जोशी नेपालकै प्रसिद्ध ज्योतिषी थिए । उनले ज्योतिषशास्त्रको गहिरो अध्ययन गरेका थिए । यही पृष्ठभूमिबाट प्रभावित रतीको निर्णय स्पष्ट भयो, अब पढ्नुछ भने ज्योतिषशास्त्र नै ।
त्यसपछि उनले वाल्मीकि क्याम्पसमा ६ महिने भाषा शिक्षाको कोर्ष गरिन्, नाइट क्लासमा । दिउँसो अफिस, बेलुका कक्षा, घरको जिम्मेवारी र बच्चाहरूको पढाइ । रतीले अन्ततः वाल्मीकि क्याम्पसबाट ज्योतिषमा स्नातकोत्तर पूरा गरिन् । दक्षिण एसियाली ज्योतिष संघको आजीवन सदस्य बनिन्, त्यहीँ कार्यकारी समिति सदस्य हुँदै कोषाध्यक्षको भूमिकासमेत सम्हालिन् । सरकारी सेवाबाट अवकाश पाइसकेपछि उनले ज्योतिषलाई आफ्नो पूर्णकालीन मार्ग बनाइन् ।
त्यतिबेला महिला ज्योतिषीको संख्या औंलामा गन्न सकिने थियो । त्यो संख्यालाई बढाउने हेतुले उनले ‘राष्ट्रिय महिला ज्योतिष संघ’ को स्थापना गरिन् । प्रारम्भमा जम्मा ७ जना महिला ज्योतिषी थिए । उनले सधैं महिला ज्योतिषीहरूका लागि अपार सम्भावना देखिन् । ‘नेपालमा रोजगारीको अवसर सीमित छ, त्यसमा पनि महिलाका लागि अझ कम । तर ज्योतिषशास्त्र भनेको महिलाका लागि एउटा वैकल्पिक करिअरको राम्रो अवसर हो,’ उनी भन्छिन् ।
उनका अनुसार छिमेकी देश भारतमा कुल ज्योतिषीमध्ये करिब ७५ प्रतिशत महिला छन् भने नेपालमा १ प्रतिशत पनि छैनन् । यस तथ्यांकले नेपालमा पनि महिलालाई यही क्षेत्रमा आकर्षित गर्नुपर्ने उनी देख्छिन् ।
ज्योतिषशास्त्रमा लागेपछि रतीले एउटा ठूलो यथार्थ महसुस गरिन् । धेरै मानिस ज्योतिषलाई केवल धार्मिक विधि वा अन्धविश्वासका रूपमा बुझ्छन् । उनले देखिन् कि कतिपय ‘ज्योतिषी’ले डर फैलाउने काम गर्छन् । एउटा घटना उनको स्मृतिमा अझै ताजा छ–एक पुरुष, जसको छोरा बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । उनकी श्रीमती ज्योतिषीकहाँ गइन्, ‘घर ल्याएको दिन नै छोराको ज्यान जान्छ ।’ त्यो परिवार भयले ६ महिना दिदीको घरमा बसेको थियो । ‘यस्ता डर देखाउने मानिसहरूले ज्योतिषलाई बदनाम गरेका छन्,’ रती भन्छिन्, ‘ज्योतिष भनेको केवल भूत–भविष्य हेर्ने होइन, यो एक आध्यात्मिक विज्ञान हो । समाधानको बाटो देखाउने माध्यम हो ।’
उनका अनुसार, ज्योतिष र अध्यात्म एउटै सिक्काका दुई पाटा हुन् । अध्यात्मबिना ज्योतिष अधूरो हुन्छ । मानिसको जीवनशैली, मानसिक अवस्था, संस्कार, ग्रहहरूको प्रभाव, यी सबै कुराले जीवनको गति निर्धारण गर्छन् ।
‘जब कोही मानिस आफ्ना पीडासहित म कहाँ आउँछन्, म केवल चिना हेरेर भविष्य बताउँदिन,’ रती भन्छिन्, ‘म त्यो पीडाको अध्यात्मिक पक्ष बुझ्न खोज्छु, त्यही बाटो हो जसले निकास दिन्छ ।’

 Image